Skip to content

शिक्षक साहित्य – देउताको मृत्यु


दस वर्षको नरे माइलो सानैदेखि एकाङ्गीपनमा रमाउने गर्थ्यो । साथीभाइ साथमा हुन्थे र पनि ऊ एक्लै हराउन चाहन्थ्यो । गोठालो गर्दा होस् कि स्कुल आउँदा–जाँदा होस् आफैँभित्र हराइरहन्थ्यो । जहिले पनि खुल्ला आकाशमुनि खुल्लै मनका साथ विचरण गर्न रुचाउँथ्यो । उसको रुचि सहकर्मीहरूलाई विल्कुलै मन पर्दैनथ्यो । त्यसैले सबैजसोले उसलाई ‘गाँडु’ भनेर गिज्याउँथे ।

नरे माइलाले मुखले कसैलाई मार्न जानेको थिएन । कसैले अति नै दमनको रणनीति अपनाएमा भने आँखा चिम्लेर जाई लाग्ने बानी थियो । ऊ कसैको सिको गर्न जान्दैनथ्यो । कुनै पनि वस्तुमा गहिरिएर हेर्दा चित्रविचित्र किसिमका क्षमता भेट्थ्यो । संसारमा वस्तुहरू एकै किसिमका कामका लागि अस्तित्वमा रहेका होइनन् भन्ठान्थ्यो ।

एकदिन उसले ढुङ्गामा देउता हुन्छन् भनेर मानिसहरूले ढुङ्गो पुजेको थाहा पायो । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्यो भनेर एक रात मन्दिर छिर्यो । निर्जीव ढुङ्गो अचल भएर ठडिएको थियो, जति बोलाए पनि, जति पुकारे पनि त्यसले आवाज निकालेन । ‘बोल, बोल ! बोल, देउता, बोल’ भन्दै अर्को ढुङ्गाले हान्न थाल्यो । हान्दाहान्दै ढुङ्गो फुट्यो तर देवता बोलेनन् । ‘ला, देवता त मरेछन् । देउताको त मृत्यु भएछ’ भनेर ऊ आत्तियो । हत्त न पत्त लुक्दैलुक्दै घर पुग्यो र बुबाको सिरकमा गुट्मुटियो ।

भोलिपल्ट ऊ ब्यूँझिनुपूर्व नै चारैतिर हल्लाखल्ला मच्चिसकेको थियो । गाउँमा नास्तिकहरूको धर्मविरोधी कार्य बढ्दै गएको कुरा चल्दै थियो । कतिपयले त देवतालाई टुक्रा पार्न सक्ने तागत कुनै मनुष्यमा नरहेको दाबी गर्दै थिए । नरेले आफ्नो हात हेर्यो, देउताको हत्या यिनै हातले गरेको हो भन्ने सोच्यो । अर्काको आस्था र विश्वासमा धावा बोलेको र सबैका देउतालाई मारेकोमा उसलाई आफ्नै हातदेखि रिस उठ्यो । काटेर मिल्काई दिऊँ कि जस्तो झोँक चल्यो । आफूले गरेको अपराध कबुल गरूँ कि जस्तो पनि लाग्यो ।

लगतै जोखाना हेरियो, धामी–झाँक्रीले ढ्याङ्ग्रो ठोक्न थाले । वनकाली रिसाएर यो उपद्रो गरेकी हुन् भन्दै सात दिनभित्र कालो बोको बली दिने कबुल गरियो । सुरुमा ऊ भने थुरथुरी थियो । आफ्नो उपद्रव वनकालीमा सरेकोमा प्रसन्न भयो । त्यसै बेलादेखि उसको मनबाट धामी–झाँक्रीप्रतिको विश्वास पनि उठेर गयो ।

नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *