Skip to content
NabarajYonjan


त्यो एक पल थियो ,
५१ करोड वर्गकिलो मीटर ओगट्ने
दिन र रातलाई
एकनास मापन गर्दै दौडिरहेको
विश्वको कयौ घन्टाघरको सुईहरूलाई
संसारको अग्लो
आफ्नै देशको सगरमाथा चढेर
चिच्याउँदै कराउन मन लागेको थियो ।

ए पर्खन पर्ख समय
म यहाँ स्वार्थपूर्ति अलमलमा छु ।
अँह, सुन्दैन त्यो
आफ्नो जिम्मेवारीमा निरन्तर घुमिरहेछ
कहिले दासी बनायो, कहिले प्यासी बनायो
त कहिले मालिक बनायो ।

सायद
लाटो हुनुपर्छ, विचार बिहीन
सुन्दै नसुनी छोडेर डाँडा काटिसक्यो
नयाँ पुस्ता भेट्न ।

म,
विचार सहितको
भ्रममा रमाउँदै भ्रम छर्दै
एक मुठ्ठी सासमा खोइ के के बोकि हिड़ने बबुरा
त्यो डाँडा माथि घाम,जुन हेर्दै
उभिएको बुढो रुख झैँ
आज एकसरो लुगामा सोच्दै मौन छु
जसरी आएको हो त्यसै गरी
खोइ कहिले नङ्गाउने हो ।

-नवराज योन्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *