Skip to content

शिक्षक साहित्य – माष्टर दाजुको आइडिया

NandaLalAcharya-08


वि. सं. २०३६ सालतिर नरे माइलो ६ वर्षमा हिँड्दै थियो । उसलाई घरमा पढाउने बाह्र वर्ष जेठा दाजु थिए । ऊ दाजुलाई माष्टर दाजु भन्थ्यो । आमाबुबाले उनलाई भनेका थिए– “भाइलाई सावा अक्षर र बाह्रखरी जान्ने बना । त्यसपछि तेरो कर्तव्य सकिन्छ ।”

माष्टर दाजुको नपिटी नसिकाउने बानी थियो । त्यसका लागि विभिन्न आइडिया लगाइरहन्थे । एकान्त भेट्नासाथ आमा भन्नुहुन्थ्यो– “अरू कुरा ऊ पछि आफैँ खोज्छ, अहिले फकाएर अक्षर चिना, शारीरिक दण्ड दिन सख्त मनाही छ । माया गरेर पढा ।”

“बिनासित्ती माइलोलाई छोइस् कि तेरो खैरात छैन ।” बेलाबेलामा बुबा पनि चेतावनी दिइरहनुहुन्थ्यो ।

स्कुल लैजानाका लागि बजारमा किन्न पाइने हलुका खालको सिलोट प्रयोग गरे पनि घरमा भने नरे माइलाले काठको बडेमानको सिलोटमा रातो माटाको धुलो हाली बाँसका सिन्काले लेख्नु पर्थ्यो । एक दिन माष्टर दाजुले सिलेटमा ‘क’ लेखिदिए र त्यो हेरिहेरिकन दिनभरि लेख्न र पढ्न सिक्ने अनि साँझमा लेखेर देखाउने कार्य सुम्पिए । छुट्टिँदा, छुट्टिँदै चेतावनी दिए– “खबरदार ! मैले लेखेको ‘क’ जस्ताको तस्तै हु्नुपर्छ ।”

ऊ ‘क’ लेखिएको धुलौटे सिलोट टाउकामा होसियारपूर्वक बोकेर बाख्रा चराउन जङ्गल पुग्यो । लेख्न बस्यो । हेर्छ त धुलामा ‘क’ विलाइसकेको थियो । राम्ररी खोज्यो कतै पाएन । ला, अब बर्वाद भयो भन्ठान्यो । र, आफ्नै अनुमानले त्यस ठाउँमा ‘क’ लेख्यो ।

त्यसैलाई हेरीहेरी उसले सिक्ने प्रयास गर्यो । धेरै बेरको प्रयासपछि अन्ततः सिकी छाड्यो ।

साँझमा माष्टर दाजु र विद्यार्थी भाइ बीच सम्वाद सुरुआत भयो ।

–“ए केटा ! ‘क’ लेख्न सिकिस् ?”

–“सिकेँ । सजिलो भयो । अब कहिल्यै बिर्सन्न ।” नरेले प्रसन्न चित्तमा वृतान्त वतायो ।

–“ल, लेखेर देखा ।”

नरेले हत्त न पत्त आफूले सिकेको ‘क’ लेखेर देखाइदियो । वास्तवमा त्यो ‘क’ नरेको अन्तर्हृदयले अनुमान गरेको ‘क’ थियो । देवनागरी लिपीको कुनै वर्ण थिएन ।

देख्नासाथ माष्टर दाजु मुस्कुराए अनि आफ्नो हात नरे माइलाका कन्सिरीतिर बढाए ।

नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *