कुनै पनि साहित्य आनन्दानुभूतिको साधन हो । साहित्यमा रसको आस्वादनको कारणले साहित्यानन्दको प्राप्ति हुन्छ । त्यसैले साहित्यमा रस आस्वादनको मुख्य उद्देश्य आनन्दानुभूति प्राप्त गर्नु हो । आचार्य मम्मटले सम्पूर्ण लौकिक प्रयोजनलाई त्यागेर तत्कालै साहित्य रसास्वादनको अनुभूति प्राप्त भई बाह्य विषयमा छरिएको चित्तलाई बिस्तारै अन्तर्निहित गर्नुलाई आनन्द भनिन्छ भनेर साहित्यानन्दको परिभाषा दिएका छन् ।
विश्वनाथले रसानन्दलाई स्वयं प्रकाश आनन्दमय संवेदनरूप, कुनै ज्ञेय वस्तुको स्पर्श हुन नसक्ने, केवल आत्मासाक्षात्कार हुने, अलौकिक चमत्कारको अनुभव हुने, जस्ता प्रकारले आत्मारूपको साक्षात्कार हुन्छ वा ब्रह्मानन्दको अनुभव हुन्छ त्यस्तै प्रकारले ज्ञान र ज्ञेयमा अभेदको स्थितिको उनुभव रसबाट हुन्छ भनेको पाइन्छ । रसको आस्वादन र अनुभूतिविषयमा प्रकाशित पार्दै सम्पूर्ण आन्तरिक हृदयलाई सन्तुष्ट पार्ने र अलौकिक चमत्कारको अनुभव गराउने रस हो भन्ने भनाई मम्मटको रहेको पाइन्छ ।
उपनिषदहरूको पनि रसबाटनै आनन्दको प्राप्ति हुन्छ भन्ने भनाई पाइन्छ । वास्तवमा लौकिक रसको भोजनलाई स्वादिष्ट बनाउनको निम्ति जस्तो भूमिका रहन्छ काव्यलाई अनुभूतिगम्य बनाउन काव्यरसको पनि त्यस्तै भूमिका रहन्छ । रसबादको स्थापना गर्ने पूर्वीय काव्यशास्त्रीहरूमा सर्वप्रथम आचार्य भरतको नाम आउँदछ । उनले रस कस्तो पदार्थ हो भन्ने कुरा रस आस्वाद्यमान हुनाले जनिन्छ । जसरी स्वादिष्ट व्यञ्जनहरूले युक्त भोजन खानाले अतिथि हर्षित एवं सन्तुष्ट हुन्छन् त्यसरी नै अनेक भावहरूले अभिव्यञ्जित भएका कायिक, वाचिक, आहार्य एवं सात्विक अभिनयहरूले युक्त भएका स्थायीभावहरूको आस्वादन गर्नाले प्रेक्षकहरू हर्षित एवं सन्तुष्ट हुन्छन् भन्ने कुराको उल्लेख गरेका छन् । रसको स्थितिविना कुनै काव्यार्थहरू प्रवर्तित हुदैनन् । विभाव, अनुभाव र व्यभिचारी (सञ्चारी) भावको संयोगले रसको निष्पत्ति हुन्छ । विभाव काव्य वा साहित्यमा रसनिष्पत्तिको निम्ति कारणका रूपमा, अनुभाव कार्यहरूका रूपमा र व्यभिचारी वा सञ्चारीभाव सहकारी या सहयोगीका रूपमा अवस्थित हुन्छन् । त्यसैले व्यवहारिक जीवनमा रति, हास, क्रोध आदि मानवीय भावका यस्ता रूपहरूहुन् जुन अन्य चित्तवृत्तिहरूको अपेक्षामा स्थायी वा नित्य अथवा अविच्छिन्नरूपले अवस्थित रहेका हुन्छन् । यिनीहरूलाई विभिन्न कारण जस्तै युवतीको रूप, शत्रुको दर्शन चन्द्रोदयको रूप आदि जस्ता पहिला उत्पन्न हुने परिपोषक कारणहरू, कारणको प्रभावद्वारा उत्पन्न हुने कायिक वाचिक मानसिक कार्यहरू र चिन्ता, ग्लालि, संका आदि सहायक भाव भनिन्छ ।
लौकिक जीवनका कारण, कार्य र सहायक भावलाई काव्य र नाटकमा विभाव, अनुभाव र व्यभिचारीभाव (सञ्चारी) भनिन्छ । युवतीकोरूप, शत्रुको दर्शन, चन्द्रोदय आदि सामाजिकका हृदयमा वासनारूपले अवस्थित रति, हास, शोक आदि स्थायीभावहरूलाई उत्पन्न गराउन वा परिपोषण गराउन सामर्थ्य हुँदैनन् । यिनीहरू स्थायीभावहरूको विभावन-आश्वादन गर्नको निम्ति सामर्थ्य हुँदछन् । अनुभावमा सहृदयको हृदयमा अवस्थित रति, हास आदि स्यिभावहरूको अनुभावन वा अनुभवविषयीकरणको शक्ति हुन्छ । व्यभिचारीभावमा (सञ्चारी) काव्य अथवा नाटकमा निर्वेद, ग्लानि, चिन्ता आदि मनोदशाहरू सहृदयको हृदयमा वासनारूपलेस्थित स्थायीभावहरूलाई विशेष र व्यापकरूपले सञ्चरण वा वारम्बार अभिव्यञ्जन गराउन उपयोगी हुन्छन् । यी नै विभाव, अनुभाव र व्यभिचारीभावद्वारा अभिव्यक्त सामाजिकका हृदयमा वासनाकारूपमा व्याप्त रति, हास, शोक, क्रोध, उत्साह, भय, जुगुप्सा, विस्मय र निर्वेद स्थायीभावहरू शृङ्गार, हास्य, करुण, रौद्र वीर भयानक, बीभत्स, अद्भुत र शान्त रस आनन्दको रूप लिएर उद्बुद्ध हुन्छन् । मम्मटको यो विचारलाई सूक्ष्म दृष्टिले हेर्दा सर्वसाधारणका हृदयमा वासनारूपलेस्थित स्थायीभावहरू विभाव, अनुभाव र व्यभिचारीभावद्वारा साहित्य अध्ययन, श्रवण र अभिनयात्मक साहित्य दर्शनगर्दा आनन्दस्वरूपमा उद्बुद्ध हुनेलाई रस भनिन्छ । रस अनुभूतिगम्य हुन्छ त्यसैले यसको प्रभाव क्षणिक नभएर दीर्धकालीन हुन्छ । रसको अभिव्यञ्जन हुनाले यो व्यंग्य हुन्छ । रसले व्यञ्जनाद्वारा सहृदयलाई प्रभावित बनाउँछ त्यसैले सहृदयले रस आस्वादन गर्दछ । भरतले विभाव, अनुभाव र व्यभिचारीभावको संयोगले रसको निष्पत्ति हुन्छ भनेका छन् । यहाँ संयोगशब्दले व्यङ्ग्य व्यंजक सम्बन्धलाई बुझाउँछ । त्यसैले स्थायीभावहरू व्यङ्ग्य र विभावहरू व्यञ्जक हुँदछन् ।
रसहरू काव्य वा नाटकमा शृङ्गार हास्य, करुण, रौद्र, वीर, भयानक, विभत्स, उद्भुत र शान्त नौ प्रकारका हुन्छन् । प्रत्येक रसका आ-आप्नै रति, हास, शोक, क्रोध, उत्साह, भय, जुगुप्सा, विस्मय र निर्वेद क्रमैले स्थायीभव पनि नौ प्रकारकै हुन्छन् । प्रत्येक रसको काव्य वा नाटक आश्वादनका निम्ति आ-आफ्नै भूमिका रहेकोहुन्छ । यी रसहरूले कँही अङ्गाङ्गी भावमा मिलेर र कँही एक्लै सृजित साहित्यलाई आस्वदनयोग्य बनाएका हुन्छन् । त्यसैले रसवादी आचार्यहरू रसलाई साहित्यको जीवनदायक तत्त्व मान्दछन्। रसलाई साहित्यको अनिवार्य तत्त्व मानेपनि र नमानेपनि साहित्यमा रसको अवस्थिति कुनै न कुनै रूपमा अवश्य रहेको पाइन्छ । निबन्धकार लक्ष्मीप्रसाद देवकोटाका निबन्धहरूको प्रमुख प्रवृत्ति हास्य नभएपनि कतै निबन्धहरूमा हास्यात्मक एवं व्यह्ग्यात्मक भावको स्थिति पनि पाइन्छ । त्यसैले यहाँ केही प्रतिनिधि निबन्धहरूको माध्यमले निबन्धकारका निबन्धहरूको हास्यात्मक प्रवृत्ति केलाउने प्रयत्न गरिन्छ ।
हस् धातुमा घञ् प्रत्यय लगाएर हास शब्द बनाइन्छ । यसका शाब्दिक अर्थ हंसी, मुस्पुराहट, हास्य ध्वनि आदि हुँदछन् । शरीर खुल्नु, विकसित हुनु आदि यसका विशेषता हुन् । साहित्यमा हास्यरसको स्थायीभाव हास हो । विश्वनाथले यसका स्मित, हसित, विहसित, अबहसित, अपहसित र अतिहसित छ भेदको उल्लेख गरेका छन् । वाक् (वाणी) शरीरको विकृति आदिका कारणले चित्तको विकास हुनुलाई हास भनिन्छ । हास स्थायीभावको अभिव्यञ्जनले हास्यरसको उत्पन्न हुन्छ । यसको अभिर्भाव आकार विकृतिको कारणले, वाग्विकृतिको कारणले, वेषविकृतिको कारणले, चेष्टा विकृतिको कारणले एवं अन्य कुनै विकृतिको कारणले र अभिनय, अनुकरण आदिको कारणले पनि हुन सक्तछ । विश्वनाथले यसको वर्ण सेतो हुन्छ र यसका अधिष्ठातृदेव प्रमथगण हुन् भनेका छन् । यसको आलम्बन आकार, वाणी र चेष्टा विकृत भएको व्यक्ति वा वस्तुमा हुन्छ यस्तो प्रकारको व्यक्ति वा वस्तुलाई देखेर अन्य व्यक्तिहरू हाँस्दछन् । हास्यस्पद व्यक्ति वा वस्तुको चेष्टाहरूले उद्दिपनको काम गर्दछन् । यिनीहरू यसका कारणका वर्गमा पर्दछन् । अनुभावका वर्गमा आँखा चिम्लिनु, मुख विकसित पार्नु आदिपर्दछन् । व्यभिचारीभावका (सञ्चारीभाव) वर्गमा निद्रा, आलस्य, अवहित्था आदि पर्दछन् । निबन्धकार देवकोटाका विभिन्न निबन्धहरूमा हास्यात्मक अभिव्यक्ति पाइन्छ । निबन्धभित्रका हास्यात्मक अभिव्यक्तिले कतै प्रसङ्गलाई रोचक बनाएका छन्, कतै निबन्धकारको आत्मास्तितिलाई प्रष्ट पारेका छन् र कतै गहिरो व्यङ्ग्य र रहस्यको उद्घाटन गरेका छन् । यिनीहरूलाई उदाहरणहरूद्वारा स्पष्ट पार्ने प्रयत्न गरिन्छ । जस्तैः-
छि के होला यस्तो मुरली जस्तो या तोरीयाधोक्रोजस्तो । त्यो पनि प्वाल परेको दुई ठआउँमा, सिंगान आउने, झुस्मुसे, डाँडिंदार, लम्बे हाँसोउठ्तो चुच्चेपना र बराबर छिक्का उठ्नेजकुतकुती लागेर । (हास्यरस)
यहाँ निबन्धकारले मानिसको नाकको स्वरूपको परिचय प्रदान गर्नको निम्ति हास्यरसको प्रयोग गरेका छन् । यसले विषयको प्रस्तुतिलाई रोचक बनाएको छ र आफ्नु स्वरूपको सुन्दरतामा घमणड गर्ने व्यक्ति प्रति व्यग्य प्रहार गरेको पनि पाइन्छ । यस उदाहरणमा नाक विभाव हो, तोरीयाधोक्रो जस्तो हुनु, दुइठाउँमा प्वाल हुनु, झुस्मुसे हुनु, डाँडिंदार हुनु, लामो हुनु, चुच्चो हुनु अनुभाव हुन् र सिंगान आउनु, छिक्का उठ्नु र कुतकुती लाग्नु व्यभिचारी (सञ्चारी) भाव हुन् । यहाँ वस्तुको स्वभाविक वर्णन गर्न, प्रसङ्गलाई रोचक बनाउन र आफ्नो स्वरूपको धमण्ड गर्ने व्यक्तिलाई व्यङ्ग्य प्रहार गर्न हास्य रसको प्रयोग गरिएको छ । यस्तै अर्को उदाहरण-
चचहरी चचहरी मानौं दुई लम्बे झुण्डन सधैं पीङैं खेलिरहेछन् । बीचमा भाँचिने पाँच औंलाको बेम्ल्ती पुछारहरू तर्लङ्ग परिरहेछन् । अनि पयर!मानौ हरहमेशा दुइटा खुट्टाले भकुँडो खेलेझैँ छ यो उचाल्यो, त्यो थचार्यो, यल्ले हान्यो, त्यल्ले हान्यो मानौं सधैको ढिक्किच्याउँ छ अनि यस्तै विचार गर्दै हिंडुवा जन्तु आफ्नै उपसासिताले हाँसेर हिंड्छ । (हास्यरस)
यस उदाहरणका मानिसका हात र खुट्टा विभाव हुन् । लम्बे झुण्डन पिङखेलिरहनु, औलाका पुच्छ्छार तर्लङ्ग परिरहनु, खुट्टाले निरन्तर भकुँडो खेलेझैँ गर्नु, उचाल्नु, थचार्नु, हान्नु आदि अनुभाव हुन् । विचार गर्दै आफ्नै उपहासिताले हाँसेर हिड्नु व्यभिचारी (सञ्चारी) भाव हो भन्न सकिन्छ । यहाँ मानिसका शारीरिक अङ्ग हात र खुट्टाको स्वभाविक वर्णन गरिएको पाइन्छ र यस प्रसङ्गले निबन्धको वर्ण्य विषयलाई रोचकता प्रदान गरेको छ र व्यर्थको मानवीय जीवनको उपहास गरेको छ । त्यसैले यहाँ हास्य रसको स्थिति पाइन्छ ।
हास्यव्यङ्ग्यका रूपमा प्रयोग गरिएको हास्यरसलाई निम्न उदाहरणले स्पष्ट पार्न सकिन्छः-
कविराज च-प्रसादको मुख्य चिह्न झुस्मुसे दाह्री थियो- त्यस बेला जब एक शंक्यहा बडाआदमीका छ महिनाको कपालदुखाइ उनले गोडाका बूढीऔंलाको नङमा कापालिनी बूटी लगाएर बिलकुलै निर्मूल गराउँदा चङ्गा भएका उनले हरियो दोसल्ला ओढाएथे । (कविराजको च्याङ्ग्रे खच्चर)
यस उदाहरणमा कविराज च-प्रसाद विभाव हो, झुस्मुसे दाह्री हुनु, कपालदुखाई गर्नु, चङ्गा हुनु आदि अनुभाव हुन् र बडाआदमीको शंका, निर्मूल गराउँनु आदि व्यभिचारीभाव (सञ्चारी) हुन् । यस आधारले हेर्दा यस उदाहरणमा हास्य रसको स्थितिरहेको पाइन्छ । यस उदाहरणमा ठूलाबडाको आश्रय लिएर नाम अनि दाम कमाउन चाहने साहित्यकार र ठूलाबढाले साहित्यकार एवं निम्न आर्थिक व्रर्गका व्यक्तिहरूमा गर्ने शंका प्रति व्यङ्ग्य गरेको पाइन्छ । यहाँ उक्त्त व्यङ्ग्यार्थ अभिव्यक्त गर्नको निम्ति हास्यरसको प्रयोग गरिएको छ । त्यसैले निबन्धकारले यहाँ व्यङ्ग्यार्थका निम्ति हास्य रसको प्रयोग गरेको पाइन्छ । वास्तवमा निबन्धकार देवकोटाको कविराजको च्याङ्ग्रे खच्चर पूर्ण हास्यव्यङ्ग्यात्मक निबन्ध हो । यस निबन्धका माध्यमले देवकोटाले देवकोटाकालीन ठूलाबढाहरूसँग चाप्लुसी घसेर साहित्यिक नाम र दाम दुवै कमाउन चाहने साहित्यिक दक्षता नभएका साहित्यकार, तत्कालीन ठूला ओहोदाका व्यक्तिहरू जसले सर्वसाधारण र साहित्यकारहरूमाथि शंका गर्दथे एवं तत्कालीन शासक जो अत्यन्तै अनुदारवादी थिए यिनीहरूप्रति उपहास्यद्वारा व्यङ्ग्य प्रहार गरेका हुन् । त्यसैले यस निबन्धमा निबन्धकार देवकोटाको हास्यव्यङ्ग्यात्मक प्रवृत्ति देख्न पाइन्छ । यस्तै अर्को उदाहरण-
हाम्रा महाशयका रायमा हिन्दी बङ्गाली च्याखुरे सुइखुट्टे झ्रोकुवा नून कुखुरे, सबारले पुच्छर झरेको यादै नपाउने रिकपाले भूइँ छुने गरेर ‘क्या होता है’ लवजले सवार ! ‘तपाईंको घर कहाँ छ हँ दाइ ?” नभनेर अनूनासिक स्वरले कपालको लिखा कन्याउँदै मरिन्च्याँसे चेहराको लवज बोलेको मलाई कत्ति मन पर्दैन । (मातृभाषाको लागि)
यस उदाहरणको महाशय विभाव, च्याखुरे, सुइखुट्टे, कुखुरे, पुच्छर झरेको आदि अनुभाव र झ्रोकुवा, मरिन्च्याँसे आदि व्यभिचारीभाव (सञ्चारी) हुन् । यसर्थ यसमा हास्य रसको स्थिति पाइन्छ । यहाँ नेपाली भाषालाई ह्येय सम्झेर नेपाली भाषीले नेपाली बोल्दा आफ्नो प्रतिष्ठा घट्दछ भन्ने सोच भएका र अरू भाषा प्रष्ट नजाने पनि आफ्नो ओजस्विता देखाउन जानि-नजानि हिन्दी, बङ्गाली बोल्न रुचाउने माथिल्लो ओहोदाका व्यक्तिहरूलाई व्यङ्ग्य गरिएको पाइन्छ । त्यसैले यहाँ पनि निबन्धकारले हास्य रसका माध्यमले व्यङ्ग्य प्रहार गरेका छन् । यसले समाजका आफ्नो भाषा-संस्कृतिलाई हेयेका दृष्टिले हेर्ने, विद्वत्ता विहीन आफ्नो भाषालाई तिरस्कार गरेर अन्य भाषा बोल्दा अरूले विद्वान विव्वान सम्झन्छन् भन्ने घमण्ड भएका एक वर्गका माथिल्लो ओहोदाका व्यक्तिहरूको वास्तविक स्थितिको चित्रण गरेको छ ।
निबन्धकार देवकोटा मानिसको कट्टरवादी सोचलाई अन्धानुकरण मान्दछन् । मानिसको धार्मिक कट्टरवादी पनाले व्यक्ति, समाज र देशको विकास हुन दिँदैन । यस्ता धार्मिक कट्टर व्यक्तिहरूलाई उनले निबन्धका माध्यमले तिरस्कार गरेको पाइन्छ । तिरस्कारको अभिव्यक्ति हास्य रसका माध्यमले यसरी गरेका छन्-
कट्टरताको आँखा पछाडि फर्केको हुन्छ । ऊ पछाडितिर हिँड्दछ, अगाडि बढ्न जान्दैन । बाँदर पकड जस्तै कट्टरता ज्यादै कब्जा राख्न खोज्छ तर त्यति मात्रामा आफ्नो सर्वस्व गुमाउँदा कोही भन्दछन् अल्ला नाम उच्चारण गरेपछि त्यसले एक बाजि नजर नसुँघी नदेखी सुख पाउँदैन । (कट्टरता)
मानिसको कट्टरवादी सोचको विरुद्धमा लेखिएको यस निबन्धमा हास्यव्यङ्ग्यात्मक प्रभाव पाइन्छ । मानिसले यदि आफ्नो लगायत समाज एवं राष्ट्रको हित चाहन्छ भने कट्टरवादी सोच त्याग्न आवश्यक हुन्छ । कट्टर अन्ध धर्मानुयायीहरू रहस्यविहीन धर्ममा लिप्त देखिन्छन् । यस्ता व्यक्तिहरू केवल देखावटका निम्ति कट्टरतालाई बहन गरिरएका हुन्छन् । कत्ति म कट्टर हुँ भन्ने मानिसहरू भ्रममा पनि बाँचिरहेका हुन्छन् । यस्ता मानिस बरु प्राण त्याग्छन् तर कट्टरतालाई त्याग्न चाँहदैनन् । यस्तो प्रवृत्ति आफ्नो व्यक्तिगत प्रगतिको निम्ति हानिकारक हुनका साथै समाज एवं राष्ट्रका निम्ति पनि हानिकारक हुन्छ भन्ने आसय यस निबनिधमा व्यक्त भएको पाइन्छ । यस उदाहरणको कट्टर व्यक्ति विभाव, पछाडि आँखा फर्केको हुनु, पछाडितिर हिड्नु, बाँदर पकड जस्तो हुनु, नजर सुँघनु आदि अनुभाव हुन् र अगाडि बढ्न नजान्नु, सर्वस्व गुमाउनु आदि व्यभिजारीभाव (सञ्चारी) हुन् । त्यसैले यहाँ व्यङ्ग्यार्थ प्रतिपादनका निम्ति हास्य रसको प्रयोग गरिएको पाइन्छ ।
निबन्धकारले आप्ना माध्यमले किशोर आवस्थाको चञ्चल स्वभावलाई व्यक्त गर्नका निम्ति पनि हास्य रसको प्रयोग गरेको पाइन्छ । त्यसर्थ मानिसको अवस्था र स्वभाव पनि हास्यातमक हुन सक्छ । यस्तो व्यवहार अन्य व्यक्तिका निम्ति अनुचित पनि हुन सक्छ । जस्तैः-
मैले लुफ्त साथ लामो सर्को तानेर प्रचुर धूवाँ त्यस बूडोको कट्टर मुखतिर फुकिदिएछु । लसुन नखाने बाहुनलाई ज्यापूको शासको रमरम गन्धले घ्राणेन्द्रियमा सिङान नालीको सुकुमारतालाई विषाक्त वाष्पले तीब्र आक्रमण गरे झैं त्योकट्टर बूढो, एकटम अरिङ्गाल झैं धूवाँअगाडि खुम्चिएर गुनगुनायो । (धूम्रपानको निम्ति क्षमा-प्रार्थना)
यस उदाहरणको कट्टर बूडो विभाव, मुखतिर फुकिदिनु, अरिङ्गाल झैं धूवाँअगाडि खुम्चिनु अनुभाव र सिङान नलिको सुकुमारतालाई विषाक्त वाष्पले तीब्र आक्रमण गरेझैँ हुनु, गुनगुनाउनु आदि व्यभिजारीभाव (सञ्चारी) हुन् । यसरी हेर्दा यो उदाहरणमा हास्य रसको प्रयोग गरिएको छ । कुनै ठाउमा निबन्धकार देवकोटाले निबन्धको प्रसङ्गलाई रोचक बनाउनका निम्ति पनि हास्य रसको प्रयोग गरेको पाइन्छ । जस्तैः-
ए अज घडी किन उचाल्या टेविलबाट हँ ? ; ‘बाटुलमुखे चरो भन्ठानेर उचालेर उही ठाउँमा राख्न हजूर !’ ‘के खा थिस् ?’ ‘भाङ ?’ होइन हडूर तमाखु लागेछ चरा चिसो हुन्छ त मोरा टिकटिक पनि त गर्छ हजुर ।(धूम्रपानको निम्ति क्षमा-प्रार्थना)
यहाँ निबन्धलाई रोचक बनाउनका निम्ति अकबर र बिरबलको प्रसङ्ग ल्याएको पाइन्छ । यहाँ अज विभाव हो, अजले बाटुलमुखे चरो भन्ने ठानेर घडी त्यही ठाउँमा राख्नका निम्ति उचाल्नु, प्रश्न कर्तालाई अजले भाङ खाएको जस्तो लाग्नु आदि अनुभाव र अजलाई तमाखु लाग्नु, चरा चिसो भएको अनुभव हुनु र टिकटिक गर्नु व्भिचारीभाव (सञ्चारी) हुन् । यस प्रसङ्गले निबन्धमा कुनै विशिष्ट आसय व्यक्त गरेको छैन । यसबाट रहस्यमय व्याङ्ग्यार्थ पनि प्राप्त हुँदैन । निबन्धको प्रस्तुतिकरणलाई यसले रोचक एवं आकर्षक बनाएको छ । यस हास्यमा निबन्धका अध्येतामा निबन्धप्रतिको मोह जगाउने क्षमता छ । त्यसर्थ यहाँ हास्य रसको प्रयोग निबन्धलाई रोचकता प्रदान ग्रनका निम्ति प्रयोग गरिएको पाइन्छ ।
निस्कर्षः- नेपाली निबन्ध साहित्य क्षेत्रलाई हरियो बनाउने श्रेय निबन्धकार लक्ष्मीप्रसाद देवकोटालाई जाँदछ । आधुनिक आत्मापरक नेपाली निबन्धका जन्मदाता देवकोटा हुन्भन्दा कसैमा दुई मत नहुन सक्छ । देवकोटाभन्दा पहिला नै आधुनिक परिपाटीका निबन्ध लेखनको श्रीगणेश भइसकेको थियो तर तिनीहरूमा पूर्ण आधुनिकताको अभिभारालाई बोक्न सक्ने क्षमता थिएन । त्यसैले देवकोटाबाट आधुनिक नेपाली निबन्ध लेखानको परिपाटी विकसित भएको मानिन्छ । उनका निबन्धहरू भाषा प्रेम, राष्ट्रिय प्रेम, जातीय प्रेम, संस्कृति प्रेम, साहित्य एवं कला प्रेम आदि विभिन्न प्रभावलाई उत्पन्नगर्न सक्षम देखिन्छन् । निबन्धको उदेश्य एवं प्रभावलाई निश्चित गति प्रदान गर्ने उनको प्रमुख साधनका रूपमा आत्माभिव्यक्ति उपस्थित भएको पाइन्छ । आत्माभिव्यक्तिको पद्धति कतै व्याङ्यात्मक, कतै हास्यात्मक, कतै वैचारिक, कतै बौद्धिक, कतै कारुणिक, कतै प्रफुल्लित आदि विभिन्न देखिन्छन् । विशेषरुपले हास्यको निबन्धलाई व्यङ्ग्यात्मक ढङ्गमा प्रस्तुत गर्न, विषय वस्तुलाई रोचकता प्रदान गर्न, स्भाविक स्थिको वर्णन गर्न, कला, साहित्य, भाषा, संस्कृति, राष्ट्रिय, जातीय एवं मानवीय प्रेमलाई प्रदर्शन गर्नका निम्ति प्रयोग गरिएको पाइन्छ । त्यसैले निबन्धकार लक्ष्मीप्रसाद देवकोटाका निबन्धहरूको एउटा प्रवृत्ति हास्य रसको प्रयोगलाई पनि मान्न सकिन्छ ।।
हेमन्तकुमार नेपाल
सहायक प्राध्यापक
सिक्किम सरकारी महाविद्यालय, बुर्तुक
