Skip to content


एकजना बालकले बूढो बृद्धलाई सडकको किनारमा होसियारपूर्वक डोहोर्याउँदै हुन्छ । बूढो वृद्ध अशक्त र कमजोर भएकाले बालकले मिनेट मिनेटमा रोकाउँदै अघि बढ्छ । एक हातमा लठ्ठी र एक हातमा बालकको हात समाउँदै खोक्दै र थुक्दै बुढो बृद्ध बालकको माया र स्नेहमै उसैको ईशारामा चल्छ । अन्तत: दुबै व्यस्त सडकको एक कुनामा अवस्थित “दिस एण्ड ड्याट” रेष्टुरेन्टमा पुग्छन् ।

बालकले खानेकुराहरू अर्डर गर्छ । शुरुमा त रेष्टुरेन्टभित्र खाइरहेका अरु मानिसहरू एकाएक त्यो बालक र बूढो बृद्ध देखेर अच्चम्ममा पर्छन । नजिकबाट नियाल्दा बुढो बृद्धको हात भाच्चिएकाले खुम्च्याएर छातीमा तेर्साएको हुन्छ । हेर्दा सात दशक नाघेको बूढो बृद्ध फुलेको कपाल र खुम्चिएर ठाउँ छोडेको गाला, त्यसमाथि अँझ हात भाच्चिएकाले देख्नेजति सबैको आङ सिरिङ्ग हुन्छ ।

केही मिनेटपछि अर्डर गरेबमोजिका खानेकुराहरू टेबलमा ल्याइन्छ । भोकाएको बूढो बृद्ध हतारिँदै खान शुरु गर्छ तर बालक भने टुलुटुलु हेरिरहन्छ । न त बृद्धले नै बालकलाई “खा” भनेर आज्ञा दिन्छ । बृद्धले देब्रे हातको सहाराले सकिनसकि खान्छ तर आधाजति सबै कपडामा पोखिन्छ । छिनभरमै लगाएको कमिजभरी पोखिएर टाटैटाटा बस्छ । मुखमा सपक्क हाल्न नजान्दाको परिणाम टेबलभरि पर्छ । फलस्वरुप दायाँ बायाँ बसेर खाइरहेका मानिसहरू बूढो बृद्धको खुवाई देखेर हेयता दर्शाउँछन् ।

वरिपरिका मनमनै “छि छि र दुरदुर”को दृष्टिले विकशित भएको भाव अनुहारमा प्रष्ट देखिन्छ तर बूढो बृद्धलाई भने अन्य केहीको वास्ता हुँदैन, न त वरिपरि नै कति मानिसहरू छन नियालेर हेरेको हुन्छ । तर यता चलाख बालकले भने एकचोटिमै हेक्का पाइसकेको हुन्छ । बालकलाई भने कसैले बृद्धलाई घृणित दृष्टि राखेको पट्क्कै मन पर्दैन । बालक सानै भए पनि बृद्धलाई डोर्याउँदा डोर्याउँदै थुप्रै मानवीय दृष्टिसँग परिचित भइसकेको हुन्छ । बृद्धलाई कसैले एक्लो नठानून भनेर बालक आफैले बृद्धलाई खुवाउन शुरु गर्छ । भएजति सबै खानेकुरा बालकले खुवाउँछ र अन्त्यमा टेबलमाथि चढीचढी कपडाभरि पोखिएको फोहोर, दाग र कत्लाहरू सबै पुस्छ । कलिलो बालकको बृद्धप्रतिको यस्तो स्नेह देखेर अघिसम्म नजरले घोच्ने जमातहरू मायारुपी आँखाहरू फिजाउँछन ।

रेष्टुरेन्ट भित्र अधिकांश प्रेमिल जोडीहरू भएकाले बृद्ध र बालक उनीहरूको प्रेमका अगाडि गौण हुन्छन । तर त्यसैको एक कुनामा एक जना प्रौढ अवस्थाको मानिस भने शुरुदेखि नै उनीहरूकै कृयाकलाप पछ्याइरहेको हुन्छ । बालकको बृद्धप्रतिको प्रेम देखेर त्यस मानिसको मन क्षणभरमै मग्नित र टोलित हुन्छ । एकाएक आँखाहरू रसाउन शुरु गर्छन् । मनमनै सोच्छ, “कस्तो असल नाति ! छोरोभन्दा प्यारो ।”

प्रौढको मनमा अनेक तरंगहरू पैदा हुन्छन् । उसले सोचमग्न अवस्थाको प्रसब चिन्तनबाट अन्त्यमा एक निचोड निकाल्दछ, “सन्तान होस त यस्तो ।”

उसले दुवैलाई हजुरबा र नातिको संज्ञा दिन्छ । बालकलाई हेरेर आफ्ना छोराहरू सम्झन्छ, नातिहरू सम्झन्छ तर कतै पनि त्यस बालकका स्वभावहरू भेट्दैन । तैपनि उसले रेष्टुरेण्ट भित्र बसेर खाइरहेका असड़्ख्य किशोरकिशोरीहरूमा बालकको कृयाकलापले मनमा क्रान्ति सृजना गरेको ठान्दछ । अन्त्यमा बालकले उसैगरी बृद्धलाई त्यस ठाउँबाट हिडाउँछ र खल्तीबाट दश डलर निकालेर बुझाउँछ । संगसँगै त्यस प्रौढ मानिस पनि हुन्छ । गेट बाहिर मुल बाटो टेक्नै लाग्दा प्रौढ मानिसले बालकलाई रोक्छ र सोध्छ ।

तिमीले भित्र केही छोडेनौ ?

बालकले बृद्धको लठ्ठी हेर्दै भन्छ, “अहँ, केही छोडेको छैन ।”

अन्त्यमा प्रौढले स्याबासिलो शैलीमा बताउँछ, “तिमीले आज असंख्य युवाहरूलाई एउटा सन्देश छोडेर गयौ । धन्य छ तिमीलाई ।”

बालक अच्चम्ममा पर्छ । वृद्ध र प्रौढ मुखामुख गर्छन् र मुस्कुराउँछन । बालक अघि बढ्छ ।

बिमल सिटौला, मोरंग

Leave a Reply

Your email address will not be published. Required fields are marked *