मायासरी सुन्दर कुन् छ अर्को ।
देखिन्न माया सरि वस्तु चर्को ।।
छाडेर माया अरु थोक कस्तो ।
भेटिन्छ खाली सब पत्रु जस्तो ।।
माया विनाको भन सार के हो ।
निस्सार बन्ला यहि धर्ती जे हो ।।
माया पगाल्ने छ र अग्नि ज्वालो ।
ठानिन्छ आफ्नै हुन गो उज्यालो ।।
माया घटी वा बढि हुन्छ कैले ।
हेपिन्छ मान्छे अनि पो कसैले ।।
माया यहाँ हुन्छ कि यो समान ।
गर्दै तपस्या जुन दिन्छ ज्यान ।।
माया हुँदैमा बसि पुग्छ खान ।
माता जनायौ गरि दुग्ध पान ।।
माया छिनेमा हुन जान्छ पीडा ।
माया भएमा धुन दिन्छ वीणा ।।
माया त वाँच्ने हुन जान्छ सार ।
माया यही जीवनको वहार ।।
सक्छौं त माया मनमा उमार ।
यो सृष्टिकै मान्नु छ एक धार ।।
छन्दः इन्द्रवज्रा ११ अक्षर ५ अक्षरमा विश्राम ।
