समाजमा पच्ने खालको कलात्मक यौनको उपस्थिति सारै मन पर्छ – पेशल आचार्य


२०२३ साल साउन १५मा मोरङ, विराटनगरमा पिता श्याम आचार्य र माता शोभा आचार्यका तीनभाइ छोराहरूमध्ये जेठा छोराका रूपमा जन्मनु भएका पेशल आचार्य रामेछाप जिल्लाका पुराना भाषा शिक्षक, क्रियाशील कवि, लेखक, निबन्धकार, भूमिकाकार, कथाकार र प्रशिक्षक समेत हुनुहुन्छ । कथा, कविता, मुक्तक, गीत, उपन्यास, खण्डकाव्य, हाइकु र निबन्ध सबै विधाका गरी करिब ३० वटा कृतिका स्रष्टा आचार्यका प्रकाशित मौलिक पुस्तकचाहिँ यतिखेर कविता, कथा र निबन्ध गरी ३ थान र सम्पादित कृतिहरू ८ थान रहेका छन् । आचार्यले रामेछाप जिल्लाबाट निस्कने दीपन साहित्यिक द्वैमासिक, रामेछाप नयन साप्ताहिक, रामेछाप साप्ताहिक, कर्मचारी मिलन केन्द्रका स्मारिका, शिक्षक संघसंस्थाका स्मारिका, विद्यालय तथा क्याम्पसका अभ्यास शिक्षण निर्देशिका र विभिन्न साहित्यिक पत्रपत्रिकाहरू पनि सम्पादन गर्नुभएको छ ।

साहित्यिक गतिविधिमा अनवरतरूपमा निष्ठासँग लागेबापत राष्ट्रिय स्तरका ३ वटा पुरस्कार र अब्बल शिक्षण गरेबापत २०६८ सालमा नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पुस्कारबाट समेत विभुषित हुनु हुने सक्रिय साहित्यकार पेशल आचार्यसँग साहित्यकार प्रभु विवशले गर्नुभएको साहित्यिक एवं रागात्मक कुराकानीको सार संक्षेप । –सम्पादक

१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?

उत्तर : अहिलेको युग भनेको हाइटेक युग हो । हाम्रो पालामा यस्तो युग हाम्रा बालापनको समाप्तीसँगै हामी पछिपछि आउँदैछ भन्ने भेउसम्म हामीलाई थिएन । हामी त गाग्राका खबटामा भात पकाइ खेलेका मानिसहरू । अनि झुम्राका पुतलीमा रमाएर साथै घामकिरा पक्रेर उधुम रमाइलो गरी बालापन बिताएका मानिस हौं । अहिलेको कल्पना गर्ने हामीमा पाइन नै थिएन । अहिले हाम्रा नानीहरू कम्प्युटरमा एडभान्स गेम खेल्ने भैसकेका छन् । यस मानेमा हाम्रो बालापन र हाम्रा नानीहरूका बालापनमा आकास जमिनको अन्तर छ । मेरी बास्सै । यस्तो बालापनभन्दा त एक हिसाबले उहिल्यैको हाम्रै बालापन नै राम्रो हो । अहिले चाउचाउ र भिडियो गेममा रमाएको संसार छ । अहिलेका हाम्रा केटाकेटीहरू टम एण्ड जेरी र निक च्यानलमा झुम्मिएको माहौल छ । हामी सन् ७०का दसकमा टाँकिजमा गएर सिनेमा हेरेका मानिसहरू हामीले गुरुदत्तका साहेब, बिबी और गुलाम र सट्टा बजारबाट आफ्नो मनोरञ्जनको युग आरम्भ गरेका हौं । अहिलेका नानीबाबुहरू अवतार र जुरासिक पार्कबाट आफ्नो मनोरञ्जनको अध्याय सुरू गर्न चाहन्छन् । कलर तथा सोनी च्यानलमा बिग बोस र थ्रि इडियटमा पुगेर रमाइलो गर्छन् ।

२) यहाँनेर आइपुग्न केकति मेहनत गर्नुभयो त यहाँले ?

उत्तर : जीवन सलललअ बग्दै यहाँसम्म यसरी आइपुग्छ भन्ने नै लागेको थिएन । त्यसैले सबैभन्दा पहिले त जीवनलाई धन्यवाद दिनु पर्ला । यो स्थान भनेर सायद् तपाईंले लेखनको यात्रालाई भन्नुभएको होला । मैले शिक्षण गरेरै लेखनको महत्वलाई बुझ्न सकेँ । यदि म शिक्षक नभएको भए यस्तो प्रकृतिको लेखक पनि हुन सक्ने थिइनँ । जानी नजानी केगरी म शिक्षक भएँ र त्यसको यशले लेखक भएँ त्यो अहिले भन्न असमर्थ छु । अथवा भनौ मेरो अभाव र केही नयाँ गरौं भन्ने सोच नै मलाई यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्ने तत्व हुन् । त्यसैले शिक्षक बनाउने त्यसबेलाका मेरा सहयोगी गरिबी र अभाव साथै मेरो मानष शक्तिलाई नै साधुवाद भन्नुको विकल्प अहिले मसँग केही पनि छैन ।

३) जीवनलाई बुझ्दै हुनुहुन्छ ? वा बुझिसक्नुभयो ?

उत्तर : आम्मै के भन्नुभएको हो ? जीवनलाई बुझ्ने र बुझाउने पनि विश्वविद्यालयहरू हुन्छन् र ! जीवन भोगाइले पो बुझिन्छ । म मेरो जीवन बुझ्ने प्रयत्नमा छु । अँझै बुझिसकेको छैन । सैद्धान्तिक विषयहरू पढाउने विश्वविद्यालयहरूले जीवनलाई बुझाउने होइनन् । जीवन त व्यवहार विश्वविद्यालयले बुझाउँदो रहेछ । हो, अहिले म जीवन बुझ्दै पनि छु बुझाउँदै पनि छु । तर यो जति बुझे पनि सकिँदो रहेनछ । न त बुझ्न न त बुझाउन ।

४) के रहेछ त वास्तवमा जिन्दगी भनेको ?

उत्तर : उधारोमा किनेर ल्याएको सौदा जस्तै हो मानिसको जिन्दगी । मलाई भन्नुहुन्छ भने केही नबुझिने ‘लाटी आइमाईको हाँसोजस्तै’ हो हाम्रो जिन्दगी ।

५) कृतिहरू कति छन् ? तपाईं अँझै कुनकुन विधाका कति कृतिहरू लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?

उत्तर : छैनन् हौ । छैनन् । प्रकाशित त तीनोटा मात्र छन् । कथा, कविता, निबन्ध, खण्डकाव्य, उपन्यास, बालउपन्यास, समीक्षा, समालोचना र अन्तर्वार्ता गरी अब त ठ्याम्मै दुईदर्जन कृति प्रकाशक र प्रकाशन अवसर पर्खेर बसिरहेका छन् । जीवन घर्किइसक्यो । खै ! के प्रकाशित होलान र ! आफू पालिनु कि ? बाउआमा र स्वास्नी छोराछोरी पाल्नु कि ? व्यवहार हेर्नु कि ? के गर्नुगर्नु ? म त सोच्दा पनि आतेस पो लागेर आउँछ ।

६) तपाईंलाई आफ्नो मौलिक कृति निकालेपछि कस्तो अनुभूति हुनेगर्छ ?

उत्तर : आफ्नो सन्तानलाई सन्तोसपूर्वक खेलाउँदा चलाउँदा जस्तो अनुभूति हुन्छ ठ्याम्मै । हो त्यस्तै अनुभूति हुन्छ । तर कहिलेकाहीँ कस्तो पनि लाग्छ भने अब यो मेरो हातबाट उम्कियो र सच्याउन सकिन्नँ भन्ने तर्कनाहरू पनि आउँछन् । के भाको होला यस्तो ? एक हिसाबलेभन्दा आनन्दै लाग्छ । अब मेरा भावनाहरू पनि पाठकले जान्न सुझ्न पाएजस्तो लाग्छ । राम्रै लाग्छ ।

७) जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुने कारणहरू बताइदिनुहोस् न ।

उत्तर : हो, योचाहिँ प्रश्नको उत्तर दिन मलाई साह्रो गाह्रो लाग्छ । किनकि सन्तुष्ट छैन भनूँ भने यत्तिको जीवन जो बाँचिरहिएको छ । अनि सन्तुष्ट छु भनूँ भने अँझै आफूलाई गर्न मन लागेका सिर्जनात्मक कामहरू केही गर्न पाएको छैन । के भो के भो जीवन खै ! मिलाउन नै जानिएन जीवनलाई व्यवस्थित गरेर जीउन । अनि के उत्तर दिनु होला यतिखेर ?

पूरै असन्तुष्ट पनि छैन । पेसा छ त्यसैले बाँचिरहेको छु । सन्तानले पढेर प्रगति गर्दैछन् । अघि बढ्दैछन् । ठिकठिकै लाग्छ । औसत नेपालीको जीवन बाँचिरहेको छु । भन्छन् नि मानिसहरू –‘पेटमा कुरा पनि छैन । राख्ने लुगा पनि छैन ।’ मँहगीमा येनकेन प्रकारेण बाँचिरहेको छु ।

८) रामेछाप जिल्लाको साहित्यिक गतिविधिलाई तपाईंका दृष्टिमा कसरी मूल्याङ्कन गर्नुभएको छ ?

उत्तर : जिल्लाको साहित्यिक गतिविधि भनेजस्तो उधुमै राम्रो पनि छैन । गए गुज्रेको र छ्या भन्न लायक नराम्रो पनि छैन । इतिहास चाहिँ भएको जिल्ला हो –यो । साहित्यिक शहिद कृष्णलालको जिल्ला भएकाले पनि थुप्रै साहित्यकारहरू हुनुहुन्थ्यो –उसबेला । तर सबै अहिले रोजीरोटीका खातिर र आफ्नो तथा सन्तानको भाग्य अनि भविष्य उजिल्याउनका लागि जिल्ला बाहिर जानु भएको छ । जसरी हामी यहाँ (रामेछापमा) घर सपार्न भनी घरदेखि टाढा हुँदै यति वरसम्म आइपुग्यौं ।

साहित्यकार माधव सयपत्रीले जिल्लामै बसेर पनि राम्रा अनि स्तरीय कथा र उपन्यासहरू लेखिरहनु भएको छ । माधव काफ्ले पनि राम्रो निबन्धकार हुनुहुन्छ । तर वहाँ चर्चा र चासोमा आउन चाहनुहुन्न खै ! त्यसैगरी नवीन मनोहर, नवीन गाउँले, रवीन्द्र प्रलय, युनिक विफा घिसिङ, ब्लु स्काइ लामा, अम्बिकाप्रसाद गजुरेल, सौजन्य सत्याल, धनलाल योञ्जन, लालबहादुर घिसिङ, प्रभु विवश, कल्पना प्रकृति, निरोज खड्का, दिनेशराज पुरी, उद्धवप्रसाद आचार्य अविचल आदि भाइबहिनीहरू कवितामा र विष्णु थापा कथामा राम्ररी नै आउन खोज्दै हुनुहुन्छ । पुराना साहित्यिक हस्तीहरूमा विमल भौकाजी, उत्तम भौकाजी, अशोक सुवेदी, देवशङ्कर पौडेल, कपिल काफ्ले, डा. सुमन कर्माचार्य, रामचन्द्र वियोगी, जिउँदो मुर्दा र पुण्यप्रसाद पौडेल आदिको लेखनी पनि उम्दा खालकै छन् ।

९) साहित्यमा यौनको उपस्थिति कत्तिको आवश्यक ठान्नुहुन्छ ? सार्थक या निरर्थक ?

उत्तर : संसारै यौनमा अडेको छ । एकजना नेपाली प्रयोगवादी कविले भन्नुभएको छ –संसारको सबैभन्दा सुन्दर वस्तु यौन हो तर त्यो धरापमा छ । यसरी भन्ने हो भने दालमा नून हालेजस्तो आवश्यक हो साहित्यमा यौनको उपस्थिति पनि । धेरै भयो भने चर्को हुने अनि थोरै भयो भने खल्लो हुने । मलाई त साहित्यमा यौनको प्रस्तुतिका हकमा भन्नुपर्दा श्लील तरिकाले भनिएको, समाजमा पच्ने खालको कलात्मक यौनको उपस्थिति सारै मन पर्छ – कथामा, उपन्यासमा र कवितामा । म अहिले कवितामा यौनको उपस्थितिलाई नवीन कोणबाट प्रयोग गर्दैछु । सार्थक प्रयोग भयो भने त्यसले आहा भनाउँछ । नत्र छ्या भन्न बाध्य गराउँछ ।

१०) सम्वत् २०४६ अगाडिका साहित्यिक कृतिहरू र समकालीन साहित्यिक कृतिहरूमा गुणवत्ता र प्रभावकारिताका हिसाबले कत्तिको फरक पाउनुभएको छ त ?

उत्तर : थुप्रै फरक पाएको छु । त्यसबेला किताब लेख्नु र छाप्नु चानचुने कुरा थिएनन् । मानिसहरू किताब निकाल्नै भनेर छ महिना या वर्ष दिनसम्म बनारस जाने गर्थे । बस्थे । दु:ख गर्थे । अनि मात्र लेखक हुन्थे । तर अहिले हेर्नुहोस् न एक हप्तामा किताब निस्कन्छ । लेखक पनि एकदुई महिनामा सररर्अ कम्प्युटरमा टाइप गर्छ । प्रकाशनले दस दिनमा त बजारमा ल्याइहाल्छ । जहाँसम्म गुणवत्ताका हिसाबले हेर्ने हो भने २०४६ अगाडिका पुस्तकमा म निकै नै गहनता भेट्छु । मैले पढेका किताबमा नियमित आकस्मिकता, घामका पाइलाहरू, माधवी, मन, अलिखित, आकासको फल, अबिरल बग्दछ इन्द्रावती, शब्द वश्त्रमा रूपको नदी, आगोनेर उभिएको मानिस, एउटा बाहुला नभएको बुसर्ट र भोलि बास्ने बिहान आदि पुस्तकहरू कम्ती रमाइलो मानेर मैले पढेँ । जीवनमा सबैभन्दा बढी र स्पिडमा विराटनगरमा २०४१/०४२मा आइए पढ्दाताका क्षेत्रीय पुस्तकालयमा गएर किताबका उरुङ पढियो । अहिलेका किताबहरू आफ्नै आत्मप्रवञ्चनाले भरिएका आत्मरतिझैँ लाग्छन् । तर पनि सेतो धरती, कर्नाली ब्लुज, लू, उलार, उर्गेनको घोडा, आकास गंगाको तिरैतिर, ताप, तोदा, जल्लादको मन, सीमान्त विचलन, जीवन काँडा कि फूल, फूलको आँखामा, खान पुगोस् दिन पुगोस्, अन्तर्मनको यात्रा, अग्निसूत्र, सकस आदि पुस्तकले पनि मेरो मन मष्तिस्कलाई अँझै हल्लाइरहे कै छन् । कुनैको कथ्य जीवन्त कसैको शैली नै अति राम्रा । कसैका पात्रहरू दिनरात दिमागमा सल्बलाइरहन्छन् ।

समग्रमा भन्दा, उतिबेला स्तरीय थिए –साहित्य । गिन्तीमा कम तर अहिले संख्यामा धेरै र स्तरीयतामा न्यून छन् ।

११) तपाईंलाई वर्तमान समयमा निस्केका आख्यान/अनाख्यान कृतिहरूमध्ये कसकसका कुनकुन कृतिहरू कुन हदसम्म मन पर्छन् ?

उत्तर : आख्यान त माथि नै भनिसकेँ । दोहोर्याउन चाहन्न । अनाख्यान चाहिँ सोच, खोज, मोज, ओपन सेक्रेट, विनोद चौधरी, परिबन्दमा पन्ध्र वर्ष, जीवन काँडा कि फूल, फूलको आँखामा, खान पुगोस् दिन पुगोस् र ओसोका किताबहरू हुन् । म अहिले कुनै कृति पनि दोहोर्याएर पढ्ने फुर्सदमा छैन । किनकि मलाई आफ्नै काम र लेखनले फुर्सद् मिल्दैन । त्यसैले बाजरमा आएका किताबलाई छानेर वा साथीभाइले भनेका आधारमा म पढ्छु ।

१२) यतिका मान्छे साहित्य लेख्छन् ? तपाईंले नै परिश्रमपूर्वक साहित्य किन लेख्नु पर्यो होला ?

उत्तर : म आफ्नो दृष्टिकोण राख्न या मनको तुष्टि मेट्न लेख्छु । कसैले यस्तो लेखभन्दा लेख्ने या यस्तो नलेखभन्दा पनि नलेख्ने होइन । मैले अहिलेसम्म आफ्नो मनको आदेशमा लेखेको छु । लेख्नुभन्दा अगाडि चाहिँ एक प्रकारको पीडाको महसुस हुन्छ र त्यो विषयवस्तुलाई लेखिसकेपछि भने मलाई हलौं हुन्छ । सायद् मलाई जस्तै हुन्छ होला संसारका सबै लेखकहरूलाई ।

अरूले अरूका रहर र पीडा लेख्छन् होलान । तर म मेरो रहर र पीडा शान्त पार्न लेख्छु । अनि मैले लेखेर समाजलाई बाटो देखाइरहेको छु जस्तो पनि लाग्छ । एउटा लेखकको आफैँमा लेखक हुनुको कर्तव्य पनि यही त हो ।
१३) उत्तरआधुनिकता भनेको के हो ? तपाईंका विचारमा नेपालमा यसको प्रयोग केकसरी भैरहेको छ ?

उत्तर : आधुनिकताको सन्तान नै उत्तर आधुनिकता हो । यो साहित्यमा विचार र प्रस्तुतिका रूपमा चिर–नूतन प्रवेश पनि हो । हामीले सधैं आधुनिकतामै रमाइरहेर यथास्थितिमै रहिरहनु हुँदैन पनि । लेखन र जीवन नित्य नवीनरूपमा अगाडि बढिरहनु पर्छ । यो समयको माग पनि हो । अहिले नेपालमा उत्तरआधुनिकतालाई लिएर बामपन्थी कित्ता र प्रजातान्त्रिक कित्ताका लेखकमा निकै जुहारी चलेको पाइन्छ । तर मलाई यस्तोउस्तो भन्नु छैन । कसैलाई गालीगलौज गर्नु पनि छैन । उत्तरआधुनिकता भनेको केन्द्र भञ्जन हो । सबाल्र्टन वर्गका मानिसलाई माथि ल्याउने सोच हो । गाउँले भाषामाभन्दा छेउको माझ पार्ने हो । सबै प्रकारले हेपिएका विचारलाई प्रकाशमा ल्याउने सोच नै उत्तरआधुनिकता हो । त्यसैले यो सापेक्षित त अवश्य हुन्छ नै । र पनि, यो आधुनिकताको सन्तान चाहिँ पक्कै हो ।

यसको प्रयोग नेपालमा अहिले साहित्यमाभन्दा पनि गाली गर्नमा भैरहको छ । अहिलेका सबैजसो लेखकले कि लेखनमा कि व्यवहारमा उत्तरआधुनिकताको प्रयोग गरिराख्नुभएको छ ।

१४) अब जीवनको धोको के रहेको छ ?

उत्तर : दुईचार थान कालजयी किताब लेख्ने र प्रकाशन गर्ने धोको रहेको छ । अब अन्तर्वार्ता साहित्य र डकुमेन्ट्री निर्माणमा पनि हात हाल्ने सोच राखेको छु । समय, पैसा र स्वास्थ्यले साथ दियो भने ती काम गर्छु । नत्र चुप लागेर बस्नुको विकल्प छैन –मसँग । बस् किताब पढ्यो । बस्यो ।

१५) अन्त्यमा, नयाँ लेखकहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?

उत्तर : लेखनमा हूल बाँधेर आउने होइन । अध्ययन पउल गर्नुस् । साधना र तपस्यामा विश्वास राख्नुस् । पत्रपत्रिकामा पठाउन नबिर्सिनुस् । समकालीन र कालक्रमिक अध्ययनले तपाईंलाई चुस्तदुरूस्त बनाइराख्छ । लेखनका लागि नयाँ लेखकहरूलाई सल्लाह छ –अध्ययन, अध्ययन अनि अध्ययन । त्यसपछि मात्र लेखन । राम्रो लेख्नुस् । संख्याभन्दा गुणात्मकतामा विश्वास राख्नुस् । बस् । आफैँ माथिमाथि पुग्नुहुन्छ । अबको युग तपाईं नयाँहरूको हो । समयले तपाईंहरूलाई बोलाइरहेछ । आउनोस् ढिला नगर्नुहोस् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *