एउटा रुटिन ….

वर्षामासको प्रत्येक बिहान
बा रुङ्ग्नुहुन्थ्यो ढडियामा
-माछा

जसै उर्लेर आउँथ्यो राप्ती, वर्षामा
उसै उर्लिन्थ्यो खुसी हाम्रो घरमा
किनकि ती झरिला बिहानहरूमा
बा थाप्नुहुन्थ्यो ढडिया
खेतका गह्राहरूमा
र जोहो गर्नुहुन्थ्यो एक छाक तरकारी

कहिलेकाहीँ नारायणी असाध्यै रिसाई भने
बा हाँस्नुहुन्थ्यो बेस्सरी गालामा खोपिल्टा पर्ने गरी
र बोक्नुहुन्थ्यो
आमाले टाल्नुभएको नाइलनको जाल
पुग्नुहुन्थ्यो कररा खोलाको किनारमा
लाउनुहुन्थ्यो एकदिने भाग्य
-दाउमा

परिहाल्यो माछा भने
हाँस्नुहुन्थ्यो भाइलाई सम्झेर
जो स्कुल जानु अगाडि
खान चाहन्थ्यो माछा र भात

परेन भने पनि हाँस्नुहुन्थ्यो
सम्झेर अफ्नो
-भाग्य

हाँस्न कसैले सिकोस बाबाट

बा भन्नुहुन्थ्यो
बाबै, जंगली च्याउ नखाओ
देखेनौ राममायाका सन्तान सब्बै मासिएका?

म हुञ्जेल
ढुक्क हुनु
म थापिरहनेछु ढडिया
पारिरहनेछु माछा
आधा नै सही
भरिरहनेछु तिमीहरूको पेट
म हुञ्जेल सुर्ता नलिनु

वास्तवमै
मेरा बा
झरिला बिहानहरूमा
थाप्नुहुन्थ्यो ढडिया
खेतका गह्राहरूमा
र जोहो गर्नुहुन्थ्यो
एक छाक तरकारी

बिचरा,
मेरा बा आफैं चै
पत्तै नपाई
जिन्दगीको ढडियामा सुलुत्तै परेर
आजीवन
पाकिरहनुभो
पीरको भुङ्ग्रामा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *