Skip to content


नदीझैँ लामो जीवनमा
बग्दाबग्दै एकाकार भएर
लक्ष्य चुम्ने उद्देश्यले हिँडेको
यात्री अनवरत यात्रारत छ,
असमेल सामग्रीहरू छन् ऊसँग
अनगिन्ती इच्छाहरू पनि छन् ऊसँग
ऊ कर्तव्यको गाण्डिवधारी अर्जुन हो
ऊ लक्ष्यको पथअनुरागी एकलव्य पनि हो
निरन्तरनिरन्तर अगाडि बढ्नु
उसको लक्ष्य हो
महान् लक्ष्य,
जीवनमा उसले हरेश खान जानेको छैन
जीवनमा उसले समस्याहरूसँग डराउन जानेको छैन
आँधीहुरी आए ऊ पहाड बनी छेकिदिन्छ
सुनामी बौलाए छाती दह्रो पार्छ
अनन्य मित्रहरूसँग ऊ रुवाझैँ कमलो व्यवहार गर्छ
निष्कलङ्क फूलहरूझैँ हाँसी दिन्छ
विना स्वार्थका व्यवहारहरूमाझ
उसले फूलहरूको कालीन र
सङ्घर्षहरूको कहिरन भलिभाँती पढेको छ
र पढेको छ विविध मानवहरूको
बौद्धिक पाइन
उसले गरिब, असक्षम र निरिहलाई प्रेम गरेको छ
ऊ नदी, सूर्य, रूख, पवन र पसिनाबाट पनि सन्देश लिएको छ
सबैभन्दा बढी उसले मौनतालाई साथ दिएको छ
अविराम गतिमा
आबाद्ध प्रगतिमा
उसले जीवनलाई बुझ्न
हरेक मानिसलाई पुस्तक बनाएर पढेको छ
अनि ऊ जीवनमा अघि बढेको छ
भन्नेहरूले जे पनि भन्न सक्छन्
ऊ स्वार्थी हो, ऊ घमण्डी हो
निनानसेकमा उसलाई आफूजस्तै अरु देख्न मन पर्छ
त्यसैले ऊ नूतनोत्सव पर्व मनाउँछ
जीवनमा सधैंसधैं ।

नवीन मनोहर
पूर्व विद्यार्थी, एम्एड्, शिक्षा संकाय,
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *