Skip to content

जिन्दगीमा धेरै थरी गजल बनाएँ


जिन्दगीमा धेरै थरी गजल बनाएँ
कल्पनामा ठूला ठूला महल बनाएँ

चिसो चिसो सिरेटोले निल्यो सुलुक्कै
आगो ताप्ने इच्छा भयो मकल बनाएँ

दिमागमा कुप्रवृत्ति कैल्यै ल्याइन
विचारधारा निष्कपट र असल बनाएँ

लगनशील भै काम गरेँ ठग्न जानिन
परिश्रमले प्रतिभालाई कुशल बनाएँ

सकेसम्मै परजीवी बन्न चाहिन
धान कुट्ने च्युरा कुट्ने ओखल बनाएँ

संगीतले मन जित्थ्यो सुन्थेँ रमाउँदै
दोहोरीको नशा लाग्दा मादल बनाएँ

सबैसँग टाढा भएँ बढ्यो वेदना
कति चोटी मनस्थिति पागल बनाएँ

स्वदेशको माया लाग्छ रातोदिन नै
सम्झनाले हृदय यो विह्वल बनाएँ

चोटहरू खप्दाखप्दै छाती जीर्ण भो
घरिघरि देह आफ्नो घायल बनाएँ

कठोरता देखेँ सधैं मनै खिन्न भो
मैले आफ्ना सोच सबै ‘कोमल’ बनाएँ

कोमल भट्ट
© @ komalpbhatta@yahoo.com
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *