Skip to content

बिहान हुनुअघि


आफूले हृदयदेखि नै मन पराएको युवकसँग बिहे गर्न पाउने थोरै भाग्यमानीमध्ये पर्थिन् शारदा । हुन पनि उनको रोजाईमा परेको सागर खाईलाग्दो,लोभलाग्दो,मिजासिलो र उनको हरेक भावना बुझ्ने खालको थियो । दुवैजना शिक्षित थिए । एकअर्कालाई पाएकामा दुवै खुशीले आल्हादित हुदैं भावी जीवनका मीठामीठा सपना बुन्थें,रमाउँथें र त्यसैमा हराउँथें । शारदा सागरमै विलीन हुन खोज्थिन् भने सागर पनि शारदाम‌ै आफ्नो सार्थकता खोज्थ्यो ।

रमाइलोसँग समय बित्दै गयो । योजना मुताविक उनीहरू पहिलो सन्तानलाई जन्म दिने तयारीमा थिए । शारदाप्रतिको माया अँझ बढाएको थियो सागरले । छिनछिनमा मेरी शारूलाई कस्तो छ भनेर सोधिरहन्थ्यो । कुनै गाह्रो काम गर्न दिदैनथ्यो । फुर्सद पाउनासाथ शारदाको पेटमा कान थापेर आफ्नो भावी सन्ततिको चाल सुन्थ्यो,कुरा गर्थ्यो । शारदा पनि सबै दु:ख बिर्सेर मुस्कुराउँथिन् । मलाई सधैं यस्तै ख्याल गर्नु है मेरो राजा भनेर खुशी थाम्न नसकी आँखाबाट झारिदिन्थिन् ।

उनीहरूको घरमा नयाँ मान्छेको आगमन भयो । आमाको गर्भबाटभर्खरै धरतीमा झरेकी तिनी अत्यन्तै मायालु र कोमल देखिन्थिन् । सबै खुशी नै देखिन्थे तर सासूआमाले चाहिं बेलाबेलामा प्याच्च भनिहाल्थिन् “यी अर्काको घर पोत्ने जात जस्ता भएनि के गर्नु?”

आमाको भनाइलाई शारदा बाहेक कसैले गम्भीर रुपले लिदैंनथे । शारदाको मन भने कटक्क खान्थ्यो तैपनि चुपचाप रहन्थिन् । अरुले जे सोचेपनि मेरो सागरले पक्कै त्यस्तो सोच्दैन भनेर चित्त बुझाउँथिन् र मौन बस्थिन् । नत्र त भन्न मन लागेको थियो “आमा तपाईं आफै छोरी भएर के यस्तो कुरा गर्नुभएको?छोरा र छोरी पाउँदा के व्यथा छुट्टै लाग्छ र?”तर सम्हालिएर बस्थिन् ।

छोरी यति मायालु र हेरिरहुँ लाग्ने थिइन् कि तिनैसँग खेलेर,बोलेर शारदा दिनरात बिताइदिन्थिन् । सागर पनि बेलाबेलामा आउँथ्यो र आमाछोरीसँग जिस्कन्थ्यो । तथापि सागरले छोरी जन्मेपछि शारदाले आफूलाई कम वास्ता गरेको आभास गरिरहेको थियो । जतिबेला हेर्दा पनि छोरीसँगै हुन्छिन्, कहिले काखमा राख्थिन् कहिले मुसार्थिन्,मालिस गरिदिन्थिन् भने धेरैजसो त बोली नफुटेकी छोरीसँग घण्टौं कुरा गर्थिन् । निधारमा,गालामा चुम्बा गर्थिन् । सागरसँग पनि छोरीकै बखान गर्थिन्,हाँसो र रुवाईको कुरा गर्थिन् ।

छोरी तीन वर्ष लागिन् । सागर शारदालाई अर्को सन्तानको लागि आग्रह गर्न थाल्यो । प्रत्येक रात कचकच हुन थाल्यो । शारदा भन्थिन् “हामीलाई यही एउटी छोरी भए पुगिहाल्यो नि सागर ! धेरै जन्माएर के गर्नु? उचित शिक्षा दीक्षा नि दिनै परिहाल्यो ! यसैलाई हुर्काउन त कति गाह्रो भइराखेको छ । ”

“जे भए नि एउटा छोरो त चाहिन्छ नि शारदा ! तिमीले त्यो के खाइरहेकी छ्यौ आजैदेखि खान छोडिदेऊ ल?”

यस्तो धेरै दिन,धेरै हप्ता चल्यो ।

सागरको मन राख्नकै लागि भए पनि उनले औषधी खान छोड्ने विचार गरिन् । फेरि यो छोरीलाई साथी पनि हुन्छ भनेर चित्त बुझाइन् ।

त्यसपछि शारदाले औषधी खान छोडिदिइन् ।

तर उनको मनमा सागरले भनेको एउटा छोरो त चाहिन्छ नि भनेको सम्झेर छटपटाउन थालिन् । अब हुने सन्तान पनि छोरै हुन्छ भन्ने के ग्यारेन्टी छ र ! आफूलाई मन लागेको चीज बनाएर थपक्क राख्ने कुरा होइन यो सन्तान भन्ने कुरा ! आस्तिकहरूले ईश्वरको वरदान ठानेर स्वीकार्नु पर्ने र नास्तिकहरूले छोराछोरी कसरी जन्मन्छन् भनेर यसको वैज्ञानिक कारण बुझ्नुपर्ने ! शारदाको मनमा यस्तै अनेक कुराहरू मडारिन थाले ।

सागर यता सुन्नु त !
अँ भन सुनिरा’छु ।
अब हामीले जन्माउने सन्तान पनि छोरी नै भइन् भने के गर्ने भन्नू त?

शारदा अर्को बच्चा जन्माउन राजी भएको बुझेर उसले खुशी हुदैं भन्यो-

तिमी त्यसको चिन्ता नगर न शारदा ! छोरी नै भए पनि ठीकै छ,अनि अहिले त अनेक प्रविधि आएका छन् नि छोराछोरी चिन्ने !

हजुरले के भन्न खोज्नुभएको?के छोरिरहिछे भनेचाहिं नजन्माउने हो?

ह्या छोड्देऊ न यस्ता कुरा अहिले !

पछि फेरि किचकिच गर्न पाउनु हुन्न नि !

तीन महिनापछि दुवैजना स्वास्थ्य संस्थामा गए । परीक्षण गराए । आमाबच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो देखियो । सागरले स्वास्थ्यकर्मीसँग भ्रुण पहिचानबारे जिज्ञासा राख्यो तर उसले त्यो यहाँ संभव नहुने र आवश्यकता पनि नभएको कुरा संझायो । भ्रुण पहिचान गर्नैपर्ने भए ठूला अस्पतालमा जान भन्यो ।

घर फर्कदाँ बाटामा सागर शारदालाई एकदुई दिनमा शहर जानुपर्छ भनेर कहर गर्न लाग्यो । शारदाले सागरको अन्तरमनको भावना बुझिसकेकी थिइन् ।

छोरा भए नि छोरी भए नि के गर्नु भन्नु त? चिनेर केही फाइदा छैन बुझ्नु भो?शारदा उसलाई सम्झाउँदै भन्थिन् ।

हैन जे भए नि सन्तोष हुन्छ नि ! मेरो पनि कुरा बुझ्ने प्रयास गर न !

सन्तोष रे ! मैले तपाईंको कुरा बुझिसकेको छु । यदि छोरा भए त तपाईंलाई सन्तोष होला रे ! छोरिरहिछन् भने के गर्नुहुन्छ?भन्नुहोस् त मलाई ।

सागर अनकनायो ।

जिन्दगी नै एक अर्कामा समर्पण गर्ने भनेर बन्धनमा बाँधिएकाले त्यति शहर नगएर उसको मन किन दुखाउनु भन्ने सम्झेर शारदा सागरसँग शहर गइन् । नाम चलेको महङ्गो अस्पतालमा परीक्षण गरायो उसले । तर नतिजा सागरले चाहेजस्तो आएन । उसको अनुहार हेर्दै प्रष्ट हुन्थ्यो खुशी नभएको कुरा । निराश भएर शारदाको छेउमा आएर बस्यो ।

शारदा तिमीले ठीकै भनेकिरहिछ्यौ ! हामीलाई त्यही एउटी छोरी भए पुग्छ,अब अरु नजन्माऔं । राम्रो हस्पिटलमा आइपुगेका छौं एबोर्सन गरेर जाऔं है?

के भन्नुभएको रे?फेरि भन्नुहोस् त एकपटक ! तपाईंले नै मरिहत्ते गर्नुभएको हैन?अहिले आएर के भयो हँ?मेरो पेटमा छोरी छ हैन त?तपाईंलाई यही मन परेन,मलाई सब थाहा छ तपाईं के चाहनुहुन्छ भन्ने कुरा !

शारदा कुरा बुझ न !

मैले सब बुझिसकें । पहिला कहर गरेर खाइरहेको औषधी छोड्न लगाउनुभयो । मैले मानें । सब मान्दामान्दै पनि केमा चित्त बुझेन फेरि ! छोरा चाहियो हैन तपाईंलाई?अब यसमा तपाईंकोभन्दा मेरो अधिकार बढी छ । म जसरी पनि यसलाई जन्म दिएरै छाड्छु ।

यो संसारमा हाम्रोभन्दा बढी आवश्यकता अब जन्मनेहरूको छ । तपाईं हामी त अब डेट एक्सपायर हुन आँटिसक्यौं । यो विश्व उनीहरूकै हो अनि यो आकाश यो धरतीमात्र होइन मंगलादि ग्रहहरूमा समेत अब जन्मिनेहरूको वर्चस्व हुनेछ ।

त्यसोभए हाम्रो अस्तित्व त के रह्यो र शारदा?

यहाँ पनि सकरात्मक सोच भएकाहरूको त काम छ नि तर बाहिरबाट हेर्दा राम्रो देखिने कुरा भित्रैसम्म राम्रो नहुदोंरैछ । टाढा किन जानू ! यहीँ हेर्नुस् न यस्तो पढेलेखेको,ज्ञानी,विवेकशील श्रीमान पाएँ भनेर मक्ख परेकी म छोरा र छोरीमा विभेद गर्ने,आफ्नै रगतलाई भेदभाव गर्ने शिक्षितको खोल ओढेको तर कठैबरा ! भन्नुपर्ने व्यवहार भएको लोग्ने पाएछु । तपाईं मात्रै होइन शिक्षित वुद्धिजीवि भनाउँदाहरूको खोक्रो आडम्बर र देखावटी आवरण नच्यातेसम्म समान अस्तित्व र समानुभूति कसरी कायम हुन्छ र !

अनि अहिलेको विज्ञान प्रविधिको युगमा समेत माकुराले झैँ स्याउँस्याउँती बच्चा जन्माउने हो त शारदा ! यस्तै बेला काम लाग्छ भनेरै त ती प्रविधिहरू विकास गरिएका हुन् नि हैन र?

अँ, एउटा कुरा भन्नुहोस् त श्रीमान् महोदय,यदि मेरो पेटमा छोरो भइदिएको भए तपाईंले यो एबोर्सनको कुरा ल्याउनु हुदों हो? गहिरिएर सोच्नुस् त ! अहँ ल्याउनुहुदैनथ्यो । तपाईं जेसुकै भन्नुहोस्,तपाईंका बाआमाले जे भनून्,जति नै हेला गरून्, सारा संसार एकातिर लागोस् तर म मेरो पेटको छोरीलाई जन्म दिएरै छाड्छु ।

शारदा नमानेपछि एबोर्सन नगरी उनीहरू घर फर्के ।

राती खाना खाएर सुतेपछि सागर फेरि एकपटक शारदालाई सम्झाउने कोशिस गर्दै थियो ।

शारदा !

भो अब धेरै बोल्नु पर्दैन सागर । मलाई थाहा भइसक्यो कि अब मेरा अगाडिका दिनहरू सजिला छैनन् । पहिलेदेखि नै हेलाहोचो गर्ने सासूससुराका बचनवाण अँझ कडा हुनेछन्,कामको चाप अँझ बढाइनेछ । दु:खसुखमा साथ दिन्छु भन्ने श्रीमान् पनि नजानिदों पाराले बिस्तारै टाढाटाढा हुनेछ । जस्तोसुकै दु:ख पीडा सहेर भएपनि मैले यो समाजलाई देखाउनुछ, छोरी छोराभन्दा कुनै कुरामा कुनै हालतमा पछाडि छैनन् भनेर । त्यति मात्रै हैन आइन्सटाइन र न्युटनहरूलाई माथ गर्न सक्ने छोरी बनाउनु छ ।

हो मलाई यो पनि थाहा छ,जन्माउनभन्दा उचित शिक्षादीक्षा दिन र संसार बुझ्ने बनाउन झन कठिन छ तर अहिले बिहान हुनुअघि अँध्यारो र उज्यालोबीच लडाइँ भइरहेको छ । म उज्यालोको पक्षमा युद्धमैदानमा छु । मलाई विश्वास छ, केही क्षणमा कालो रातलाई परास्त गरेर बिहान हुनेछ, घाम झुल्किने छ ।

कुमार काफ्ले
ओखलढुंगा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *