प्रियसी,
गहिरो सम्झना
वसन्तको आगमनसँगै
हरेक बिरुवामा पालुवा पलाउँछ
खहरे अनि ती उजाड लाग्दा
ती निश्छल पहाडहरूलाई
हरियालीले सजाइदिन्छ
निस्सासिएको जीवनमा
वसन्तको वहार पैदा हुन्छ
अनि दिउसै ताराहरूपनि
घामभन्दा बढी चम्किरहन्छ ।
प्रियसी
गीत गाउँन नआएपनि
लय हाल्न तत्पर हुन्छ
मुटु भित्रको गहिरो चोटपनि
मुटुमै बिलाउने कोसिस गर्छ
तिम्रो ती अमर र अजर प्रेममा
जहाँ गुलाबको फुल फुलिरहेको हुनेछ
जहाँ हजारै वर्षसम्म पनि
चन्द्रमाले मुस्कान छरिरहेको हुनेछ
जहाँ वसन्तको बहारसँगै
प्रियतमको आगमनमा
ती रसिला आँखाहरूले चिहाइरहेको हुनेछ ।
प्रियसी
ती औंसीको रातमा पनि
तिमी तारा बनी चम्किरहने छौ
जहाँ मुटुको स्पन्दनसँगै
तिमी पूण्य भूमिमा रमाइरहेको हुनेछौ
वेदनाको दिनमा पनि
हाँसीहाँसी आफैलाई सम्झाउने छौ
जीवनको हरेक भोगाइलाई
आनन्दको प्रत्येक पल ठान्दछौ ।
प्रियसी
स्मिृतीका ती पानाहरूमा तिमी
जीवन र जन्मको अर्थ पाउनेछौ
हरेक वसन्तको आगमनमा तिमी
चन्द्रमा जस्तै मुस्कुराइरहेको हुनेछौ
तिमी स्वर्गको एक झुपडीको
ती सुन्दर झ्यालहरूबाट
कसैलाई चिहाइरहेको हुनेछौ
कसैको सम्झनासँगै तिमी
स्मृति पत्रको स्मरण गर्नेछौ ।।
जयदीप मगर
