गाउँघर दशैंको आगमनले उल्लसित छ । घरहरू रंग पोतेर उज्याला र चम्किला पारिएका छन् । आँगन, गल्ली, बाटो र डहर चिरिच्याट्ट पारी दुलही झैं सिंगारिएको छ । बडादशैं मान्न घर जाने र आउनेहरूले गाडी भरिन थालेका छन् । जुवाका बादशाहहरू तासको खाल जमाइसकेका छन् । पसलेहरू आधा बाटो/सडकै कब्जा गरी दशैका सामान बिक्रीका लागि प्रदर्शन गरेका छन् । बच्चाहरू लठ्ठे पिङ मच्चाउनमा मस्त छन् । वास्तवमा सारा देश नै भाङ् खाएर लठ्ठिए झैं बडादशैंको उल्लासमा लठ्ठिएको छ ।
हिँजैदेखी देशभरका सरकारी र सार्वजनिक विद्यालयहरू दशैं बिदा भएर बन्द छन् । घरपाईबाट टाढा रहेका शिक्षक बिधार्थीहरू धमाधम घर फर्किँदै छन् । गाउँमा पिङ् हाल्ने र बाटोघाटो सफा बनाउने चटारो छ । देशभरी जस्तै स्याङ्जा कोल्माको एक विद्यालय पनि दशैं बिदामा बन्द छ भने गाउँलाई दशैंको आगमनले घपक्कै ढाकेको छ । सोही विद्यालयका एक शिक्षक हुन् चोलाकान्त शर्मा । नामलेभन्दा पनि मास्टरजी र मास्टर उपनामले चिनिन्छन् उनी । बुढापाकाहरूले उनको अनुपस्थितिमा उनलाई मास्टर भनेर सम्बोधन गर्छन् । मृदुभाषी एव म गाउँलेको दुखमा सधैं दिलोज्यान दिएर सहयोग गर्ने हुनाले गाउँदेखी सदरमुकामसम्म उनको राम्रै इज्जत छ । सदरमुकाम पुतलीबजारको बाडखोला घुम्ती भनिने चोकदेखी कोल्मा काहुलेसम्म जीप गुड्ने बाटो बन्नुमा यिनै मास्टरले गरेको सामाजिक अगुवाइ नै मुख्य कारण हो भन्छन् गाउँलेहरू । हल्का चेक सर्ट, कटराईजको पाइन्ट, गोल्ड स्टार जुत्ता र ढाका टोपी यिनको पहिरन र पहिचान हुन् । सदरमुकाम झर्दा होस् या अन्त जाँदा होस्, हातमा ठुलो अफिसिएल ब्याग र ब्याग भित्र एकजोर कपडा प्राय: छुट्दैन । मास्टर पनि दशैँको आगमनले फुरुक्क छन् । अरूको घरमा जस्तै उनको घरमा पनि दशैंको चटारो छ । भोलि बिहानै सदरमुकाम गएर दशैंको खरिदारी र लत्ताकपडा किन्ने योजना बनाउँदै मास्टर र उनको परिवार निदाउँछ ।
***********
बिहानको खाना घरमै खाएर मास्टर जीप चढेर मास्टर सदरमुकाम जान्छन् । सदरमुकाम स्याङ्जा बजारमा उनले दिनभरमा खरिदारी सिद्याउँछन् भने विभिन्न संघसंस्थाले आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा पनि आफ्नो उपस्थिति जनाउँछन् ।
दिनभर यताउति गर्दागर्दै झम्के साँझ परिहाल्यो । लौ मार्यो गाउँतिर जाने सबै जीपहरू पहिले नै छुटिसकेछन् । जीप पार्किङ्मा एउटै जीप नभएपछि मास्टर अब डेढ घण्टा उकालो जंगलको बाटो हिनेरै घर पुग्नु पर्ने भो । छिटो छिटो औषधी पसलबाट आमालाई दमको नियमित औषधी आगामी पन्ध्र दिनलाई पुग्ने गरी किन्छन् र झोलामा राख्छन् अनि झोलाबाट दुई बेट्रीवाला टर्च लाइट निकालेर बाल्छन् । धिपधिपे उज्यालो दिंदै टर्च मास्टर साबको सन्ध्याकालीन सेवामा तम्तयार भो । मास्टरले पाइला चाले ।
उनले आज ठुली छोरीलाई जिन्सको पाइन्ट र टिसर्ट किनि दिएका छन् दशैंको दस्तुर । छोरालाई पनि जिन्स पाइन्ट र कलर भएको टिसर्ट अनि आफ्नी जीवनसंगीनी सरला अर्थात् मास्टर्नी साबको लागि पच्चीस सयको जापानीज सारी र बृद्ध आमालाई घरबुनाको धोती किनेका छन् । बँचेको पैसाले दसैँलाई केही मरमसाला किन्दा किन्दै पैसा सकियो, यसपाली उनको सोल च्यातिएको गोल्डस्टार जुत्ताले उनको खुट्टासँग सजिलै साथ छोड्न नपाउने भयो ।
घर जति चाँडो पुग्यो उति चाँडो आमाले दमको औषधी खान पाउने छिन् । उनले आमालाई आफ्नै हातले औषधी खुवाउने छन् । ७५ वर्षिया आमाको व्यवहार आजकल केटाकेटीको जस्तो हुन थालेको महसुस उनले गरेका छन् । दुई वर्ष अघि पतिले परलोक यात्रा गरेपछि बुढि आमाको जिउने आधार र सहारा भन्नु नै यै मास्टर छोरा र बुहारी भएका छन् । साँझ छोरा घरमा भएन भने आमा अतासिन्छिन् र नानाभाँती बतुराउँछिन् । बच्चाले बाऊ खोजे झैं बुढिआमा छोरो खोज्छिन् साँझ परे सी । त्यसो त घर पुग्न ढिला भएको दिन छोरा छोरीको ध्यान र नजर बाटोतिरै दौडिरहेको हुन्छ । भञ्ज्याङ्तिर कसैले उज्यालो बालेर गाउँतिर ठडियो भने घरका सबैले त्यो उज्यालो कता जान्छ भनेर ठमासी बस्छन् ।
मास्टरलाई जतिसक्दो चाँडो घर पुग्नु छ । भरे सदा झैं नौ वर्षिया छोरी र सात वर्षीय छोराले बाबुको थालबाट भात निकाली खाने छन् अनि बाबुको हातले भात खान उनीहरू खोसाखोस गर्नेछन् । त्यसो त कहिलेकाहीँ छोराछोरीले नदेख्ने गरी उनले आफ्नी मास्टर्नीलाई पनि एक गास खुवाउन भ्याउँछन् । त्यसो गर्दा उनलाई मास्टर्नी आफ्नी पत्नी नभएर प्रेमीका जस्ती लाग्छिन् । मास्ट्नीलाई पनि श्रीमानको जुठो हात आफ्नो ओठ हुँदै पुन श्रीमानको ओठसम्म पुगेको दृश्य संसारकै सुन्दर र अलौकिक दृश्य लाग्दछन् । राती बिस्तरामा बाबुको दुवै हातको सिरानी नहाली दुवै छोराछोरी निदाउँदैनन् । दिनभर कामले थाकेकी मास्टर्नी पनि हिउँदको यो सालीन मौसममा आफ्ना पतिको छातीमा हात राखी निदाउन पाउँदा संसार जितेको महसुस गर्छिन् । अँझ धेरैजसो रातहरूमा त निदाएका छोराछोरी बाबुको काखबाट अर्को बिस्तरामा सारेर सुताइन्छन् र उनको पुरै बिस्तरा र शरिरमाथि मास्टर्नीले अधिकार जमाइसकेकी हुन्छिन् । हुन पनि बच्चाहरू हुर्किन थालेपछि पत्नीले बढी नै आफूलाई माया गर्न थालेको र आफ्नो सामित्यताको लागि भोकाएर बस्ने गरेको उनले महसुस गर्न थालेका छन् । भोको बाघले शिकार झम्टे झैं हिंजो रात उनले झम्टेर आफूलाई एकै गास पारेको सम्झँदा उनी तरंगित हुन्छन् । कानको लोती टोकि दिएर कम्ती दुखेको होइन मोरीले । मास्टर्नीसंगको सहबासको प्रसंग दिमागमा आउँदा बाटो कटेको पत्तै पाउँदैनन् उनी ।
आफ्नै मनसँग कुरा गर्दै उनका पाइला अगाडि बढिरहेका छन् अनि पुतलीबजार बाडखोला बजार पछाडि छाडिइसकेको छ । खोलाको किनार र धानखेत हुँदै उनका पाइला देवीथान मन्दिर नेर पुगिसकेका छन् । मन्दिर कटेसी माथि कुँबरहरूको बस्ती भएको अरौंदी खोला आउनेछ अनि उकालो जंगलको बाटो हिंड्नु पर्नेछ । देवीथान मन्दिर कटिसकेको छ । अब अरौंदी खोला गाउँ पुग्न जंगलको छेवै छेऊ केही बेर हिंड्नु पर्नेछ ।
बाडखोला र स्याङ्जा बजारमा घटस्थापनाको दिनदेखि नै जुवाडेहरू म्यारिज खेल्नमा र कौरा हान्नमा मस्त छन् । गल्लीका भित्री घरहरूमा पुलिस प्रसासनको आँखा छलेर जुवा खेलाइएका छन् । कोही हारेका छन् कोही जितेका । जुवाडेहरूलाई कुखुराका साँप्रा, काँक्राको सलाद र बियर ठाउँको ठाउँ सर्भिस दिइएको छ । चार दिन लगातार खेल्दा पनि जीतबहादुर र रिते कार्कीले एक दाउ जित्न सकेनन् । श्रीमतीको बेरुवा औंठी एक छिन लगाउँछु भनेर ल्याएको जीतबहादुरले त्यो पनि फालेको छ । खेलको नशाले लठ्याएको छ तर साथमा सुको पैसो छैन । तासको खेल छोडेर जीतबहादुर र रीते चोकतिर निस्कन्छन् ।
दसैँको बेला भएकाले लाहुरेहरू र बिदेशिएकाहरू धमाधम गाउँ फर्केका छन् । देशमै भएकाहरू पनि दशैंको बोनस र मासिक तलब जेबमा राखी धमाधम घरतिर हिडेका देखिन्छन् । कोही पेन्सन थापी किनमेल गरी घर फर्केका छन् । मान्छेको चापलाई गाउँका जीपले थेग्न सक्दैनन् । त्यसैले मानिसहरू पैदलै पनि हिंडिरहेछन् कोही समुहमा कोही एक्लै आफ्नै सुरमा । जुवामा हारेका जीतबहादुर र रीते कार्कीको मनमा कुविचारले स्थान ग्रहण गर्छ, दशैंमा घर फर्केकालाई लुट्ने र पैसा कमाउने । गत वर्ष यै समयमा यिनिहरूले तीन ठाउँमा लुटी करिब सवा लाख पचाएका थिए । लुटेराको सुईंकोसम्म कसैले पाएनन् । यो जोडीले आज लुट्न योजना बनायो । सकेसम्म लुट्ने मात्र तर लुटिनेले आफूहरूलाई चिनेको अवस्थामा मारिदिने योजना बन्छ ।
झिमिक्कै साँझ परिसकेको छ । एक काँधमा ब्याग र हातमा टर्च लाईट अनि अर्को हातमा सामानले भरिएको पोलिथिन ब्याग लिएर मास्टर देविथान हुँदै अरौंदी गाउँतिरको बाटोमा लम्किरहेछन् । बाटोको माथितिर घना जंगल र तलतिर लहलहाउँदा धानका बाला छातीमा टाँसेर अरौंदी खोलाको फाँट मुस्कुराइरहेछ । अलितल सानो अरौंदी खोला एकतमासले सुसाइरहेकोछ । झ्याउँकिरी र भ्यागुताको टर्रटर्र आवाज कानमा गुन्जिरहन्छ । “यो दशैंमा म आइन भनेँ..निष्ठुरीलाई दाइ तिम्ले नभने” दिउँसो रेडियोमा सुनेको यो गीत गुनगुनाउँदै मास्टर अगाडि बढिरहेछन् । बाटो निस्पट्ट अँध्यारो छ चुक पोखेजस्तो । पहाडको खोंच र कुइनेटो परेकाले यहाँ आइपुग्दा रातको समयमा मान्छे डराउँछन् ।
जित बहादुर र रिते कार्की यसै कुइनेटोमा बटुवा लुट्न ढुकी बसेका छन् । काँधमा र हातमा गह्रौं सामान बोक्दै एक मानिस टर्च लाईट बालेर आफ्नै नजिक आएपछि जीतबहादुर र तिते हौसिन्छन् । मास्टर नजिकै आइपुगेका छन् । एक्कासि रिते मास्टरमाथि जाई लाग्छ र हातको टर्च खोसेर खेततिर मिल्काई दिन्छ । उसैमौकामा जित बहादुरले मास्टरको ब्याग खोस्छ । “ओई को हौ तिमीहरू ? के गरेको यो ?”- घबराउँदै मास्टरले भने ।
” हामी चोर” एउटाले भन्यो ।
“चुपचाप सबै सामान हामीलाई दे”-अर्कोले भन्यो ।
“सबै खोसी सकिस् अब के दिउँ ?”
“कति पैसा छ निकाल !”-चोरले फेरि भन्यो
“छैन पैसा सैसा, खोई मेरो ब्याग दे ?”मास्टरले रिस, आक्रोश र डर मिसाउँदै भने ।
“बढ्ता बोल्छस् ? ल खा … ” रीतेले कम्मरको खुकुरी मास्टरको टाउकोमा बजार्छ । ढुनमुनिंदै मास्टर खेतमा लड्न पुग्छन् । रगतको छर्रा रिते र जित बहादुरको मुखभरी पर्छ । छटपटाएका मास्टरको मुखभरी खेतको पानी जान्छ र बिस्तारै उनी चलमलाउन बन्द गर्छन् । चोरले उनको शरीर छामछुम गरेर झोला बोकेर जंगलतिर भागिसकेका छन् । झ्याउँकिरी र भ्यागुता कराउन बन्द गरे । उता खाना पकाएर पतिको पर्खाईमा बसेकी मास्टर्नीको छाती अचानक भारी भएर आयो । बाहिर निस्कन्छुभन्दा ढोकामा ठोक्किएर हातको एउटा चुरा फुट्यो, छोराको टाउकाको टोपी खस्यो ।
“भगवान्, के अलल्छिन हो यस्तो !!” मास्टर्नी डरले चिच्याइन् । खोरमा थुनी राखेका कुखरा तर्से, बसिराखेको भैँसी जुरुक्क उठ्यो ।
*********
“उफ्, कस्तो नराम्रो सपना देखेछु, बुढी एक गिलास पानी लेऊ त”-उठ्नासाथ मास्टरले भने । “छि, हजुर पनि ! चाडबाडको बेला के के सपना देख्नुहुन्छ ।”- एक गिलास पानी पतिको अगाडि राख्दै मास्टर्नीले भनिन्-“बिहानपख देखेको सपना पुग्छ भन्छन् ।”
‘के गरम त नि, मैले देख्छु भनेर देखेको होइन के रे’-मास्टरको ओंठे जवाफ फर्कन्छ ।
”ल भै गो, पानी पिउनुस्, त्यो सपना शौचालय बस्दा आफैलाई सुनाउनु, दोष काटिन्छ रे” यति भनी मास्टर्नी गोठतिर लागिन् । मास्टर पानी पिइसकेर शौच जान्छन् अनि आफ्नो सपना सुनाउन थाल्छन् आफैलाई । हुन पनि यति नराम्रो सपना उनले कहिल्यै देखेका थिएनन्, आफै मारिएको सपना ।
उज्यालो भएको छ, भर्खरै उदाएको घाममा चाँदीको घेरो सरी बादलले हल्का छोपेको छ । तल फाँटतिरबाट निस्केका हुस्सु आकाश छुन दौडेका छन् । हल्का चिसो मौसम छ । घरमा चिया पाकिसकेको छ मास्टर्नीले पति, बच्चा र सासूलाई चिया दिन्छिन् र आफू पनि पिउँछिन् ।
“यसो रेडियो खोलओ न केटाकेटी हो, चाडबाडको बेला छ, के के भन्छ रेडियोले”- यति भन्दै बार्दलीमा बसेकी मास्टरकी बुढी आमैले खोक्न थालिन् ।
“दशैं सकिनासाथ आमालाई पोखरा लगेर ठुलै हस्पतालमा चेक गराउँछु” यति भन्दै उनी भित्ताको किलामा झुँडाई राखेको रेडियो रेडियो खोल्छन् । रेडियोमा प्रबिण गिरीले बिहानको समाचार पढिरहेका छन् । “कति चाँडै सात बजेछ है !” मास्टर मनमनै गुनगुनाउँछन् ।
“स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाको उत्तरपूर्वमा पर्ने देविस्थान् र अरौंदी गाउँको बीचको जंगलको बाटोमा गएराती अज्ञात व्यक्तिहरूबाट कोल्मा काहुले गाबिसका एक विद्यालयका प्रधान अध्यापकको धारीलो हतियार प्रहार गरी हत्या भएको छ … ” प्रबिण गिरी समाचार बाचन गरिरहेछन् । समाचार सुनेर मास्टरको हातबाट चियाको गिलास भुइँमा खस्छ ।
“यै सपना हो मैले देखेको” एक्कासि मास्टर चिच्याउँछन् । “थुईया, ती पापीको घरमा आगो लागोस्, कस्तरी चाडको बेला अर्काको ज्यान लिईछस् पापी”- बार्दलीबाट मास्टरकी आमा रेडियोको समाचारको तितो प्रतिक्रिया स्वरुप हत्यारालाई गाली दिँदै थिइन् । ‘साह्रै अनर्थ भएछ भगवान् ‘- मास्टर्नीले लामो सुस्केरा हाल्दै भनिन् । आफूले केही घण्टा अगाडि देखेको सपनासँग ठ्याक्कै मेल खाने सपना … केवल पात्र फरक! जिऊ लगलग काम्छ, शरीर असिनपसिन हुन्छ । ‘बिहानी पखको सपना पुग्छ भन्छन् भन्दैथी बुढी, हो त रै’छ’-उनी मनमनै गुनगुनाउँछन् । ‘बच्चाले जस्तै चिया पोखेर के गरेको होला’ भन्दै मास्टर्नी मास्टरले चिया पोखेको भुइँ सफा गर्न लाग्छिन् । केटाकेटीले रेडियोको समाचारमा ध्यान दिएनन् आफ्नै सुरमा चिया पिउँदै छन् । मास्टर जुरुक्क उठ्छन् अनि रेडियो बन्द गर्छन् । कुर्चीमा थचक्क बस्छन् अनि श्रीमतीतिर हेर्दै भन्छन्- बुढी यो सपना भन्नी कुरो कसरी देखिन्छ होला? के राती मेरो आत्मा त्यहाँ गएको थियो र त्यो घटना प्रत्यक्ष देखेको थियो होला त ?”
मास्टर्नी एकोहोरो टोलाए जस्ती हुन्छिन् केही जवाफ दिन्नन् ।
एकैछिन् पछि उनी भन्छिन्: “छिमेकाँ यस्तो नराम्रो घटना घटेसी चाडबाड आएको के सार भो र? अब सदरमुकाम क्यार्न जानु पर्यो र बरू गए हुन्छ हेडसरको घरतिर, ..रुवाबासी होला कठै !”
“गैहाल्छु अब, छिमेक मर्दा पर्दा त हो नि चाहिने”-लामो सुस्केरा हाल्दै मास्टर भन्छन्-” यस्तो मृत्यु त कस्तै सत्रुको पनि नहोस् ।”
“नमस्कार मास्टर साप, गाउँमा त साह्रै नराम्रो घटना घटेछ है ! राम राम राम..” कोही मान्छे यति भन्दै उनको आँगनतिर आउँदैछ । उही जीतबहादुर रै’छ जसले सपनामा उनको हत्या गरेको थियो । मास्टर झस्के ।
“गुन्द्री तानेर बस”-मास्टर्नी बोलिन् । मास्टर भित्र पसे । प्यास लागेजस्तो भयो । एक अंखोरा पानी घटघटी पिएर सिध्याए ।
अजित क्षेत्री

मन छोयो कथाले
अजित सरको कथाले मन छोयो, सामाजिक परिवेशलाई आधार मानेर लेखिएको कथाले हृदय हल्लाईदियो!
-कुमार काफ्ले
nice story
Beautiful social story.heart touching.want to readmore from him.
सत्य घटना
स्याङ्जा जिल्लाको सत्यकथामा आधारित कथा रहेछ । पढेर मज्जा आयो ।