Skip to content


कञ्चन पुडासैनीलाई सर्वाधिक लोकप्रिय बनायो, नारायणगोपालले गाएको गीत ‘तिमीलाई भूल्दा म एक्लो भएछु…’ले । त्यसपछि पनि उनले प्रेम-वियोगका झन्डै दुई दर्जन गीत रेकर्ड गराए तर श्रोताहरूबाट उनलाई कहिल्यै भूल्न दिएन, यही गीतले ।

‘२० को दशकको प्रभातबाटै काव्यसिर्जनाको परिचय दिइसकेका हुन्, पुडासैनीले । कवितासंग्रह अक्षरहरू (२०२०) पछि उनले नेपाली काव्यफाँटमा धेरै अक्षर खर्च गरे । एकाउन्न पुकार नामक कविताकृतिकै लागि उनले ०५१ सालको मदन पुरस्कारसमेत हासिल गरे । काव्यसिर्जनाका १० वटा नमुना संग्रह र हाँस्यव्य ग्यात्मक शैलीका दुइटा गीतिनाटक पनि प्रकाशित छन् ।

महाकवि देवकोटाका सान्निध्यमा रहेर कवितालाई कसरी उमार्नुपर्छ, कसरी गोडमेल गर्नुपर्छ र कसरी फलदायी बनाउनुपर्छ भन्ने थोरबहुत ज्ञान-अनुभव पनि सँगालिसकेका कवि पुडासैनी विधागत रूपमा कवि नै हुन् । महाकविले कुनै विधामा आफ्नो अनुपस्थिति देखाएनन् । त्यसैले आख्यानमा पनि यही अधुरोपनलाई पूरा गर्न चम्पा लेखे । महाकविका यी चेलाले पनि देवकोटाको पदचापमा आफ्ना पाइला नराखी सायद सन्तोष अनुभव गरेनन् । स्मृतिको यात्रा : मनको डोब निबन्धसंग्रह प्रकाशित गरी देवकोटालाई ०४५ सालतिरै पछ्याइसकेका थिए, अधुरो उपन्यास : अधुरा इच्छा उपन्यास प्रकाशित गरिसकेपछि देवकोटाको चम्पाको अनुशीलन गर्न पुगे । उपन्यासभित्र पात्र र घटनाको लस्कर छ । उपन्यासभित्र पनि उपन्यास छ । उपन्यासभित्र घटना, स्थान र पात्रलाई जोड्ने कथा त हुने भए नै तर अधुरो उपन्यास : अधुरा इच्छाभित्र पात्रले लेखेको कथा पनि छ । यस उपन्यासको एक पात्र, जो पत्रकार, प्रेमीलगायत एक कथाकार पनि हुन्छ । त्यसले यही उपन्यासभित्र लेख्छ- ‘अनिकाल’, ‘बूढा बाबु र विनय राम’ र ‘बेगबहादुरको कथा’ नामक तीन थान कथा ।

प्रयोगै त नभनौँ तर उनले अधुरो उपन्यास : अधुरा इच्छाभरि आफ्नो काव्यशिल्पको उपयोग गरेका छन् । प्राय: हरेक पात्रले कवितामा संवाद बोल्छन् । तर, यसले उपन्यास पाठनको रोचकतालाई अलमल्याउने या दिशान्तरण गर्ने काम गरेको छैन । रोदीघरमा दोहोरी खेल्नेले स्वत:स्फूर्त गीत गाएजस्तै यिनका उपन्यासका अकवि पात्रले पनि फुत्तफुत्त कविता बोल्छन् । उपन्यासमा यो आश्चर्य त्यस्तै लाग्छ, जस्तो आश्चर्य रोदीघरमा पहिलोपल्ट छिर्ने श्रोताले रातभरि तत्काल कथेका दोहोरी सुन्दा गर्छ ।

उपन्यास प्रेमबाट आरम्भ हुन्छ र झन्डै प्रेमभावमै पुगेर अन्त्य हुन्छ । तर, उपन्यास नामजस्तो अधुरो छैन । प्रेमबाट सुरु भएको कथा यौनमा पुगेर विश्राम लिन्छ । प्रेम र यौनबीचका चरणहरू उत्पातसँग शृंखलाबद्ध रूपमा निरन्तर बगेका छन् । यस दृष्टिले मात्र यस उपन्यासको अध्ययन गर्‍यो भने अधुरो उपन्यास : अधुरा इच्छा यौनवादी कित्ताको उपन्यासमा पुगेर पटाक्षेप हुन्छ ।

त्यसो त प्रेमका तृष्णा र यौवनका प्यास मात्र छैनन् उपन्यासमा । राजनीतिलाई पनि त्यत्तिकै सिलसिलेवार ढंगमा उठान-बैठान गर्ने प्रयत्न गरेका छन् उपन्यासकारले । राजनीतिमा पनि भ्रष्टाचार र द्वन्द्वमाथिको आफ्नो गहिरो अनुभव खन्याउँदै बडो अभिरुचिपूर्ण शैलीमा प्रस्तुत गरेका छन् । काव्यमा देवकोटाको सान्निध्य पाएजस्तै राजनीतिमा लामो समयसम्म गाउँ र जिल्लास्तरको राजनीतिसमेत गरिसकेकाले यस क्षेत्रमा पनि यिनको अनुभव कोरा कल्पना नहुने नै भयो । त्यसैले पञ्चायती युगदेखि माओवादी द्वन्द्व र यस द्वन्द्वपश्चात् देशले बेहोरेको राजनीतिक रूपलाई पनि उपन्यासमा छोटो धर्कोमा कोर्ने जमर्को गरेका छन् पुडासैनीले ।

उपन्यासकार भन्छन्, ‘यो उपन्यासको नाम मात्र अधुरो हो, मैले जहाँ उचित ठानेँ, त्यहीँ पुर्‍याएर टुंग्याएको छु ।’ उनको भनाइ उनका विचारमा उचित पनि होला । उपन्यासको मूल पात्र रवि रामले आरम्भ गरेको उपन्यास यहाँ अपूर्ण छ । पुडासैनीले दाबी गरेझैँ उनको उपन्यास अपूर्ण छैन । उपन्यासमा घटना, पात्र र यिनको सञ्चालनामा छ्यासमिस भए पनि शृंखला भंग भएको छैन । तर, आमपाठकले पढ्दा रविरामको अधुरो उपन्यासमाभन्दा उनको अधुरो उपन्यास : अधुरा इच्छामा भने धेरै पक्षलाई मिसाइँदा अलि अलमलिएजस्तो लाग्छ । उपन्यासमा प्रयुक्त कवितांशले धेरै ठाउँमा उपन्यासलाई हाँस्य र हलुका बनाउँछ । उपन्यासकारले यसमा ध्यान दिन सकेका भए, सुन्दर आँखामा गाजल सौन्दर्यपूर्ण हुन्थ्यो । यद्यपि, शीर्षक अधुरो भए पनि काम पूरा भएको छ, पुडासैनीको उपन्यास लेख्ने ।

अधुरो उपन्यास : अधुरा इच्छा
लेखक : कञ्चन पुडासैनी
प्रकाशक : रत्न पुस्तक भण्डार
पृष्ठ : २८२
मूल्य : २४५ रुपियाँ

प्रकाशित: जेष्ठ १०, २०७२
http://nepal.ekantipur.com/news/2015-05-24/8421.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *