सुर्ती लागेकोलाई एेंसेलु

गोले कान्छाको बारीमा तोरी सारै फल्थ्यो । उनको घरमाथि र उनको बारीसिरानको भित्ता अलिक सेपिलो ठाउँ छ । त्यो आज पनि सेप सेप परेकै छ । त्यहाँ अझै पनि चैत बैशाखतिर एेंसेलु निकै पाक्छन्, झुप्पाका झुप्पा । अलिक माथि काफल पनि यसै बेलामा पाक्थे तर अब दाउरा काट्नेले काफल समाप्त पारेछन् । हामी त्यहाँ गाई चराउन लान्थ्यौं । त्यतातिर गाईवस्तु चलाउन लानुका पछि केही मजाका कारणहरु थिए । खास गरी अलि शीतल ठाउँ र एेंसेलु खानुको मजा थियो । सेपिलो पाटोमा गाईबस्तु चराउन लाने कामका साथ हामी त्यो बेलामा ऐंसेलु खाने लोभले गाई वस्तु त्यता लान्थ्यांै निश्च नै । कुरा उ बेलाको हो, २०२० सालतिरको । अहिले ता गाईवस्तुहरु भिर, पाखा पखेरामा चराउन लाने काम नै सकिएछ । सबै छिमेकीहरुका समेत मिलाएर ऊ बेला हामी हाँचका हाँच गाई वस्तु लान्थ्यौं चराउन । हो त्यही बेलाको कुरा हो मैले सुर्ती चोरेको । तर त्यो दिन भने हामी माल्दाजु र म मात्र गएका रहेछौं गाईचराउन ।
कुरा उठानमा केही बाहिर कुरा पनि आउन सक्लान् । यसैले सतर्क हुन चाहन्छु ।
हाम्रो घर छाउने दिन थियो । नेपाल जेठा मामा, गोले कान्छो, आगे साइँलोहरु घर छाउनेमा कहलिएका थिए । उनीहरु माथि धुरीमा चढेका थिए हाम्रो घर छाउन । घरको एक पाटो मात्र छाउने कुरा थियो त्यो साल । अर्काे छानो चुहिहालेको थिएन । यसैले हामीले धेरैजसो ताङ्सेको भिरमा असोजमै खर काटेर, सुकाएर अनि बोकेर एक पाटोलाई पुग्ने जति ओसारी पनि सकेको थियौं । यस पाटोलाई चोया, बाता, डाँडाभाटाहरु, पनि घरकै बाँस काटेर तयार पारेका थियौं । बाता अलिक राम्रो काड्न जानिसकेको नहुनाले मैेले बाता भने काडेको थिइँन चोया भने मनग्गे काड्न जान्ने भइसकेको थिएँ । कहाँ त्यति मात्र हो र आफूले काडेका चोयाहरुबाट साना फुर्लुङ, पेचा, महला, घुमहरु बुन्न पनि थालिसकेको थिएँ । पिताजीले बुनेको डोकामा पिँध लाउन पनि थालिसकेको थिएँ । माल्दाजु ता यस भन्दा अझ माथि नै पुगिसक्नु भएको थियो । उहाँ हलो बाँध्न पनि सक्न थाल्नु भएको थियो । अझै ठुलादाजु र माल्दाजुले ता ताङ्सेको भिरबाट ठेकिफलको काठ काटेर ढिकीका खाँबा र करमको मुडोबाट ढिकी नै तयार पारेर ल्याइसक्नु भएको थियो । तोरीको तेल पेल्ने कोल भने गाउँमा एउटा मात्र थियो । तोरी फिलुङ्गे पेल्नु पर्दा त्यही मागजुँग गरेर लगिन्थ्यो । वा जसकोमा कोल छ उसैकोमा लगेर पेलिन्थ्यो । पछि पछि घिउतिर जोड गरे पनि पहिले पहिले पिताजी तोरीको तेल पिउनु हुन्थ्यो रुघा भगाउन । एक पाउ जति पिएको देखेको छु । पिएपछि नाक थुन्नु हुन्थ्यो । सायद पोल्थ्यो र नाकबाट धुवाँ निस्कन्थो क्यारे । पिताजीलाई रुघा लाग्दा पनि तोरीको तेल पिउनु पर्ने, जरो आयो भने पनि अनि अरु साधारण बिरामी हुनु भए पनि । आमालाई पनि यही अर्ती गर्नुहुन्थ्यो । तर आमा मान्नु हुन्नथ्यो । अनि पिताजीको माताजीमाथि टिप्पणी हुन्थ्यो—“थुक्क ! यस्ताले संसार के गरिखालान् !!”
यही काममा तोरी पेल्न गाउँका कोल भएको घरघरमा पिना कुटेर तयार पारेर लिई जानु पर्ने । बडो दिक्क मानेर होला सायद अनि ता तोरी पेल्ने कोल पनि आफैं बनाउने काममा दाजुहरु लाग्नु भएको जस्तो लाग्छ । मलाई लाग्छ दाजुहरुको सिर्जनशीलता यतैबाट आएको हुनु पर्छ । कति मागिरहनु भनेर दिक्क मानेर होला । माथि सुरुमै चर्चा गरिएको गोले कान्छोकोबाट निकै पटक जाँडका लागि उसलाई चाहिने कोदो जो हामीकहाँ हुन्थ्यो त्यसका साथ उनकोमा भएको तोरी साटेको पनि सम्झन्छु । हाम्रोमा कटहरको सारै ठुलो रुख छ अहिलेसम्म पनि । सवासय भन्दा बढी वर्ष पुरानो । त्यो अझ पनि फल्दैछ । त्यो कटहर भने सारो मिठो । फलफूल नै के हुनु त्यहाँ । नासपाती, सुन्तला, आरुबखडा, आदि न हुन् । हाम्रोबाट गाउँमा कोदाका साथ कटहर साटेको र कोदाले नुन र तोरी साटेको कुरा पनि म झलझली सम्झन्छु । अँ कुरा घर छाउने र सुर्ती खाएको थियो । कता पुग्यो अब । मैले नै बिराएँ कताको कुरा कता गयो गयो । तै म अब फेरि उही कुराकै छेउछाउतिर जान लागिरहेको छु । यस्तै हुन्छ कुरा केही थाल्यो त्यसका साथ अरु कुराहरु झुत्ती खेलेर आइहाल्छन् । अरु कुराहरुको पनि आफ्नो ठाउमा केही न केही महत्व हुने नै भो । यसैले ती अरु कुराहरुलाई भन्ने गरेको छु आऊकति आउँछौ, पस मेरा निबन्ध भित्र अनि त्यससँग झगडा नगरी बस ।
हो, हामीले त्यो दिन बिहान भरि घरको दाँतीका लागि पुरानो छानो उधारेर खसाएको बँधियालाई प्रयोग गरी त्यसबाट दाँतीका लागि सपक्कका मुठा पारेर काटेर तयार गरिदियांै । भात खायौं । अनि त्यही गोलेको घरमाथिको ढोडेनीमा गाई लिएर गयौं जहाँ त्यो बेला एेंसेलु पाकेर लदाबदी थिए । अलि माथि काफल पनि पाकेका थिए होलान् भन्छु ।
घरका छानो छाउन धुरीमा चढेका नेपाल मामाले आफ्नो अस्कोट आँगनको भित्तामा तुलसीको मोठमा फ्यात्त पारेर फालिराखेका थिए । उनले त्यही अस्कोटका गोजीबाट झिकेर काँचो पात अर्थात् सुर्तीको पातका टुक्रा पटक पटक मुखमा हालेको देखेको थिएँ । यो कुराको लोभ मलाई कसरी हो लागेको रहेछ । उनले नदेख्ने गरी गाई लिएर जानु अघि नै मैले उनको त्यो अस्कोटको गोजीबाट सुर्तीको एक पत्ता सुटुक्क चोरेर इँजारका च्यापेको थिएँ । गोजी ता कहाँ हुनु, खाँडीका दौरा सुराल लाउनेहरुकोमा । सुरालको इँजारमा नखस्ने गरी सिउरेको थिएँ केही सुरक्षा गर्ने स्थान नै त्यही थियो । यसलाई पनि त्यहीं सुरक्षित पारेको थिएँ ।
मध्य घाम लागेका थिए । गर्मी ता तेति थिएन । हामीले मजाले एेंसेलु टिपेर खायौं, माल्दाजुले घर लानका लागि गुँहेलाकाको पातका एेंसेलु हाल्ने सोली बनाइदिनुभो । भरिएपछि मोहोतो लगाएर नखस्ने पारिदिनु भयो । मैले सोलीमा काँडाले घोची घोची पनि एेंसेलु टिपेर भरेको थिएँ ।
गाईवस्तु चरिरहेका थिए । निकै ठुलो गुँहेलोको रुखमुनि सँगेलमा बसेर मैले माल्दाजुलाई भने—“माल्दाजु, मैले आज एउडा नयाँ कुरा ल्याएको छु । खाऊँ है ।”
“के ल्याइस् ?” सोध्नुभो ।
“नेपाल मामाको अस्कोटको गोजीबाट चोरेर ल्याएको सुर्ती ।” मैले देखाउँदै भने ।
“लाखा, बाठो छ केटो ! लु यता ले खाऊँ ।” उहाँले यसो भन्दै मेरा हातबाट झम्टेर सुर्तीको पत्ताको एक भाग च्यातेर मलाई दिनु भो र बाँकी एक भाग मुखमा हाल्नु भयो अनि क¥याम कुरुम पार्न थाल्नुभयो ।
“अलि पिरो हुँदो रछ” भन्दै मचमच चबाउनु भयो । धुवाँयुक्त सुर्तीको ल्वाँठो नखानेहरुले काँचो सुर्ती मुखमा हालेर जिब्रोले खेलाएको दृश्य हामीले देखेका थियौं । मुखैमा हालेर धेरै बेर बोकेको पनि देखिएकै हो । सायद यसरी धेरै बेर मुखमा बोकेर यसको स्वाद लिनु पर्छ होला भन्ने हामीमा परेको हुनु पर्छ । यसैले माल्दाइले सकिनसकी तमतम्याइलो थुकका साथ मुखमा सुर्तीको लँुडो बोकिरहनुभयो । मैले भने खाइहालेको थिइनँ । त्यसै बेला माल्दाइले मुखभरीको सुर्तीसहितको थुक निल्नु भएछ क्यारे । पुर्लुक्क हुुनु भो । मलाई डर लाग्यो । साथै अलिकति छाद्नु भो म झन् आत्तिएँ । लौ मरिएछ अब के गर्ने माल्दाइलाई के भयो ? मलाई रुन आएछ मलाई प¥यो अब फसाद ! तैपनि मलाई कसरी हो घर लान तयार पारेको सोलीको ऐंसेलु माल्दाजुका मुखमा कोच्याउन मन भएछ र कोच्याएँ । एकै छिन पछि उहाँको होस खुले जस्तो भयो । जे भएका बाँकी एेंसेलु पनि माल्दाजुले ग¥यामगुरुम खानु भो र भन्नु भो— “तँ नखा है । यो ता बिख पो रहेछ । धन्न एेंसेलु टिपिएछ ! नत्र ता मरिने पो रहेछ !”
“हुन्छ, म खान्न” भनेर मैले बाँकी मेरो भागमा परेको सुर्तीको आधा पत्ता फालिदिएँ । बिस्तारै माल्दाजु साधारण अवस्थामा आउनु भो । मलाई सन्तोक भो । गाईबस्तु भने चरिरहेका थिए ।
“यो कुरा कसैलाई भन्लास् नि !” उहाँले मलाई सतर्क गराउनु भो ।
“भन्दिनँ !” मैले भनेको थिएँ ।
आज पचास वर्ष पछि माल्दाजुका साथ भेट हुँदा कहिलेकाहीं ती कुरा सम्झनामा आउँछन् । एक पटक अतीततिर गइन्छ । धन्न हो हामीहरुको अतीत !
यसो आस्था टिभी हेरेको बेला आचार्य बालकृष्णले नानाथरीका औषधीय गुणले भरिएका बिरुवा र फलफूलहरुको पहिचान गरिरहेको बेला मलाई पनि भन्न मन लाग्छ— “मैले पनि एक अनुसन्धान गरेको छु, सुर्ती लागेर हिकहिक भएको मान्छेलाई ऐंसेलु खुवाउने सल्लाह दिनु होला ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *