सङ्घर्षको पाठ पढाएर लेख्ने हेमिङ्ग्वे


‘बूढो माझी र समुद्र (उपन्यास)’ विश्वप्रसिद्ध उच्च कोटिका कृतिहरूमध्ये एकमा पर्दछ । एउटा बूढो माछा मार्ने माझीको संघषशीलतालाई यसरी प्रस्तुत गरेको छ कि जसबाट यसका पाठकहरूले सहजै ग्रहण गर्न सक्छन्– मान्छे भएर जन्मेपछि मृत्युपर्यन्त संघर्षशील जीवन भएर बाँच्न सक्नुपर्छ र जीवनका जस्तासुकै कठोर चुनौतीहरूलाई पनि बूढो माझीले माछासँग लाप्का खेलझैं खेल्न सक्नुपर्छ । संसारलाई संघर्षशील भएर बाँच्न प्रेरित गर्दै आफू भने बूढेसकालमा पेस्तोल पड्काएर आफ्नो इहलिला समाप्त गर्ने विश्व प्रसिद्ध स्रष्टा हुन् अर्नेस्ट हेमिङ्ग्वे, जसबाट लेखिएको थियो माथि उल्लेखित संसार प्रसिद्ध उपन्यास ‘बूढो माझी र समुद्र’ ।

अमेरिकाको ओकपार्कमा जन्मेका अर्नेस्ट हेमिङ्ग्वेको जीवन कम्ती स्वादिलो छैन । रक्सी खान, भोज र मोज गर्न, तरुनीलाई पट्याउन र लडाइँमा सामेल हुन हुरुक्क हुने व्यक्ति उनीभन्दा अरु थिएनन्भन्दा पनि फरक पर्दैन । शिकार र यात्राको लतले उनलाई यसरी गाँजेको थियो, उनका धेरै जस्तो कृतिहरू शिकार र सजीव यात्रावर्णनमा आधारित छन् । डाक्टरको छोराको रूपमा जन्मिएर पनि उनको ध्यान डाक्टरी विद्याप्रति खिचिएन । उनी लडाइँ भनेपछि हुरुक्कै हुन्थे । त्यसैले पहिलो विश्वयुद्ध सुरु हुनेबित्तिकै त्यो युद्धमा सामेल हुनको लागि सेनामा भर्ती हुन गए । दुर्भाग्य उनको इच्छा विपरित उनको आँखा कमजोरी भएको कारण प्रत्यक्ष रूपमा सेनामा भर्ना हुन पाएनन् । तँ चिता म पुर्याउछु भनेझैँ पछि डाइभरको रूपमा अमेरिकाली स्वयंसेवक टोलीमा सामेल भएर युद्धमैदानमा गए । त्यहाँ काम गर्दागर्दै पैदल सेनाको हाकिम भएर युद्ध लड्न पुगे, झण्डै–झण्डै मृत्युवरण पनि गर्नुपरेको थियो । त्यहाँदेखि नै जीवनलाई संकट र समस्याको बेहेरी बीच होम्न थाले । युद्धप्रति यिनको पिपासा देख्दा यस्तो व्यक्ति कसरी भावुक लेखक हुनसक्यो होला, यस्तो लाग्छ तर स्रष्टाको जीवनमा धेरै धेरै विरोधाभासका शृङ्खलाहरू कोरिएका हुँदा रहेछन्, त्यो हेमिङ्ग्वेको जीवनबाट स्पष्ट बुझ्न सक्छौं ।

युद्ध लड्न, उब्रेको समय पुस्तक लेख्नु, शिकार खेल्नु, साँढे जुधाउनु उनको अचम्मको शौखहरू थिए । उनले अफ्रिकाका डर लाग्दा जंगलहरूमा बाघ, सिंह, हात्तीजस्ता डर लाग्दा जनावरहरूको शिकार खेलेनन् कि समुद्रमा गएर ठूलठूला माछाको शिकार खेलेनन् कि आफ्ना प्रतिद्वन्द्वीसँग मुड्की बजार्ने खेल खेलेनन् कि उनको जीवनी पढ्दा अचम्म लाग्छ ।

हेमिङ्ग्वेको जीवन अनेकौँ उथलपुथलकारी घटनाहरूको बीचबाट गुज्रियो । उनले युद्धको मोर्चाबाटै ख्याति प्राप्त पत्रिकाहरूलाई रिपोर्टिङ गर्नेदेखि लिएर उपन्यास लेख्ने, कथा लेख्ने, अधिनायकवाद विरोधी आन्दोलनमा संघर्ष गर्नेदेखि लिएर दोस्रो विश्वयुद्धताका अमेरिकी जलसेनालाई शत्रुपक्षका पानीमुनि चल्ने जहाजहरू क्यारिबिआली समुद्रमा आएमा तिनका गतिविधिहरू कसरी पत्ता लगाउन सकिन्छ, महŒवपूर्ण सूत्र पत्ता लगाउनसम्म सहयोग गर्थे, जसले गर्दा सैनिकहरू उनलाई औधी आदर गर्दै पिताको सम्बोधन दिन्थे । उनलाई अफ्रिकाको जंगलयात्रामा जाँदा मरेको हल्ला पनि चलाइयो । मृत्युका अनेकौँ घातप्रतिघातहरूबाट बँच्दै संसारलाई वसन्तका प्रवाहहरू, सूर्यपनि झुल्किन्छ, जसका लागि घन्ट घन्कन्छ र बूढो मान्छे र समुद्र लगायतका दर्जनभन्दा बढी अनमोल कृतिहरू विश्व साहित्यलाई दिए ।

जीवनका आखिरी घडीहरू क्युवामा कान्छी स्वास्नीसँग पसुखेतीमा रमाएर बिताए । पछि कुन्नि के कारण हो सन् १९७१मा बन्दुक पड्काएर आफ्नो जीवनलाई उडाइदिए । तर पनि उनको जीवनका अनेकौं सन्दर्भहरू रोचक तथा प्रेरणादायी छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *