दुर्गम गाउँको एउटा किसानको घरमा एउटा घोडा र एउटा खसी पालिएको थियो । खसी र घोडा दुवै एउटै गोठमा बाँधिन्थे । रातिमा निद्रा नलागेका बखत दुवै एक अर्कामा दुखसुख साँटासाँट गर्थे । खशी र घोडा दुवै किसान र उनका परिवारका लागि महत्वपूर्ण थिए । खशी धेरै ठूलो बनाएर बेच्ने र घोडाबाट सामान गाउँदेखि शहर र शहरदेखि गाउँ बोक्न र बेच्नका लागि लगिने गरिन्थ्यो । किसानको प्रमुख पेशा नै घोडाबाट सामान ओसारेर किनबेच गर्नु थियो ।

एकदिन विहानै तबेलामा गएर हेर्दा घोडा विरामी भएर मर्न लागेको देखेर किसान पीरमा परे । नजिकै आफ्नो मित्रको पीडा देखेर खसीले आँसु झारिरहेको थियो । किसानले पल्लो गाउँमा गएर पशुको डाक्टर बोलाई देखाए । डाक्टरले आएर एउटा सुईं घोडालाई लगाइदिए । घोडा बेहोश थियो । उनले भने किसान दाजु मैले एउटा सुई लाइदिएको छु बिस्तारै ठिक हुन्छ । यदि तीन दिनसम्म ठिक भएन भने यो घोडालाई कसाई लगाएर काट्नु र मासु शहर लगेर बेच्नु । म तीन दिन पछि आउँछु ठिक भएमा भोज ख्वाउनु र ठिक नभएमा त्यसैदिन कसाई बोलाएर घोडालाई काट्नु । घोडा बेहोश भएपनि खशी होसमै रहेकाले यो सब कुरा सुनेर ऊ असाध्यै दुखी भयो ।

बिस्तारै घोडाको होश खुल्यो तर गम्भीर विरामी परेकाले दोष्रोदिनको बेलुकीसम्म पनि घोडा उठ्न सकेन । खाना केही नखाएकाले ऊ भोको तथा रोगले गलित थियो र मुन्टो पसारेर पल्टिएको अवस्थामा थियो । यस्तो मित्रको हाल देखेर खशी बेचैन रह्यो । ऊ बिस्तारै घोडाको कान नजिक गएर भन्न थाल्यो । घोडादाजु भोलि बिहानसम्म तिमी उठ्न नसकेमा कसाई लगाएर काट्ने भनेका छन् । तुरुन्त उठ्नु । तर घोडामा उठ्ने हिम्मत थिएन ऊ लत्र्याकलुत्रुक परेको थियो । रात छिपिंदै थियो फेरि खशी गएर कानमा करायो प्रियमित्र म तिमी मरेको देख्न सक्दिन खुरुक्क उठ्नुस् जे जसरी हुन्छ उठेर वस्नुस अन्यथा केही घण्टापछि तपाईं काटिनु हुनेछ । ऊ लगातार घोडाको कानमा चिच्याइरह्यो ।

शुभचिन्तक मित्रको अत्यन्त कर र मृत्युको पीडा सम्झेर घोडाले अदम्य साहस वटुल्यो र बिस्तारै उठ्यो र थर् थर् काँप्तै उभिरह्यो यतिन्जेलसम्म पशुको डाक्टर आइसकेको थियो । खशी अत्यन्त खुशी थियो । किसान र डाक्टर भएर तबेलामा हेरे घोडा उठेर घाँस खाइरहेको थियो । किसानले देख्यो र ऊ ‍औधी खुशी बन्यो । आखीर पेशा व्यवशायको कुरा थियो । किसानले भन्यो डाक्टरसाहेब भन्नुस् म तपाँईलाई के टक्रयाऊँ ।

नजिकै बाँधिएको घोर्ले खशी देखेर डाक्टरको मन लोभियो । मलाई अरु केही चाहिएन । तपाईंको घरको यो खशी काटेर भोज गर्नुस् म तपाईंकै घरमा बसेर यसको मासुसहितको भोजन तपाईंहरूसँगै गर्न चाहन्छु ।

किसानले नभन्दै दाम्लो फुकायो र दाउरा चिर्ने खुकुरीले खशीलाई छप्कायो किनकि खशीको मूल्यभन्दा धेरै मूल्यको उसको घोडा बाँचेको थियो र सोही खुशीयालीमा खशी शहिद बन्यो ।

xxxxxxxxxxxxxxxxxxxx

शिक्षाः सोझो मित्रले संधै दुख पाउँछ । अर्काको भलाइका लागि आफूलाई नसिध्याऊ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *