स्रष्टाहरूका जीवन पत्याउनै नसकिने दुःख र तनाबहरूले भरिएका हुन्छन् । कष्ट र अभावहरूले घेरिएको हुन्छ । फेरि करिष्मामयी सफलताका व्यञ्जनहरूले पनि उनीहरूलाई नै ढाकिरहेको हुन्छ । भाव र अभावहरूको महासागरमा उनीहरू मानवविश्वलाई चकित गराउने गरी गोता भरिरहेका हुन्छन् । जीवनमा यस्तै अद्भूत करिष्मा पैदा गर्ने लेखक समरसेट मम पनि हुन् ।
लेख्न थालेका सुरुकालीन वर्षहरूमा उनले धेरै–धेरै दुःखहरू पाउनु मात्र होइन । खानाको अभावमा भोकसँग मिलेर गाँस्नुपर्यो । पैशाको हाहाकार पर्यो । वर्षदिनमा मुस्किलमा एकसय पाउण्ड कमाउँथे । पछि एउटै नाटकबाट उनले चालीस हजार पाउण्डसम्म आम्दानी गरे । पैसा उनको लागि त्यसपछि सुनको धारा बगेजस्तो बग्न थाल्यो । उनका पुस्तक छाप्न प्रकाशकहरूको हारालुछ हुन थाल्यो । कुनै बेला घृणित पात्र सबैको आँखाका लालगेडी बने ।
सन् १८७४मा फ्रान्सको पेरिसमा जन्मेका समरसेट ममले आठ वर्षको उमेरमा आमालाई र दशवर्षको उमेरमा बाबुलाई गुमाए । मातृवात्सत्य र पितृवाल्सल्यको संसारबाट विमुख भएका उनले काकाको शरणमा हुर्किनु परेको थियो । सानैदेखि उनी बोल्दा भक्भकाउँथे । जसले गर्दा उनको जीवन अर्को अभिशाप बनेर खडा भयो । साथीसङ्गीहरूले खिल्ली उडाउँथे । एक शब्द बोल्नेबित्तिकै खिज्याउँथे । बाल्यकाल उनको लागि रोमाञ्चकारी आनन्दको क्षण हुन सकेन । साथीसङ्गीहरूको सुमधुर संगत नपाउनु, सबैलाई अपमानित हुनु उनको लागि जीवन अपरा कष्टको विषय बन्यो । तर पछि काकाले जर्मनीको हिउलवर्ग विश्वविद्यालयमा राखिदिएपछि उनलाई सिर्जनाको लागि ऊर्वर थलो हुन थाल्यो । जीवनमा आनन्दको सत्ता पनिरहेछ भन्ने कुरा थाहा पाए । त्यहाँ हुँदादेखि नै कविता, नाटक, चित्रकलामा पौडिखेल्न थाले ।
उनको जीवनमा घटेको एउटा रोचक घटना छ– उनले ‘सादी थमसन’ नाम गरेको एउटा सानो कथा एकैछिनमा लेखेका थिए । त्यो कथाले उनको जीवनलाई कसरी कायापलट गरिदियो भने एकरात उनका साथी जाने कोल्टन उनको घरमा बास बस्दै आए । कोल्टनलाई राती हतपति निद्रा आएन । निद्रा नआएपछि समरसेटलाई पढ्ने कुनै सामग्री देऊ, मलाई निद्रा आएन भने । उनले त्यही कथा पढ्न दिए । कोल्टनले त्यो कथा पढेपछि उनलाई रातभरि नै निद्रा आएन । त्यो कथाले उनलाई यतिसारो छोयो, जसलाई समरसेटले अनुमान पनि गरेका थिएनन् । कोल्टनले त्यस सानो कथामा एउटा सुन्दर नाटक लुकेको पाए ।
उनले ममलाई सुझाव दिए– ‘यो कथामा ठूलो नाटक छ । रातभरि मैले आँखा पनि झिमिक्क नगरी यही सोचिरहेँ । यसलाई नाटकमा ढाल्नुहोस्, जसले ठूलो तहल्का मच्चाउनेछ ।’ नभन्दै भयो पनि त्यस्तै । एकछिनमा लेखेको त्यही सानो कथाले नाटकीय रूप लिदाँ त्यो नाटक चारसय पन्ध्र चोटि प्रदर्शन भयो । त्यसैबाट उनी करोडपति बने ।
नाम र दाममा ठूलो कीर्तिमान कायम गरेर ९१ वर्षको उमेरमा संसारबाट बिदा भए ।
पुन्य कार्की
२०६४।१२।१०
