उबेला
यस्तै झरीमा
छेउमा छाता समाउने तिमी हुन्थ्यौ
एक पाखो भिजेको बाहाना गर्दै
झन्झन् नजिकिने म हुन्थेँ
तिमी सर्माएझैँ गर्थ्यौ
म अँझै भिजे झैँ गर्थेँ
तिमी बदमास भन्थ्यौ
म त्यै त भनिदिन्थेँ
तिमी कुहिनाले हान्थ्यौ
म अन्तै हेरेर फिस्स हाँसिदिन्थेँ
तिमी रिसाएझैँ चिमोटिदिन्थ्यौ
म घुर्क्याए झैँ छाता बाहिर निस्किदिन्थेँ
मलाई रुझ्न नदिन
तिमी छाता भित्र तान्थ्यौ
म लाडे पल्टिन्थेँ
अनि झरी परिरहुन्जेल
यही दोहोरीरहन्थ्यो ।
आज
उस्तै झरी परिरहँदा
म तिमीलाई सम्झिन्छु
त्यो छातालाई सम्झिन्छु
सम्झिन्छु, म मात्तिएको पनि
अनि तिमी ठुस्किएकी पनि
तिमी कुहिनाले उसैगरी घुस्सा हान्छ्यौ, यादहरूमा
म त्यही सम्झेर फिस्स हाँसिदिन्छु, यथार्थमा
तिमी चिमोटिदिन्छौ, त्यो पनि सम्झनामा ।
म कोठा बाहिर निस्किन्छु, छाताबाट जस्तै
एकछिन रुझ्छु
रुझिरहन्छु
मान्छेहरूले देख्छन्
म रुझिरहन्छु
कोठाभित्र बोलाउने कोही हुँदैन,
छाताभित्र जस्तै
हो यही बेला
खुब्बै सम्झिन्छु तिमीलाई
देख्नेहरू सोँच्छन्, झरीमा रुझेछ
यसरी मेरा आँशुहरू पनि
अचेल, झरी भनेर चिनिन्छन् ।
यो दुनियाँमा सबैभन्दा ठूलो
बेइमानी “समय” हो !
जुन चाहि न त चाहेर पनि रोक्न सकिन्छ
नत फर्केर नै आउँछ…!
सकिन्छ त बस्
त्यही क्षणमा बिताएका पलहरूको मीठो
अनि तिता सम्झनाहरू
आँखाको झरीबाट बग्ने खोलानालाहरू
यो कोमल शरीरलाई भिझाउँदै
आफ्नै खुटाको तल पुग्छन बुझनै सक्दैन
किन बग्छन यी आँसुहरू ?
किन भिझ्छ मेरो कोमल शरीर ?
मन्द मुस्कान राख्दै
आँखाको झरीलाई मझेरीसम्म पुर्याउँछु ।
दीपेन्द्र चन्द ठकुरी
