सीमान्त जीवन !


पात्रहरू:-
बूढा बा: भीख माग्न विवश अपाङ्ग वृद्ध
छोरो: बूढा बाको पुत्र, वर्ष ३६
बुहारी: बूढा बाकी बुहारी, वर्ष ३४
नातिनी: बूढा बाकी नातिनी, वर्ष ११
नाति: बूढा बाको नाति, वर्ष ८

क्षितिजमा घाम डुबिसकेको एउटा गोधुलि सन्ध्या । शहरमा सवारीसाधन र मान्छेको भीडभाड, कोही वासस्थान जान हतारिरहेका त कोही रात्रीकालीन जागिर आदिका लागि निस्किएका । दिनभर सडकपेटीमा भीख मागिरहेको एउटा अशक्त, अपाङ्ग वृद्धलाई ह्वीलचेयरमा राखेर उसको छोरो डेरातिर लाँदैछ ।

छोरो: बा ! आजको कमाइ कस्तो भयो त ?

बूढा बा: खै बाबु, आजकालका मान्छेहरू सारै स्वार्थी भएजस्ता छन् । दिनभर हात फैलाउँदा, बाटोमा ओहोरदोहोर गर्ने हजार जनासँग माग्दा त्यही तीस चालीस जनाले पाँच दश रुपैयाँ फाल्दा हुन्, धेरैले त सिक्का दिन्छन् ।

छोरो: महङ्गी दिनदिनै बढ्दैछ तर तपाईंको कमाइ भने झनझन घट्दैछ, खै कसरी टार्नुपुर्याउनु !

बूढा बा:भोलिदेखि अलि अन्तै लगेर राख्दे न त, यो माहाङ्काल अगाडि बसेको पनि धेरै साल भो । यो बूढालाई कतिदिनुभन्दा हुन् ।

छोरो:खै अन्त नि काँ लानु र ! पशुपतितिर लैजाउँ भने त्यहाँ पनि लगेकै हो । दिनको डेढ दुई सयभन्दा बढ्ता भा’को हैन ।

बूढा बा: यो पैसो पनि कति सस्तो भा’को हो आजकाल । तँ जन्मेपछि छोरालाई दुध खुवाउनुपर्छ भनेर तेरा आमाले खनखन गरेपछि ऋण काढेर चौध बीसमा लैनो भैंसी ल्याको’थें । त्यही ऋण तिर्न नसकेर साहूलाई घरजग्गा बुझाएर जन्मथलो छोड्नुपर्यो । तेरा आमालाई रोगले थला पार्दा पनि उपार लाउन सकिनँ । ऋण दिने त कोही थिएनन् तैपनि म जसरी पनि ऋण काढेर तेरो उपार लाउँछुभन्दा छोरालाई ऋणको भारी बोकाउनु हुदैंन, हामी त रोगै नलागे नि मर्ने बेला भइहालि म नि भन्थी । उपारै नपा’र अकालमा ज्यान गुमाई, बरु यहाँभन्दा उतै सुख होला उस्लाई । म नि उपार नपाएरै यो नरकको जिन्दगी गुजार्दैछु ।

छोरो: ऊ जमानाको कुरा गरेर हुन्छ अहिले ? डेढ दुई सयले त अचेल पेटभरि एकथाल भात पनि आउन मुस्किल छ । तपाईंको उपचार गर्न नखोजेको त कहाँ हो र ! कतिपल्ट अस्पताल लगें मैले ? गाउँमा भा’को जग्गाजमिन तपाईंले उहिले सकिहाल्नु’भो ! जायजेथा केही छैन, हाम्रो बुताले नभ्याउने भएपछि के लाग्यो र ?

बूढा बा: छोड्दे यस्ता कुरा, भावीले छैंटीमा जे लेखेको छ त्यही हुने हो । यो सबै दैवको खेल त रै’छ नि ! भोलि कसलाई के हुनी हो अहिले कसलाई के थाहा छ र ? बरु बाबु तँलाई भोक लागे जस्तो छ, अनुहार पनि निन्याउरो छ, केही किनेर खा जा ।

छोरो: छैन छैन । यति पैसा नि यतै खर्च गर्यो भने त के गर्नु बा !

बूढा बा: तँलाई बुहारीले सारै टोकसो गर्छे जस्तो छ है ? मलाई उमेरमै दीर्घरोगले समाइहाल्यो, नत्र तिमीहरूको लागि कमाएर, जमाएर राखिदिने ठूलो इच्छा थियो । (खुइया…सुस्केरा हाल्दै)के गर्नु र बाइ आफूले सोचेझैं नहुदोंरै’छ ।

(गन्थन गर्दागर्दै बाउछोरा डेरामा पुग्छन्, नातिनातिनी पैसाको पोको खोलेर गन्छन्, भाग लगाउँछन्, नमिलेर झगडा गर्न खोज्छन्)

बुहारी: आजकाल त यी दुइटा केटाकेटीलाई खाजा खाने खर्च पनि कमाउन छोडेछन् तिम्रा बाउले ।

छोरो: मैले के गर्नु त ? कि म पनि बाउसँगै जाउँ त ?

बुहारी: खै जेसुकै गर, चामल पनि सकिन लागिसक्यो, घरभेटी भाडा माग्न दुईचोटि आइसके । तिम्रो कमाइ पनि सबै देखाउँदैनौ आजकाल, म त सक्दिनँ यो सबै घरधन्दा धान्न ।

छोरो: कमाएको जति सबै तँलाई बुझाएकै छु, तेरो पापमनले खै के के सोच्छ कुन्नि !

बुहारी: भोलिदेखि बाउलाई अलि रोइकराइ गरेर, आईया आत्था गर्न लगाएर माग्न लगाउनु पर्छ । त्यसै चुपो लागेर बस्ने हो भने त कसले दिन्छ र ! पैसा कसलाई बढी हुन्छ र ?

बूढा बा: रुँदारुँदा आँशु त सक्किसके बाई मेरा । छोरो जन्मदाँ खुशी भएको यो मन जब यो बिरामी हुन थाल्यो त्यहाँदेखिन् रुन थाल्यो । यसले खाना नखाँदा पनि के भयो भन्ने पीर लाग्थ्यो । योभन्दा अघिको छोरो छ महिनामा परलोक भएको थ्यो, त्यही भएर यसको खुब ख्याल गरेर हुर्काएका हाम्ले । तेरी आमाको उपार लाउन नसक्दा मैले आफ्नो जिन्दगीलाई धिक्कार्दै कति रोएँ कति ! आमाले छोडेर जाँदा अनि मलाई प्यारालाइसिस भएर अपाङ्ग भएपछि सडकपेटीमा बसेर दुनियाँसामु हात फैलाउनुपर्दा पानीको मूल पनि सायद त्यति बग्दा सुक्दो हो तर आँशु सुकेन । तिमीहरूले मलाई रुन सिकाउनै पर्दैन बाई । जसले रुन बाध्य गराउँछ त्यसैले सिकाउनुको के अर्थ हुन्छ र ? आफै भक्कानो फुटेर आउँछ । कसैले पैसा झार्न स्वाङ पारेको भन्छन्, कतिपयले अनेक शब्द फलाक्दै हिड्छन् । कोहीकोही मनकारीले दुई पाँच रुपैयाँ फालिदिन्छन् । आफैलाई धिक्कार्दै दिनभर रोएर थाकेको म जब यहाँ आउँछु तिमारको गन्थन र व्यवहार देखेर रातभर रुन्छु । म रोएको म बाहेक कि त्यही सडकपेटीलाई थाहा होला कि त शिरानीलाई । तर तिनीहरूलाई थाहा भएर पो के हुन्छ र ? हुनुपर्ने मान्छेलाई थाहा भए पो !

(बूढा बा आँशुसँगै घुँक्कघुँक् असरल्ल पीडा पोख्छन् ।)

छोरो: ल ल धेरै रुनुपर्दैन, रोएर के हुन्छ र ? खानलाउन मिल्ने होइन, समस्याको समाधान गर्ने पनि होइन ।

बूढा बा: आँशुको अर्थ र मोल तिमीहरूलाई के थाहा छ र ? मेरो त साथी नै यही आँशु हो र यसले मलाई मेरो एकमुठी सास छउन्जेल साथ छोड्नेछैन । मैले भनेको मान्छौ भने मलाई भोलि नै लगेर वृद्धाश्रममा राख्देओ, मेरो आत्माले आशिष दिनेछ । त्यसो गर्यौ भने मेरो यो कुरुप शरीर र अनुहार पनि हेर्नुपर्दैन अनि मेरो लागि एक छाक खानको जोहो पनि गर्नुपर्दैन । अचेल मेरो कमाइले नातिनातिनीको खाजा खर्च पनि धान्न छोडिसक्यो । बिस्तारै म तिमारको लागि बोझ बन्दै गइरहेको छु ।

छोरो: हैन बा, त्यसो नभन्नुस्………… ।

बुहारी: तिम्रा बाउको त्यस्तै इच्छा छ भने लग्देऊ न त उतै । कति न घरखर्च धानेको जस्तो !

बूढा बा: म आफै हिँड्न सक्ने भा’को भा आफै जाने थिएँ, तिमारलाई त्यति कष्ट पनि दिने थिइनँ ।

नातिनी: हैन हजुरबा तपाईं हामीलाई छोडेर कतै नजानू है ?

नाति: हजुरबा तपाईं काँ जाने ? मलाई पनिसँगै लानू है !

(बूढा बाले फेरि गहभरि आँशु पार्छन्)

बूढा बा: हैन नानी हो, तिमारू मसँग जान मिल्दैन । तिमारको संसार यही हो अनि मेरो संसार अर्कै छ ।

नातिनी: तपाईंको संसार कस्तो छ हजुरबा ?

बूढा बा: अहिले त्यस्तो कुरा बुझ्न सक्दैनौ नानी हो तिमारू । ठूलो हुदैं गएपछि बिस्तारै बुझ्दैजान्छौ ।

नातिनी: सबैकुरा बुझ्न कति ठूलो हुनुपर्छ हजुरबा ?

बूढा बा: मजस्तै हुनुपर्छ, ठूलो हैन बूढाबूढी हुनुपर्छ नानी । अँझ रोगी, अशक्त र अपाङ्ग भएदेखि झन छिटो थाहा हुन्छ ।

नातिनी: म पनि एकपटक तपाईंको संसारमा जान पाए हुन्थ्यो नि !

नाति: दिदी म पनि जान्छु है ?

बूढा बा: आत्तिएर हुदैंन नानी हो, सबैकुरा पालैसँग हुन्छ । पहिले तिमारका बुबाममीको पालो त्यसपछि मात्रै तिमारूको पालो आउँछ ।

(छोरा बुहारी झसङ्ग झस्किन्छन् र अनुहार कालोनीलो बनाउँछन्)

बुहारी: (छोराछोरीलाई हकार्दै)कति बाह्र सत्तरीका कुरा गरेर बसिरा’का, ल हिँड खाना खाएर लेख्नु पढ्नुपर्छ ।

(खाना खाएर अरु सुत्ने तरखर गर्छन् भने नातिनातिनी चाहिं किताब निकालेर पढ्न थाल्छन्)

बुहारी: (सुस्तरी)ए बूढा, अचेल तिम्रा बाउलाई कसले सिकाउँछ हँ यस्ता कुरा ! पहिले त यस्ता थिएनन् ।

छोरो: कसैले कसैलाई सिकाउनु पर्दैन यस्ता कुराहरू । समय, परिबन्द र अनुभवले धेरै कुरा सिकाउँछ । हामी पनि बूढाबूढी भएपछि यस्ता कुराहरू आफसेआफ सिक्छौं, जसरी हाम्रा बाउले सिकेका छन् ।
बुहारी: केपछि हाम्रो हालत पनि यिनै बाउको जस्तो होला त ?

छोरो: सायद योभन्दा गएगुज्रेको हुन्छ । बाउ त अपाङ्ग छन र पो धेरैको आँखा पर्छ र दुई चार पैसा बढी कमाउँछन् । त्यो बेला हाम्रो कमाइ बाउकोभन्दा थोर र महङ्गीले आकाश छोइसक्नेछ ।

बुहारी:कतै हामीले गल्ती त गरिरहेका छैनौं बूढा ! आफ्ना जन्मदिने बाउलाई त्यसरी सडकपेटीमा राखेर भीख माग्न बाध्य गराउनु के छोराछोरीको कर्तव्य यही हो त ?

छोरो: यो सब तेरै कारणले त भएको हो नि ! मेरा रोगी बूढा बाउलाई बसेको देखिसहिनस् ।

बुहारी: ल मैले त देखिसहिनरे ! तर तिमी त उसको रगत हैनौ र ? अहिले तिमी जुन अवस्थामा छौ त्यहाँ तिम्रा बाउको आधी अंश छ हैन र ?

नातिनी:(किताबमा छापिएको एउटा कथा पढ्छिन्)

एकादेशमा एउटा बूढा बा, उनका छोरा बुहारी र नाति थिए रे ! छोरा बुहारीले बूढा बालाई सारै हेला गर्थे रे………….. । एकदिन छोरा बुहारीले सल्लाह गरेर बूढा बालाई डोकामा हालेर………………नातिले आफ्ना बाउलाई त्यो डोकोचाहिं नफाली फिर्ता ल्याउनु भन्यो । ……………..पछि तपाईं बूढो भएपछि त्यस‌मन बोकेर लैजान सजिलो हुन्छ …………………… ।

नाति: दिदी कस्तो राम्रो रच, अर्को पनि भन न ।

नातिनी: पखै त…………. ।

बुहारी: छोरीले पढेको कथा सुन्यौ त बूढा ? पछि हाम्रो पालो पनि त्यही त होला है !

छोरो: त्यो त त्यही त हो नि ! घुमिफिरि रुम्जाटार भने झैँ सबले एकदिन बूढाबूढी हुनुपर्छ र हामीले बाआमालाई जस्तो व्यवहार गर्छौं पछि हाम्रा सन्तानले पनि त्यही व्यवहार सिक्छन् र त्यस्तै व्यवहार गर्छन् ।

बुहारी: त्यसोभए एकपटक सम्झ त, तिमी र म पशुपति मन्दिर अगाडि वा कुनै सडकपेटीमा बसेर पाँच रुपैयाँ दिनुस्न हजुर भनेर बटुवाहरूसँग हात फैलाएर भीख माग्दा कस्तो होला ?

(एकछिनको मौनता)

छोरो: अब मैले जस्तोसुकै दु:ख भोग्नुपरोस्, भोकै बस्नु किन नपरोस् तर भोलिदेखि मेरा बूढा बाउलाई भीख मगाउन कतै लिएर जान्नँ, जाँदै जान्न ।

बुहारी: अनि वृद्धाश्रममा लगेर पनि छोड्दिन भन न ।

छोरो: हो म मेरा बाउलाई काहीँ पनि लान्नँ, बाँचुञ्जेलसम्म उहाँकै सेवा गर्छु । आज छोराछोरीले मेरो आँखा खोलिदे ।

(उता छोरा बुहारीको कुरा सुनिरहेका बूढा बाका आँखाबाट फेरि आँशु झर्छन्)

(पर्दा खस्छ)

कुमार काफ्ले
ओखलढुंगा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *