Skip to content


ए झरी !
मलाई पनि तिमी जस्तै,
बर्सिन मन छ,
मनका मैलाहरू,
पखालेर,
कञ्चन बन्छु नि ?

तिमीलाई,
न क्यैको चिन्ता,
न क्यैको भय,
कति निष्फिक्री,
कति निस्वार्थी,
कति निश्चल,
हगि,
तिम्रो थोरै खुसी,
सापटी दिंदैमा,
कसैको पीडा भाग्छ भने,
तिम्रो थ‍ोरै उत्साह बाँड्दैमा,
कसैमा जाँगर पलाउँछ भने,
तिम्रो अलिकति त्यागले,
कसैको भोक मेटिन्छ भने,
कन्जुस नगर,
अनि विश्वास गर,
मलाई तिमी अति मन पर्छ,
बुझ्ने भएदेखि आजसम्म,
हो !
मैले,
हर पीडा तिमीसँगै साटेकी छु,
हर सुख तिमीसँगै बाँडेकी छु,
त्यसैले,
मलाई साथ देऊ,
भोलि बिहानको,
घामको झुल्को सँगै,
म पनि त्यो सफा आकाशमा,
उदाउन चाहन्छु,
बस्तीहरूमा किरण छर्न चाहन्छु,
त्योभन्दा अघि,
आफ्नै बलेसी टल्काउनु छ,
टिनको छानो पखाल्नु छ,
कृपया,
मलाई नरोक,
म पनि तिमीसँगै बर्सिन्छु,
तिम्रै अङ्गाल‍ोमा,
धीत मरुञ्जेल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *