सयौँ थुँगा फूलका हामी


पात्रहरू:
लिम्बुवान राज्यकी लिली नामधारी २० बर्से युवती
विजयपुर राज्यका विजय नामधारी २१ बर्से युवक
कोचिला राज्यकी कोपिला नामधारी २२ बर्से युवती
किरात राज्यका किशोर नामधारी २३ बर्से युवक
मधेश राज्यकी ममता नामधारी २४ बर्से युवती
तामाकोसी राज्यका तार्केश्वर नामधारी २५ बर्से युवक
शेर्पा राज्यकी शेफालिका नामधारी २६ बर्से युवती
तामसालिङ राज्यका तासा नामधारी २७ बर्से युवक
नेवा राज्यकी नेहा नामधारी २८ बर्से युवती
नारायणी राज्यका नारायण नामधारी २९ बर्से युवक
तमुवान राज्यकी तब्बू नामधारी ३० बर्से युवती
रिडी राज्यका रिसव नामधारी ३१ बर्से युवक
मगर राज्यकी मनिषा नामधारी ३२ बर्से युवती
थारूवान राज्यका थानेश्वर नामधारी ३३ बर्से युवक
भोटेलामा राज्यकी भोर्जन नामधारी ३४ बर्से युवती
भेरीकर्नाली राज्यका भेषराज नामधारी ३५ बर्से युवक
सेतीमहाकाली राज्यकी सेकरिन नामधारी ३६ बर्से युवती

(एउटा सुनसान ठूलो कोठा । परपर ससानो गाइँगुइँ आवाजमात्र सुनिन्छ । लिम्बुवान, विजयपुर, कोचिला, किरात, मधेश, तामाकोसी, शेर्पा, तामसालिङ, नेवा, नारायणी, तमुवान, रिडी, मगर, थारूवान, भोटेलामा, भेरीकर्नाली, सेतीमहाकाली जस्ता १७ राज्यहरूसँग नाम मिल्न खोजेका सत्रजना युवकयुवतीहरू गम्भीर रूपमा बसेका देखिन्छन् । उनीहरू क्रमश: पूर्वदेखि पश्चिमतिर लहरै बसेका छन् । आफ्नो ठाउँको विशेषता झल्कने गरी क्रमश: २० नम्बरदेखि ३६ नम्बरसम्मका अङ्क अङ्कित पोशाक लगाएका छन् । उनीहरूमध्ये कसैकसैमा उदासी र अन्योलसमेत भेटिन्छ । त्यतिकैमा सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ, पात्रहरू पनि चनाखो हुँदै जान्छन् ।)

सूत्रधार : (अगाडिरहेको माइक्रोफोननजिक आएर नमस्कार गर्दै) श्रद्धेय महानुभावहरू ! यसरी सत्रैजनालाई एकै ठाउँमा भेला गराएर कुरा गर्न र गराउन, सुन्न र सुनाउन पाएकोमा म असाध्य खुसी छु । निश्चय नै हामी सङ्क्रमणकालीन अवस्था पार गर्ने तरखरमा छौँ । हामै्र बरबुताले नयाँ नेपाल निर्माण हुने हो । हाम्रै मेल र एकताले संसारले पाठ सिक्ने हो । हरेक व्यक्ति सचेत भइएन भने देश विखण्डनतिर जाने र हाम्रो मुक्ति आन्दोलन नै धरासायी हुने खतरा बढ्छ । सङ्घीयता हाम्रो उन्नतिका लागि हो, बिखण्डनका लागि होइन । अहिले हामी एकअर्कामा अपरिचित छौँ । त्यसैले कार्यक्रमको शुभारम्भमा क्रमश: पूर्वदेखि पश्चिमतिर लहरै बस्नुभएका महानुभावहरूलाई आआफ्नो परिचय दिन आग्रह गर्दछु । (ताली बज्छ ।)

लिली : (अगाडिरहेको माइक्रोफोननजिक आएर नमस्कार गर्दै) म तपाईंहरूकै लिली नामकी २० बर्से युवती हुँ । म यहाँ प्रतिनिधि पात्रका रूपमा उपस्थित छु । म धेरै कालदेखि हेपिएकी, चेपिएकी र जबरजस्ती पेलिएकी छु । मनका भावना नखोल्दा आफू अन्यायमा पर्दा पनि मुख बन्द गरेर बस्दाको प्रतिफल नै मेरो त्यस कालको दु:खको, अपहेलनाको कारण रहेछ भन्ने कुरा मैले बिस्तारै थाहा पाएँ । जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र अन्य निमुखा वर्गका आन्दोलनमा हजारौँ वीरवीराङ्गनाहरूको जीवन उत्सर्ग र रगतपसिना बगेका कारण म यो अवस्थामा आएकी हुँ । हाम्रा लागि कहर काट्ने तमाम महानुभावको म ऋणी छु । मभन्दा पूर्व भारत र उत्तरमा चीन छन्, जसदेखि बडो सतर्क नभई भएको छैन । दक्षिणतिर मेरा छिमेकी मित्रहरू विजयपुर र कोचिला छन् भने पश्चिममा किरात छन् । सबैसँग सुमधुर साइनो कायम गर्ने रहर मनमा छ । धन्यवाद । (नमस्कार गर्दैपछि सर्छिन् । ताली बज्छ ।)

विजय : (अगाडिरहेको माइक्रोफोननजिक आएर नमस्कार गर्दै) म तपाईंहरूकै २१ बर्से विजय नामको युवक हुँ । मसँग पनि अनेक खाले पीडाका कहिरन छन् । जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र अन्य वर्गका आन्दोलनमा जीवन उत्सर्ग गर्ने र रगतपसिना बगाउने हजारौँ वीरवीराङ्गनाको सम्मानमा म शिर झुकाउँछु । हामी जस्तै समान वर्गका मेलमिलापी भावनाबाटै हामी अजङ्गका शत्रुलाई पराजीत गर्न सक्छौँ भन्ने मेरो सोच छ । मभन्दा पूर्व र दक्षिणमा कोचिला उत्तर र पश्चिममा क्रमश: लिम्बुवान र किरात छन् । (नमस्कार गर्दैपछि सर्छन् । ताली बज्छ ।)

कोपिला : (अगाडिरहेको माइक्रोफोननजिक आएर नमस्कार गर्दै) म तपाईंहरूकै कोपिला नामधारी २२ बर्से युवती हुँ । म धेरै समयदेखि राज्यको मूलधारबाट टाढा पर्दै आएकी छु । मेरा मनका भावना र पीडाको लेखाजोखा सुनाउन खोजेँ भने मैले लामो समय लिनुपर्छ । म अरूको अधिकार छिन्न रुचाउँदिन र मैले पाउने हकमा कसैले दाबी नगरोस् भन्ने चाहन्छु । निश्चय नै जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन जस्ता आन्दोलनहरूमा त्याग देखाउने ज्ञातअज्ञात हजारौँ शहिद र महानुभावप्रति हृदयदेखि नै कृतज्ञता जाहेर गर्दै उहाँहरूको सपना साकार पार्न कटिबद्ध छु । मभन्दा पूर्व र दक्षिणमा मित्र राष्ट्र भारत छन् भने उत्तरमा लिम्बुवान र विजयपुर छन् । किरात पनि उत्तरतिरै पर्छ । त्यस्तै पश्चिममा भने मित्र मधेश छन् । (नमस्कार गर्दैपछि सर्छिन् । ताली बज्छ ।)

किशोर : (अगाडिरहेको माइक्रोफोननजिक आएर नमस्कार गर्दै) म २३ बर्से किशोर नाम गरेको युवक हुँ । हो, यहाँ म प्रतिनिधिका रूपमा खडा छु । ममाथि धेरै कालदेखि राज्यको गिद्धेदृष्टि परेको छ । सोझो भनेर हेप्ने, चेप्ने र जबरजस्ती पेल्ने काम भएकोले म मर्माहत छु । मेरा आफ्नै मौलिक सांस्कृतिक पहिचान छन् । हामीले राज्यको मुख नताकी वरिष्ठ साहित्यकार जसराज किरातीको अध्यक्षतामा किरात एकेडेमी गठन गरिसकेका छौँ । भोजपुर र खोटाङ जिल्लाको बीचमा पर्ने ट्याम्के डाँडामा करिब ६० मीटर अग्लो बिजुली बत्तीसहितको भ्यू टावरको निर्माण कार्य सुरु गरिसकेका छौँ । उक्त टावरको नाम हो, ‘किरात प्रदेशमा आर्थिक क्रान्तिको झन्डा’ । हाम्रो भेगको सङ्घीय राज्यको राजधानी भोजपुरको पान्धारेमा राख्ने योजना छ । बृहत् कोसी आर्थिक क्षेत्र र अरुण भ्याली आर्थिक क्षेत्र घोषणा गरी काम सुचारु गर्ने योजना पनि छ । ओझेलमा परेका हामी र हाम्रो ठाउँको उन्नतिमा हामी नै अघि सरे राज्य निहुरिन बाध्य हुन्छ । दश बर्से जनयुद्ध, उन्नाइस दिने जनआन्दोलन २, मधेश आन्दोलन र अन्य थारू वर्गलगायतका आन्दोलनप्रति सम्मान जनाउँदै दिवङ्गत हजारौँ वीरवीराङ्गनाप्रति श्रद्धासुमन जाहेर गर्छौं । त्याग र बलिदानीको गाथा बनाएका तमाम महानुभावको सपनालाई विपनामा परिणत गर्ने कसम खान्छौँ । अन्तमा, मभन्दा पूर्व लिम्बुवान र विजयपुर, उत्तरमा चीन छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र मधेश छन् । त्यस्तै पश्चिममा शेर्पा, तामाकोसी र तामसालिङ छन् भन्दै अहिले म बिदा हुन्छु, नमस्कार । (नमस्कार गर्दैपछि सर्छन् । ताली बज्छ ।)

ममता : (अगाडिरहेको माइक्रोफोननजिक आएर नमस्कार गर्दै) म तपाईंहरूकै ममता नाम गरेकी २४ बर्से युवती हुँ । यहाँ म प्रतिनिधिका रूपमा उपस्थित छु । मेरो आफ्नै भेषभुषा, रहनसहन र सांस्कृतिक पहिचान छ । मेरा लागि हेपिनु, चेपिनु र जबरजस्ती पेलिनु सामान्य कुरा हो । मनका भावना नखोल्दा, अन्यायमा पर्दा पनि सहेर बस्दाको प्रतिफल नै दु:खको, अपहेलनाको कारण रहेछ भन्ने कुरा मैले बिस्तारै थाहा पाएँ । दान पाउन पो माग्नुपर्छ । हक पनि कहीँ मागेर पाइन्छ र ? यस्ता कुरा मलाई जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र अन्य वर्गका आन्दोलनहरूले सिकाएका हुन् । यस्ता जनतालाई सार्वभौम बनाउने आन्दोलनहरूका हजारौँ योद्धाहरूप्रति शिर निहुर्याउनु आफ्नो कर्तव्य ठान्छु । राज्यका हरेक अङ्गमा पुगेर राष्ट्र सेवा गर्न पाउनु सबै वर्गको अधिकार पनि हो । सबै ठाउँमा व्यक्ति नपुग्ला तर वर्ग पुग्नुपर्छ भन्ने मेरो मत हो । त्यसमा कसैले हस्तक्षेपकारी नीति अख्तियार गर्यो भने त्यो कसैलाई स्वीकार्य हुन्न । राज्यले कसैलाई काखा र कसैलाई पाखा पार्न खोजेको कुरा इतिहास साक्षी छ । कोही अघि बढ्न सकिरहेको छैन भने त्यसलाई कसरी अघि बढाउने त भन्ने कुरामा चिन्तनशील भई विशेष योजना ल्याएर सबैलाई मूल धारमा समेट्नुपर्नेमा जो पछि छ उसैलाई अँझ पछि पार्नु कतिसम्मको अन्याय हो ? मेरा मनका मुख्य कुरा यिनै हुन् । मेरो परिचयको अर्को पाटोका बारेमा भनौँ, मभन्दा पूर्व कोचिला र विजयपुर छन् । दक्षिणतिर मेरा छिमेकी मित्र राष्ट्र भारत र पश्चिममा थारूवान छन् । उत्तरमा भने मेरा मित्रहरू धेरै छन् । ती हुन्, कोचिला, विजयपुर, किरात, तामसालिङ, नारायणी र मगर । (नमस्कार गर्दैपछि सर्छिन् । ताली बज्छ ।)

तार्केश्वर : (अगाडिरहेको माइक्रोफोननजिक आएर नमस्कार गर्दै) तार्केश्वर नाम गरेको म २५ बर्से युवक धेरै कालदेखि अँध्यारो कुनामा कुँजिएर बस्न बाध्य छु । धेरै कहर काटेपछि जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थारू आन्दोलन जस्ता अधिकार छिनिएका वर्गहरूको आन्दोलनहरू जन्मे । नखुलेका आँखा पनि खुले । आफ्ना भावना नखोल्दा, अन्यायमा पर्दा पनि हात बाँधेर बस्दाको प्रतिफल नै दु:ख र अपहेलनाको कारण रहेछ । हजारौँ वीरवीराङ्गनाले जीवन उत्सर्ग गरे । धेरैको रगतपसिना बग्यो । हाम्रा लागि पीडा भोग्ने ती तमाम वर्गप्रति श्रद्धा जाहेर गर्दै म मेरो भौगोलिक परिचय दिँदै छु । मभन्दा पूर्व किरात र कतै शेर्पा तथा उत्तरपश्चिममा शेर्पा र तामसालिङ छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र तामसालिङमात्र छन् । (ताली बज्छ ।)

शेफालिका : (अगाडिरहेको माइक्रोफोननजिक आएर नमस्कार गर्दै) म तपाईंहरूकै शेफालिका नाम गरेकी युवती हुँ । म २६ वर्षकी भएँ । जनतालाई हकअधिकारले सुसज्जित पार्ने महान् लक्ष्यका साथ सञ्चालित जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनजस्ता विविध खाले आन्दोलनमा मैले भौतिक र नैतिक संलग्नता जनाएँ । मुलुक र जनतालाई निरङ्कुश शासकको हातबाट मुक्त गर्न ठूलो कहर काट्ने ती तमाम महानुभावप्रति श्रद्धा जाहेर गर्दै राज्यको मूल धारबाट कोही नअलग्गियोस् भन्दछु । जनताको नेतृत्व गर्छु भन्नेले सबै जनतालाई छहारी दिन सक्नुपर्छ । नेतानेतृ भन्न सजिलो छ तर वास्तविक अर्थमा नेतानेतृ बन्न गाह्रो छ । मभन्दा पूर्व किरात र उत्तरमा चीन छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र तामाकोसी छन् । पश्चिममा चाहिँ तामसालिङ र केही मात्रामा तामाकोसी पर्दछन् । (नमस्कार गर्दै पछि सर्छिन् । ताली बज्छ ।)

तासा : (अगाडिरहेको माइक्रोफोननजिक आएर नमस्कार गर्दै) २७ बर्से युवक तासा भन्ने मै हुँ । मेरो पनि व्यथा अरूको झैँ छ । बोल्नुपर्ने बेलामा बोल्नुपर्ने रहेछ । विरोध गर्ने ठाउँमा कडा विरोध नजनाए थिचुवाहरूले अँझ थिच्ने रहेछन् । हाम्रा हितमा रगत चढाउने, खुन र पसिना बगाउने सबैप्रति आभार व्यक्त गर्दै म मेरो भौगोलिक परिचयतिर ध्यान तान्न चाहन्छु । केन्द्रमा नेवा, पूर्वमा शेर्पा, तामाकोसी र किरात हुनु उत्तरमा चीन त्यस्तै दक्षिणतिर मेरा छिमेकी मित्रहरू मधेश र नारायणिरहनु साथै पश्चिममा तमुवान र केही मात्रामा नारायणी पर्नु मेरो भौगोलिक परिचय हो ।

(नमस्कार गर्दै पछि सर्छन् । ताली बज्छ ।)

नेहा : (माइक्रोफोननजिक आएर नमस्कार गर्दै) म तपाईंहरूकै नेहा नामकी युवती हुँ । म २८ वर्षकी भएँ । म शैक्षिक परिवेशमा रहे पनि जति प्रगति गर्नुपर्थ्यो, त्यतिसकेकी छैन । मसँग आफ्नै अमूल्य सांस्कृतिक सम्पदाहरू छन् । विभिन्न वर्गको आन्दोलनमा हजारौँको जीवन उत्सर्ग भएको छ र रगतपसिना बगेको छ । हाम्रा लागि ठूलो पीडाको भारी बोक्ने ती तमाम महानुभावको सपनाबमोजिम चल्ने प्रण गरेकी छु । म अचम्मको ठाउँमा छु । मेरा वरपर मेरा मित्र तामसालिङमात्र छन् । (नमस्कार गर्दैपछि सर्छिन् । ताली बज्छ ।)

नारायण : (नमस्कार गर्दै) म नारायण, २९ बर्से युवक तपाईंहरूकासामु उपस्थित छु । म अनादि कालदेखि नै विकासमा पछि छु । अघि को छ त ? मेरा मनमा यो भावना यदाकदा आउँछ । म पनि श्रद्धेय शहिदहरूको आभारी छु । म ऋणी छु । मेरो अर्को परिचय भन्नुपर्दा पूर्वमा तामसालिङ, उत्तरमा पनि तामसालिङ, तमुवान र मगर छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र मधेश छन् ।
(नमस्कार गर्दैपछि सर्छन् । ताली बज्छ ।)

तब्वू : (अगाडिको माइक्रोफोनमा आएर नमस्कार गर्दै) म तब्वू भन्ने ३० बर्से युवती हुँ । म धेरै कालदेखि पछि परेकी छु । मलाई अघि बढ्न नदिने मनग्य तत्वहरू छन् । मभन्दा पूर्व तामसालिङ र उत्तरमा चीन छन् भने दक्षिणतिर मेरा छिमेकी मित्रहरू नारायणी, मगर र रिडी छन् । पश्चिममा भने भोटेलामा र चीन छन् । (नमस्कार गर्दैपछि सर्छिन् । ताली बज्छ ।)

रिसव : (माइक्रोफोननजिक आएर नमस्कार गर्दै) म रिसव हुँ । म ३१ बर्से युवक हुँ । म अविकसित बनाइएर हेपिएको छु । मनका व्यथा मनमै छन् । जनताका आन्दोलनहरूमा वीरता देखाउने सम्पूर्ण सुपुत्र सुपुत्रीहरूको कदर गर्ने इच्छा छ । चारैतिर मगरले घेरिन लागेको थिएँ तर उत्तरमा भने तमुवान आइपुगे । नमस्कार । (ताली बज्छ ।)

मनिषा : (अगाडिरहेको माइक्रोफोननजिक आएर नमस्कार गर्दै) म मनिषा ३२ बर्से युवती तपाईंहरूका सामुमा परिचयका लागि उपस्थित छु । मैले हरेक ठाउँमा रगतपसिना बगाएकी छु । हाम्रा लागि निरङ्कुशताका विरुद्ध लड्ने हरेक वर्गप्रति ऋणी छु । मभन्दा पूर्व नारायणी, रिडी र तमुवान जस्ता मित्रहरू छन् भने उत्तरमा एक हिसाबले रिडी र तमुवानका साथै भोटेलामा पनि पर्छन् । मझैँ समान खाले सबैसँग मिलेर अघि बढ्नु नै मेरो चाहना हो । नमस्कार । (ताली बज्छ ।)

थानेश्वर : (नमस्कार गर्दै) म तपाईंहरूकै ३३ बर्से युवक थानेश्वर हुँ । म आदिवासी भईकन पनि धेरै कालदेखि पछि परेको छु । धेरै पछि भने आफू अन्यायमा पर्दा मुख खोल्ने साहस गरिएकै हो । सुन्ने र गर्नेले छक्याएपछि कसको के लाग्दो रहेछ र ? हाम्रा लागि प्राण चढाएका र सुखसयल तिलाञ्जली दिएका वीरवीराङ्गनाहरूको सम्मान गर्दै मभन्दा पूर्व मधेश र मगर रहेका, उत्तरमा मगर, भेरीकर्नाली र सेतीमहाकाली छन् भने दक्षिण र पश्चिमतिर मेरा छिमेकी मित्र भारत छन् भन्दै मेरा कुरा अहिले यही रोक्छु । नमस्कार । (ताली बज्छ ।)

भोर्जन : (अगाडिरहेको माइक्रोफोननजिक आएर नमस्कार गर्दै) म भोर्जन नाम गरेकी ३४ बर्से युवती तपाईंहरूकोसामु उपस्थित छु । सबैका जस्तै मेरा पनि कुरा उस्तै हुन् । यति भनूँ, म निमुखाको निमुखै नरहूँ । भौगोलिक अवस्थिति भने अलिक भिन्नै छ । मभन्दा उत्तर र पश्चिममा चीन छन् । दक्षिणतिर मेरा छिमेकी मित्रहरू मगर, भेरी, कर्नाली र सेती, महाकाली छन् भने पूर्वमा तमुवान छन् । अरू के भनूँ, नमस्कार । (ताली बज्छ ।)

भेषराज : (माइक्रोफोनमा बोल्दै) नमस्कार । म तपाईंहरूकै भेषराज नामधारी युवक हुँ । ३५ वर्षको भएँ । परापूर्व कालदेखि नै बाटो न घाटो भई पेलिएको छु । मकहाँ आउन पनि अर्काको घर हुँदै आउनुपर्छ । जति धन भए पनि त्यो गर्भमै सीमित छ । हाम्रा लागि दु:ख उठाउनेप्रति अनुगृहित छु । अरू कहिरनको लेखाजोखा गर्न थालेँ भने थामी नसक्नुको पीडा हुन्छ । मभन्दा पूर्व मगर र केही मात्रामा भोटेलामा र उत्तरमा पनि भोटेलामा नै छन् । दक्षिणतिर भने मेरा छिमेकी मित्र थारूवान छन् । पश्चिममा सेतीमहाकाली छन् । (नमस्कार गर्दैपछि सर्छन् । ताली बज्छ ।)

सेकरिन : (अगाडिरहेको माइक्रोफोननजिक आएर नमस्कार गर्दै) म पनि तपाईंहरूकै सेकरिन नाम गरेकी ३६ बर्से युवती हुँ । म हरतरहलेपछि छु । मलाई लुछ्ने र चुस्नेहरूको कहिरन बताउन सक्तिनँ । दोष कसलाई दिनुँ ? मलाई गुण लगाउने सबैलाई श्रद्धा गर्छु । उत्तरतिर भोटेलामा र नजिकै चीन छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र थारूवान छन् । पश्चिममा भारत नै मेरो चिनारी हो । नमस्कार । (ताली बज्छ ।)

सूत्रधार : आआफ्नो परिचयका लागि सबै मित्रलाई धन्यवाद । एकले अर्कोलाई थोरै भए पनि चिनियो । कतिपयसँग राम्रा कुरा धेरै छन् । कतिपयमा धेरै खाले अन्धविश्वासहरू मनग्य छन् । बेग्लै पहिचानका कुरा पनि गरौँ कि ?

लिली : गरौँ । आज एकले अर्कोलाई बुझ्ने कोसिस गरौँ । चोरी विवाह, वर्षको दुईपटक उधौलीउभौलीको पूजा, धाननाच (यालाङ्गमा), च्याब्रुङ नाचहरू नै हाम्रा पहिचान हुन् ।

विजय : ऐतिहासिक महत्त्वले भरिपूर्ण हुनु नै हाम्रो पहिचान हो ।

कोपिला : कोचे, राजवंशी, धिमाल जातिको बाहुल्य हुनु नै हाम्रा पहिचान हुन् ।

किशोर : चण्डी र च्याब्रुङ नाच एक किसिमले हाम्रा पहिचान हुन् ।

ममता : छठ पर्व, होली पर्व, मैथिली भाषा बोल्नेहरू बहुसङ्ख्यक हुनु, उर्वर खेतीयोग्य जग्गा हुनु हाम्रा पहिचान हुन् ।

शेफालिका : ल्होसार, दुम्जी, ओसो, छेजु, मानिरिम्दु पर्व हाम्रा चिनारी हुन् । फागुपूर्णिमाको दिन ‘ॐ मणिपद्मे हुँ’ (हामी विश्व शान्ति चाहन्छौँ) भनी जपिने कम महत्त्वको छैन । बहुपति प्रथा अलग्गै कुरो हो । पोशाक (बक्खु) र जुत्ता (दोचा) चाहिँ हामीलाई चिनाउने मुख्य चीज हुन् ।

तासा : तामाङ र चेपाङ बाहुल्य हुनु हाम्रा पहिचान हुन् ।

नेहा : बेलविवाह, इन्द्रजात्रा, भोटोजात्रा, मछिन्द्रनाथ, म्हपूजा आदि हाम्रा चिनारी हुन् । अरूभन्दा हामी आर्थिक, सांस्कृतिक र शैक्षिक रूपले सम्पन्न छौँ र पनि भने जस्तो अघि छैनौँ । हामी पनि भयङ्कर कहर काट्न विवश छौँ ।

तब्वू : हामी गुरुङ (तमु) स्वदेश र विदेशमा सैनिक सेवाका लागि प्रख्यात छौँ । घाटुनाच, पुटपुटेनाच, युवायुवतीबीच मायाप्रीति आदानप्रदान गर्न रोदीघर जस्ता परम्परा हाम्रा चिनारी हुन् ।

मनिषा : मामाचेली, फुपूचेलाबीच विवाह, भाउजू बेहोर्ने, जारी विवाहलाई कसैकसैले नराम्रो मानेको पाइन्छ । कोरानाच, घाटुनाच, नागपूजा, लुतो फाल्ने जस्ता कुरा हाम्रा पहिचान बनिसकेका छन् ।

थानेश्वर : नयाँ वर्षका रूपमा मनाउने माघी, होली, जितिया, सामाचखेवा जस्ता पर्व हाम्रा पहिचान हुन् ।

भोर्जन : डोल्पा, हुम्ला, मुगु र मुस्ताङ भोटेलामा बाहुल्य हुनु हाम्रा पहिचान हुन् ।

सूत्रधार : कतिपयका मौलिक पहिचान हराइसकेका छन् । बाहिर नदेखिने थुप्रै प्रथा र परम्पराहरू छन् सबैजसोसँग । राम्रा कुराहरूलाई जोगाउनुपर्छ र नराम्रा कुराहरूलाई इतिहास बन्न दिनुपर्छ । वर्तमान बन्न दिएर यथास्थितिवादीका पुजारी भयौँ भने शहिदको रगतले सराप्छ । इतिहासले धिक्कार्छ । भविष्यका सन्ततिले थुक्छन् । त्यसैले हामीले कस्ताकस्ता प्रथा र परम्परालाई इतिहासमा सीमित पार्दै आयौँ त ? अनि केकस्ता विकृत प्रथालाई स्थान दिँदै छौँ ? यसबारे एकैक्षण विचार मन्थन गरौँ न । यसको मतलब चाहिँदो प्रथामात्र चलाऔँ र कुसंस्कार हटाऊँ भन्ने मनसाय हो ।

लिली : गरौँ, जानेका र बुझेका कुरा गरौँ । पृथ्वीनारायण, गीर्वाणयुद्ध, भीमसेन थापा, देवशमशेर जस्ताले हटाउन चाहेको दासप्रथालाई जङ्गबहादुरले मलजल गरे तर टुँडिखेलमा आमसभा गरी वि.सं. १९८० मङ्सिर १४ गते चन्द्रशमसेरले हटाए ।

विजय : उसो त पतिको मृत्युपछि पत्नीले जल्नुपर्ने प्रथा (सती प्रथा) पनि नराम्रो हो नि ।

कोपिला : मध्यकालमा भारतमा पति मरेपछि परपुरुषको अत्याचारबाट बच्न हिन्दू नारीमा यो प्रथा सुरु भएको थियो । पछि गएर पुरुषका लागि मानप्रतिष्ठा र नारीका लागि धर्म हुने नाममा बाध्यता बन्न पुग्यो । एउटा घोर आश्चर्य ! मृत पतिका साथ जिउँदै जल्नुपर्ने कष्टकर चलन !

किशोर : झन् मैले त सुनेको छु, यसका समर्थकहरू सती जाने बेलामा सतीको स्तुतिका लागि विभिन्न राग र थरीथरीका बाजागाजा बजाउँथे रे । ती पाखण्डीहरू सती जानेलाई साक्षात् देवी भन्थे रे । जिउँदै मर्नुपर्दा निस्किने हृदयबिदारक चित्कार सुन्नु नपरोस् भनी बाजागाजा बजाइएका हुन् भन्ने कुराचाहिँ कमैलाई थाहा छ ।

ममता : के भन्ने ! धर्मका नाममा यी राजामहाराजाहरूका विलासीका कुरा ! रत्न मल्ल मर्दा १० जना, प्रताप मल्ल मर्दा ९ जना, योगनरेन्द्र मल्ल मर्दा ३३ जना सती गएका थिए रे । रणबहादुर शाह मर्दा हेलम्बू निर्वासित रानी राजराजेश्वरीलगायत १५ जनालाई राजनीतिक स्वार्थका लागि सती जान बाध्य पारिएको घटना कम हृदयबिदारक छैन । कविवर माधवप्रसाद घिमिरेले ‘राजराजेश्वरी’ खण्डकाव्यमा केही मात्रामा यसको वर्णन
गरेका छन् ।

तार्केश्वर : वि.सं. १९७७ (२८ जून, सन् १९२०)मा चन्द्रशमशेरले घोषणा गरी यो मानवताविरोधी प्रथा हटाए र पनि भारतमा यदाकदा सती गएको घटना सुन्न पाइएको छ । सरकारी तहबाटै चाहिँ सती जानैपर्ने नियम छैन । धर्मका नाममा अँझै यस्ता पाखण्डहरू मनग्य कायम छन् ।

शेफालिका : पारिश्रमिकविना काम गर्दिनुपर्ने झारा प्रथा पनि घोर अन्यायी प्रथा हो । सरकारी एवं सार्वजनिक कामकाजमा त यो प्रथा ठिक छ तर कथित ठूलाठालुले सर्वसाधारणलाई निजी काममा खटाउनु घोर अन्यायी चलन हो ।

तासा : ठूलाठालु भनाउँदालाई सार्वजनिक काममा विनापारिश्रमिक योगदान देओ भन्ने नियम बनाउने हो भने बरु मनासिब हुन्थ्यो । उनीहरूले श्रम नदिए पनि श्रमिकलाई दिइने पारिश्रमिक त दिन्थे ।

नेहा : भारतको मुम्बई, कलकत्ता, कानपुर, थाइल्यान्ड, ताइवान, हङकङका साथै अरब मुलुकमा हजारौँ नेपाली चेली बेचेर वेश्यावृत्तिमा संलग्न गरिनु पनि घोर अत्याचारी काम हो ।

नारायण : अर्को कुरा, स्वेच्छाले छोरीचेलीलाई धन दिनु त राम्रै हो । छिमेकी मुलुक भारतमा चलेको चलनको प्रभावमा आई विशेषत: मधेश र केही मात्रामा काठमाडौँ र पहाडी क्षेत्रमा ऋण लिएर भए पनि दाइजो दिनुपर्ने बाध्यताले विकराल रूप लिन थालेको छ ।

तब्वू : हो, यथेष्ट दाइजो नल्याएको निहुमा लोग्ने, सासू, ससुराहरूले कुट्नेपिट्नेमात्र हैन, घरबाटै लखेट्ने, जिउँदै जलाउने र मार्नेसम्मका घटनाहरू घटिरहेका छन् । यो नारीमाथिको अत्याचारबाहेक अर्थोक केही होइन ।

रिसव : नारीका साथै पुरुषमाथि पनि अत्याचार थोपरिएका छन् । कर्नाली क्षेत्रतिर दूधको भारा तिर्ने भन्दै वर पक्षले वधुका बुबाआमालाई एक–दुई हजारदेखि लाखौँ रुपियाँसम्म दिनुपर्ने चलन अँझै छँदै छ रे ।

किरात : नारीले पुरुषमाथि गर्ने शोषणको अर्को रूप राजवंशी जातिमा पाइन्छ । डंगुवा प्रथामा विधवा नारीले रडुवा वा कम आर्थिक अवस्था भएका परपुरुषलाई पतिको (डंगुवा) रूपमा राख्छन् । त्यसबाट जन्मेका सन्तानलाई अंश दिने वा नदिने हक नारीमा हुन्छ । डंगुवाको सम्पत्तिमा अधिकार हुन्न । डंगुवाले सामाजिक वा धार्मिक काममा सरिक हुन पाउँदैन । विवाहित पुरुषकोभन्दा डंगुवा निम्न तहको हुन्छ ।

मनिषा : ठूलाठालुका नियम आफू माथि पर्ने र अरूलाई तल पार्ने खालका हुन्छन् । सेती र महाकाली अञ्चलका सबैजसो जिल्लामा मन्दिरमा कन्या चढाउने चलन (देवकी प्रथा) छ । तिनीहरूले मन्दिरको रेखदेख गरी जीविकोपार्जन गर्नुपर्छ । देवकीको सङ्ख्या धेरै र आम्दानी कम भएकाले ती बाध्य भएर देहव्यापारमा संलग्न छन् । देवकीका बाउआमालगायत कसैले पनि रेखदेख नगर्ने भएकोले उनीहरूको स्थिति दयनीय हुनु स्वाभाविक छ । बाँच्ने आधार नभएपछि तिनीहरू देहव्यापार गर्न बाध्य छन् । यो विवशता कसले बुझिदिने ?

थानेश्वर : हाम्रैतिरको चलन हेरे पनि हुन्छ । गर्जो टार्न घरजग्गा बन्धकी राखेर साहूबाट ऋण लियो र ब्याज तिर्नकै लागि विनापारिश्रमिक साहूकोमा हली बस्यो । यसलाई कमैया (हलिया) प्रथा भनिन्छ । राजथारू, डगौराथारू र केही मात्रामा अरू जातिमा पनि यो प्रथा चलेको थियो । कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत र सल्यानमा यस्ता चलनले जरो गाडेको देखिन्छ । आर्थिक दुरावस्था र अशिक्षाका कारण यस प्रथाले मलजल पाए पनि सरकारी घोषणा जनचेतनाको विकासका कारण अब भने मुक्तिको सास फेरिँदै छ ।

भोर्जन : एउटा मैले जानेको कुरो भन्दै छु । वाद्यवादनसहितका नर्तक र नर्तकीहरू नै वादी र बदिनी हुन् । राजारजौटा र सम्भ्रान्त परिवारका लागि नाचगान गरेर मनोरञ्जन दिनका लागि वादी र बदिनी प्रथाको चलन चल्यो । खानलाउनको दु:खले वादी र बदिनी देहव्यापारमा लागे । नेपालगञ्जको गगनगञ्ज यसका लागि कुख्यात छ । धनसम्पत्ति नभएकाले पुरुष वादीहरू माटाका सामान, मादल, हलो, जुवा बनाउने तथा माछा मार्ने र अर्काको बनिबुतो गर्ने जस्ता काममा जुटेका छन् भने प्राय: बदिनीहरूचाहिँ नाचगान, मनोरञ्जन र देहव्यापारमा सङ्लग्न छन् ।

लिली : ए, मैले पनि त्यस जातिका बारेमा अचम्मकै कुरा थाहा पाएको छु । बावुआमाले नै परपुरुषबाट दशबाह्र हजार जति रुपियाँ लिएर छोरीचेलीसँग प्रथम सहवासको व्यवस्था (नथ फोर्ने काम) मिलाउँछन् अरे । यसरी प्रथम सहवास गर्ने पुरुष नै उसको पति हुन्छ । यो उनीहरूको आस्थामात्र हो । त्यो पुरुष पतिका रूपमा त्यहाँ रहँदैन न उसले केटीलाई पत्नीका रूपमा स्वीकार्छ ।

भेषराज : मुस्ताङतिर झुमा (बौद्धकन्या) र ढावा (लामा) प्रथा छ । तीन छोरी हुने बाबुआमाले माहिली छोरी र तीन छोरा हुने बाबुआमाले माहिलो छोरालाई गुम्बाको रेखदेखका लागि चढाउँछन् । अरूले पनि आस्थाले चढाउँछन् । उनीहरूलाई विशेष प्रशिक्षण दिई छोरीलाई झुमा र छोरालाई ढावा (लामा) बनाइन्छ । यौन सम्पर्क राख्न हुने तर विवाह गर्न नहुने भए पनि कसैकसैले यस चलनलाई उल्लङ्घन गरेका छन् । कतिपयले अवैध यौनसम्पर्क गर्छन् । आधुनिक युगको प्रभाव र सामाजिक चेतनाका कारण यसमा धेरै परिवर्तन आइसकेको छ ।

सेकरिन : विशेषत: अछाममा पर सरेकी महिलालाई छाउपडी भनिन्छ । त्यसबेला घरभन्दा टाढाको झुपडीमा बस्नुपर्छ । नारी जीवनको सामान्य जैविक प्रकृयालाई अन्धविश्वाससँग जोडेर दूधदही खाने, अर्काको आँगन टेक्ने, किताब पढ्ने जस्ता कार्य गर्न हुन्न भनेर अत्याचार थोपरिन्छ । छाउपडीलाई अशुभ मानिएकाले नारीहरूको अवस्था दयनीय छ ।

लिली : भारतको सौराठ भन्ने ठाउँमा कन्या र वरको बडो सरलतापूर्वक विवाह गराइदिने पुरानो चलन छ । अहिले भने दुवै पक्षबीच कुरा मिलाई दिने लमीको जस्तो काम गर्ने ‘घटक’ले दुवै पक्षबाट रकम असुल्ने गरेकाले विकृति भित्रिएको छ । नेपालको पूर्वी र मध्ये तराईमा मिश्र, झा, ठाकुर, पाठक आदिले सौराठ मेलामा सरिक भई आफ्ना विवाहयोग्य कन्या र कुमारीको विवाह गरिदिने चलन छ भन्ने सुनेको छु । यो चलन राम्रो भए पनि घटक र दहेजका कारण अनेकौँ विसङ्गति हुने गरेको छ । यसैले राम्राभन्दा नराम्रा पक्षले मलजल पाउने गरेका छन् ।

विजय : बोक्सीले टुनामुना र मन्त्रको बलले अरूको अहित गर्छे, भनिन्छ । त्यस्ता आइमाईले बोक्सी विद्याका कारण रिस उठेका मान्छेलाई सताउने, लैना गाईभैँसीको दूध सुकाउने जस्ता काम गर्न सक्छन्, भनिन्छ । बोक्सी भनेर आरोपित महिलालाई कुट्नेपिट्ने, डाम्ने, दिसापिसाब खुवाउने र जिउँदै आगो लगाउनेसम्मका काम भएका छन् । बोक्सी यथार्थ नभई काल्पनिक हो भनिदिनेको अभाव छ । बोक्सीसँग त्यस्तो अलौकिक सामर्थ्य हुँदो हो त छिमेकी देशले सीमाना मिचिरहँदा तिनैलाई अघि सार्न सकिन्थ्यो । देशमा आपराधिक कामहरू भइरहँदा तिनैलाई खटाउन सकिन्थ्यो । विकासमा पछि परेका बेला रातारात विकासका काममा तिनैलाई खटाउन सकिन्थ्यो । विकृति बढिरहेका बेला निराकरणका लागि तिनैलाई अघि सार्न सकिन्थ्यो । यस्ता समस्या समाधानमा बोक्सीलाई अगाडि सार्न सकिन्थ्यो तर यी सबै भ्रम हुन् । तसर्थ बोक्सिी नै हुँदैन भन्ने बुझ्नु आवश्यक छ ।

कोपिला : मुगुतिर जनतामा किचलो उठे त्यसलाई मिलाइदिने मध्यस्तकर्तालाई भेडो काटेर खुवाउनुपर्ने र घोडामा चढाएर घर पठाउनुपर्ने चलन रहेछ । यसलाई त्यहाँ घोडाभेडाप्रथा भनिँदो रहेछ । स्थानीय स्तरमै मुद्दामामिला मिलाउने चलन राम्रो भए पनि घोडा र भेडाको कुराले कम आम्दानी हुनेलाई आर्थिक भार पर्छ । यसो हुँदा राम्रो मान्न सकिन्न ।

ममता : मैले एउटा कुरा सुनेको छु । सबैलेभन्दा मैले पनि भन्नै पर्छ । डोल्पाको सुर्भी गाउँका अविवाहिता महिलाहरू प्रत्येक वर्ष पुस १५ गतेदेखि चैत्र १५ गतेसम्म ३ महिना आफूलाई चाहिने खानेकुरा र लत्ताकपडा लिई वनवासी जीवन बिताउँछन् अरे । यसलाई खुल्लाप्रथा भनिँदो रहेछ । त्यसबेला अभिभावकहरूसँग भेटघाट गर्न नहुने भएकोले अल्लारे ठिटाले ती युवतीसँग जबरजस्ती गर्ने, अवैध यौनसम्बन्ध राख्ने जस्ता काम गर्नाले धेरै थरीका विकृति फैलिएका छन् । २०५३ सालमा गाउँलेहरूको सभाले यस प्रथामा रोक लगाए पनि अँझै धेरथोर मात्रामा कायमै छ रे । यो प्रथा चल्नुको रहस्य भने ज्ञात हुन सकेको छैन भन्ने मैले सुनेको छु ।

तार्केश्वर : भेरी नदीको छेउछाउ सुर्खेत र सल्यानका सीमित गाउँमा युवकले इच्छाएकी युवतीलाई घुमाउन लाने चलन छ रे । त्यस्ता युवतीलाई सैरेली भनिँदो रहेछ । गाईतिहारको अघिल्लो दिन अभिभावककै सल्लाहले सैरेलीहरू घुम्न जान्छन् र भाइटिकाको अघिल्लो दिन फर्किन्छन् । छोरीचेलीको सुरक्षाका कारण यो प्रथा पनि लोप हुँदै छ रे भन्ने सुनेकी छु ।

भोर्जन : सुबहाल र इमाडोल (ललितपुर)का केही ठाउँमा महाङ्काल भगवान्को सेवामा पूजारीका छोरालाई नै बलि चढाउने जस्तो भयावह नियम थियो रे ।

सेकरिन : देवीदेवतालाई खुसी पार्ने नाममा हिन्दू र मुस्लिमहरू (इद/बकराइदमा पशुका अतिरिक्त गाई पनि) बलि दिन्छन् ।

मनिषा : गढीमाई (बारा)मा विश्वकै विशाल बलिमेला लाग्छ । पटकपटक बलि दिँदा पनि भाकल पूरा नभए पञ्चबलि (भेडा, राँगो, कुभिन्डो र जोडी परेवा) समेत दिइन्छ ।

थानेश्वर : रुद्रायणी देवीलाई बलि दिन खोकना (ललितपुर)मा जिउँदो पाठीलाई पोखरीमा डुबाएर मारिन्छ र पकाएर प्रसादका रूपमा खाइन्छ ।

रिसव : नेपालका दुर्गम जिल्लाहरूमा शिशु जन्मिन लागेको थाहा पाउनासाथ गर्भवतीलाई घरदेखि टाढा बनाइएको गोठ जस्तो ठाउँमा लगेर राखिन्छ र शिशु जन्मेको ११ दिनपछि मात्र घर भित्र्याइन्छ ।

तब्बू : नेपालका लेप्चा जातिमा बेहुलालाई कमिलाले टोकाई राम्रो र नराम्रो भनी छुट्ट्याउने चलन छ । रानाथारू जातिमा गर्भे विवाह हुँदो रहेछ । पछि छोराछोरा वा छोरीछोरी जन्मे मितेरी साइनो कायम गरिँदो रहेछ ।

सेकरिन : नेवार जातिमा रजस्वला हुनुपूर्व इही (बेलविवाह) गरिन्छ । वास्तविक विवाह पछिमात्र गरिन्छ । पतिलाई त्यही बेलको सजीव रूप ठानिन्छ ।

तासा : तिब्बतको सीमानामा अवस्थित मुस्ताङमा मृत्युपश्चात् लासलाई टुक्राटुक्री पारेर गिद्धलाई खुवाउने जस्तो क्रूर प्रथा छ ।

भेषराज : गोरखाका लामा समुदायमा मृतक शिशुको अन्त्येष्टि अर्को शिशु जन्मेर हुर्केपछिमात्र गरिन्छ ।

नेहा : मुस्लिमहरूमा लिङ्गको टुप्पाको छाला काटेर मुसलमानी बनाइन्छ ।

नारायण : हिन्दूहरू मरेका पितृलाई स्वर्ग जाने बाटोमा पर्ने वैतरणी नदी तार्छ भनी बाहुनलाई गाई दान गर्छन् । स्वर्गमा उनीहरूले पाउँछन् भनी श्राद्ध गर्ने, सुन, चाँदी, पैसा, घरजग्गा जस्ता चलअचल सम्पत्ति दान गर्छन् । तल्ला जातका भनिएकाले छोए तीनपटक स्नान गरी गङ्गाजल छर्किएर चोखिने चलन पनि छ ।

शेफालिका : मैथिल समुदायका ब्राह्मण कायस्थ जातिमा साउनको नागपञ्चमीदेखि १५ दिनसम्म मधुश्रावणी पर्व मनाइन्छ । यसमा सीतालाई जस्तो आगोमा हामफाल्न नलगाए पनि बधुलाई कपासको बत्तीमा आगो लगाई डामिन्छ । यसलाई तेमी प्रथा भनिन्छ । यसरी डाम्दा जति ठूलो फोको भयो, त्यति बधु वरप्रति प्रतिबद्ध छे भन्ने ठानिन्छ ।

तार्केश्वर : हिन्दू महिलाले तिज पर्वमा ३६५ ओटा दतिवनले दाँत माझ्नुपर्छ । त्यस बेला जुठो वा सुतक (आफन्तमा बच्चा जन्मेमा मानिने अशुद्धता) परे अर्को वर्ष ७३० ओटासम्म दतिवनले दाँत माझ्नुपर्छ ।

ममता : हिन्दूहरू कालो बिरालोलाई अशुभ मान्छन् भने बेलायतीहरू शुभ ठान्दछन् । अर्को कुरा, सूर्य/चन्द्रमालाई चमारले छुँदा वा समाउँदा ग्रहण लागेको भन्ने ठानी हिन्दूहरू ग्रहण लागेका बखत स्नान गर्दै ‘छोड् चमार, छोड्’ भनी नारा लगाउँछन् ।

किशोर : दोलखाका थामी जातिमा सानैमा ‘चारदाम गर्ने र बागदन्त फोर्ने’ चलन छ । बोलीचालीको रिवाजपश्चात् विवाह भएको मानिन्छ । वास्तविक विवाह भनेपछि छोरानातिले गरिदिन्छन् अरे ।

कोपिला : पुख्र्यौली सम्पत्तिका अतिरिक्त घरै भत्काएर भग्नावशेषसमेत छोराहरूमा बराबर बाँडफाँड गर्ने चलन कतैकतैका थारू जातिमा छ रे ।

विजय : सुन्दै डरलाग्दो कुरो, युगान्डाली तानाशाह इदि अमिन (सन् १९२४–२००३) मान्छेको मासु खान्थे रे ।

शेफालिका : अरूको के कुरा ! हातमा सत्ता परेपछि शासकहरू कतिसम्म मात्तिदा रहेछन् भन्ने उदाहरण हाम्रै मुलुकमा छ । पूर्वराजा ज्ञानेन्द्रको सम्पत्ति र सुविधा जनवादी गणतन्त्र चीनका राष्ट्रपतिकोभन्दा २,२४६ गुणा, गणतन्त्र भारतका राष्ट्रपतिकोभन्दा ४१८ गुणा, गणतन्त्र पाकिस्तानका राष्ट्रपतिकोभन्दा ३०१ गुणा, गणतन्त्र रूसका राष्ट्रपतिकोभन्दा १७३ गुणा, बेलायतका प्रधानमन्त्रीकोभन्दा १५ गुणा, अमेरिकाका राष्ट्रपतिकोभन्दा १० गुणा, नेदरल्यान्डकी महारानी र जापानका राजाकोभन्दा डेढ गुणा बढी थियो अरे ।

तार्केश्वर : तापनि राज्यको ढुकुटीबाट रोल्स रोयल कार, छोरीको बिहेमा दश करोड, छोरीकै उपचारमा नौ करोड, पारसको भारत भ्रमणमा ९६ लाखलगायतका खर्चहरू जोड्दा तीन वर्षमा उसले १ अरब ५१ करोड ४१ लाख ७५ हजार रुपियाँभन्दा बढी खर्च गरेछन् ।

सेकरिन : ज्ञानेन्द्रका बारेमा लुकेका धेरै कुरा छन् । तीमध्ये यो एउटा नमुनामात्र हो । हाम्रा नेतानेतृ पनि पटकपटक करोडौँ खर्चेर विदेश यात्रा गर्छन् र नेपालीलाई कङ्गाल बनाउन मद्दत गर्छन् भने अरूको के कुरा ? थोरै खर्चले हुने कामका लागि धेरै खर्च गर्नु पनि राष्ट्रघात हो भन्ने बुझ्न आवश्यक छ ।

किशोर : त्यसो त राजनीतिक सहमतिका लागि भन्दै संविधान बनाउन ६०१ जना सभासदको आवश्यकता देखियो । राजनीतिक भागबण्डा मिलाउन यस्तो गरिएको कुरामा कसैको विमति छैन । गरिब मुलुकले त्यत्रो खर्च गर्न सक्तैन भन्नेतिर कसैको ध्यान पुग्यो ? २०/२२ सदस्यीय मन्त्रिपरिषद् भए पुग्नेमा ४२/४५ जना किन चाहियो ?

भेषराज : मलाई पनि भन्न मन लाग्यो । पृथ्वीमा जन्म लिएका मानिसमध्ये सबैभन्दा शक्तिशाली हर्कुलस थियो रे । उसले पृथ्वीका राक्षस र अत्याचारी शासक मासेर साधुजनको रक्षा गरी मानव जातिमा नौलो कीर्तिमान कायम गर्यो रे । ‘यो दुर्भाग्यलाई अन्त्य गर्न र धर्तीका काला अँध्याराका थेग्ला पुछ्न उही ग्रीसकालीन हर्कुलसको हातसिवाय अरू हातको पिताम चल्दैन भन्ने मेरो विश्वास हो । हर्कुलसका बलिष्ठ हातहरू देख्नुभयो भने तुरुन्त मलाई खबर गरिदिनुहोला । अहोभाव र अनुग्रहले म तपार्इँका चरणकमलमा शिर राख्नेछु ।’साँच्चै राक्षसी प्रवृत्तिलाई धरासायी गरी जनताको मन जिती नयाँ नेपालको जन्म गराउन शक्तिशाली मान्छेको अभाव खड्केकै हो त ?

ममता : ‘यो हिमवत्खण्डको नेपाल खाल्डोमा सयौँ वर्षदेखि सिंह, कुकुर, साँढे, गिद्ध र फोहोरजस्ता चीजहरूले सताइरहेका छन् । आजसम्म त्यस्तो वीरपुरुष जन्मिन नसक्नु नेपालआमाको दुर्भाग्य नै मान्नुपर्छ ।’ अराजकता निर्मूल पार्ने सच्चा राष्ट्रप्रेमी जन्मन आवश्यक छ ।

तार्केश्वर : भन्छन्, मानो खानु आफ्नो, कुरा काट्नु अरूको । मान्छेको स्वभावै यस्तै छ । ‘हामी सिर्जनात्मक, समालोचनात्मक निन्दाभन्दा पनि परपीडनकारी निन्दामा रमाइरहेका हुन्छौँ । मानौँ हामी अर्काको निन्दा गर्न जन्मेका हौँ, अरूलाई सराप्न धर्तीमा आएका हौँ । निन्दाका दुइटा आया म छन्, सार्थक र निरर्थक । हामी सार्थक निन्दाभन्दा निरर्थक निन्दाबाट निर्देशित हुँदै गएका छौँ ।’ तर अहिलेको निन्दा भनेको सार्थक निन्दा हो ।

शेफालिका : हो त नि, निन्दा वृक्ष ईष्र्याको मलजलमा हुर्किंदै र झाङ्गिदै जान्छ । सबैजनाले सकारात्मक सोच ल्याउने हो भनेमात्र बेथिति समुल नष्ट भई विकासको दैलो उघ्रिन्थ्यो ।
तासा : ‘ईष्र्या, द्वेष र मात्सर्यको यस्तो विषाक्त संस्कृति रौँ–रौँमा गाडिएकोले सकारभित्र पनि नकारमात्र देख्छौँ, अरूको खुसीमा आफू बेखुसी हुन्छौँ । अरूको आनन्दमा आफ्नो पीडा सुम्सुम्याउँछौ । आफू आफ्नो कारणलेभन्दा अरूको कारणले बढी दु:खी बन्छौँ ।’

नेहा : अँ, मनलाई शान्त पार्ने काम पनि हुनुपर्छ नि । कालजयी गीतसङ्गीतमा मोहनी हुन्छ । सुन्दा पनि मन शान्त हुन्छ ।

(गीत बज्छ ।)

‘फूलको आँखामा फूलै संसार,
काँढाको आँखामा काँढै संसार
झुल्किन्छ है छाया वस्तुअन्सार ।।

चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस्,
मेरो पैतालाले कीरै नमरोस्
राम्रो आँखामा खुल्छ, राम्रै संसार ।।

टहटह जून देखूँ कालो रातैमा,
जीवन संगीत सुनूँ म सुक्खा पातैमा
सङ्लो मनमा खुल्छ है सङ्लै संसार ।।’

सूत्रधार : ‘पुरानो पात झर्दो छ, नयाँ मुजुरा कापकापबाट फुट्ता छन् । पुराना पर्खाल चर्किंदा छन्, नयाँ पर्खालका निम्ति चर खनिँदै छ । पुरानो बार धमिराले जरा जीर्ण पारेर मक्ँिकदो अवस्थामा छ, नयाँ बारका निम्ति घोचाघारा ठीकठिक अवस्थामा खडा छन् । एउटा बूढो युग चिर निद्रामा सुत्ने तरखरमा छ । अर्को कलिलो युग बूढो युगकै गर्भबाट जन्मिने सुरसारमा छ ।’ खुसी हुने ठाउँ पनि मनग्य बनाएका छौँ भन्नेचाहिँ नबिर्सौं ।

रिसव : यसका लागि सबैको सोच मिल्नु आवश्यक छ । कोही पूर्व, कोही पश्चिम त कोही उत्तर र कोही दक्षिण फर्किने हो भने राम्रै कुरामा पनि मेल हुन सक्दैन ।

सूत्रधार : कुरा एकदम ठिक हो । हामी ठूल्ठूला पर्खाल फोडेर यहाँसम्म आइपुगेका हौँ । यस कुरालाई नभुलौँ । अब हामी जे चाहन्छौँ, त्यही हुन्छ । हामी समान वर्गीयहरू एकअर्काको भावना र विचारको कदर गर्दै जाऔँ । ‘एकले थुकी सुकी सयले थुकी नदी’ भनेझैँ मेलमिलापले काम गर्ने कुरालाई मनमा हर्दम सजाएर अघि बढौँ । तगारो लगाउनेहरू स्वत: भाग्छन् । नभागी तिनीहरूले सुखै पाउन्नन् ।

(सबै पात्रहरू लहरै उभिएर अँगालो मार्छन् । सूत्रधार ताली बजाउँछन् । तालीको गड्गडाहट सुनिन्छ । पर्दा बिस्तारै खस्दै जान्छ ।)

–नन्दलाल आचार्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *