सरकारी कमरेडहरू गल्ती गर्छन्, त्यसपछि माफी माग्छन् । यही गल्ती र माफीको निरन्तरता नै वर्तमान सरकारको सही परिचय हो । बस्, गल्ती र माफी । फगत गल्ती र माफी । गल्ती र माफी । अरू केही होइन । दुई-चार गल्तीमा त स्वयम् प्रधानमन्त्री कमरेडले प्रचण्ड वेगले अघि बढेर माफी मागेका छन् । एउटा दृश्य त अतिशय भावुकतापूर्ण थियो । टेलिभिजनको रंगीन पर्दामा माफी मागिरहेका प्रधानमन्त्रीको छवि आफ्नो ३.५ को चस्माले नियालेर म त द्रवित नै भएको थिएँ ।

‘तपाईं अलि बढ्ता हुनुहुन्छ, निभाजी ।’ मेरो एक सरकार समर्थक मित्रले हप्काए ।

‘होइन, मैले त्यस्तो के गरेँ र ?’ मैले तत्काल प्रतिवाद गर्न खोजेँ ।

‘हामी कमसेकम माफी त माग्छौं ।’ उनले तीक्ष्ण नजरले मलाई हेरे, ‘अरूले यति पनि गरेका छन् ?’

यो पनि ठीकै हो, अघिल्लो सरकारले एकपटक पनि माफी मागेको मलाई थाहा छैन । यसको दुई कारणको अनुमान गर्न सकिन्छ । एक, तत्कालीन सरकारसँग कुनै गल्ती नै नभएको पनि त हुनसक्छ । त्यसो भए, व्यर्थमा किन माफी माग्नुपर्‍यो ? तर पख्नोस्, यस्तो असम्भव कल्पनाको सहयोग लिनुहुन्न । कल्पना, सम्झना, सपना, भावना, तर्कना आदिको पनि त एउटा मर्यादा हुनुपर्‍यो नि ! होइन र ? अब अर्काे कारणतर्फ जाऊँ । मेरो विचारमा दोस्रो कारण के हुनसक्छ भने सायद त्यसबेलाका कोइराला थर भएका प्रधानमन्त्रीलाई ‘माफी’ शब्दको कुनै अर्थबोध नै थिएन । उनी यस्तो झञ्झट-सञ्झटमा पर्ने नरपुङ्गव नै होइनन् । किन माफी माग्थे ? माफी माग्नमा त यही सरकारका कमरेडहरूलाई गतिशील, अग्रगामी र क्रान्तिकारी मान्नुपर्छ ।

‘निभाजी, नचाहिँदो कुरो नगर्नाेस् ।’ मेरो सरकार समर्थक मित्र क्रुद्ध भए ।

‘चाहिँदो कुरो के हो त ?’

मैले सोधेँ ।

‘फेरि नचाहिँदो कुरा गर्नुभयो ।’ उनको आँखा ठूलो भयो ।

म मित्रको रौद्र रसले ओतप्रोत मुद्रा देखेर चुप लागेँ ।

सामाजिक, आर्थिक, राजनीतिकजस्ता अनेक भाँतीका गल्ती गर्दागर्दै सरकारी कमरेडहरू एक्कासी संस्कृतिमा आइपुगेका छन् । यो गल्तीले सरकारको ‘सांस्कृतिक हैसियत’ उजागर भएको छ । यसमा च्चःच्चःच्चः ध्वनिसहितको सहानुभूति प्रकट गर्नु बाहेक अरू के गर्न सकिन्छ र ? आफू पनि यही फाँटको भएकोले अब गल्ती पश्चातको माफी कसरी आउनेछ, त्यो हेर्नु चाखलाग्दो हुनेछ । अथवा यसपटक माफी नै नमाग्ने कुनै सरकारी योजना छ कि ? जे भए पनि मैले अघि नै निवेदन गरेँ, हाम्रा सरकारी कमरेडहरू राजीखुसीले गल्ती गर्छन्, अनि तत्काल माफी माग्न थाल्छन् । सरकारले आकार पाएदेखि यो रमाइलो खेल गतिमान छ । अर्थात् गल्ती र खेलको डन्डिबियो, कपर्दी, डिपलिस, कनकनपिच्चा, लुकामारी, जेसुकै भन्नोस् । कहिलेकाहिँ यो गल्ती र माफीको कुदकादमा पनि गल्ती हुन जान्छ । फलस्वरूप माफी जुन छ, त्यो अगाडि हुन्छ र गल्तीचाहिँ पछाडि-पछाडि ।

‘तपाईं नमिल्ने-नमिल्ने तर्कमात्र गर्नु हुन्छ, निभाजी ।’ मेरो सरकार समर्थक मित्रको निधार खुम्चियो ।

‘हो र ?’ मैले भनेँ ।

‘अनि के त ?’ उनी बेस्सरी जङ्गिए।

‘अब म भरसक्य मिलाएर भन्ने प्रयास गर्नेछु, मित्र ।’ म शान्त प्रकारले उत्तरित भएँ ।

पहिले गल्ती गर्नु र पछि माफी माग्नु त्यति सरल कार्य होइन । यसमा प्रशस्त सकस व्यवस्थापन गर्नुपर्ने हुन्छ । एक त गल्ती गरिसकियो, त्यसमाथि फेरि माफी पनि माग्नुपर्छ । यो दोहोरो दायित्व भयो । त्यसकारण यसको उपेक्ष्ाा मनासिव होइन । यसले पर्याप्त परिश्रमको माग गर्छ । धन्य, हाम्रा सरकारी कमरेडहरू सरकारमा आएदेखि गल्ती र माफी गरी नै रहेका छन् । यसमा कति पनि बाधा-व्यवधान आएको छैन । अझ कति गल्ती र माफी अस्तित्वमा आउन बाँकी नै छ । ती स्वभावतः आउने नै छन् । अतः यसलाई सहज एवं सटिक बनाउनुपर्छ भन्ने मेरो सरकार प्रमुख कमरेड प्रधानमन्त्रीसँग गैरसरकारी प्रकारको सुझाव हो । मेरो भन्नुको तात्पर्य के हो भने सरकारले प्रारम्भमै एकमुष्ट माफी मागिराखे के हुन्छ ? यसको परिणामस्वरूप सरकारी कमरेडहरूलाई पछिपछि आरामले, घुम्ने कुर्सीमा बसीबसी र क्रमैसँग गल्ती गरिरहने सुविधा प्राप्त हुनेछ ।

‘निभाजी, तपाईंजस्तो लेखकसँग हामीलाई यस्तो आशा थिएन ।’ मेरो सरकार समर्थक मित्र सहसा गम्भीर भए ।

‘कस्तो आशा ?’ मैले कुरो नबुझेर प्रश्न गरेँ ।

‘अब तपाईंको लेखनमा त्यो कुरा रहेन ।’ उनको गम्भीरता यथावत थियो ।

‘यदि यो मेरो गल्ती हो भने म पनि माफी माग्छु ।’ मैले विनम्रतापूर्वक टाउको निहुराएर भनेँ, ‘तर तपाईंसँग होइन मित्र, आफ्ना पि्रय पाठकसँग ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *