Skip to content

जीवनकथा लेखेर के हुन्छ र?


सानो बालक जन्मिएँ उस घडी रोएर वित्थे दिन ।
आमाको दुधमा रमेर म बढें आए सुनौला छिन ।।
बामे सर्नपुगेँ जसै म करले माटो थियो मित्र त्यो ।
ताते गर्नसकेँ वितेछ समयै क्या खुशको चित्र थ्यो ।।

बोली सुन्न भनेर मानिसहरु जिस्काउँथे गज्जब ।
लाग्थ्यो मिल्छ मिठास जीवनभरी भागे मजाका पल ।।
थ्यो आनन्द खुबै म वालक भई खेल्दा हितैषीसित ।
थाल्यौं सिक्न शुरुमहाँ ति कखरा लागेछ उल्टो रित ।।

थालें पढ्न र लेख्न जब ता त्यो कष्ट नै देखियो ।
लाग्यो वैंश नवीन फेर मधुरो बल्यो कतै त्यो दियो ।।
आयो धेर हुरी वतास उसले लग्यो सबै खूश त्यो ।
बिस्तारै म बनेँ गृहस्थ अनि ता बेला विते वैँशको ।।

कोखैमा पनि जन्मिए नि बहुतै छोरा र छोरीहरु ।
तिन्कै चाकर वन्दथेँ म दिनहूँ हाँस्थे ति जोरीहरु ।।
लाग्दा रोग असाध्य यो शरिरमा रोगी बनी देखिएँ ।
नेटो काट्न गयो उमेर अहिले मूढो सरीको भएँ ।।

जर्जर् बन्दछ हेर जीउ यसले देला भरोसा कहाँ ।
मृगौला मुटुरोगले ग्रसित भै भोग्दैछु कष्टै यहाँ ।।
भोली काल पसेर लान्छ कसले रोकेर रोकिन्छ र ।
यस्तै रैछ मनुष्य जीवन कथा लेखेर के हुन्छ र ।।

देख्छौं मानिसका व्यथा यहि सरी यो चक्र झैं घुम्दछ ।
जन्मिन्छन् यस लोकमा सबजना पक्का छ त्यो मर्दछ ।।
मर्ने जीवन यो लियौं सब जना भोग्ने यही हो व्यथा ।
राम्रा फूल गुलाबका झरिन गो को सुन्छ यस्ता कथा ।।

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *