गीत र कविता दिदी बहिनी हुन्, म दिदीलाई मस्तिष्कबाट र बहिनीलाई मुटुबाट प्रेम गर्छु – पेशल आचार्य


साहित्यमा औधी रूचि राख्ने पेशल आचार्य रामेछापका वरिष्ठ नेपाली भाषा शिक्षक हुन् । उनी मन्थलीस्थित मन्थली उमाविका सहायक प्राचार्य र मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका उपप्राध्यापक समेत हुन् । विगत् ३६ वर्षदेखि कथा, कविता, गीत, मुक्तक, हाइकू र आत्मपरक निबन्धमा गतिशील कलम चलाइरहेका आचार्यका बाल साहित्यका ५ र प्रौढ साहित्यका १ गरी जम्मा ६ कृति प्रकाशित छन् । विविध विधाका ५ कृतिमा अहिले यिनी काम गरिहेछन् । जसमध्ये यसैवर्ष ३ वटा कृति प्रकाशनको तयारीमा रहेको जानकारी उनले हामीलाई दिए । हालै उनको ‘केस झरेर फुर्फुर् अनुहारै छेकियो, त्यसैले त तिम्लाई क्या दामी देखियो’ गीत रेकर्ड भई युवाहरूमाझ निकै चर्चित पनि भएको छ । यसै सन्दर्भमा प्रेम दिवसको अवसर पारी हाम्रा सहयोगी कुमार यात्रीले साहित्यकार तथा गीतकर आचार्यसँग लिएको प्रेम–संवार्ता प्रस्तुत छ –सम्पादक ।

१) प्रेम गर्नुभयो ?

– गरेँ । जवानीमा थुप्रै प्रेम गरेँ । अहिलेका टिनएज्जस्तो शारीरिक होइन नि । आत्मिक प्रेम गरेँ । धेरै । साहित्य र लेखनसँग प्रेम गरेँ । कहिले एकोहोरो । कहिले दोहोरो । सबैभन्दा बढी प्रेमचाहिँ जीवनसँग गरेँ । अनि कलासँग । त्यसैले अहिले लेखक भएको छु ।

२) यो अलिक क्लासिक उत्तर भएन र भन्या ?

–त्यही त हो नि । आफूले गरेको प्रेम बताइरहेको छु । नगरेको प्रेम कहाँबाट बताउनु । शारीरिक प्रेम त पत्नीसँग बिहेपछि मात्र भयो । स्त्रीको देह सुख मैले पत्नीबाट मात्रै पाएको हूँ । अब त भयो । हा….हा….हा….।

३) प्रेम पत्नीबाट हुने रै’छ कि प्रेमिकाबाट ?

–जसबाट खोज्यो । उसैबाट । मैले पत्नीबाट पाएँ । अरूको केकस्तो हो ? मलाई थाहा भएन । मतलब पनि राखिनँ । अँझ भन्नुहुन्छ भने जसलाई मैले प्रेम गरेँ त्योसँग अहिले पनि लुकाछिपी चलिरहेको छ । जसलाई मैले विवाह गरेँ । उससँग पहिले बिहेपछि मात्र प्रेम भयो । पत्नीको प्रेममा म अहिले पनि चुर्लुम्मै डुबेको छु । हामी अहिले यो उमेर (म ४७ वर्ष र उनी ४३ वर्ष)मा एक्लाएक्लै छौं । महिना/पन्ध्र दिनमा भेटहुँदा केटाकेटीले चिनी पाएजस्तो महशूस हुन्छ । कहिले तीतो नहुने प्रेम । …….। (लामो हाँसो……।)

४) भनेपछि गुरु छुपे रुस्त म हुनुहुन्छ कि क्या हो ?

– कुमारजी, यहाँ प्रायः मानिसहरू कम्मल ओढेर घिउ खान्छन् तर म सार्वजनिक स्थलमा खुलेयाम घिउ खान्छु । तर अहिले शारीरिक रूपमा पनि मलाई केही चिल्लो खान नहुने रोगहरू छन् । आत्मिक रूपले पनि म मेरी घरबूढीसँग मात्र प्रेम गर्छु । प्रेम सेक्सका लागि हो भने त्यो पत्नीसँग मात्रै हुन्छ । यसको करिबकरिब एउटा बिन्दु पनि कटिसकेको छ । प्रेम केवल प्रेमका लागि हो भने त्यो सबैसँग हुन्छ । हुनुपर्छ । वैश्विक प्रेम । ध्यानस्त प्रेम । निश्छल प्रेम । मलाई सबै किसिमको प्रेमानुभूति भैसकेको छ । मैले ध्यानमै पनि २८ महिना एकाग्रताका साथ बिताएको छु । त्यो बेलाको जस्तो प्रेमको निस्वार्थ अनुभव जीवनमा कहिले भएन । त्यस्तो आत्मसन्तुष्टि पुन भेट्न सकिरहको छैन ।

मैले आफू अँझै केटाकेटीझैँ नै भएको ठानेको छु । लेखनमा एउटा लेखक सधैं केटाकटी नै हुने रहेछ । सोचमा, कल्पनामा र उदात्ततामा ।

५) प्रेम सम्बन्धमा केके लेख्नुभयो ? केके बाँकी छन् अँझै ?

– कथा । निबन्ध । कविता । मुक्तक र गीतहरू लेखेँ । अँझै लेख्दै छु ।

हालसालै एउटा ‘केस झरेर फुर्फुर अनुहारै छेकियो’ भन्ने प्रेमगित लेखेको थिएँ । सो रेकर्ड पनि भयो । मेरा आफ्नै विद्यार्थी निराजन खत्रीले त्यसलाई कलात्मक पारामा गाई गुरु दक्षिणा तिर्नुभएको छ । चर्चित संगीतकार सुरेश अधिकारीले संगीत भर्नुभएको छ । त्यो गीत अब ‘यु ट्युब’मा अपलोड गर्नु छ । भिज्युलाइज्ड गर्नु छ । अनि अरू केही लोकप्रिय गीत लेख्ने धोको रहेको छ –ममा ।

प्रेम लेखेर सकिने विषय होइन रहेछ । कतै अरू विधामा लेख्न नसकेको प्रेमभाव अहिले आएर गीतमा पोखियो । मैले करिब २ हजार कविता लेखेँ । प्रेमका कविता नै २ सयभन्दा बढी छन् तर गीतचाहिँ एकसय जति लेखेँ हूँला । अब केही वर्ष गीतमा प्रेम नै प्रेम लेख्छु । जतिजति बूढो हुँदै जाँदो छु, उतिउति मेरा प्रेमका गीतले कुत्कुत्याइरहेका छन् । सोको अन्तर्य खोज्दै छु । भित्रबाट रसाउँछ । म लेख्छु ।

मेरो विचारमा गीत र कविता दिदी बहिनी हुन् । म दिदीलाई मस्तिष्कबाट र बहिनीलाई मुटुबाट प्रेम गर्छु । मुटुबाट गरिने प्रेम अलि म्याचोर्ड मुटुले गर्दो रहेछ । त्यो आजकाल गीत बनेर पोखिइरहेको छ । मैले अलिअघि दोलखाका सुवाष सिवाकोटी र भोजपुरका मेरा प्राध्यापक मित्र डीबी भुजेलबाटै गीत लेख्न सिकेको हूँ । ‘फूलको गाजल’, ‘पर्दा उघारेपछि’ र ‘लुकीलुकी लाको माया’ जस्ता ३ वटा गीतका किताब तयार छन् तर अब गीतको किताब छाप्ने जमाना गएछन् । त्यसैले रेकर्ड गरेको हूँ । राम्रो केही चर्चा र पारिश्रमिक रिटर्न भएछ भने गीततिर नै लहसिने विचार छ –अब ।

६) अन्य विधा र गीतमा आएका प्रेमका झिल्कालाई के अनुभव गर्नुभयो ?

– अन्य विधामा आउने प्रेम र यौनका झिल्काहरू स्वतःस्फूर्त आउँछन् । स्वाभाविकतामा जीवनमा प्रेम र यौन दुवै छन् । ती दुवै सँगसँगै र कतै फरकफरक शैलीमा आउँछन् तर गीतमा व्यवस्थित रूपमा ल्याउने प्रयासमा छु । अहिलेका गीत नै सबै प्रेमका चलेका छन् । रसरङ्गमा रमाएको समाज छ । मानिसहरू पनि खुल्ला समाजतिरको यात्रामा अघि सरेका छन् । यहाँ सबै मानिसहरू प्रेमका भोका छन् । आचार्य रजनीश भन्छन् –‘जो मानिस ध्यान गर्न सक्दैन । उसले प्रेम गर्ने हो । ध्यान नै प्रेमको प्राक्कथन वा प्रस्ताव हो । अनि प्रेमचाहिँ ध्यानको मूर्त रूप हो ।’ मैले लेखनका लागि ध्यान गरेको छु । तर अहिले लेखेका कविता र गीतका प्रेम प्रसङ्गहरू चाहिँ केही प्राकृतिक हुन् । केही काल्पनिक । म अँझै गीतमा प्रयोग गर्न चाहन्छु । मलाई पशुपति शर्माका र बोकेदारीका गीतले औधी छोएका छन् । त्यसैले म नयाँनयाँ भाका र धूनमा गीत लेख्न चाहन्छु । सकेँ भने आफ्ना गीतमा आफैँ अभिनय गर्ने विचार पनि गरेको छु ।

गीत सार्वभौम र सर्वप्रिय भाषा हो । यो सरल हुनुपर्छ भन्ने मेरो मान्यता हो । तर म यसमा सफल हुन सकिरहेको छैन । साहित्यिक बेसका कारण मेरा गीतहरू केही कलात्मक र जटिल भैरहेका रहेछन् । गायक र संगीतकारबाट केही फिड्ब्याक पाएको छु । हेरौं । लेख्दै जाऊँ । कहाँ पुगिन्छ ? समयले कता लैजान्छ ? मेरो त लेख्ने काम हो । बाँकी संगीतकार र गायकको हो ।

७) गीत लेख्नुको तपाईंको तुष्टि के हो नि ? पैसा कि चर्चा ?

– मैले सन्तुष्टि र आफ्नो दृष्टिकोण राख्न गीत लेखेको हूँ । गायकले राम्रा छन् भनेर अहिले रेकर्ड गराउन थालेका छन् । यसमा मेरो केही भन्नु छैन । बजार लिए अनि केही नाम दिएभने म क्रमिक रूपले गीतमा लाग्ने छु । फेरि लेखक भनेको सधैं एकै किसिमको लेखिरहँदैन पनि । ऊ गतिशील भएर लेख्न चाहन्छ । लेखक भनेको नदी हो । ऊ बगिरहनु पर्छ । चर्चा, पुरस्कार, हल्ला र गाली त आउँछन्, जान्छन् । मुख्य कर्म लेख्न छाड्नु हुन्न ।

गीतमा युगीन सन्दर्भसँग जोडिएर म आम मानिसको अपेक्षा, खुसी र पीडा लेख्न चाहन्छु । मैले कतिपय गीतहरू आफूलाई केटाकेटी र युवा बनाएर पनि लेखेको छु । अँझै म किशोर र युवावयका गीत लेख्न चाहन्छु । मसँग थुप्रै त्यस्ता विषयहरू छन् ।
जहाँसम्म प्रेमगित छन् । ती सबैले मन पराएर सुन्छन् अनि यु ट्युबमा हेर्छन् । प्रेम अन्तर्राष्ट्रिय भाषा हो । यसले जात, वर्ण, पेसा, हाँच र उमेर केही पनि भन्दैन । मात्र यो मर्यादामा चाहिँ रहनुपर्छ । यो अन्तर्मनको अकलुषित भाव हो । जो जस्ले जसलाई जहाँ पनि गर्न सक्छ ।
संसार प्रेममय छ । प्रेम गर्नेहरू महान् र सुखी आत्मा हुन्छन् । यो मेरो ठम्याइ हो ।

८) यो पटककको भ्यालेन्टाइन डेमा के छ गुरुको प्लान ?

– केही छैन । अरूलाई भन्यो भने चड्क्याइहाल्छन् । बूढीलाई ‘आई लब यु बूढी’ भन्नु पर्ला । फोनबाटै । लागेछ भने –स्काइपबाट । नत्र प्रेमपरक गीत र कविता नै लेखेर प्रेमदिवस मनाउने हो । स्थानीय एफ्एम्ले अन्तर्वार्तामा बोलाएका छन् । गयो । वार्ता गर्यो । अनि साथीभाइसँग रमाइलो गर्ने हो । लेखकले के नै गर्न सक्छ र ? लेख्छ । राख्छ । राम्रो भए प्रकाशित र प्रशारित हुन्छन । नभए च्यात्छ । फाल्छ । फेरि अर्को लेख्छ ।

९) नयाँ लेखक अँझ खासगरी प्रेम विषयमा लेख्नेलाई के सल्लाह दिनुहुन्छ ?

– के दिनु र ? लेख्नु । लेख्नका लागि प्रकृति र समाजको भलिभाँती अध्ययन गर्नु । पढ्नु । लेख्नु । मन भए, छाप्नु । नभए च्यात्नु । राम्रा लेख्न अरूका राम्रा पनि पढ्ने गर्नु । मनमा भएका भावनालाई गुम्स्याएर नराख्नु । लेख्दै जाँदा एकदिन न एकदिन आपसे आप राम्रा निस्कन्छन् । मैले पनि एकै दिनमा लेख्न सकेको होइन । मैले लेखनमा विविध प्रयोग र साधना गरेको छु । मेरा उर्वर ३६ वर्ष लेखनमा खर्चेको छु । खिपेको छु । तुनेको छु । बुनेको छु । उधारेको छु । च्यातेको छु । यसमा विभिन्न विषयका लेखन भए होलान् । यति नै लेखे भन्न सक्तिनँ । अँझै लेख्दै छु । मैले लेखेभन्दा नलेखेका विषय र सन्दर्भ धेरै छन् । म बाँचुन्जेल लेखिरहन चाहन्छु । मलाई आफूलाई मन पर्ने सबै विषयमा लेख्न मन छ । समाजका सबैभन्दा मुनिरहेका मानिसहरूको भावनालाई आवाज दिने चाहना छ । म त्यसका लागि पनि निरन्तर लेखिरहन्छु ।

१०) व्यस्त समयका बीच पनि हामीलाई अन्तर्वार्ता दिनुभयो । यसका लागि यहाँलाई धन्यवाद् दिन्छु ल ।

– मलाई सम्झेर यहाँसम्म आई प्रेमका प्रश्नहरूले झक्झक्याउनु भयो । यहाँप्रति आभार प्रकट गर्दछु । लेखकका कुरा नकोट्याए पाठकले कसोगरी थाहापत्तो पाउनु ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *