Skip to content


ब्वाँखोलाको बगरमा अविरल बगिरहन्थे पानी । पहाडका कुइनेटोलाई फन्को मार्दै खोलाले धेरै पटक बगरको ओल्लो कुनो, पल्लो छेऊ बग्दै आफ्नो साम्राज्य स्थापित गरेको थियो । दायाँबायाँ पहाडी शिखरका उजाड उचाइ अग्लिएका थिए धेरै माथसम्म । तिनमा कतै घना बोटवृक्ष थिए । कतै चट्टानका कहाली लाग्दा भीरैभीरका लस्कर । कतै पहिरो गएर खत बसेका पहाड देखिन्थे । बगरभरि काँसे घारी, बडेमानका गजधम्मे चट्टानहरू थिए । अनेक घुम्ती, कुइनेटा, दह र पट्यार लाग्दा मरुभूमितुल्य बगरहरू थिए ।

कोशी नतरुञ्ज्याल कैयौं पटक तर्नु पर्थ्यो ब्वाँखोलालाई । खोलामा फड्के राख्नु पनि कति रु कति ठाउँमा खोलाले चिप्ल्याउँथ्यो । कति ठाउँमा खोलाले शीतलता पनि दिन्थ्यो । कति पटक जुत्ता खोल्न र लगाउनुको झ्याउ । अनि चप्पल बगाउला भन्ने डर । ब्वाँखोला तर्दातर्दै थाकिन्थ्यो । तर खोला तरेर सकिँदैनथ्यो ।

यसरी कैयौ जङ्घार छिचालेपछि, कति पाइला उचालेपछि बल्ल खोला तर्नुपर्ने काम सकिन्थ्यो । र, त्यही खोला बग्दै सायद विशाल कोशीमा परिणत हुन्थ्यो कि रु पहिले म यही सोच्थें । सानो खोला तरेर हैरान भएपछि ठूलो कोशी आउँथ्यो । बहनाले खियाउँदै माझीले डुङ्गालाई खेलाउँदै विशाल नदीबाट तारिदिन्थे । सो काठको डुङ्गामा १५, २० जना मानिस बसेर एकैचाटि पारि पुगिन्थ्यो । ब्वाँखोलाबाट बल्ल मुक्ति पाइयो भन्ने लाग्थ्यो । त्यो खोला अब क्षितिजसम्म तन्किँदै गएर पहाडकै फेदिमा कतै बिलिन भइजस्तै लाग्थ्यो ।

ब्वाँखोलाको बगरमा जीवनका अनेक पाटाहरू भेटिन्थे । ब्वाँखोलाको बगरमा जीवनका अनेक पात्रहरूको मञ्चन हुन्थ्यो । गाउँले र सहरी जीवनको संयोजन त्यही बगरमा हुन्थ्यो । त्यही बगरमा कहिले पानीको भेलबाढी हूँकारले हुइकिन्थ्यो । कहिले त्यही बगरमा कमिला खोला तर्थे ।

जीवनमा कति खोला तरियो । कति खहरे काटियो । कति नदीमा हेलिएर हिँडियो । कति नदीमा ढुङ्गाबाट तरियो । यस्ता खोलाखहरे, काँसेबगर र गढतिरका उराठलाग्ला फाँटहहरूलाई पैतालले किल्चिएर अगाडि बढियो । आज फर्किएर हेर्दा आफ्नै पैतालालाई दुःख दिएकोमा अफसोस पनि लाग्छ । आफैँले त्यतिका उजाड फाँट सजिलै काटेकामा खुसी पनि लाग्छ । त्यही बाटो, बगर र बेंसीमा हिँडेको गर्व लाग्छ । तिनै बाटोघाटो, खोलाखहरे तर्दै, टेक्दै जाँदा गन्तव्यमा पुगिएको हो ।

जीवनले कहिले कहाँ पुग्नु पर्छ, कहिले कहाँ रु घुमिफिरी धेरै पटक मैले ब्वाँखोला बगर र त्रिजुगा नदी साह्रै दुःखपूर्वक र खुसीले पनि तरेको छु । ब्वाँखोला र त्रिजुगा नदी यी यस्ता कठोर पानीका भेल लिएर बग्ने नदी हुन् कि यिनमा वर्षाद्मा त छेऊ पर्न सकिँदैन । नजिक जानै हुँदैन । त्यसबेला त्यो यसरी गड्गडाएर आउछ कति रुख, काठ, ढुङ्गालाई नै बगाउँदै सप्तकोशी हुँदै समुदसम्रम नै पुर्याइदिन्छ ।

कति पशुपक्षी र मानिसको अकालमा ज्यान खाएको छ । कति पहाडै बगाएर ल्याएको छ । कति खेतबारी, घर, गोठसमेत बर्खाको बाढीले बगाएको छ । हरेक वर्ष घट्ने यस्ता धेरै घटना–विवरणहरूले मान्छेलाई उठिबास गराएको छ । तर कतिलाई भने राम्रै फलिफाप पनि गराएको होला । ब्वाँखोला बगरको सकारात्मक पक्ष पनि धेरै छन् ।

आषाढ–श्रावणको मध्ये वर्षाद्मा पानी पर्ने र बाढीपहिरोले धेरैको बिजोग बनाएको समाचार सुनिन्छ । यी खोलाले अरु बेलामा बटुवाहरूलाई हैरान पारेको छ । कतिको ज्यान खाएको विछोडको पीडा पनि भोगाएको छ । कतिका झोला, ढाकर बगाउँदै लगेर अपठ्यारोमा पारिदिएको छ । रुदैरुदै खोलाको किनारमा बिलौना गर्दै कति जनाले आपत्–विपत्को अनुभूतिमा आफैँलाई अन्यौलामा पुर्याइदिएको छ । दोधार बनाइदिएको छ ।

पानी जीवनदान पनि हो । पानी प्राणघातक वस्तु पनि हो । पानी नभए जीवन छैन भनेर के गर्नु त्यही पानीको उर्लदो भेलले ज्यान र सामानसमेत बाँकी नराखिदिँदा के गर्नु र के नगर्नुको अन्यौलमा धेरैलाई पारेको छ । पानीले खेती भूमि बगर बनाइदिएको छ । पानीले खेतीपाति हराभरा बनाइदिएको छ । त्यसैले पानी कहिले पापी हुन्छ । पानी कहिले दानी पनि हुन्छ । त्यसैले पानी सधैं पीडादायीकै प्रवाहमा मात्रै बग्दैन ।

यति भइकन ब्वाँखोलासँग संवेदना छैन । ब्वाँखोलासँग कोही–कसैको मतलव छैन । बग्नु धर्म हो । त्यसलाई निरन्तरता दिइरहेको छ । बगाउनु पनि उसको कर्म हुने गरेको छ । यही नै दुखद कुरा हो । यही नै पीडाको घटना हो । बाटो हिँड्ने बटुवालाई बगाइदिनु खोलाको काम होइन । प्रकृति पनि कहिलेकाही कति कठोर भएर प्रस्तुत हुन्छ भन्ने अनुमानै गर्न सकिँदैन । प्रकृतिको विनाशलीला सुरु भएपछि त्यसलाई रोक्न कसैले सक्दैन । कसैले छेक्ने वा त्यसमा अवरोध गर्ने आँट गर्नु मूर्खता हुन्छ ।

हिउँदे याममा पानी सुकेर मरञ्च्याँसे भए पनि त्यसबेला यी खोलाको किनार पाइला चाल्न कम पीडादायी हुँदैन । झारपात पानी नपाएर मर्दै गरेका हुन्छन् । अन्य बोट–वनस्पति पनि पानीको सिञ्चन नपाएर सुक्दै गइरहेका हुन्छन् । पानीले हरियाली निर्माण गरिदिन्छ । पानीले नै बोट–वनस्पति र कीटपतङ्गहरूलाई जीवन दान दिन्छ । यी सबै काम यही ब्वाँखोलाले गर्दै आइरहेको छ । समयअनुसार यो जीवनदायक पनि हुने गरेको छ । ज्यान खाने खतरनाक राक्षससमेत बन्ने गरेको छ ।

काँसे बगरले भरिएको वातावरण हिउँदे याममा मनै रुवाउने लाग्छ । विरक्तलाग्दो वातावरणका बीच पानीको भेल सयौंचोटि तर्नुपर्ने हुन्छ । जङ्गल र खोलाका किनार हुँदै जाँदा घाँसदाउरा बोकेर आउने, वस्तुभाउ चराएर ल्याउने अनि नूनतेलका भाह्रीसँग ओहोरदोहोर ढाक्रेज्यान भेटिन्थे । पहाडेहरूको यही जमातमा कहिलेकाहीँ मालसामानसहित मधिसे ज्यानसमेत यस्तो अपठ्यारो बाटोमा हुन्थे । किनबेचका लागि गाउँ चहार्दै हिँड्ने उनीहरू पहाड चढेर तरकारी, फलफूल, लुगाफाटा बेच्दै हिँड्दा रहेछन् ।

तराईमा फलेको टमाटर, प्याज, काउली, बन्दा आदि पहाडी उचाइसम्मका गाउँलेले चाख्न पाएका रहेछन् । मधिसेहरूको खानपान र लत्ता कपडाहरूको बिक्री–व्यवसायले राम्रै फाइदा बेच्ने र किन्नेहरूलाई गरिरहेको हुन्थ्यो । बगरकै सानो घुम्तीमा केही अस्तव्यस्त छाप्रे पसलहरू थिए । बगरमा पसिना बगाउने यात्रीका लागि ती पसल प्राण भर्ने स्थान हुन्थे । त्यहाँ खानपान र शीतलता भेट्न सकिन्थ्यो ।

बगर हिँड्दा थाकेको जीउललाई त्यहाँ बिसाउन पाउँदा दिनभरिको थकाइ छिनभरमै मर्थ्यो । अनि शरीरमा नयाँ शक्ति–सञ्चय भई अगाडि बढ्न सजिलो हुन्थ्यो । बगर कतै मरुभूमि जस्तै सुख्खा थियो । कतै–कतै हरियालीले भरिएको मनोरम स्थान पनि भेटिन्थ्यो ।

हो, त्यही बगरमा जीवनका केही सुख र केही दुःखका भावना सँगाल्न पाएको सम्झना सधैं आइरहन्छ । त्यही बगरमा स–साना खुद्रा पसलेले जीवन गुजाराको माध्यम अपनाएको भेटिन्थ्यो । बटुवालाई खान, बस्न र भोक मेटाउन तिनले सहयोगी भूमिका खेल्थे । एउटै सानो पसलमा पनि चिया, बिस्कुट, चाउचाउ, चाउमिन मात्र होइन कि खानेकुरा पनि पाइन्थ्यो । त्यहाँ जाँडरक्सी पिउन, बिँडीचुरोट तान्न र तासचेस खेल्न पनि सकिन्थ्यो । बगर र बगरका पसलमा जीवनका अनेक आयामहरू थिए ।

एकजना जुम्ली चेलीले व्यापार गरेर बसेकी थिइन् । उनको व्यापारले बटुवाहरूलाई खान, बस्न सुविधा र सहयोग दिइरहेको थियो । उनको व्यापार बढ्नुको मुख्य कारण तिनको पसलमा चिया, चनादेखि जाँडरक्सी र स्याउको सुकुटीसम्म पाइन्थ्यो । पहाडको यो धापिलो फाँटमा स्याउको सुकुटी चपाउँदै मुख रसिलो बनाउन पाउनु शारिरिक तृप्तिको अर्को आनन्द हुन्थ्यो । त्यसको स्वाद साँच्चै अति मीठो हुन्थ्यो । कति स्वादिलो थियो ।

यही ब्वाँखोलाको बगर गाउँघरका मानिसको भेटघाटको थलो पनि थियो । को कता गयो रु कसले के लग्यो र के ल्यायो ? यी आदिको विषयमा राम्रो जानकारी त्यही बगरमा मिल्थ्यो । गाउँमा को नयाँ मान्छे आयो ? कसले के बेच्यो ? कसको बिहे भयो ? कसको निधन भयो ? अथवा कसको बिहे कोसँग कहिले हुँदैछ ? यी सबैका बारे पनि ब्वाँखोलाको बगरभरि छरपष्ट भएका विवरणहरूलाई बटुल्न सकिन्थ्यो ।

त्यही बगरमा ओहोर–दोहोर गर्दा थुप्रै गाउँले भेटिन्थे । कोही गाउँ फर्किर्दै गरेका हुन्थे– थाप्लोमा मरिकुच्चे ढाकर बोकेर । त्यही ढाकरमा हुन्थ्यो– अनेक खिर्चिमिर्ची, नूनतेल, दालचामल र लत्ताकपडाका भाह्री । तिनका निधारदेखि चुहेका पसिनाका धारा शरीरभरि बग्दै लुगासमेत भिजाएको स्पष्टै देखिन्थ्यो । दुःखले भिजेको जीऊज्यानलाई पनि मायाले सुम्सुम्याउँदै र मुस्काउँदै आफ्नो गन्तव्यमा हिँडाइरहेका हुन्थे । तिनको इमान्दारिता र तिनको सरल जीवनशैलीभित्र जीवनको शाश्वत सुन्दरता समेटिएको देखिन्थ्यो । वास्तवमा त्यही जीवन नै सत्य र सुन्दर हुन्थ्यो ।

कोही रुखबाट खसेर घाइते बनेका र कोही भिरबाट लडेर मरणासन्न भएकालाई बोकेर अस्पताल झार्दै गरेका आफन्तजन आँखाबाट आँसु बगाउँदै दौडिरहेका भेटिन्थे । कति विरामी, रोगी र कति वृद्ध बूढाबूढीहरूलाई कोखेडोकोमा बोकेर हत्तारले बेल्टारतिर झार्दै गरेको दृश्य देख्दा लाग्थ्यो गाउँमै छ प्रशस्त मायाममता र छरछिमेकी बीचको साथसहयोग, आडभरोसाका असीम भावनाहरू । त्यही भावमा पहाडे जीवनका सरलता पनि प्रकट हुन्थ्यो ।

एकपटक मैले यस्तै मर्मस्पर्शी दृश्य देखेको थिएँ । खोटाङको कुनै अनकन्टार गाउँबाट केही गाउँले युवाहरू मिलेर एक घाइते ज्यानलाई पानी पिलाउँदै, पङ्खाले हम्किँदै हत्तारिँदै अस्पतालतिर दौडाइरहेका थिए । घाइते मानिस चोटको पीडा सहन नसकेर चिच्याइरहेको हुन्थ्यो । उनलाई ल्याउने आफन्तजन झन अत्तालिन्थे । कोही केही हुँदैन अब हामी अस्पताल पुग्नै लाग्यौं भन्दै सम्झाउँथे । कोही पानी ख्वाउँथे । कोही हातखुट्टा सुम्सुम्याइदिन्थे । तर घाइते आत्माको छटपटी र चित्कार ब्वाँखोलाको चकमन्नतालाई तोड्दै पर–परसम्म पुग्थ्यो ।

ती घाइते चिच्याइरहेको हुन्थे– मलाई छिटो अस्पताल पुर्याऊ । मलाई बचाऊ । मैले अब सहन सकिनँ । मैले सास फेर्न सकिनँ । मलाई गाह्रो भइसक्यो । मलाई छिटो बचाऊ । मेरो घाउमा औषधी लगाइ देऊ । मलाई छिटो औषधी ख्वाऊ । अब मैले धेरै सहन सकिनँ । अब मलाई यै ब्वाँखोलामा बगाइ देऊ । मलाई मुक्ति देऊ । मलाई शान्ति देऊ ।

घाइतेको यस्तो चित्कार सुन्दा चराचुरुङ्गी पनि चुपचाप हुन्थे र भावुक बन्थे । बाटो हिँडिरहेका बटुवाहरू को मान्छे, के भएको हो ? आदि प्रश्न गर्दै सुस्वास्थ्यको कामना गर्दथे । तर हेर्दाहेर्दै र अस्पतालतिर दौडाउँदै गर्दा घाइते ज्यानले घाउको चोट सहन नसकी मृत्युवरण गर्न बाध्य हुन्थ्यो । त्यसपछि घाइते ल्याउने मान्छे मात्रै होइन कि त्यहाँ भेट हुने सारा यात्री पनि आँसु बगाउँदै श्रद्धाले मन रुवाउँथे । मानवीय नाताको त्यो एकाकार भावना त्यहाँ स्वतः प्रकट भएको मैले देखेको छु । ती दृश्यले मलाई पनि निकै व्यथित बनाएको घटना पनि म बिर्सन सक्दिनँ ।

यसरी यो ब्वाँखोलाको बगरमा मानवीय नाताको चोखोपन भेटिन्थ्यो । धरान, विराटनगर, राजविराजतिर पढ्न गएका र पढेर फर्किएका युवापुस्ता यसै बगरमा हिँडिरहेका हुन्थे । कोइलाखातमा कमाउन जाने र कमाएर र्फिर्कएका गाउँका गरिबवर्ग पनि यही बगरको बाटोमा पसिना पुछ्दै लम्किरहेका हुन्थे । अघिपछि भरिया लिएर मलायाबाट बिदामा आएका लाहुरेहरू रेडियो घन्काउँदै फूर्तीका साथ आइरहेका पनि यही भेटिन्थे । दोकानका लागि भाह्री बोक्ने भरिया पनि यही बाटोमा सुस्ताइरहेका, पाइला घिसारिरहेका अनि एक जाति, एक भाषा र एकै मानवीय आत्मामा मिलेर हाँसिरहेका भेटिन्थे ।

वाजिपाला र घोर्लेमा फलेका पहेंला सुन्तलाका ढाकर बोकेर बेल्टार आइरहेका गाउँलेसँग त्यही बगरमा जम्काभेट हुन्थ्यो । कागति, रिट्ठा, अलैंची, मेल, चिराइतो, सिन्कौली, अम्लिसो आदिको भाह्री बोकेर बेल्टार जाँदै गरेका ढाक्रेहरूको लस्कर यहीँ हुन्थ्यो । तिनको ढाकरबाट गुन्द्रुक र सिन्कीको वास्ना फैलिरहेको हुन्थ्यो । त्यसले सहरबाट गाउँ जाँदै गरेकाहरूलाई घुटुक्क थुक निल्न लगाउथ्यो । कतिले मकैभटमास खाँदै, मही पिउँदै र जाँडको घुट्की लगाउँदै बाटो काटेको पत्तै पाउदैनथे ।

उनीहरूले ती ग्रामीण उब्जनी बेचेर त्यसको पैसाले घरका लागि आवश्यक सामान ल्याउँथे । तिनले तोक्मामा ढाकर अड्याएर गाउने लोकभाका स्थानीय जीवनको साक्षात् चित्रण गरिएको हुन्थ्यो । ती भाकामा उनीहरूले आफ्ना दुःख र पीडाका साथै प्रेमका मीठा भावना गुञ्जाउँथे । बेल्टारबाट घर फर्किदा उनीहरूले घरमा धेरै खुसीका कोसेली ल्याउँथे । केही दिनलाई घरमा नूनतेलको छेलोखेलो हुन्थ्यो । चिया पनि चखिलो पाक्थ्यो । तरकारी पनि चर्को हुन्थ्यो । लुगाफाटाहरू पनि नयाँ हुन्थे ।

बगरमै भेटिन्थे– कहिल्यै नभेटिएका गाउँले र आफन्तजनहरू पनि । स्कुलका सर र साथीहरू पनि भेटिन्थे । बगरको धापमा स्वाँस्वाँ गर्दै मुस्किलले पाइला सार्दै गरेका हेडसर र रेवती सर चुपचाप हिँडिरहेका हुन्थे । मस्तीले गफमा भूलिँदै हर्क सर र मकर सर कहिले विवाद र कहिले मिलाप गर्दै त्यही बगरमा ओहोर–दोहोर गर्दै गरेका हुन्थे । नागढुङ्गाका काका, सुरुङखेले, माल्बासेका बस्नेतहरू, गोगुनबासेका दाइ, गणपानीका कटुवाल दाइ, निगालबासे जेठा, हुमपोखरीका कार्कीहरू पञ्चमीकी रइनी, नयाँघरे काका आदि यतै आउजाऊ गरिरहेका हुन्थे । लुगा सिउने मेसिन बनाएर फर्किएका सानोखड्गे, पुछारघरे कान्छा दमाइ बगरको शीतलमा आराम गरिरहेका हुन्थे ।

नमस्ते, जदौ र ढोग गरें है भनेको आवाज पनि साटासाट भएको देख्न पाइन्थ्यो, सुन्न सकिन्थ्यो । आपसी आत्मीयताको सुन्दर ग्रामीण संसार त्यही बगरको फेंदिदेखि पुछारसम्म छरिएको हुन्थ्यो । त्यो पुछार भन्नु सप्तकोशी अर्थात् ब्वाँजरघाट हो । त्यही घाट तरेपछि उदयपुर जिल्ला आउँछ र त्यहाँको बेल्टार बजारमा किनबेचको ठूलो मेला लाग्छ ।

चिसापानीका सिउरामे, चामे दमाइ, बितलपका कुमाले, कामी, खाल्लेका सार्की, सुरुङ्खेलेका बस्नेत, मालबासेका पुरेत र जोगीसँग पनि यही बगरमा जम्काभेट हुन्थ्यो । खानेपानीको पाइप, स्कुलको जस्तापाता, झोलुङ्गे पुलका बडेमान सामानहरू आदि बोकेर ल्याउनेहरूको कठिन अवस्था पनि देखिन्थ्यो । ज्यानले थाम्न नसक्ने र उकालो ओह्रालो गराउनसमेत मुश्किल सामान ज्यानै माया मारेर ज्यालाका निम्ति बोक्न उनीहरू विवश थिए ।

त्यस भेटमा उनीहरूमध्ये अधिकांश गाउँलेले मलाई कहिले आएको कान्छा रु कहिले फर्किने कान्छा ? भनी गर्ने प्रश्न यही हुन्थ्यो । यही एउटै प्रश्न सुन्दा र तिनको उस्तै उत्तर दिनुपर्दा म कतिपटक हैरान हुन्थें । कतिपटक वाक्क–दिक्क बन्थें । तैपनि बगरमा पछारिँदै, ब्वाँखोलामा कैयौं पटक चोबलिँदै गाउँलेसँगको छोटो भलाकुसारी पनि मीठो लाग्थ्यो ।

चारधाम पुगेर घर फर्किदै गरेका बूढाबूढी फूल र प्रसाद बाँड्दै आइरहेका हुन्थे । उनीहरूसँग भेट हुनासाथ सर्वप्रथम चारधामको बखान गर्न थालिहाल्थे । भन्थे– ओ हो हो, कति धर्मात्माहरू, कति मन्दिर र कति मूर्तिहरू, कति भगवानहरू । हामीले त देवताको पूजा गर्नै जानेका छैनौं । न मन्दिर बनायौं, न मूर्ति राख्यौं । त्यसै भएर त हामीले दुःख पाएको होला नि । जीवनमा एकपटक त चारधाम जानै पर्छ है बाबु हो ।

ब्वाँखोलाकै बगरमा कुम्लोकटुरो, सारा झिटी गुण्टा बोकेर बसाई जाँदै गरेका ताँती पनि हुन्थ्यो । पुराना खाट, बाकस, दराज, भाँडाकुँडा, वस्तुभाउ, कुकुर, विरालो, कुखुरा आदि सबै लिएर लामो लस्करमा लालाबाला, युवा, बूढा बसाई गइरहेका हुन्थे । तिनले बगरमा भेटिने जतिका मन रुवाउथे । तिनीहरूका आँखा पनि ओभानो हुँदैन थिए । यस्तो बसाई जानेहरू कतिका छोराछोरी पढेर गाउँ फर्किन नचाहेका र कति गाउँमा बस्ने वातावरण नभएपछि गाउँ छोड्न बाध्य भएका थिए । खासगरी माओवादी द्वन्द्वकालमा धेरै गाउँले गाउँबाट विस्थापित भए ।

बसाई हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ भने जस्तै त्यस्तै हुन्थ्यो । अब फेरि कहिले भेट होला रु कहाँ बसाई गएको रु किन गएको रु रमाइलो गाउँघर, इष्टमित्र चटक्कै छाडेर बसाई जानु नहुने थियो आदि ।

त्यस्तै गाउँघरका बूढाखाडा वस्तुभाउ बटुलेर बेच्न लैजाँदै गरेको हुल पनि भेटिन्थ्यो बगरमा । गाजले र फुर्केगोरु, तारी र पातलीगाईका पुच्छर निमोठ्दै, बूढो हड्डीमा हिर्काउँदै व्यापारी नाफाको हिसाब गर्दै हिँडिरहेका हुन्थे । ती विचरा गोरु हट्टाकट्टा हुन्ज्याल खेतबारी जोत्ने काममा मान्छेलाई मद्दत गरे । त्यस्तै दुहुनो बनेर बिहान बेलुका ढुङ्ग्रोभरि दूध दिउँन्जेल सबैकी प्यारी भएकी गाई थारो भएपछि गोठमा रहन अयोग्य भइन् । यस्ता बूढाखाडा गाईवस्तु बेच्ने मान्छे पनि कति निष्ठुरी हुन् ?

बेचिएका ती बूढाखाडा वस्तुभाउलाई रातदिन लगातार हिँडाउँछन् । बगरमा दौडाउँदै गर्दा कति पशुको त्यही अन्त्य भएको पनि मैले देखेको छु । कोशीको पानीमा हिरिक्क पार्दै डुबाएर बेल्टार, फत्तेपुर, कञ्चनपुरसम्म लगेर मोलमोलाई गरी व्यापारीहरूले बेच्ने गर्दछन् । पशु अधिकारको कुरा यहाँ लाग्दैन सायद । लागू हुन्थ्यो भने बूढा वस्तुभाउ बेच्न नपाइनु पर्ने हो ।

यो कम हृदयस्पर्शी घटना होइन । मैले कैयौ गाईगोरुका वृद्ध आँखामा आँसु बगेको देखेको छु । हिँड्न नसक्दा पनि तिनलाई लाठी लगाएर पिट्दै बगरेलाई बेच्न लगिन्छ । बाँचुनज्याल पनि आराम गर्न पाउँदैनन् तिनले । यसै सन्दर्भमा तराईबाट पिँजडामा बन्द गरी सुगा, मैना चरालाई गाउँघरतिर बेच्न ल्याउने मान्छे पनि भेटिन्छन् ।

तिनले स्वतन्त्र बनजङ्गलमा उडेर जीवन गुजार्ने पक्षीलाई समातेर यसरी पिँजडाभित्र बन्द गरी तिनको जीवनभरिकै सुख समाप्त पारिदिन्छन् । तिनै पक्षीलाई बेचेर पैसा कमाई आफू सुखी र खुसी हुने गरेका निर्दयी मन पनि यही बगरमा भेटिन्छन् । यौटै समाजमा बस्ने समुदायबीच पनि भिन्नता र समानता छ । मित्रतासँगै बैमनश्यता पनि विद्यमान भेटिँदोरहेछ ।

यसबाहेक केटी भगाएर कोशी कटाउन सास न बास हुँदै सुटुक्क बतासिएर भागेका जोडी पनि यहाँ हुन्छन् । उनीहरू ब्वाँखोलाकै बगरमा लुकिछिपी हिँडिरहेको मैले भेटेको छु । अनि गाउँकी सोझी केटीको अस्तित्व लुटेर लोकलाजले गाउँ बस्नै नसकी सहरतिर टाप कसेका कति बदमास केटाहरू हुन्थे । अनि कति आफ्नो पहिलो पतिलाई त्यागेर अर्कैसँग भागेकी बेइमान पोइल हिँडेकी पतित पत्नी पनि भेटिन्थे ।

गाउँ घुम्दा, पहाड चड्दा वा तराई जाँदा स्थानीयसँगको भेट र भलाकुसारीबाट थाहा हुन्छ हाम्रो समाजमा चेतनाको ठूलो अभाव छ । चेतनशील भनाउँदो समाज पनि अन्धविश्वासी छ । थाहा नपाएकाहरूलाईभन्दा पनि थाहा पाएकाहरूले नै समाजलाई अगुवाई गर्न सकेका छैनन् । उनीहरूको काम गर्ने तौर–तरिका समयसापेक्ष छैन । उनीहरू आफूबाहेक अरुको कुनै वास्तै गर्दैनन् ।

धेरैको मुखबाट सुनियो– हामीकहाँ कानूनी राज्यको सदुपयोग भएको छैन । सरकारले जनतालाई दिने सेवा र सुविधाको कुरा एकादेशको कथा भइरहेको छ । अनि समाज विसङ्गत बनिरहेछ । गाउँ झन–झन अनकन्टारको अपठ्यारा वस्ती बनिरहेको छ । गाउँमा पानीपँधेरो, बाटोविजुली, रोजगारी र अवसर सबै ल्याइदिन्छु भन्ने नेताहरू गाउँ फर्किएर आउँदैनन् । गाउँमा त अब पढेलेखेका शिक्षित पुस्तासमेत बिरलै भेटिने कुरा पनि थाहा भयो । गाउँलाई अभावै अभावले खाइसकेको रहेछ ।

यस किसिमको विसङ्गतमय परिस्थितिबाट मुक्ति आजको आवश्यकता हो । तथापि अवस्थामा सुधार हुन नसक्दा कति व्यक्ति र कति समाजका कति समुदायको जीवनयात्रा अत्यन्तै कष्टकर हुने गरेको पाइन्छ । करेसामा सुन्तला र कागति फले पनि त्यो बेच्न गाउँमै बजार छैन । बिरामी हुँदा अस्पताल र स्वास्थ्यचौकी पनि छैन । गाउँलेका घरसम्म नून पुग्न हप्तौं लाग्छ । त्यो पनि आफैँले ढाकर नबोकी सुख छैन । अलिनो तरकारीमा स्वाद हुँदैन । चिया पिउन चिनी किन्न पनि ब्वाँखोलाकै बगर छिचोलेर बेल्टार धाउनु पर्छ । अँध्यारोलाई धपाउन मट्टितेल किन्न पनि त्यही ब्वाँखोलाको बगर हुँदै बेल्टारै झर्नु पर्छ । बेल्टार पुगेर फर्किएपछि सबै कुरा घर भित्रिन्छ ।

यसरी ब्वाँखोला नटेकी सास फेर्न सकिन्न । ब्वाँखोला नहिँडी घर चल्न सक्दैन । ब्वाँखोला नपुगी गाउँलाई बुझ्दा पनि बुझिँदैन । ब्वाँखोलाले गाउँ र सहरलाई जोडेको छ । मानिसलाई भेटघाटको चौतारी जुटाइ दिएको छ । त्यसैले ब्वाँखोला ग्रामीण जीवनको प्रतिविम्ब पनि हो । सायद ब्वाँखोला र बगर जीवन र मृत्युको विम्ब पनि हो । अर्थात् ब्वाँखोला जीवन र बगर मृत्यु हो । यही जीवन–मृत्युका बीच हाम्रो जीवनयात्रा हिँडिरहेको छ ।

यही ब्वाँखोलामा मैले पनि कैयौं पटक ओहोर–दोहोर गरेको छु । यसो गर्दा मैले सधैं यहाँबाट धेरै कुरा सिक्दै आएको छु । धेरै जनासँग भेट्दै आएको छु । गाउँलाई हिँडेर पहाड चढ्नु र झर्नुको दुःख अनि समयको अभावमा यसरी ब्वाँखोलामै सबैसँगको साक्षात्कार सुखद लाग्दछ । हिजोका स्मृतिलाई फर्किएर हेर्दा आज परिवर्तन पनि आइसकेको रहेछ । किनभने ब्वाँखोलामा ढाक्रेज्यान भेटिएन । बगरका बाटाभरि खच्चडले सामान ओसार्न थालेको देखियो । गाउँलेबीच हाइहल्लोको आत्मीयता बिरानिएर गइसकेको रहेछ । कसैलाई कसैको वास्ता थिएन । सबै आफ्नै धुनमा थिए ।

ब्वाँखोलाको बगरमा कहाँ भेट्नु वाजिपाला र घोर्लेको मीठो सुन्तला ? कहाँ पाउनु एकरातको बास र एक छाकको भात ? थाकेर मिठो सपनाको कुरा अब देख्न नसकिने भएको रहेछ । ब्वाँखोला पनि बौलाएरबाटै बिगार्दै बगिरहेको देखियो । बटुवाहरू बाटो–बगरमा मुश्किलले हिँडिरहेको भेटियो । कति बेला त बगरै सुनसान जस्तो पनि हुन्थ्यो । कतै चिनारु थिएनन । कतै गाउँले गीत गाउँदै बेल्टार दौडिरहेका थिएनन् । कतै कोही आइरहेका–गइरहेका थिएन । ब्वाँखोला एक्लै–एक्लै सुक्सुकाउँदै अविरल बगिरहेको थियो ।
ब्वाँखोलाको एकोहोरो स्वाँसँगैको यात्रामा जीवन–दर्शनका धेरै सन्दर्भ जोडिँदो रहेछ । स्याउको सुकुटी टोक्दै पीडाको चोट बिर्सिन ब्वाँखोलाको बगरले सक्दैन । धेरैपछि गाउँ जाँदा देखियो– ग्रामीण भेटघाटको त्यो थलो परिवर्तन भइसकेको रहेछ । राजनीतिक वादले आपसमा विभाजन ल्याइ दिएछ । ब्वाँखोलाको बगरमा छरिएका पात्र र पाटाहरू पनि परिवर्तन भइसकेका रहेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *