पोखराथोक पाल्पाबाट बसाइँ बदलेर हाल होराइजन चोक बुटवल रुपन्देही जिल्लामा बस्दै आउनु भएका वरिष्ठ साहित्यकार कृष्णप्रसाद कोइरालालाई नचिन्ने साहित्यकार शायद छैनन् जस्तो लाग्छ । पोखराथोक साहित्य संगम पाल्पा र लुम्बिनी वाङ्मय प्रतिष्ठानू, रुपन्देहीसित उहाँको संस्थागत सम्बन्धन रहेको कुरा पनि जानकारी गराउन चाँहे । खासगरी भन्नुपर्दा लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको जन्म भएपश्चात् अँझै उहाँसँग मेरो सामिप्यता बढिरहेको कुरा सत्य हो ।
प्रेमा वाङ्मय प्रतिष्ठान नवलपरासी, विश्वनारी नेपाली साहित्य सम्मेलन पाल्पा र अन्य साहित्यिक संघ संस्थाहरूमा उहाँसँग मेरो भेट वार्ता हुँदै आएको छ तापनि उहाँले लेखेको कृतिहरू पढ्न पाएको यो पहिलो अवसर हो । जुन बिधा पढ्न रुचि लाग्छ त्यही बिधाको पुस्तक उहाँले मेरो हातमा थमाइदिनु भो, त्यो पुस्तक हो ‘जिन्दगीका मोडहरू’ सामाजिक उपन्यास । यो पुस्तक मैले एक पटक होइन दुई पटक पढे । अति गहन विषयबस्तु प्रस्तुत गरिएको यो पुस्तकमा उपन्यासकारले देखाउन खोजेका कुराहरू उजागर गर्न मन लागेर समीक्षा गर्ने जमर्को गर्दै छु ।
चुट्ट सानो आकार दिएर उपन्यासकार कृष्णप्रसाद कोइरालाले लेख्नुभएको यो सामाजिक उपन्यास वि.स. २)७२मा प्रकाशित भएको हो । हिमाल र पहाडको दृश्यसँगै वृद्ध(वृद्धा, युवा( युवती र वालवालिका गरी जम्मा ( जना मानिसहरू विद्यालय भवन अगाडि चलखेल गरिरहेको चित्र अंकित पुस्तकको अगाडि भाग अत्यन्त आकर्षक पनि देखिन्छ । पछिल्लो पृष्ठमा भने लेखकको फोटो र उपन्यासवारे ५ वटा टिप्पणीहरू मात्र लेखिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान बुटवलबाट प्रकाशितयो उपन्यासलाई नारायण भण्डारीले कम्प्युटर टाइप गरेका हुन् । सेटिङ् डिजाइन गर्ने श्रीपूराण बिटी पुजन हुन् भने प्रतिक अपसेट प्रेस बुटवल – ६ भुवनेश्वरी मार्गबाट मुद्रण गरिएको हो । प्रकाशन प्रति एक हजार रहेको यो कृतिको मूल्य रु १५१ मात्र छ । लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले प्रकाशकीय मन्तव्य लेख्नुभएको छ भने उपन्यासकार स्वयंले आफ्नो लेखकीय भनाई पनि राख्नुभएको छ । यो उपन्यासमा उल्लेख भएका पात्रहरू निम्न प्रकार छन् ।
(क) मदनदास (ख) कमला (ग) पण्डित डोलराज (घ) बल बहादुर (ङ) च्यान्टी (तुलसा) (च) हरिदास (मदन दासका वावु) (छ) अमङ्ग कुमार (मदन दासको साथी) ज) उपेन्द्र (झ) हर्के (ञ) माया या पवित्रा (कमलाकी छोरी) (ट) प्रेम (च्यान्टीको छोरा) (ठ) फिस्टेवाबु (ड) जया(विजय (मैया साहेव) (ढ) पुतली (ण) दान बहादुर (लाहुरे) (त) महेन्द्र (डोलराजको छोरा) (थ) हेम बहादुर (च्यान्टीको छोरा) (द) रमेश (इन्जिनियर) ।
जम्मा ९९ पेजमा आवद्ध यो उपन्यास वि.स. २)२६ सालमा रचना गरिएको भएता पनि कतिपय मानवीय व्यवहार परिवर्तन नभै रहेको अवस्थालाई चित्रण गर्ने माध्यम बनेको पाइयो । मदनदासले बलबहादुर प्रति गरेको जस्तो व्यवहार आज हुन नसक्ला तापनि मदनदास जस्ता यौन पिपासु पुरुषहरू आज पनि भेटिन्छन् । यो उपन्यासकी पात्र च्यान्टी सामाजिक कुसंस्कारको शिकार बन्नु भनेको आज च्यान्टी जस्ता नेपाली छोरीहरू कति ज्यूदै जलाइएको र कति विदेशीहरूको फन्दामा देहव्यापार गरिरहन परेको अवस्था छ । हो आजभन्दा ४३ वर्ष पहिलेको सामाजिक संस्कार र मानवीय व्यवहारमा केही परिवर्तन आएको छ, तर यो उपन्यासमा उल्लेख गरिएका पात्रहरू र यिनीहरले यो उपन्यासमा भूमिका निभाइएका या कर्म कुकर्म जे गरेपनि यस्ता मानवले यो समाज खाली छैन । कुकर्मको शैली फरक मात्र हुन सक्छ जस्तो लाग्छ मलाई । उपेन्द्रले अरुको पाप बोक्न चाहेन, तर हर्केले गर्नसम्म सहयोग गरेको हो तर उस्को सहयोगले पूर्णता पाएन । फिस्टे वावु, जया विजया र पुतली जस्ता पात्रहरूले पनि मानवीय व्यवहारको उदारता देखाएका छन् । कमला असी प्रतिशत नेपाली नारीहरूकी प्रतिनिधी पात्र हुन् । धार्मिक दृष्टिकोण मात्र नभै वात्सल्यता सबै नारीहरूमा हुने चाहना हो । यस अर्थमा कमलाको वात्सल्यतालाई सम्झेर मलाई एक श्लोक कविता लेख्न मन लाग्यो हेरौ कविता यस्तो छ ।
सन्तान चाहको तिर्खा नारी भित्र रहन्छ नि
सन्तान नहुँदासम्म नारीको मन जल्छ नि ।
सन्तान जन्मिएपश्चात् नारीको मन ढुक्क छ
सन्तान नहुँदा नारी बन्छ जीव अनर्थक । (अनुष्टुप्)
कमलाले मायालाई जन्माए पछि मात्र जीवन सार्थक सम्झन्छिन् । मदनदास, कमला र च्यान्टी यो उपन्यासका मुख्य पात्र हुन् । तर पनि दान बहादुर लाहुरे र रमेश ईञ्जिनियर जस्ता मानवताका पूजारीलाई मानवजातिको उपल्लो दर्जामा नराखी सुखै छैन । सामाजिक शोषणबाट गरिब भएकाहरूको प्रतिनिधी पात्र हो बलबहादुर । यस्ता आमा वावुको संख्या आज पनि कम छैन जस्ले छातीमा हानेर आफ्ना छोरा छोरीलाई शहरीया ठूला वडाका घरमा काम गर्न पठाइरहेकै छन् । अहिंसा परमो धर्म भनेर सबैलाई सहयोग गर्ने जया विजया फिस्टेवावु र पुतलीलाई पनि राम्रो स्थान दिनुपर्छ भन्छु म । जन्मको पूर्वार्ध देखि नै उत्तरार्धको अन्त्यसम्म दुःख र तिरस्कार खप्दै जीवन गुजारेकी च्यान्टीले जीवनको अन्त्यमा आएर सुखानुभूति गर्नु ईश्वर छन् भन्ने कुराको पुष्टि पनि हो जस्तो लाग्छ । दानबहादुरले उस्को झड्केलो छोरो प्रेमलाई गरेको व्यवहार पढ्दा सौताने नालले सातपुस्ता पिर्छ भन्ने उखान चरितार्थ भएको लाग्यो ।
प्रेममा भएको सिर्जनात्मक प्रतिभा देखेर टुहुराको दैव सहारा भन्ने उखान मिल्न आएको छ ।काम गर्न चाहने तर जोखिम उठाउन नचाहने मानिसहरूको प्रतिनिधी ठान्छु म उपेन्द्रलाई र हर्केलाई समयले साथ दिएन । पंण्डित डोलराज, महेन्द्र, हेमबहादुर, अनङ्ग कुमार र हरिदास जस्ता पात्रहरूको प्रयोगले उपन्यासलाई मोटो बनाउने कार्य गरेका छन् । यसरी हेर्दा यो उपन्यास आजभन्दा ३४ वर्ष पहिले सूत्रपात गरिएको भएतापनि आजको परिस्थितिमा पनि यसको अध्ययन, मनन र चिन्तन अत्यावश्यक छ भन्ने लाग्छ । यो कृतिमा उल्लेख भएको विषयवस्तु ऐतिहासिक भएको कारण वर्तमान बुझ्न पनि इतिहास जान्नुपर्छ, यो सत्य हो । यो मेरो समीक्षा कृतिमा रतिराग, धोका,बालहित, शोषण, नारीदमन, प्रकृति चित्रण, करुणा, दया, वात्सल्यप्रेम, देशप्रेम र मानवीय व्यवहारको समेत चित्रण उजागर गरिएको कारण यो उपन्यास पठनीय र मननीय छ । समग्रमा हेर्दा एउटी नारीको जीवन भोगाइले नै उपन्यास तय भएकोले यो उपन्यासमा उपन्यासकार कृष्णप्रसाद कोइराला नारीवादलाई पछ्याउन पुगेका छन् भन्ने पनि हो । सरसर्ती हेर्दा कृष्णप्रसाद कोइरालाको उपन्यासकारिता यौनवादी उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको प्रवृत्तिसँग मेल खाएको जस्तो लाग्छ । कता कता विश्वेश्वरप्रसाद कोइरालाको वावुआमा र छोरा शीर्षकको उपन्याससँग मेल खान लागेको औपन्यासिक दुर्घटनालाई बचाएर सुखद संयोगान्तक समापन गर्ने उपन्यासकार कृष्णप्रसाद कोइरालाको चलाखी उपन्यासकारितालाई सलाम गर्छु म । यतिमात्र होइन यो कृतिको संरचना विश्वेश्वरप्रसाद काइरालाकै ‘तीन घुम्ती’ उपन्याससँग नजिक छ । वास्तवमा जीवन मोड नै मोडको संगम हो । त्यसैले जिन्दगीका धेरै मोडमा मोडिएका मुख्य पात्रहरू कमला, च्यान्टी र मदनदाससँग सुहाउँदो छ यो उपन्यासको शीर्षक जिन्दगीका मोडहरू ।
अन्त्यमा मदनदास सेवाश्रमू तानसेन, पाल्पा खोल्ने निर्णयले समाज सुधार गर्ने कार्यमा एउटा अत्यन्त महत्वपूर्ण सुझाव र सल्लाह प्रदान गर्ने यो उपन्यासका आमा पात्रहरू कमला र च्यान्टी पूजनीय र स्वागतयोग्य छन् । प्रेम र माया जस्ता सन्तानहरू आज हाम्रो समाजका आवश्यकता हुन् । देशप्रेम, नारी र बालकहरूको कल्याण गर्नुपर्छ भन्ने शिक्षा बोकेको यो उपन्यास महनीय र पठनीय छ भन्दै उपन्यासकार कृष्णप्रसादजीको दीर्घायु तथा सुस्वास्थ्यको कामनासँगै बिदा हुनु पहिले उपन्यासकार प्रति एक श्लोक कविता –
नारी दमनको खाका कोरी यो जीवन मोडमा
घटाई घटना सारा ल्याई पाठक माझमा
नारी उत्थानको शिक्षा दिनु भो उपन्यासमा
सबै नारीहरू दिन्छौ, हजारौ शुभकामना ।। (अनुष्टुप्)
हस् त धन्यवाद ।
कृष्णादेवी शर्मा श्रेष्ठ
अध्यक्ष नारी साहित्य समाज, नवलपरासी
देवचुली(१५, प्रगतिनगर
