Skip to content


भोक र शोकमा पनि हाँस्ने
अभाव र दुःखमा पनि बाँच्ने
रित्तो गोजी तर सधैं ब्यस्त जीवन
कवि तिमी महान छौ
भोकमै महाकविले कविता लेखे
भोकमै भुपीहरूले देश लेखे
तर लेखेनन् कहिल्यै दुःखका कविता
यहाँ भोका कविले
वीरताको कविता लेखे
स्वाभिमान र सम्पन्नताको कविता लेखे
रोगले थलिँदा लेखे
आँखा कमजोर हुँदा लेखे
तर लेखेनन् आफ्नै कविता
अर्काको जीवनको करौंतीमा
साँध लगाउने कविहरू
आफ्नै जीवनको आँगनको
डिल भत्किएको देखेनन्
खरानीको चिहानमाथि
लासको सिरानी हालेर कविले
जीवनसँग युद्ध हारेर जानेको
कविता लेखे
तर लेखेनन् आफ्नै कविता
तर लेखेनन् जीवनको तमसुकमा
राता अक्षरले लेखिएका
अभागी प्रेमीका कथा
त्यसैले कविता
म लेख्नेछु मेरै कलमको निबको कथा
म लेख्नेछु
गाई गोठ जाँदा
आफ्नै हजुरबाबाट बलात्कृत
हजारौं पूजाहरूको कथा
म लेख्नेछु
परदेशी श्रीमानले
आफ्नी पापीनीको बियोगमा लेखेको
मृत्युपत्रको कथा
हो यहाँ दिनहुँ मरिरहेछन्
थुप्रै पूजा र रामबहादुर
प्रिय,
मेरो मृत्युमा पनि छपाई देऊ है
मेरो समवेदना बिज्ञापन
मलाई पत्रिकामा छापिएको
आफ्नै फोटो औधी मन पर्छ
तिमीभन्दा पनि

नेपाल कविताको देश
नेपाल कविहरूको देश
हेर त
हिमालका सेता भिरहरूमा
कविता लटरम्म फलेका
हेर त तराईका फाँटहरूमा
धानभन्दा कविता धेरै फलेका
यो माटो उर्वर छ
यो माटोले कवि नि जन्माउँछ
कविता नि जन्माउँछ
कविताको सिंगै सगरमाथा
यहाँ वर्षौंदेखी कविताकै पहाडमाथि
उभिएर मुस्कुराइरहेछ
म पनि यस वर्षदेखि
कविताकै खेती गर्छु
साहुजी हजुरको पसलमा
दुई केजी कविताको बिऊ छ होला ?

वर्षा यामको ब्यस्त आकाशमा
जब बादलले तातो हावासँग
सहबास गर्नेछिन्
तब प्रकृति लाजले ओढ्नेछिन्
इन्द्रेणीको घुम्टो
म हुनेछु ब्यस्त
आफ्नै जिन्दगीका बाँझा
खेतहरूमा कविताको बिऊ छर्न
कविता तिमी उसैगरी फल्नु है
जसरी फलेकी थियौ
देवकोटाको शाकुन्तलमा
जसरी फलेकी थियौ
घिमिरेको गौरी काव्यमा
कविताको देशमा म पनि
अब कविताको खेती गर्छु

भोका किसानको अनाज मिठो
भोका कविको कविता मिठो
तर खै कुन्नि मेरा कविता
कस्ता हुनेछन्
किनकि म भोको छैन
म अघाएको छु
टन्न पेटभरी खाएको छु
अपमान
तिरस्कार
घात
लात
हो म अघाएको छु
भोका र गरिब कविको देशमा
मेरा कविताको खेती
खडेरीमा पर्ने हो कि
अतिबृष्टीले मर्ने हो
तर म लेख्नेछैन
बिरताको कविता
स्वाभिमानको कविता
सम्पन्नताको कविता
म लेख्नेछैन
अधबैँसे गौरीको कथा
जसले छाडेकी थि
आफ्नो प्रिय माधवलाई
प्रीतिको गहिरो सागरमा एक्लै
म लेख्ने छैन
पापीनी मुनाको कथा
जसले पठाएकी थिई
मदनलाई
भोटको जंगलमा एक्लै
म लेख्नेछु
गौरीको बियोगमा भोटाहिटीको गल्लीमा
चिसो कोठामा
आँसुको सर्वत पिएर
बिरही छन्द लेख्ने
घिमिरे माधवको कथा
म लेख्नेछु
भोटको जंगलमा
रोग र शोकले थलिएका
मेरा प्रिय मदनको कथा
म लेख्नेछु
मेरो आफ्नै कविता
मेरा जीवनका उजाड पाखाहरूमा
म लटरम्म कविता फलाउने छु
हो,
यस वर्षदेखि म
कविताको खेती गर्नेछु ।

अजित क्षेत्री

2 thoughts on “कविताको खेती”

Leave a Reply

Your email address will not be published. Required fields are marked *