साँचो प्रेम गर्ने, सहर टाढिएछ
लाग्यो जिन्दगीकै, रहर टाढिएछ
निन्द्रा छैन राती, विरह झाङ्गिनाले
हाँसो वा खुसीको, पहर टाढिएछ
पोल्दा भित्रभित्रै, सहन हुन्छ गाह्रो
डाहा शान्त पार्ने, नहर टाढिएछ
खायो व्यग्रताले, मन छ खिन्नतामा
बाँच्ने पूर्णताले, ठहर टाढिएछ
सम्झी देश मात्रै, हृदय हुन्छ टुक्रा
आफ्नो चाहनाको, लहर टाढिएछ
थाक्यो देह ऐले, अधिक वेदनाले
कैले भन्नु होला ? ‘कहर टाढिएछ’
छन्द – स्वाक्साकाङ
विश्राम – ६ र १० अक्षरमा
-कोमल भट्ट
चन्द्रागिरी न.पा -२१
काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका
