Skip to content

पुरानै छ पूजा


पुरानै छ पूजा, धुपौरा पुरानै
पुरानै छ भान्सा, कचौरा पुरानै

भयो के र नौलो, प्रजातन्त्रबाट
सधैँ पाक्न थाले, फुलौरा पुरानै

बसे नित्य घेरेर नेतृत्वलाई
पुरानै छ सारी, र दौरा पुरानै

छ उस्तै सुरापान, उस्तै छ भोज
बनेकै छ छोला भटौरा पुरानै

भएको छ दुर्गन्धको रास ठूलो
खुदै थुप्रॅदै छन्, कुसौरा पुरानै

डसे दुर्दशाले, विरामी छ देश
बढे फेरि काला घमौरा पुरानै

चपाएर नेता बस्यो स्वाद मानी
भयौं देशवासी, तितौरा पुरानै

(भुजङ्गप्रयात छन्द )
-कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *