Skip to content

साध्य र साधन


नभ वायु ताप जल, थल यो जगत सब
ब्रह्म सन्तान फगत, पन्च महांभूत सब

नभ अचल सदा नै, साक्षी बनी हेरी रही
मूक दर्शक भएर, बसेको केही नगरी

जेठो नभ कान्छो थल, बीचका तीन चन्चल
वायु ताप जलहरू, ज्यादै गर्ने हलचल

पाँच भाइमा कान्छो, दुर्बल रहेछ थल,
बीचका तीनले दिने, दु:ख कान्छैलाई सब

बैशाक जेठ आयो, वायु वेग सताउने
हुरी बमण्डर बनी, कान्छाको नै उडाउने

असार साउन आयो, जल वर्षा गरी धारै,
कान्छै माथि खन्याएर, दिने दु:ख धेर सारै

लेदो हिलो दलदल, थलथल नै बनाई
जड चेतन जीवात्मा, जलले लग्ने बगाई

पहाड पर्वत खनी, निवास जीवको पनि
थलचर बनचर, लग्दछ पहिरो बनी

तल समतल झरी, उम्लिने सागर सरी
घरबास डुबाउने, उर्लने घमण्डै गरी

तताएर ताप आगो, डढेलोले डढाउने
फागुन चैत महिना, आउँन हुँदै नहुने

ब्रह्मका सन्तान पाँच, स्वभाव भिन्न असाध्य
मानवका त मान्यता, फरकै हुन्छ साध्य

योग क्रिया साधन हो, साध्य हो आत्म दर्शन
शास्त्रीय वेद पुराण, साधन सब दर्शन

पद्मराज काफ्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *