नेपाली साहित्यका पाठकहरूबीच पछिल्लो कालमा आख्यान विधाले विशेष लोकप्रियता हासिल गरिरहेको छ । विशेषगरी कथा र उपन्यास अहिले सबैभन्दा बढी पढिने विधामा पर्दछन् ।
आम पाठकहरूको रुचिसमेत यतातिर आकर्षित भएपछि आख्यान विधाका कृतिहरू बाक्लै प्रकाशन हुन थालेका कथा, उपन्यासहरू समयानुकूल र सन्दर्भ अनुसार प्रस्तुत हुने गरेका पाइन्छन् ।
पछिल्लो समयमा मेरो हातमा आएका कृतिहरूमध्ये कुमार काफ्लेको ‘हजार सपना’पनि एक हो । झण्डै सय पृष्ठमा समेटिएको यो उपन्यास समसामयिक विषयवस्तुमा आधारित छ ।
वैदेशिक रोजगारीमा जानेहरूका समस्या र द्वन्द्वलाई मुख्य विषय बनाइएको यस कृतिले सामाजिक र पारिवारिक समस्यालाई राम्ररी सम्बोधन गरेको छ ।
पुरुष र स्त्रीबीचको सम्बन्ध यौन मनोविज्ञानमा आधारित सम्बन्ध हो । यौन भनेको प्राकृतिक रुपमा प्राप्त शारीरिक आवश्यकता हो । त्यसलाई भावनात्मक आदर्शले त्यसबेलासम्म थेग्न सक्छ जबसम्म शारीरिक आवश्यकता सामान्य रहन्छ । यस उपन्यासमा विभिन्न कारणले वैदेशिक रोजगारीमन गएका तीन युवकका पत्नीहरूको मनोदशा र व्यवहारको विश्लेषण गरिएको छ । मान्छेका विविध रुप र पक्षहरूको चित्रण गरिएको छ ।
महिलाको यौन इच्छासँग पुरुषहरूको योगदान सधैं महत्त्वपूर्ण हुन्छ तर पुरुषको यौन चरित्रलाई समाजले उति महत्त्व दिदैंन । यो उपन्यासमा पनि विदेशिएका युवाहरूको परस्त्रीगमनको त्यति चर्चा गरिएको छैन जति तिनका स्वदेशमा रहेका पत्नीहरूको गरिएको छ । यो चर्चा लेखकको वैचारिक कमजोरी नभई समाजको दृष्टिकोणको प्रतिवम्बमको रुपमा बुझ्नुपर्छ । सङ्क्षिप्तमा यस उपन्यासको उपसंहार अत्यन्त सकरात्मक छ । जसको गृहस्थी भत्किएको छ, तिनीहरूलाई पुनःमिलन गराइएको छ भने विदेशबाट फर्किनेहरूले सामाजिक तथा व्यवसायिक रुपमा देशभित्रै सेवा प्रारम्भ गरेका छन् ।
उपन्यास भित्र कथाले प्रारम्भ, विकास र समापनको त्रिकोणात्मक यात्रा पूरा गरेको छ । समसामयिक कथावस्तुमा सन्देशमूलक प्रस्तुतिले ‘हजार सपना’ उपन्यास सुन्दर र सफल बनेको छ ।
कृति: हजार सपना (उपन्यास)
लेखक: कुमार काफ्ले
प्रकाशक: शब्दार्थ प्रकाशन, काठमाडौं
प्रकाशन: २०७२
पृष्ठ: ९९
मूल्य: रु. १५०/-

