शिक्षा शब्द सुन्दा नै गहन छ । वास्तवमा विद्यालय, महाविद्यालय तथा घरमै बसेर पनि अध्ययनको व्यवस्था मिलाउने तथा ज्ञान लिने अर्थले बुझ्न सकिन्छ । किनकि शिक्षा हाँसिल गर्न विद्यालय महाविद्यालय गएर नै हुन्छ भन्ने छैन । घरमै बसेर स्वअध्ययन गरेर पनि शिक्षा हाँसिल गर्न सकिन्छ । घरमा बसेर स्वअध्ययन गर्दा र विद्यालयमा गएर शिक्षा हाँसिल गर्दा प्रमाणिकमा फरक भने अवश्य पर्दछ । विद्यालयमा अध्ययन गर्दा शैक्षिक प्रमाणपत्र प्राप्त गर्न सकिन्छ भने स्वअध्ययन जे जति ज्ञान हाँसिल गरे पनि प्रमाणपत्र प्राप्त गर्न सकिदैन । ज्ञानी बन्नको लागि स्वअध्ययनले पनि मानिसलाई उच्चाइमा पुर्याउँछ ।

चाहे विद्यालयमा होस् तथा स्वअध्ययनबाट होस् शिक्षा आर्जन गर्नुपर्दछ । शिक्षा आर्जन गर्दा सैद्धान्तिक ज्ञानमात्र नभएर व्यवहारिक ज्ञान पनि हाँसिल गर्नु पर्दछ । सैद्धान्तिक ज्ञानले मात्र मानिसको अध्ययन पुरा हुँदैन किनकि सैद्धान्तिक शिक्षालाई व्यवहारमा उतार्न सकिएन भने त्यो शिक्षाले पूर्णता पाउँदैन । डिग्री हाँसिल गरेर पनि व्यवहारिक ज्ञान नभएमा मानिसलाई सक्षम बनेको ठानिदैन । मानिस सक्षम बन्नका लागि जे अध्ययन गर्छ त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्दछ ।

शिक्षालाई व्यवहारमुखी बनाउन, गुणस्तर सीप दिन, मानसिकतामा परिवर्तन ल्याउनु रोजगारमुखी शिक्षा उपलब्ध गराउन, नैतिकवान विद्यार्थी बनाउनको लागि शिक्षा पद्धतिको गहन भूमिका हुन्छ । सीपमूलक शिक्षाको जबसम्म विकास हुँदैन तवसम्म दक्ष जनशक्तिको उत्पादन हुँदैन । दक्ष जनशक्तिको अभावमा देशले चाहेको उत्पादन लिन सक्दैन ।

नेपालमा जनशक्तिको खाँचा छैन भनिन्छ तर दक्ष जनशक्तिको खाँचो भने टड्कारो रूपमा देखिन्छ । नेपालको शिक्षा केवल ज्ञान मुखी छ । व्यवहार मुखी, सिपमुखी छैन । किनभने शिक्षा हाँसिल गरेपछि उसले आफ्नो जीविकोपार्जन गर्न सिपलाई प्रयोग गरेर अघि बढ्नुपर्दछ । यदि आफ्नो जीविकोपार्जनमा शिक्षालाई उपयोग गर्न सकेन भने त्यो शिक्षाको उपदेयता के भन्ने प्रश्न चिन्ह खडा हुन्छ ।

सरकारले दक्ष जनशक्ति उत्पादन गर्न नेपालमा मात्र नभई विदेशमा छात्रावृत्तिमा पनि पठाएको देखिन्छ । आफ्नै लगानीमा पनि विदेशमा अध्ययनको लागि गएका छन् । यसरी विदेशमा शिक्षाआर्जन गर्नका लागि गएकाहरूले पनि शिक्षा हाँसिल गरे स्वदेशको सेवा गर्न नआई विदेशमै जागिर खाने र उतै बस्ने व्यवस्था मिलाउँछन् भने कोही स्वदेशमा फर्केर आए पनि यहाँको भौतिक, आर्थिक, सामाजिक र राजनैतिक वातावरणले साथ नदिंदा आर्जित ज्ञान व्यवहारमा ल्याउन सक्दैनन् । यस्तो अवस्थामा राज्यले गरेको लगानी पनि स्वतः खेर जाने हुन्छ ।

शिक्षालाई बालबालिकाका सानै उमेरमा नै व्यवहारमुखी बनाउनुपर्दछ । नेपालका कतिपय दुर्गम स्थानहरूका बालबालिकाहरूले विद्यालयको मुखसम्म पनि देख्न सकेका छैनन् भन्ने कुरा हामीले समाचारबाट जानकारी पाउँछौ । अभिभावकले आफ्ना सन्ततिलाई पढाउनु पर्छ भन्ने कुरा बुझ्दा बुझ्दै पनि घरयासी काम, विकटता, र गरिबीको कारणले गर्दा पाठशालामा पठाउन सकेका छैनन् । यसरी बालबालिका शिक्षा प्राप्त गर्ने अधिकारबाट पनि बञ्चित भएको देखिन्छ ।

देशमा लागू गरिएको शिक्षाप्रणालीले समाजलाई धनी र गरिब गरी दुई वर्गमा विभाजन गरेको छ । धनीका छोराछोरी निजी स्कुलमा अध्ययन गर्दछन् भने गरिबका छोराछोरी सरकारी स्कुलमा पढ्दछन् । सरकारी विद्यालयमा विद्यार्थीको चाप घट्दो अवस्थामा छ । कतिपय स्थानमा विद्यार्थीभन्दा शिक्षक बढी भएको जानकारी पत्रपत्रिकाबाट अध्ययन गर्न पाइन्छ । एकातिर देशलाई अर्थिकभार थपिन्छ भने अर्कोतिर सरकारले सरकारी स्कुलको गुणस्तरमा र प्रभावकारी रूपमा सञ्चालनतिर ध्यान नदिएको देखिन्छ । एउटा अनौठो कुरा त के भने सरकारी स्कुलमा पढाउने शिक्षकलाई आफूले दिने शिक्षामा नै विश्वास छैन किनकि उनीहरूले आफ्ना बाबुनानीलाई निजी स्कुलमा पढाउँछन् र आफू सरकारी स्कुलमा जागिर खान जान्छन् । बालबालिकाको भविष्यप्रति चिन्तित भएको देखिदैन ।

सरकारले सरकारी स्कुलको गुणस्तर सुधार गर्दै शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुको साटो विद्यार्थी कम भएका स्कुलबाट नजिकको स्कुलमा मिलाउने नीति लिएको पनि देखिन्छ । यो नीति गरिबको लागि त झनै घातक देखिन्छ किनकि पहाडी भेगमा जातेआते दुरीले गर्दा बाबुनानी स्वत पढ्नबाट बञ्चित हुन जान्छन् । शिक्षा पाउनु बाबुनानीको मौलिक हक हो । शिक्षाबाट कसैलाई बञ्चित गर्न पाइदैन । सबैले शिक्षा पाउनु पर्छ । यसको व्यवस्था सरकारले मिलाउनु पर्छ ।

आफ्ना छोराछोरीलाई शिक्षा दिलाउने हकमा बाबु आमाको पनि गहन भूमिका हुन्छ । बालबालिकाको शिक्षाको मुहान भनेको आफ्नै घर हो । घरपरिवारले प्रयोग गरेका राम्रा नराम्रा कुरा बालबालिकाले घरबाटै सिक्छन् । बालबालिकालाई कुन रूपमा विकसित गर्ने भन्ने गहन भूमिका घरबाटै थालनी गर्नुपर्दछ । छोराछोरीलाई अनुशासन, स्वावलम्बन, मर्यादित, शिष्ट र सभ्य बनाएर सवल रूपमा सामाजमा उभ्याउनको लागि यी सबै पक्षमा बाबुआमा नै उदाहरणको रूपमा प्रस्तुत हुन सक्नुपर्दछ किनकि घर नै पहिलो शिक्षालय हो ।

प्रथम गुरु नै बाबु हुन् भने प्रथम गुरुआमा भनेकी नै आमा हुन् । बाबुआमा, घरपरिवार, र छिमेको यथार्थ चित्र बालबालिकाको मस्तिष्कमा अंकुरण भएको हुन्छ जस्तो किसिमको वातावरण बालकले पाउँछ पछि त्यही रूपमा ऊ विकसित हुँदै जान्छ । हामीले देखेका छौं मानिस जस्तो कुलमा जन्मन्छ उस्को आचरण पनि त्यही रूपमा हुन्छ किनकि सबै आचरण उस्ले आफ्नै कुलबाट सिक्छ । बाबुआमाले आफ्ना छोराछोरीप्रतिको दायित्वलाई निभाउनै पर्छ । पहिलो दायित्व भनेको शिशुलाई पालन पोषण गर्नु र दोस्रो दायित्व भनेको शिक्षा प्रदान गर्नु हो । संस्कारले तोकेका दायित्वहरूलाई कार्यन्वयनमा लानै पर्दछ । छोराछोरीलाई शिक्षा नदिने बाबुआमालाई चणडक्यले यसरी ललकारेका छन्–

माता रिपुः पिता शत्रुर्बालो येन न पाठयते
सभामध्ये न शोभन्ते हंसमध्ये बको यथा

माता रिपु हून् र पिता शत्रु हुन् जस्ले आफ्ना बालकलाई पढाउँदैनन्
सभामध्येमा जसरी हाँसको बीचमा बकुल्लोल शोभा पाउँदैनन्

सदानन्द अभागी
कावासोती –७, शान्तिचोक, २०७३ ।२।२०

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *