Skip to content


नेपाल सरकार
म थानकोट काटेर जान सक्दिनँ
थानकोटबाहिर मेरा सपनाहरु वर्जित छन् ।
काठमाडौँको हाँगोमा गुँड लगाएको छु
शरणार्थी चराले जस्तो
सपना केारल्दै ।
काठमाडौँले केही न केही दिएको हो
मैले लिन जानिनँ
र, म खाली भाँडो भएको छु ।

काठमाडौँ रङ्गनि पानीको भाँडो हो
तातो छम स्थिर पोखरीजस्तै
मौनता जमिरहेको छु ।
सपनाको बीउ रोपेर यसको नाभीमा
मैले युगौँदेखि यसको वर्णमाला घोक्दै आएको छु
किन यसका सडकहरु मसँग प्रतिदान माग्छन्
मैले कसैसँग प्रतिदान लिएको छैन
मेरा जीवनका पाना सबै खालीखाली छन् ।
म थानकोट काट्न खोज्दा
मेरा पखेटा काटिन्छन्
मेरा खुट्टा हराउँछन्
मेरा हात हराउँछन्
मेरा आँखा हराउँछन्
असङ्ख्य हातहरु बतास भएर मलाई अल्झाउँछन्
असङ्ख्य आँखाहरु अँध्यारो भएर मलाई छोप्छन्
असङ्ख्य हताहत छायाँहरु मेरो पछि दौडिरहेका हुन्छन्
नेपाल सरकार
कि मलाई नश्लबन्दी गर
कि मलाई राज्यसत्ताको स्वामित्व देऊ
कि मेरो गुमेको जवानी देऊ
तर म थानकोट काटेर जान सक्दिनँ ।

-तानसेन-पाल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *