Skip to content

एउटा मर्मस्पर्शी कथाः यहाँ किन आएको ?


नेपाली कथा साहित्यमा कथाकार डा. बेञ्जु शर्मा आफैमा एउटा परिचय र प्रतिष्ठा पनि भएकोले उहाँको प्रशङ्कमा कुरा गर्दा उहाँलाई थप परिचयको आवश्यकता पर्दैन, यसोभन्दा अनुपयुक्त हुने छैन । कथाका अतिरिक्त कवितामा पनि उत्तिकै साधनारत व्यक्तित्व डा. बेञ्जु शर्मा काव्यमाभन्दा बढी आख्यानमा खुलेर अभिव्यक्त भएको अनुभूति उहााँका कथाहरूको अध्ययन गर्दा स्पष्ट हुन्छ । कथालेखनमा आफ्नो पृथक परिचय बनाइसकेर छुट्टै अनि विशिष्ट शैली निमार्णका लागि निरन्तर साधनारत डा. शर्माका कथाहरूको अध्ययन गर्दा उनका अधिकांश कथाहरू वियोगान्त भेटिन्छन् । त्यहाँ बाँच्नका लागि मानिसले गर्ने संघर्षको कथाव्यथा त हुन्छ नै र हुन्छन् त्यहाँ सपार्न चाहदा चाहदै पनि बिग्रिएका मानिसका सपनाहरू, तुहिएका अनगिन्तीरहरहरू र जित खोज्दा हात लागेका हार मानुँ जिन्दगीका अतृप्त चाहनाहरू ।

आफ्ना कथाहरूमा बढीजसो मायाप्रेम, यौन र रागात्मक विषयवस्तुलाई विशेष स्थान दिँदै आएकी कथाकार डा.शर्माको लेखनीद्धारा सृजित यहाँ चर्चा गर्न लागिएको एउटा कथाको नाम हो ‘यहाँ किन आएको ?’ यो कथा ‘बेञ्जु शर्माका कथाहरू’ शीर्षकको कथा संग्रहमा संग्रहित छ । शारीरिक आकर्षणलाई नै मायाको अर्को नाम भनेर साहित्यमा पनि बढाईचढाई गरेर परिभाषित गरिँदै आएको परिप्रेक्ष्यमा कथाकार डा. शर्माको बिल्कुलै पृथक कथा ‘यहाँ किन आएको ?’ को अध्ययन गर्दा कथाकार डा. शर्माका नियमित पाठकहरू पनि एकपटक झस्किन्छन् र अचम्भित पनि हुन्छन् । किनभने यो कथामा कथानक डा. शर्माले आफ्ना अन्य कथाको तुलनामा बिल्कुलै पृथक विषयवस्तुको चयन गरेकी छिन् । यस कथामा पार्टी, शिद्धान्त र विचारका लागि आफ्नो जीवन समर्पित गर्ने एकजना कर्तव्यनिष्ठ पार्टी कार्यकर्ताको दुःख,पीडा र छटपटीलाई जीवन्त रुपमा चित्रण गरिएको छ । आफ्नो जीवन नै पार्टीका लागि समर्पित गरेको छोरोको योगदानलाई समेत पार्टीभित्रका क्षुद्र तत्वहरूले धूमिल र विवादित बनाइदिएपछि एकजना बृद्धले खेप्नु परेको हण्डर,लाञ्छना र अपमानको तितोलाई कथाकारले निकै नै सरल तर अत्यन्त मर्मस्पर्शी रुपमा प्रस्तुत गरेकी छिन् ।

आफ्नै पार्टीको नेतालाई भेट्न एकजना बृद्धको राजधानीसम्मको यात्रा, उनले पाएको ठक्कर र व्यहोर्नु परेको चर्को हण्डररुपी पीडाले कथा पढुञ्जेल र पढिसकेपछि पनि पाठकलाई द्रवित र सम्वेदनशील बनाइरहन्छ । राजनैतिक घटनाक्रममा छोराको असमयको महाप्रस्थानले जत्ति नै गले तापनि आफ्नो आस्थाको केन्द्र पार्टीको शरणमा मद्धतका लागि राजधानी पुगेर पनि खाली हात फर्किन विवश लट्ठीको सहारामा हिँड्ने त्यो कृषकाय बृद्धको गलित अनि थकित आकृति हाम्रो आँखा अगाडि सजीव भएर आइदिन्छ । उनको पीडाले पाठकलाई नराम्रोसँग चिमोटिरहन्छ । देशका लागि मरिमेट्ने यस्ता सच्चा नागरिकलाई चिनेर पनि नचिन्ने द्धैध चरित्रका हाम्रा नेताहरूको पाखण्डीपन र अकर्मण्यता कटु यथार्थ बनेर हाम्रो आँखा अगाडि आइपुग्छन् ।

राजनैतिक पृष्ठभूमिमा कथाकार डा. शर्माले कमै रचनाको सृजना गरेको पाइन्छ तर यही एउटा कथाले पनि सम्पूर्ण कमी पूरा गर्ने प्रयत्न गरेको छभन्दा अत्युक्ति नहोला । किनभने नेपाल, नेपाली र नेपाली राजनीतिको एकझल्को यो कथाले निकै मार्मिक, तार्किक र सटिक रुपमा प्रस्तुत गरेको छ । तर नेपाली साहित्यको

दूर्भाग्य र चर्को विडम्बना, विषयवस्तु, भाषा, शैली, प्रस्तुति र चरित्र चित्रणका दृष्टिकोणले एउटा एकदमै उम्दा कथाको नेपाली साहित्यमा आजसम्म चर्चापरिचर्चा समेत भएको देखिन्न, सुनिन्न । नेपाली साहित्यमा इमानदारितपूर्वक लेखिएको आख्यानकार डा. बेञ्जु शर्माको यो मार्मिक, पठनीय र उत्कृष्ठ कथामाथि व्यापक चर्चापरिचर्चा हुनैपर्छ । किनभने स्तरीय साहित्यिक रचनाले साहित्यमा आफ्नो स्तरको मान र स्थान पाउनसके मात्र भोलिक दिनमा पनि अरु कालजयी सृजनहरू जन्मिनेछन् ।

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
हालः बुढानिलकण्ठ न.पा.

Leave a Reply

Your email address will not be published. Required fields are marked *