Skip to content


‘ठूलाठूला देवीदेवता, ठूलाठूला भवन, राम्रो लवाइखुवाइ, राम्रो उन्नति, प्रगति गर्न सकिने र आफूले चाहेजस्तो काम पाउने भनेकै राजधानीमा हो ।’ गाउँमा सबैजसोबाट सधैँजसो यस्तै कुरा सुन्दै आएकाले बिर्खेले पनि आखिरमा काठमाडौँको बाटो ततायो ।

सुनेजस्तै गरी सबै कुरा भोग्न कहाँ पाइन्छ र ? काठमाडौँमा बिर्खेका कोही आफन्त थिएनन् । राजधानीमा उत्रेकै साँझ ऊ बास खोज्दै कुनै होटलमा पुग्यो । उसको गोजीले भने होटलको एक रात पनि नटर्ने देखियो । त्यसैले उसले फुटपाथको शरण लियो । दोस्रो दिन हातमुख जोड्नका लागि अनेक होटल चहार्यो । अन्ततः उसले दुइटा रोटी किन्यो र तरकारीको पैसा बचाउन प्याजका दुई–चार टुक्रा माग्यो । तिनै दुइटा रोटीले त्यो दिन कट्यो उसको । राती फुटपाथमा उसको गोजीमा भएका बाँकी बीस तीस रुपैयाँ पनि लुटिए । तेस्रो दिन ऊ हातमुख जोड्नका निम्ति होटलहरूमा भौंतारियो । काम पाउनु त के उसले बासी वा सडेगलेको खाना पनि पाएन । साँझ सडकको पेटीमा झोक्राएको थियो । एउटा फुटपाथे आएर बिर्खेसँग गफ गर्न थाल्यो । बिर्खेको विवशता बुझेपछि उसले एउटा प्रतिज्ञा गराएर होटलमा लगेर खाना खुवायो । त्यही सङ्कल्प अनुसार फुटपाथेले भोलिपल्टै बिर्खेलाई एउटा अस्पतालमा लग्यो । त्यहाँ उसको एक पाउन्ड रगत बेचियो ।

बिर्खे दिनभरि काम खोज्न व्यस्त हुन थाल्यो । ऊ जुनजुन पसल वा होटलमा पुग्थ्यो, उसको लवाइ देखेर सबै साहूहरू नाक खुम्च्याउँथे । यस्तो व्यवहारले उसमा अर्को चिन्ता थपियो । काठमाडौँमा जति दिन बित्दै जान्छ, त्यति आफ्नो अवस्था बिग्रिँदै जाने हो कि ? सुकिलामुकिलाहरूले गेटमा उभिएर हात जोड्नसम्म नदिने हुन् कि ?

एक दिन काम माग्न गएका ठाउँमा जुँगे साहूले भन्यो— ‘कमाइधमाइ घटेर आफ्नै खर्च धान्न गाह्रो भइरहेको छ । तिमीलाई के काम दिऊँ भाइ ? काम पाउन गाह्रो छ, मैले भनेको मान्छौ भने पसल खोल ।’

जुँगे साहूले आफ्नो उपहास गरेको ठानी बिर्खेको मन नदुखेको त हैन, तर यो सहरमा उसको अस्तित्व कहाँ छ र ? त्यसैले साहूको उपहासलाई ठट्टा ठानेर ऊ मुस्कुराइदियो ।

‘किन हाँस्यौ भाइ ? मेरो यो सामान न्यूरोड पुर्याउनु छ, लगिदिन्छौ ? पचास रुपैयाँ दिउँला । एउटा नाम्लो किनेर चोकमा बसे तिमीले जत्ति पनि काम पाउँछौ ।’ जुँगे साहूले एउटा उपाय बतायो ।

बिर्खेको खुसीको सीमा रहेन । सामान काँधमा राखेर पसलको केटालाई पछ्याउँदै ऊ न्यूरोड पुग्यो । जिन्दगीको पहिलो पारिश्रमिक बापत हातमा पचास रुपैयाँ परेपछि ऊ नाम्लो खोज्दै हिँड्यो । करिब दुई घन्टा भौँतारिएर एउटा चोकमा पुग्यो । त्यहाँ उसले नाम्लो काँधमा झुन्ड्याएको भरियालाई देख्यो । सरासर भरियानजिक पुग्यो र भन्यो— ‘साहूजी, तपाईंले बोकेजस्तो नाम्लो कहाँ पाइन्छ ?’

भरिया छक्क पर्यो । उसले बिर्खेलाई केही बेर नियालेर भन्यो— ‘किन ?’

‘म पनि तपाईंहरूले जस्तै नाम्ले पसल खोलेर पसिना बेच्न चाहन्छु साहूजी ।’

‘घर कहाँ हो ?’ भरियाले सोध्यो ।

‘चरीकोट ।’

‘बसाइ कहाँ छ ?’

बिर्खेसँग गफ गरिरहे पनि भरियाका आँखा टाढाटाढा पुगिरहेका थिए । त्यो देखेर उसलाई लाग्यो— बेकार यो भरियासँग सोध्न आइपुगेँछु तर अनुभवी भएकाले कहीँ न कहीँ सहयोगी हुनसक्छ भन्ठानेर उसले जवाफ दियो— ‘फुटपाथजति आफ्नै हो हजुर, जहाँ मन लाग्यो त्यहीँ रात गुजार्ने गर्छु ।’

बाटाको अर्को छेउबाट कसैले आइज भन्ने इसारा गरेपछि भरियाले बिर्खेलाई भन्यो— ‘यहीँ बस्दै गर्नू ।’ त्यस भरियाले बाटो काटेर सङ्केत दिनेलाई पछ्यायो ।

भरिया गएको बाटोतिर आँखा बिछ्याएर बिर्खे यन्त्रवत् ठिङ्गिइरह्यो । सोच्न थाल्यो— ‘उसले मलाई बेवास्ता गरेको नभएर आफ्नो व्यवसायतर्फ ध्यान दिएको रहेछ । मैले उसबाट केही सिक्न सक्छु, सिक्दैछु । उसलाई पर्खेर भोलि बिहानसम्म बस्दा पनि के फरक पर्छ र मलाई ?’

यत्तिकैमा भरिया आइपुग्यो । उसले भन्यो— ‘हिँड, चिया खान जाऊँ ।’

दुवै फुटपाथे पसलमा पुगे । चिया र पाउरोटी खाएपछि बिर्खेले भन्यो— ‘साहूजी, भोलिदेखि नै काममा लाग्ने विचार छ । त्यसैले आजै नाम्लो किन्ने इच्छा थियो मेरो ।’

खैनी माड्दै गरेको भरियाले बिर्खेका अनुहारमा आँखा गाड्दै भन्यो— ‘भाग्यले तिमीलाई ठिक ठाउँमा पुर्याएको छ । अब खानबस्नदेखि लिएर कुनै पनि कुराको चिन्ता लिनुपर्दैन ।’

बिर्खेका निम्ति यो दोस्रो खुसीको कुरा थियो । अब उसले कहाँ रात काट्ने र कता चारो खोज्दै हिँड्ने भन्ने चिन्ता लिनुपर्ने छैन । ऊ दङ्ग पर्यो; उसको अनुहार उज्यालियो ।

भरियाले बिर्खेका अनुहारमा नाचेको खुसी पढ्दै भन्यो— ‘ल हिँड, जिन्दगीमा पहिलो चोटी मलाई कसैले साहूजी भनेर बोलाएको खुसीमा आजलाई पसल बन्द ।’

भरियाले गल्लीगल्ली डुलाउँदै बिर्खेलाई आफ्नो डेरामा पुर्यायो । तालाबिनाको ढोका दुवै हातले ठेलेर खोल्यो । चिसो भुइँमा फल्याक राखेर त्यसमाथि कार्टुनहरू ओछ्याइएको रहेछ । कार्टुनमाथि थोत्रामोत्रा कपडा थिए । अर्को कुनामा ओदान, प्लास्टिकको जर्किन, हलुङ्गेका थाल र डेक्ची थिए । एउटा कुनामा काठका टुक्राटाक्री पनि थुप्रिएका थिए । त्यस घरका सामानले भरियाको गरिबीलाई देखाइरहेका थिए ।

‘यही हो हाम्रो डेरा, छिमेकी मुलुकमा आएको भुइँचालोको धक्काले पनि लड्न सक्छ भन्ठानी घरपटीहरू बस्दैनन् यहाँ । हाम्रो सम्पत्तिले मान्छेको मन तान्दैन; कुकुर नपसोस् भनेर मात्र यो ढोका लगाइएको हो ।’

भरियाले एउटा थोत्रो बाल्टी र साबुन दिँदै भन्यो— ‘तिम्रा कपडामा धूलैधूलो छ भाइ, बाहिर कल छ, नुहाइधुहाइ गर । म भात पकाउँछु ।’

बिर्खे बाल्टी र साबुन समातेर कलमा पुग्यो । धर्ती माताको टाउकै दुख्ने गरी कल बजाएपछि बल्ल पानीले चाल पाएछ । झर्को लाग्ने गरेर पम्प चलाउनेको मन मार्ने गरी पहेँलिएर आयो पानी । तैपनि बिर्खेका निम्ति खुसीकै कुरा भयो । कलको कसरत र पानीको विरक्तिले कोही आउँदैनथे त्यहाँ । त्यही भएर भरियाले बाल्टी र साबुन दिएर नुहाइधुहाइ गर्न पठाएको थियो । बिर्खे नुहाइधुहाइसकेर घरभित्र पस्दा खाना पाक्दै थियो । भरिया प्लास्टिकका डोरी खुट्टाले च्यापेर बटार्दै थियो ।

बिर्खेले सोध्यो— ‘के बटार्दै हुनुहुन्छ, साहूजी ?’

‘ल, भोलिदेखि काममा जाने भनेको हैन !’ भरियाले बिर्खेतीर हेर्यो । बिर्खेको जिउका कपडाबाट पानी चुहिएको देखेर उसले भन्यो— ‘चिसै कपडा लगाएको ? खोलेर कतै टाँगिदेऊ, रातभरिमा सुक्छन् ।’

यत्तिकैमा काँधमा नाम्लो झुन्ड्याएको अर्को भरिया भित्रियो । उसले साँकसुँक नाक बजाउँदै भान्सातिर आँखा गाडेर भन्यो— ‘आज यो थोत्रो घरमा मगमगी मासु बसाइरहेको छ त ? कुन खुसीमा हो मामा ?’ अनि ऊ बिर्खेतीर फर्कियो । ‘पाहुना पनि छन् जस्तो छ नि ?’

‘भान्जा साहू, जाऊ एक बोतल रक्सी लिएर आऊ ।’

भान्जाले मामातिर घुर्दै भन्यो— ‘भान्जा साहू रे ! मामालाई नसा लागिसके जस्तो छ, केको बोतल लिएर आउनु ?’

‘यो खुसीको नसा हो भान्जा साहू, जाँडको नसा पनि थपौँ न अनि बताउँला ।’

भान्जाले रक्सी लिएर आउन्जेल खाना र नाम्लो तयार भइसकेका थिए । बिर्खेले तात्तातो मासुभात खायो । मामा–भान्जा रक्सी र मासु खाँदै गफ लडाउन थाले । मामाले भन्यो— ‘मान्छेहरू इमानजमान बेचेर साहू हुन्छन् । हामी नाम्लोको पसल थापेर पसिना बेच्ने साहू रे !’

धेरै कमाइ भएको वा कुनै रामरमिता परेको दिन मामा–भान्जा रक्सी धोकेर ‘घर’ आउँथे । बढी कमाइ भएको दिन कोही सापट लिने आए पनि हुन्थ्यो भन्ने तिनको मनसाय हुन्थ्यो । कसैलाई सापट दिए मात्रै उनीहरूको पैसा बच्न सक्थ्यो । नत्र गोजी खाली नहुन्जेल काम बन्द ।

सापट दिएको पैसा उठेपछि एक दिन भान्जाले दङ्ग पर्दै गन्यो— ‘अठार सय पुगेछ ।’ ऊ गुनगुनायो— ‘जहानबच्चाको लागि कपडा किन्न र घर पुगेर आउन पुग्छ ।’ दोस्रो दिन किनमेल गरेर ऊ गाउँतिर हुइँकियो ।

मामा चुकचुकायो, ‘म गाउँबाट आएको छ महिना बितिसक्यो । सरसापट दिएको जति उठे पनि पाँच–सात सयभन्दा बढी पैसा छैन ।’

बिर्खे फुर्सदको समयमा जुँगे साहूकहाँ गएर बस्थ्यो । जुँगे साहूका सरसामान उसैले यताउता पुर्याइदिन्थ्यो । दिनभरि कमाएको पैसा जुँगे साहूकै जिम्मामा छाड्थ्यो । जाँडरक्सी र जुवातासजस्ता कुलतबाट बाह्र हात पर रहने हुनाले अर्काको भारी बोके पनि उसले तीन महिनामै पाँच हजार रुपैयाँ जम्मा गर्यो ।

भान्जा गएको दुई दिनमै मामाले बिर्खेलाई भन्यो— ‘बिर्खे बाबु, पन्ध्र सय रिन देऊ न, घर गएर आउँछु । फर्केपछि तिरुँला ।’

बिर्खेले काम सुरु गर्दा मामाले सक्दो सहयोग गरेको थियो, त्यसैले नाइँ भन्न सकेन । जुँगे साहूबाट पन्ध्र सय मागेर दियो । मामा पनि घर हुइँकियो । बिर्खेलाई त्यस थोत्रो घरमा बस्न डर लाग्यो । दोस्रो दिन उसले जुँगे साहूसँग आफ्नो गाँसबासको वेदना पोख्यो ।

साहूले पूरै घर भाडामा लिएर गोदाम राखेको थियो । भुइँतलाको एउटा कोठा निकै अँध्यारो र चिसो थियो । त्यसैले सामान ओसिने डरले उसले त्यो कोठा खाली राखेको थियो । आफ्नो गोदामको रेखदेख पनि हुने र भनेका बेला काम गराउन पनि सजिलो हुने आशाले उसले बिर्खेलाई त्यही कोठामा बस्न दियो । जुँगे साहूले घरमा थन्क्याएका थोत्रो खाट र थाङ्नाथुङ्नी पनिदियो । जुँगे साहूको घरमा परिआएका जति सबै काम गरिदिने सर्तमा बिर्खे त्यस कोठामा बस्न थाल्यो ।

मामा–भान्जा हप्ता दिनमा कर्मथलो फर्किए । आएकै भोलिपल्ट उनीहरू बिर्खेलाई खोज्दै जुँगेको पसलमा पुगे । भान्जा अन्तै लाग्यो भने मामाले बिर्खेलाई थोत्रो घरमा लग्यो । त्यहाँ सुन्दर केटी देखेर बिर्खे छक्क पर्यो । मामाले केटीले नसुन्ने गरी बिर्खेलाई भन्यो— ‘यो मेरी छोरी कमला हो । गाउँमा दुई–तीनजना सहरियाहरूले पछ्याउँछन् भन्ने सुनेर यता लिएर आएँ । आफ्नै स्तरका भए त बिहे गर्छन् कि भन्नु, ती सहरियाको के भर ?’

‘यहाँ कसरी राख्नुहुन्छ त ?’

‘तिमीसँगै राख न बाबु । जुँगे साहूले कोठा दिएकै रै’छ । मैले छोरीलाई पढाउन नसकेको मात्रै हो, नत्र ऊ बत्तीसै गुणले युक्त छे । तिमी पनि राम्रो मान्छे हौ ।’

सुन्दर कन्या देखेर बिर्खे नलोभिएको हैन, तर आफ्नै खानेबस्ने ठाउँठेगान नभएको अवस्थामा बिहे गर्नु मूर्खता ठान्यो उसले । भन्यो— ‘ती सहरियाहरूले साँच्चिकै मन पराउँथे कि ? बुझ्नुपर्थ्यो नि साहूजी ।’

‘बुझेको हुँ, गाउँमा तिनको चालचलन राम्रो रै’नछ बाबु ।’

‘मलाई केही दिन सोच्ने समय दिनुस् न त’ भन्दै बिर्खे बिदा भयो ।

मामाको प्रस्ताव बिर्खेले जुँगे साहूलाई पनि सुनायो ।

साहूले भन्यो— ‘तँ आफैँ विचार गर् बिर्खे; मन पराउँछस् भने, राम्री छ भने बिहे गर्दा के फरक पर्छ र ?’

‘मेरो कमाइले पाल्न सकुँला त ?’ बिर्खेले बाध्यता दर्सायो ।

‘मेरो घरमा कपडा धुने, भाँडा माझ्ने काममा पठाइदे । उसले पनि महिनामा डेढ–दुई हजार कमाउन सकिहाल्छे नि ।’

जुँगे साहूको कुरा मनासिबै थियो ।

बिर्खेले कमलासँग बिहे गर्यो । बासस्थान अँध्यारो र चिसो भए पनि उनीहरूले एकअर्काप्रतिको मायाको रापमा सबै दुःख भूल्न थाले । पति काममा गएका बेला पत्नी उसैको बाटो हेर्दै दिन बिताउँथी ।

बिर्खे सधैँझैँ एक दिन भारी बोकेर अर्कै साहूकहाँ गएको थियो । ऊ त्यहाँ पुग्दा साहू नोकर्नीका गाला सुमसुम्याउँदै रहेछ । उसले तिनलाई देखे पनि उनीहरूले यसको भेउ पाएनन् । तैपनि बिर्खेको मन चिसिनु चिसियो । उसको छातीभित्र पनि ठूलो आशङ्का मडारियो । आफ्नी घरेलु कामदारका गाला मुसारिरहेको साहूमा उसले जुँगेको अनुहार देख्यो । कमलासँग बिहे गर्न आखिर जुँगेले पनि हौस्याएको थियो; ‘राम्री छ भने बिहे गर्दा के फरक पर्छ र ? घरमा लुगा धुन, भाँडा माझ्न पठाइदे’ भनेको थियो । अर्कोतर्फ फेरि त्यही साहूको कृपाले उसको बास जमेको थियो । ऊ पिरोलिन थाल्यो । ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ ! जस्तै भयो उसलाई ।

बिर्खे यस्तै कुरा खेलाउँदै काममा लागिरहेकै थियो, एक दिन जुँगे साहूले वाण हान्यो— ‘खै त, श्रीमतीलाई काममा पठाइनस् ।’

साहूले कुनै न कुनै बेला यस्तै सोध्ला भनेर बिर्खेले पहिल्यैदेखि जवाफ तयार गरेको थियो । ‘बिरामी परेकी छ हजुर । के भएको हो खै, मेरो पैसा दिनुभए अस्पताल लैजान्थेँ ।’

जुँगे साहूले पाँच सय दिँदै भन्यो— ‘ला, राम्रो अस्पतालमा लगेर चेक गरा ।’

बिर्खेले खल्तीबाट एकपाने मैलो खाता निकाल्यो र पल्टाउँदै भन्यो— ‘मेरो पच्चीस सय जम्मा होला हजुर ।’

‘सबै पैसा किन चाहियो ?’ अर्काकै पैसा भए पनि आफूसँग भएकाले साहूले अधिकार जमाउन खोज्यो ।

‘कपडा पनि सिलाउनु छ ।’

जुँगेलाई पैसा दिन कर लाग्यो ।

पैसा पाएपछि बिर्खे सुकुम्बासी टोलमा पस्यो तर उसको योजना अर्कै रहेछ । त्यहाँ उसको भरिया साथी थियो, टहरो बनाएर बसेको । जुँगे साहूको गोदाम छाड्ने बिर्खेको मनसाय बुझेपछि उसको साथीले आफ्नै टहरो छेउ बासस्थान बनाउन उसलाई सहयोग गर्यो । दुई–तीन घन्टामा पालवाला ‘घर’ तयार भयो ।

जुँगे साहूको गोदाम छोडेपछि पनि बिर्खेको काम धमाधम चल्न थाल्यो । अन्य भरियाहरूले दूरी हेरेर रेट तोक्ने गरे पनि बिर्खे कसैसँग मोलमोलाई गर्दैनथ्यो । जति मिल्थ्यो त्यसैमा सन्तुष्ट हुन्थ्यो । त्यसैले निकै व्यस्त हुन्थ्यो । खर्च कटाएर महिनाको आठ–दस सय जम्मा गर्थ्यो ।

बिर्खे र कमला पालवाला टहरामा पनि उत्तिकै रमाएर बस्न थाले । बिहेको दस महिनामा कमलाले छोरी जन्माई । लक्ष्मीको आगमन भएकोमा उनीहरू खुसी भए । गरिबको घरमा लक्ष्मी आउन् वा विष्णु, जो आए पनि खानलाउनको भार थपिनु थियो । अब उसलाई महिनामा दुई–चार सय जम्मा गर्न पनि धौधौ हुन थाल्यो ।

कसैका आँखा नलागून् भनेर होला, सुकुम्बासी टोल दुर्गन्धले भरिएको थियो । दुर्गन्धका कीटाणु सिपाहीहरू बालबच्चाको माध्यमबाट प्रत्येक परिवारमा प्रत्येक महिना सय–पचासको खर्च बढाउँथे । छोरी दुई वर्ष नपुग्दै कमलाको काखमा खेल्न छोरो आइपुग्यो । अब बिर्खेलाई खान–लाउन पुर्याउन पनि आच्छुआच्छु पर्न थाल्यो । त्यसैमा थपियो राजनीतिज्ञहरूको व्यापार—जुलुस, बन्द, हडताल । बिर्खेको घरमा दानापानी जुट्न छोड्यो । ऊ फेरि काठमाडौँ भित्रिँदाकै अवस्थामा पुग्यो । आफलिने खाना खोज्दै ऊ होटल चहार्न थाल्यो ।

लालाबालाको भोक मेट्न बिर्खेले एक पाउन्ड रगत बेच्यो । त्यस दिन उसको घरमै पनि खाना पाक्न सक्थ्यो तर खाना पाकुन्जेल बच्चाहरूले के धैर्य गर्न सक्लान् भन्ने सोचेर उसले होटलबाटै ताजा रोटी लिएर आयो ।

बिर्खेका हातमा पोको देख्नेबित्तिकै जहानबच्चा झुम्मिए । उसले कागजबाट रोटी निकालेर सबैलाई बाँड्यो । बचेखुचेका रोटीका टुक्रा आफ्नो पेटमा हालेपछि ऊ काँधमा नाम्लो झुन्ड्याएर बाहिरियो ।

सडक चिरनिद्रामा छ । ट्याँटु र प्वाँपुको कुनै स्वर छैन । बेलाबखत हातहातमा लौरा र ढुङ्गाइँटा बोकेका समूह जिन्दावाद र मुर्दावादको नारा लगाउँदै दौडिइरहेका छन् । तिनलाई रोक्न प्रहरीले छोडेको अश्रुग्यासले बिर्खेलाई भेट्टायो । ऊ कमिजको बाहुलाले आँसु पुछ्दै आफ्नै टोलतर्फ दौडियो ।

‘के भयो तपाईंलाई ?’ आँसु झारिरहेको लोग्नेलाई आत्तिएर अँगालो हाल्दै कमलाले भनी— ‘कसैले हिर्कायो कि क्या हो ?’

बिर्खे एउटा टालो भिजाएर आँखा पुछ्न थाल्यो ।

‘काम छैन भने किन बाटोमा भौँतारिनु ? जुलुसमा परेर चोटपटक लाग्ला । घरमै बस्नुस् ।’ कमलालाई हातमुख जोड्नेभन्दा पनि लोग्नेको ठूलो चिन्ता लाग्यो ।

आन्दोलन फिर्ता लिएको समाचार सुन्न पाइए पनि हुन्थ्यो भन्ने कामना गर्दै बिर्खे छिमेकी साथीकहाँ टिभी हेर्न गयो तर साथीका परिवार नेसनल जियोग्राफी च्यानल हेरिरहेका रहेछन् । सधैँ अपराध र मारकाट, नेताहरूको तानातान र आरोप–प्रत्यारोपले भरिएको समाचार कति हेर्नु भनेर उनीहरूले च्यानल बदलेका थिए । टिभीमा देखिइरहेको थियो—रूखको टुप्पामा चराको गुँड छ । चराले चल्ला कोरलेको छ । खडेरीका कारण चारो खोज्दै चरो पारि जङ्गलमा पुग्छ । त्यहाँ आगलागि हुन्छ । चरो धूवाँले छटपटीँदै गुँडमा फर्किन्छ । उसलाई भेटेपछि भोका चल्लाहरू च्याँच्याँ गर्न थाल्छन् ।

टिभीका दृश्यले बिर्खेका आँखा टिलपिलाए । ऊ जुरुक्क उठेर सडकमा पुग्यो ।

एक्कासि अर्कोतर्फबाट मान्छेहरू चिच्याउँदै भाग्न थाले ‘ऐया, मार्यो सालेले !’

बिर्खे बाटोछेउको पर्खालमा घोप्टियो । एकाएक उसको पछाडिबाट डन्डा र बुट बर्सिन थाले । ऊ पछाडि फर्किनै सकेको थिएन । उसको टाउकोबाट रगतका धारा छुटे ।

हात थाप्दै बिर्खे चिच्यायो— ‘भाँडो दिनुस् हजुर, घरमा बालबच्चा भोकै छन् ।’

साँझ टिभीमा समाचार आयो— ‘सडक आन्दोलनमा एउटा आन्दोलनकारीको मृत्यु भयो ।’

आफ्ना लालाबालाको आहाराको खोजीमा हिँडेको मान्छे देशको राजनीतिको आहारा भयो तर घुम्ने कुर्सीको खेलमा तातेका देशको टिभीको समाचारमा चाहिँ ऊ आन्दोलनकारी भयो । यता बालबच्चा भने बिर्खेको बाटो हेरिरहेका छन् । ….

–बखतबहादुर थापा

प्रथम पटक प्रकाशित – 2016-08-16 21:52:25 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *