“म अम्बर हुँ तिमी धर्ती लाखौँ चाहे पनि हाम्रो मिलन कहिले नहोला,” एकचोटी यो गीत मेरो कानमा परेको थियो – कैयन वर्ष अघि । र, अपरिचित अनुहार भएको त्यस व्यक्तिका रचना, संगीत र गायन कौशलले मलाई जकड़ीहाले । मेरो आँखामा आकाश र धरतीको मिलनभूमि क्षितिजको एक यस्तो सुन्दर दृश्य मौलायो जसमा सूर्य डुब्दै थियो – यो सिद्ध गर्न मानौ त्यो मिलनरेखा एक महाशुन्य हो ।
अम्बरको फ्यान म त्यसरी बने ।
पछि, भूपि शेरचनका माध्यमद्वारा ऊसँग मेरो परिचय भयो । भूपिले एक दिन एक नयाँ गीत सुनायो, जो उसको रचना थियो, अम्बरको संगीत थियो र थियो अरुणाको स्वर ….
“किन ………मेरो
किन ………अन्त
वसन्त !”
वाल्जमा बाँधिएको धुनले गीतलाई राम्रो मोड दिएका थिए । म मुग्ध भएँ । मेरो आँखामा झरेका, सुकेका पातहरू हावामा गोलो फन्को मारी बाल्ज्को लामो फन्को मारिरहेका देखिए ।
“यो मान्छे कस्तो छ” भनी ? मैले सोधेको थिए, भावावेशमा ।
सोझो र स्पष्ट प्रश्नको उत्तर दिन साह्रै गाह्रो हुन्छ जो सुकैलाई पनि भूपि जस्तो ट्याक्क मिल्ने उपमा दिन सक्नेलाई पनि । एकछिन ऊ अल्मलियो अनि भन्यो – “ऊ मान्छे शायद होइन, ऊ मित्र हो र जसको लागि मित्र होइन, उसका लागि कलाकार हो र जसका लागि कलाकार होइन, उसका लागि गायक हो र जसका लागि गायक होइन ऊ जन्मेको पनि छैन ।”
भूपि जिन्दावाद ! अम्बरको यति छरितो शब्द रेखा यसभन्दा मिठो बन्न सक्दैन । यो कुरा आज वर्षौंपछि म अनुभव गरिरहेछु, ऊसँग अनेक आत्मीयताको सागर पार गरेपछि ।
त्यसबेला म भूपिको व्याख्याको मर्ममा अल्मलिरहे । उसले मेरो अतृप्त जिज्ञासा पैलायो शायद, भनेको थियो, अम्बर काठमाण्डौ आउदा भेट्टाई दिउँला ।
अम्बर काठमाण्डौ आउनु अघि अनेक घटना भए । अगम गिरीको नौलाख तारा उदायो । यसले उसलाई अधिराज्यमा जनप्रियता ल्यायो । र गीत गल्लीगल्लीमा अनेक स्वर अनेक धुनमा गाइयो । उसले अरु पनि अनेक रचना गर्यो, ऊ झन् प्रिय बन्यो ।
अनि ऊ काठमाण्डौ आयो । अम्बरको व्यस्ततालाई निचोरनाचार पारेर पनि भूपीले दुई घण्टा उसलाई मेरो घरमा ल्याईहाल्यो ।
उसको अनुहार पनि देखें । पक्का गुरुङ अनुहार छ । गोर्खा आर्मीमा गएर युनीफर्म लाएमा खसी भेंडाको हुलमा मिल्ला जस्तो । भूपि जस्तै पुड्को, उस्तै ठुलो टाउको, उस्तै हँसिलो । जीउ भने स्यानो, अनुहार भने गहकिलो । बोल्दा उसको स्वरमा जुन नरमपना छ, गाउदा त्यसमा त्यतिकै ठोसपना ।
गीत उसले त्यहाँ गाएन । त्यसकारण म स्वर जत्तिकै प्रभावित अनुहारबाट भइन । ऊ गइहाल्यो ।
शायद अब बाटोमा देख्यो भने उसले चिन्ला नचिन्ला को जानोस ।
अनि म दार्जिलिंग गएँ । त्यहाँ धेरै परिचित छन – सब कहाँ आफ्नो आगमनको स्वरूप भेट्न गएँ । उसकहाँ पनि गएँ । ऊ कतै टुरमा गएको रहेछ । खबर छाडी राखें ।
एक या दुई दिन त्यसै भेटघाट चिनापर्चीमा बित्छ तर अम्बर छैन । अकस्मात एक साँझ ग्लेनारिमा आइपुग्छ । मलाई खोज्दै । झ्वास्स मैले पो चिन्न सकिन, ऊ मलाई ठम्याईहाल्यो । अनि त्यहीं साँझ प्रोग्राम बन्छ । उसलाई अनुमतिबिना गाउन मनाही छ । हामी अगमको आयोजनामा ५-६ जना जम्छौ ।
झ्याल ढोका लाएर ऊ उदांगिन्छ, स्वरमा सरस, अर्थात रसयुक्त बैठकमा हामी मग्न हुन्छौ । त्यहाँ पहिलोपल्ट “पहाड सुक्यो जस्तो लाग्छ”ले मलाई छोप्छ । त्यसबेला यो उसले भर्खर रचेको मात्र थियो ।
अनि हाम्रो ३-४ दिन साँझ बित्छ । परिचय भने गाढा हुन्छ तर मित्रतामा परिणत हुदैन । भूपिको भाषामा भन्ने हो भने गायकबाट बढी ऊ मेरो दृष्टिमा कलाकार बनिसक्यो – अँझ नाघिसक्यो तर मित्र भने बनेको छैन….उसका सम्बन्धमा जान्न म इच्छुक छु अब । धेरै स्रोतबाट अनेक कुराको जानकारी हुन्छ । उसको आर्थिक अवस्थादेखि लिएर उसका रोमान्सहरू, उसका सफलता देखि लिएर उसका बन्धनहरू । अनि उसका लेखक दृष्टिमा पर्छन । एक स्वादिलो बहाब छ, एक स्पष्टता छ, अनाबश्यक्तता छैन । मन पर्छ तर मन मात्र पराउछु, अभिव्यक्त गर्ने साधन छैन मेरो – मसँग उसको पत्र व्यवहार आरम्भ भएको छैन । हामी दुवैको प्रकाशित लेखद्वारा हामी दुवै एकअर्कालाई सम्झन्छौ, त्यति मात्र हो । मानौ हामी दुवै अव्यक्त प्रेमलाई चन्द्रमा ताकेर चिसाइरहेछौ । मुगल-कालीन प्रेमको पराकाष्ठा जस्तो ।
कति वर्ष बित्छ थाहा छैन ….
उसको काठमाण्डौ आउने चर्चा चल्छ । “रुपरेखा”का सम्पादक उत्तमबाट म यो समाचार सुन्छु । यो पनि सुन्छु अम्बर आफ्नो वर्तमान सरकारी सेवाबाट अवकाश लिदैछ । र शायद काठमाण्डौमा केही काल बिश्राम गरोस । उसका लागि म आफ्नो घर अर्पण गर्दछु जति बसे पनि । म मान्छे मतलबी छु, ऊसँगको सहवासद्वारा उसको आत्मीयता अपनाउने मेरो लोभ छ । उत्तमले मेरो निमन्त्रणा पाउँछ ।
काठमाण्डौका कार्यक्रमबीच सरकारी पाहुनाको रुपमा ऊ होटेलमा बस्छ । अनि आउछ ऊ घरमा आतिथ्यको समाप्तिपछि ।
तिनताक म, फेरि आफ्नो जीवनको एक अनौठो र अप्रकाशित मोडमा छु । साहित्यको भुत टाउकोमा चढेको छ । उपन्यास थालेको छु, प्राचिनपश्चात्य साहित्यको अनुवाद थालेको छु । दुइको बीचमा कथा कहानी निबन्ध लेख्छु सुनाउन । र मलाई मान्छे मन पर्दैन, मनपर्छ एकान्त । यस्तो अवस्थामा ऊ घरमा आइपुग्छ ।
दिनभर ऊ अरुका लागि, रात मेरो लागि हामी गिलास समातेर बस्छौ, साहित्यको चर्चा गर्छौं, वा ऊ संगीतको चर्चा गर्छौं, वा हामी रेकर्ड सुन्छौं । बिथोबिनको सोनाटाहरू, सिम्फोनीहरू, दाइलन टमसका कविताहरू, मेरियान मुरका कविताहरू । हामी सुन्छौ र एक संसारको सिर्जना गर्दै जान्छौ ।
तिनताक एकदिन म भन्छु – अम्बर, नेपालीमा मेजर वर्क किन नगर्ने ?
उसको पनि त्यता मन गैसकेको रहेछ । ऊ सहमत हुन्छ । कान्टेता तथा सिम्फोनीको सिर्जना सम्बन्धी चर्चामा एक रात दुई बजेको पत्तै पाउदैनौ । अन्त्यमा हामी तीन विषय-बस्तु छान्छौ । देवकोटा, हिमाल तथा कान्टेतामा रक्स्यापन ।
ऊ भन्छ – तीनैवटा तपाई लेख्नुस म संगीत दिन्छु । म स्वागत गर्छु । भोलिपल्ट बिहान रक्स्यापन माथि मेरो योजना तयार हुन्छ । चार प्रमुख बिभाजन म गर्छु ।
१. खानु अघि ! २. खाउँ कि ? ३. खाएको ! ४. लागेको !
यसलाई पनि प्रत्येक बिभाजनलाई ४ अंशमा छुट्याउछु । भोलिपल्ट बिहान हामी यसुपर फेरि चर्चा गर्छौं । हामी भावाबेसमा बग्छौँ । आत्मीयतामा डुब्छौं । तापनि, मित्रता अपनाउन असमर्थ हुन्छौं । शायद अम्बरलाई कसीमा घोटिरहेछु ।
हामी दुवैलाई थाहा छ प्रत्येक मान्छेको एक वा अनेक मकुण्डो हुन्छ । हामी दुवै मुकुण्डो भित्रको अनुहार जाँच्ने प्रयत्नमा छौं । उभन्दा बढी शायद म, कारण म अगुल्टोले पोलेको बिरालो हुँ ।
अन्तिम रात हामी बढी भावाबेसमा हुन्छौ । म अम्बरलाई टेप गर्न तयार छु । ऊ पनि आफ्नो शक्तिको चरम सीमामा छ । भन्छ जे भन्नुस म गाउछु ।
काठमाण्डौको बत्ती साह्रै टेम्परामेन्टल छ । कुठाउँमा मुड पकडिदिन्छ ।पछि टेप यसो सुन्यो, अम्बर पो मात्तिएको भान हुने । ८-१० गीत सकस्तसँग भर्यौं । अनि टेप बन्द गरेर कान खोल्यौं । एकप्रकारले त्यो रात जीवनमा अविस्मरणीय रहनेछ । एकप्रकारले भन्नुको अर्थ हो,पछि अर्को रात पनि आयो ।
प्रायश: गायकको कमजोरी हुन्छ, स्केलको । अम्बर त्यो रात स्केलका परिधिभन्दा बाहिर थियो । जीवनमा त्यस्तो निर्बन्ध गायक देखेको वा सुनेको मेरो पहिलो अनुभव थियो ।
प्रतिभा त्यहाँ निर झल्क्यो । म मित्रताको छेउछाउतिर पुगें । अनि ऊ जान्छ, फर्कन्छ कालिम्पोंग । यसपछि हामी प्रेमपत्र प्रारम्भ गर्छौं ।
ऊ काठमाण्डौ आवासको लागि धन्यवाद ज्ञापन गरेर मलाई लेख्छ । म सहबासको लागि धन्यवाद पठाउछु । तर ….. अब बेला आयो उसको अलिकति मूल्यांकन गर्ने । अम्बर असलमा हो के ? पख, अँझै बेला भएको छैन । अँझै बुझुं अम्बरलाई ।
उसको काठमाण्डौ आवासमा मैले उसलाई दुई नबिन गीत दिएँ । उसले मन परायो । लिएर गयो, संगीतबद्ध गर्न ।पछि एक गीत अर्को पठाएँ । त्यो झन् मन परायो । आफ्नो रचना कसैले मन पराईदियो भने रचनाकार खुट्टा चमौलाजस्तो गर्छ ।
उसमाथि अम्बर जस्ताले रचना सुनेर आँखा डबडबाई दिंदा, म के गरूँ हँ ? उसको म्वाई खाएँ ।
मित्रताको पहिलो खुड्किलो थियो त्यो । कति मतलबी म हँ ?
यसपछि कामविशेषले मलाई भारत जानु पर्यो । कलकत्ताबाट मैले उसलाई तार गरें, कस्तो छ तिम्रो मुड र फुर्सत भनेर उसले जवाफ दियो – कालिम्पोंग सिन्डिकेटमा स्वागत गर्छु । प्रतिष्ठाको कति भोको म रहेछु भन्ने त्यहाँ चाल पाएँ । सिन्डिकेटको अर्थ मैले ठुलो समारोह तथा स्वागतको अर्थ मैले माला गुनें । असजिलो रुपमा त्यस भिषण अवस्थाको सामना गर्न म कालिम्पोंग ओर्ले । जसलाई यी शब्दहरूको अर्थ थाहा छ यो ठट्टा उनैमा समर्पित ।
कालिम्पोंगको सिन्डिकेट । ६.३० बजे पुग्छु । कालिम्पोंग म झन्डै १४ वर्षपछि गैरहेछु । कताकता एक-दुई मोड चिनेको जस्तो लाग्छ । अन्यथा नौलो छु । म आएकै प्लेनमा दिलिप कुमार पनि थियो । त्यसकारण बैगन ड्राइभर तथा अन्य यात्रीको चर्चाको विषय झन्डै बाटो भरी त्यही नै रह्यो । बीचमा ड्राइभरसँग आत्मीयता बढाएर मैले एक बचन लिएँ – केही गरी मोटर स्ट्यान्डमा लिन कोही आएन छ भने उसले मलाई पुर्याइदिनेछ अम्बरको घरसम्म । ऊ मन्जुर भयो ।
तर अम्बर तथा श्रीमती गुरुङ पर्खिरहेछन त्यस जाडोमा ।
घर पुगें । तोंग्बाले न्यानो स्वागत गर्यो । कुमार भाइ (इन्द्र कुमार गजमेर) पनि आइपुगे । अनि हाम्रो लामो सेसन चल्यो ।
अम्बर भन्थ्यो – उसलाई हार्ट एटक भएपछि घांटी खुलेको त्यो प्रथम दिन थियो । र, दम कमजोर नै थिए । ऊ आफ्नो शक्तिको ८० प्रतिशत मात्र थियो । तापनि, ती प्रशस्त थिए उसको प्रतिभा दर्साउन ।
त्यस रात उसले मैले रचेको एक गीत सुनायो । मैले पटक्क रुचाइन तथा ठाडै भनिहाले । उसले चित्त दुखायो, शायद मुखमा ठाडै सुन्ने दुस्साहस उसले अँझै भोगेको थिएन । म मान्छे असलमा मुर्ख हुँ । कहिलेकाहीं यस्तो ब्लन्ट भइदिन्छु, त्यसको पाराकाष्ठ हुदैन । तापनि, त्यस दिन मलाई लागेको थियो अम्बर शब्द र रचनाभन्दा बढी संगीतको धुनलाई प्राथमिकता दिन्छ । धुनका सन्मानमा ऊ शब्दलाई भाचिदिन्छ । असलमा शब्द ठोस सोलिड हुन्छन र संगीतले तिनको व्यक्तित्व सल्लक्कै निल्न सक्नु पर्छ – टुक्राएर होइन । टुक्राएपछि शब्द आत्माहिन हुन्छन र संगीत विधवा बन्छे । गीतलाई एकप्रकारले हामी रसभरीसँग दाज्न सक्छौं । रसभरीको चोक्टा बनाएर खानु, रस चुहाउनु मिष्ठान्नसेविको अज्ञानताको बोधक हो । शब्दको हत्या गरे बापत म रन्थनिए ।
अम्बरको रचनामा दोषको एक बाहुल्य यही हो । ऊ सबभन्दा बढी संगीतज्ञ हो, त्यसपछि चित्रकार, त्यसपछि कवि, त्यसपछि गायक । उसका रचनामा पनि यही मर्यादा-क्रम हुन्छ । त्यसैले मुड चाहिं ऊ पकडिहाल्छ । तर कहिलेकाहीं सरलताले उसलाई परित्याग गर्छन । एक दृष्टिले हेर्ने हो भने नेपाली संगीतमा मुड सिर्जना गर्ने देन दार्जिलिंग तथा कालिम्पोंगकै बढी छ । काठमाण्डौमा नातिकाजी र अन्य झल्याकझुलुक देखा पर्ने एकदुई व्यक्ति बाहेक हाम्रो संगीतमा नयामोड दिने काम प्रबासी भाइले नै गरे ।
मसँग चर्चा हुँदा काठमाण्डौका संगीत-प्रेमीहरू भन्छन दार्जिलिंगका गीतमा रवीन्द्र संगीतको प्रतिध्वनि आउछ, खासगरी अम्बरका रचनामा । आंशिक रुपमा यो सत्य पनि हो कारण वातावरण र शिक्षाको प्रभाव पर्यो होला । उसमा प्रारम्भिक कालमा तर त्यो यदि भाव पकडीने शैली तिखारिने एक साधन मात्र एक खुड्किलो मात्र भएको छ भने त्यसले हाम्रो संगीतलाई एक अर्कै विश्व दृष्टिगोचर गर्नेछ । र शायद त्यो प्रकृया प्रारम्भ पनि भैसक्यो ।
फरमेंटेसनको त्यस कालबाट अम्बर अब पार पनि भैसक्यो ……. हामी दार्जिलिंगमा छौं । होटलमा । दुई जना मात्र । एकप्रकारले एकान्तबास । हामीसँग आवश्यकीय बाजाहरू कोठामै छन् । कुमार भाइ आउछन । अम्बर गाउँछ । हामी आफैमा मस्त छौं । त्यसपछिको दार्जिलिंग यात्रामा मेरो एक अनौठो अनुभव रह्यो । अनेक मित्र छन् त्यहाँ तर ती राजनीतिकासामु मित्रतालाई समेत नतमस्तक पारी दिन्छन । सानो ठाउँ भएर होला सबले सबको दैनिकी गतिविधिको पूर्ण जानकारीमा चासो राख्ने गरेको । एकार्कोको राजनीति कठ्बार वारिपारी बसेर पनि जोर्नी र कापबाट चियो गर्ने गरेको । राजनीतिलाई व्यवसाय मात्र मनिदिएर मित्रता एबं साहित्यिक बन्धुत्वलाई अलग्ग राख्न मेरा साथीहरू सफल भए भने त्यो ठाउँ साह्रै रमाइलो स्वर्गमय हुने थियो ।
यिनै कारणले हामी कसै कहाँ भेट्न गएनौ, र सकभर कोठामा नै तीन दिन बितायौं । र ती तीन दिन मेरा लागि अविस्मरणीय रहनेछन । अम्बरसँग मेरा आत्मसात त्यहीं भयो । एकदिन हामी रोयौं, अर्को दिन हामी नाच्यौं ।
फायर प्लेसमा आगो बलिरहेछ । साईड टेबलमा रमको गिलासमा ज्वालाका प्रतिविम्ब सल्बलाइरहेछन । मधुरो उज्यालोमा हामी दुई जना आफ्ना जीवनका बिगतको लेखा जोखा गरिरहेछौं । हामी के पो कुरा गर्दैनौ, सफलता, प्रेम, घृणा, साहित्य, रुची, विवाह, पत्नी, पुत्र, पैसा …..जति कुरा गर्यो उत्तिकै विविधता छ दुइको जीवनमा, तर पनि दृष्टिकोणमा क्या समानता । अनुभवहरूको माध्यम, समय र स्थान अलग छन्, तथापि वेदनाको तापक्रम उही । जंगलको दुई किनारबाट मानौ भित्र पसेर, बाटो बिराई बिराई अकस्मात भेट भएका दुई बटुवा हौँ हामी । र संक्षेपमा कुरा गर्ने हो भने हाम्रो बार्ता यसप्रकारको थियो –
“अम्बर, तिमीले सिमलको बोट देख्यौ हगी, लटरम्म फुल फुलेको ?”
“देखेको छु ।”
सानै हुरीमा बैसको सपना सिमलको फुल झैं झरी गयो । तिमी के गयौ खुशीले पनि मलाई आँखा तरी गयो । “वाह ! मलाई आँखा तरी गयो । साँची नै आँखा तरी गयो । “सानै हुरीमा …अँ .. झरी गयो …. अँ …आँखा तरी गयो । ठिक, ठिक. ठिक ।
त, चोट उही हुनु पर्दैन, व्यक्ति उही हुनु पर्दैन, तापनि जुन सुकै ठाउँमा चोट लागे पनि बगेको रगतको रंग र दर्द र त्यसको मिठो सम्झना उही हुन्छ । कलाकारको घाउको टाटो मष्तिस्कमा हुन्छ, र ऊ चाहिएको बेला पाप्रो उप्काई त्यसको अनुभूतिबाट प्रेरणा पाउँछ ।
सायद यही थियो हाम्रो मिलन-स्थल ।
त्यहाँ मैले जाने, ज्यादै मन मिलेपछि सर्ट हेन्डमा कुरा गर्न सकिदो रहेछ । र नयाँ अनुभवहरू अनुहार नहेरेर पनि टेलिप्याथीबाट व्यक्त गर्ने क्षमता उम्री आउदोरहेछ । यस परिश्थितिमा पुगेपछि जीवनको मूल्य अर्कै हुन् जान्छ । यस्तो अनुभव हुन्छ – मानौ शब्द, बाक्य, भाषा, साहित्य, यी सब अपूर्ण मानवका आफूलाई व्यक्त गर्ने एक क्रूड साधन हुन् । देवताहरू के आपसमा कुरा गर्दा भाषाबाट गर्दा हुन् ? यति कम बार्ता शब्दका मध्यमद्वारा भयो, मानौ हामी बीच झगडा भैसक्यो ।
म हिड्दा उसले मोटरको ढोका निर ग्वाम्म अंगालो मार्यो, बस । न हामीले हात मिलायौं न गुड विसेज छर्यों, न फर्किएर नै हेर्यौं । मैले कमसेकम हेरिन । कारण मलाई थाहा थियो ऊ कस्तो अनुहार लाएर, के सोचेर कसरी विशेष ढंगबाट पाईला चाल्दै थियो । अनि मलाई विश्वास छ उसले पनि मोटरतिर फर्केर हेरेंन । कारण ऊ जान्दथ्यो, म कसरी चुरोट सल्काएर के कुरा सोचेर विन्ड-सिल्ड पारी बगिरहेको दृश्यमा चिप्लेर पनि नाचिप्लने प्रयास गरिरहेको थिएँ ।
“नाईल नदीमा सिजर बिदा भैसक्यो – उसको नाउ तरंगित भैसक्यो । क्लियोपेत्राले निश्चय पनि, त्यो दृश्य हेरिन -” ईतिहास सांक्षी छ यी त्यस बेलाका राजकविका उद्गार हुन् ।
अनि हाम्रो भेट भएको छैन ….।
एकप्रकारले आवश्यकता पनि छैन । कारण ऊ अब अग्निपरीक्षामा पसिसकेकोछ । हालसालै उसको आमाको मृत्यु भयो । र जस्ले क्यान्सरको पीडाबाट आमा बाबु मरेको देखेको छ, उसलाई थाहा हुनेछ, छोरा यदि कालाकार भयो भने त्यसले के अनुभव गर्नेछ ।
सूचना पाएपछि मैले उसलाई यस्तो एक चिट्ठी पठाएँ ।
प्रिय अम्बर,
यो चिट्ठी मैले अघि नै पठाउनु पर्ने हो तथापि आज पठाइरहेछु । मलाई थाहा छ गत महिना जुन रुपमा तिमीले बिताउनु पर्यो त्यो साह्रै कष्टप्रद थियो । मेरो पनि पिताको मृत्यु क्यान्सरबाट भएको हो । मेरी आमालाई परित्याग गर्ने पितालाई मैले जीवनमा धेरैपछि मात्र माया गर्न थालें । र, साच्चैं माया त उनलाई क्यान्सरले छोएपछि मात्र उम्र्यो मेरो मनमा । ३ वर्ष उनलाई रोगले सतायो । र, जीवनको अन्तिम तीन महिना मैले बिताएँ । आफ्नै हातले ख्वाएर सेवासुश्रुषा गरेर । र उनले प्रण पनि मेरै काखमा छोडे । त्यस तीन महिनामा मैले बुझेको छु क्यान्सर कत्तिको कष्टप्रद हुदोरहेछ । त्यसकारण, तिम्रो चिट्ठी पाएर आमाको खबर पढ्नासाथ एकक्षणभित्र मैले त्यो अनुभव फेरि दोहोर्याएँ । लागेको थियो, तिमीलाई सान्त्वनाका केहो शब्द लेखुँ । तर लेखिन ।
त्यसको कारण छ । जुन पिरियड तिम्रोसामु थियो, जुन वेदना, जुन कष्ट र जुन नैराश्यले तिमीलाई घेरेका थिए तिनको अनुभव म सयकडौ माईल टाढा बसेर पनि पाइरहेको थिएँ । र, प्रत्येक क्षण म सोचिरहेथें – यो तिम्रो आत्मालाई खार्ने र तिम्रो सिर्जना शक्तिलाई तिखार्ने एक अवश्यम्भावी प्रकृया हो । यसमा जति मान्छे एक्लिन्छ ऊ त्यतिनै क्रियटिभ हुन्छ । तिमीले भनेको सम्झे फेरि मनमा अनेक भावना आइरहेछन तिनलाई मुर्तरुप दिनु छ । लाग्यो मलाई, तिमी यस अग्निपरीक्षाबाट पार भएपछि, तिमीमा एक अर्कै प्रतिभा व्याप्त हुनेछ । एक परिपक्वता, एक वेदनामय सिर्जनब्यथा । यसैको सिम्बोल बाँकी तिम्रो लामो जीवन अघि बढी नै रहनेछ । तत्कालीन ब्यथा त एक गुज्रने फेज मात्र हो यति सम्झे ।
पिता र माता कसैको बचिरहदैनन, न तिमी बाँच्छौ न म बाँच्छु । तर पनि कता कता ती सबै हामीभित्र हाम्रा सन्तान भित्र एक क्रममा बाँचिरहन्छन । तिनको मृत्युको विभीषिकाका माध्यमद्वारा यदि हामीमा सिर्जनाशक्ति बढ्छ भने, मलाई लाग्दछ हामीलाई जन्म दिएर उनीहरूले एक ठुलो उपकार गरेका छन् – आफ्नै लागि, हाम्रै लागि, राष्ट्रकै लागि ।
नारायण गोपालद्वारा माताको मृत्युको समाचार हिजो बिहान मात्र पाएँ । अहिले यो लेखिरहदा तिम्रो चिट्ठी पाएँ । एकफेर आउँ कि भन्ने पनि मैले नसोचेको होइन । तर फेरि तिमीलाई एक्लै रहन दिनु नै उचित ठाने ।
तिमीभित्र जो अंश आमाको छ, त्यसैको माध्यमद्वारा आमाले युगानुयुगसम्म सुख र सन्तोष पाइरहनुहुनेछ । रह्यो उहाँको भौतिक शरीर, त्यो पृथ्वी आकाश, बायू, जलको अंश थियो, त्यो तिमीले फर्काइदीई हाल्यौ । छोराको कर्तव्य सायद यही हो पनि र आमालाई रोगको कष्ट त भयो अन्तिम समयमा, तर पनि पति र पुत्रको समक्ष प्रण छाड्न पाउनु पनि उहाँको ठुलो सौभाग्य रहेछ । ईश्वरले गरुन उनको आत्माले शान्ति पाओस ।
हामी सबैको सम्झना र यथावत प्यार छ तिमीलाई । ज्यादै दिक्क मानेर ब्याकुल भएका छौं भने केही दिनलाई यहाँ आऊ । म कहाँ बस, दुख सुखको कुरा बाटौला । तिम्रो मन पनि काममा लाग्ने सम्भावना हुनेछ । आउने निश्चय गर्यौ भने, संकोच अलिकति पनि नमानी, हिडिहाले पनि हुन्छ ।
जवाफ पाएको छैन । थाहा छैन उसको चिट्ठी आउँछ वा उ, केही फरक पर्दैन ।
मलाई थाहा छ अब आउने निकट भविष्यमा उसले गरेको रचनामा उसको प्रतिभा तिखारिएर देखिनेछ । एक नयाँ भल आउनेछ जस्ले नदीको किनारालाई नयाँ मोड दिनेछ ।
नदीमा भल आउदा उसको पानीमा मलिलो माटो पनि बगेको हुन्छ । त्यहीं माटोमा उर्बराशक्ति हुन्छ । त्यसैमा बालि फस्टाउँछ । हुन् त माटोले स्थान परिवर्तन गरेको हुन्छ र मलाई लाग्छ अम्बरको पनि अब शैलीमा परिवर्तन हुनेछ, तर पनि आत्मबेगले नदीलाई आफ्नो कर्तव्य बिर्साउने छैन ।
यही मेरो लिखित रुपको शुभेच्छा हो । तिमीलाई, अम्बर अब नि तिम्रो उर्बराशाक्तिको प्रतिक्षामा छ ।
धरती र अम्बरको मिलन संगीतमय क्षितिजमा हुनेछ । तिम्रो गीत, म अम्बर हुँ तिमी धरती, लाखौँ चाहे पनि हाम्रो मिलन कहिले नहोला । अब पुरानी भैसक्यो । नयाँ गीतको आवश्यकता छ । हामीलाई ।
(शंकर लामिछानेको प्रतिक्षा सम्भबत उहिल्यै पूरा भयो । अम्बरको उर्बराशक्ति अब त अजम्बरी पनि भैसकेको छ । यसै साता फेरि एकपटक नौलाख तारा हैन जुन अम्बरका रुपमा उदाए । शंकर र अम्बरको मित्रतालाई सलाम गर्दै अम्बरको यो विम्ब प्रतिविम्ब साभार गरेका छौं ।)
साभार प्रस्तोता : वसन्त श्रेष्ठ, भर्जिनिया, अमेरिका
