एक शिक्षकको शिक्षाविद्लाई प्रश्न


श्रीमान् शिक्षाविद्ज्यू,
मेरो नजरमा विद्यार्थीले तोकिएका कुराहरू समेटिएको पुस्तक मात्रै पढ्नै पर्छ भन्ने छैन । त्यसकै आधारमा फरक जानकारी लिन सकिन्छ । सबै प्रश्नको एक नासको उत्तर हुनुपर्छ भन्ने छैन । प्रश्नको प्रकृति र परिवेशअनुसार फरक धारको उत्तर पनि हुन सक्छ । अत: म उत्तरकुञ्जिकालाई अन्धाधुन्ध स्वीकार्ने पक्षमा छैन । प्रत्येक सिकारुमा फरकफरक प्रतिभा मडारिइरहेको हुन्छ । आफ्नो बौद्धिकताको भारी बिसाएर त्यसको मुण्टो निमोठ्ने अपराध गर्न चाहन्न । यसको अर्थ म कक्षामा पढाउन हैन समय कटाउन जान्छु भन्ने अर्थ बुझ्नु हुन्न । म त उनीहरूको सहयोगी मित्र भएर जान्छु । बिगारेको काम सपारिदिन्छु । अभाव भएको सूचना त्यसै बेला उपलब्ध गराउँछु । र, सिक्न असक्षमलाई उसकै भाका र लयमा आफैं बगेर सिक्ने बाटो प्रशस्त गरिदिन्छु । भनुँ न, विद्यार्थीको सिकाइ–लयलाई स्खलन गर्ने भूल कदापि गर्दिनँ । सिक्न जोस हुनुपर्छ तर होस्लाई अचुक अस्त्र सम्झनुपर्छ भन्न पनि भूल्दिनँ ।

महोदय, मैले त मेरा कुरा सुनाएँ । आफूले भाग्नुपरेका वेलिविस्तारलाई पनि सङ्केतकै रूपमा उल्लेख गरेँ । अब शैक्षिक क्षेत्रमा सुधार, परिमार्जन र संशोधनको काम गर्न नीतिनिर्माता जुट्नुपर्छ भन्दै छु । त्यसका लागि तल उल्लेखित कुरामा अबिलम्ब ध्यान पुगोस् भन्दै छु ।

–शिक्षामा थरिथरीका शिक्षक हुने प्रथा हट्नुपर्छ ।
–समावेसीको नाममा कमजोर व्यक्ति शिक्षक बन्ने अवस्था रहनुहुन्न । शिक्षा र स्वास्थ्य संवेदनशील क्षेत्र भएकोले समावेसीको कोटा अरू क्षेत्रमा हुने तर यी दुईमा गुणस्तरीय जनशक्ति मात्र राख्ने व्यवस्था गर्नुपर्छ ।
–भौगोलिक र सामाजिक अनुभूति दिलाउन शिक्षक सरुवा भइरहनुपर्छ ।
–शिक्षक नियुक्ति प्रणाली हचुवाको भरमा हुनुहुन्न ।
–सिकारुकेन्द्रित पाठ्यपुस्तक तयार हुनुपर्छ ।
–पुस्तकभित्रका विषयवस्तु र क्षेत्रले सिकारुलाई जिज्ञासु बन्न प्रेरित गर्नुपर्छ ।
–परीक्षामा मौलिक उत्तर लेख्नै पर्ने खालका प्रश्नहरूको वाहुल्यता हुनुपर्छ ।
–राम्रो अङ्क प्राप्ति नै प्रतिष्ठा आर्जनको आधार हुने अवस्था हुनुहुन्न ।
–लिखित परीक्षा मात्र विद्यार्थी मूल्याङ्कनको आधार रहनुहुन्न ।
–सबै क्षेत्रका शिक्षकलाई हेर्ने राज्यको दृष्टिमा समानता हुनुपर्छ । सरकारी र निजी भनेर विभक्त हुनुहुन्न ।
–कानूनबमोजिम नचल्ने वा चल्न नसक्ने विद्यालय अविलम्ब खारेजीमा पर्नुपर्छ ।
–यथोचित क्षतिपूर्ति दिलाएर असक्षम निजी विद्यालयलाई सरकारीमा गाभिनुपर्छ ।
–शिक्षक–कर्मचारीको सेवा र सुविधा मर्यादित र व्यवस्थित हुनुपर्छ ।
–मर्यादा भङ्ग गर्नेले दण्ड र मर्यादा पालकले पुरस्कार भेट्नुपर्छ ।
–विद्यालयमा शिक्षक–विद्यार्थी, व्यवस्थापन समिति सबैलाई राजनीति गर्न सख्त मनाही गर्नुपर्छ ।
–विद्यालयका हरेक गतिविधि पारदर्शी र अभिभावकद्वारा अनुमोदित हुनुपर्छ ।
–परीक्षा प्रणाली शिष्ट, मर्यादित र परीक्र्षीको मनोबल बृद्धि हुने खालको हुनुपर्छ ।
–स्थानीय व्यक्ति स्थानीय विद्यालयमा काम गर्ने शिक्षकको रूपमा हुनुहुन्न ।
–असक्षम र अमर्यादित शिक्षकलाई सक्षम बनाउन तालिम दिलाउने, चेतावनी दिने र त्यसले नपुगे सेवाबाट बर्खस्तसम्म गर्नुपर्छ ।
–शैक्षिक प्रशासनिक निकायले अनुगमन गरी बेलाबेलामा आवश्यक परामर्श दिइराख्नुपर्छ ।

आफ्ना साथमा भएका विद्यार्थीको सफल सिकाइलाई आफ्नो सौभाग्य ठान्छु । मौलिक चिन्तन प्रस्तुत गर्नेलाई सिक्दै गएको ठान्छु । घोकेर वा नक्कल गरेर अघि बढ्नेलाई सिकाइमा पछि सरेको मान्छु । अरूजस्तो सफल हुने ध्याउन्नमा आफ्नो मौलिक स्वभाव जबरजस्त त्याग्नेलाई महामूर्ख ठान्छु । अरूलाई उछिन्दा आफ्नो इज्जत बढेको महसुस गर्नेलाई पाइला–पाइलामा अनुत्तीर्ण भएको मान्छु । सिकारु हरेक क्षण र हरेक परिस्थितिमा प्रकृतिको एकनासे गतिझैं गतिशील हुनुपर्छ भन्ठान्छु । परिस्थिति अनुकूल आफू जाग्न र उठ्न सक्ने मान्छेले मात्र अरूलाई जगाउन र उठाउन सक्छ । त्यसैले पनि म हरतरहले जाग्न र उठ्न खोजिरहेको छु । पुरानो समयको सूचना र जानकारीले नयाँ समय र नयाँ पुस्तालाई नयाँ ज्ञान दिन सक्दैन भनेर म दिनहुँ नयाँ कुरा पढ्ने र चिन्तन गर्ने काम गरिरहेको छु । दिमाखलाई बोधो पार्ने सोच र संस्कारमा परिवर्तन गरिरहेको छु । कक्षाकोठामा विद्यार्थी मात्र प्रयोग गर्ने र सिक्ने गरिरहेका छैनन, म स्वय म पनि गरेर सिकिरहेको छु । नयाँ पुस्तासँग सङ्गत गर्दागर्दै म स्वय म समायोजित हुन खोजिरहेको छु । उमेरले विद्यार्थीभन्दा पाको हुँला तर सिकाइसंसारमा काँचै सम्झिरहेको छु । त्यसैले त नयाँ पुस्ताको शिक्षक कहलिन दिनहुँ स्वाध्यायनमा निर्लिप्त छु ।

यत्तिखेर म एक निजी विद्यालयको शिक्षकको हैसियतले पत्र लेख्दै छु । मेरा अनुभूतिले भन्न लगाएका कुराहरू अघि सार्दै छु । मेरो नजरमा कक्षाका सम्पूर्ण विद्यार्थीहरू एक नासका छन् । म सबैलाई शिक्षण क्रियाकलापभित्र समेट्ने प्रयास गर्छु । जानेर र चाहेर कसैलाई काखा र कसैलाई पाखा पार्ने काम मबाट विल्कुलै हुन्न । शिक्षणीय मूल्याङ्कनमा खरोसाथ उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूलाई विशेष समय दिन्छु । सिकारुअनुकूलको विशेष शिक्षण विधि अपनाउँछु । सिकाइ मैदानमा उत्रिएका सबै सिकारुलाई सक्षम बनाउने ठेक्का लिएको महसुस गर्छु । मेरो मनमा जस्तो उदार र सहृदयी भावना छ, त्यस्तै अरूमा पनि होओस् भन्ने चाहन्छु ।

त्यसैले त महोदय ! म मनका कुरा खोल्दै छु । शैक्षिक सरोकारका कुराहरू प्रेषण गर्दै छु । मेरा आँखामा यस धरातलका हरेक वस्तु र परिस्थिति ज्ञान आर्जनका खुल्ला पुस्तक हुन् । म बाहिरी जगत्का सूचनाबाट सन्तोष हुन्न । सिकाइले सिकारुको अन्तरहृदय खुल्नुपर्छ भन्छु । मैले पढाएका विद्यार्थीलाई सिक्न र विवेक प्रयोग गर्न छुट दिएको छु । कुनै प्रश्नको उत्तर मैले एक किसिमले दिएँ भने अर्कोले अर्कै किसिमले दिन सक्छ । त्यसो गरेमा म मौलिकताको खोजी गर्छु । नवीनताको महसुस गर्छु । अत: म आफू हत्तपत्त प्रश्नको उत्तर भन्दिनँ, उनीहरूलाई नै उत्तर खोजीको यात्रामा निस्कन लगाउँछु । आफूले अनुभूति गरेका कुरालाई लिपिबद्ध गर्न उक्साउँछु । प्रतिभा पहिल्याउन मात्र हैन शिक्षकले प्रष्फुटनको वातावरण र संस्कार दिनुपर्छ भन्ठान्छु ।

महोदय, मेरो नजरमा सबै सिकारुहरू सिक्न आएका हैनन् । बाटो पहिल्याउन आएका हुन् । धेरै भए बाधा अड्काउ फुकाउन आएका हुन् । तिनीहरूलाई सूचनाको भारी मात्र बोकाएर घर पठाउने काम गर्दिनँ । आफूभित्रको ज्ञानद्वार स्वय म खोल्न प्रेरित गर्छु । सीमित सूचनाको भरमा असीमित ज्ञान आर्जन गर्न प्रयत्न गरिनुपर्छ भन्ने मान्यता बोक्छु । म अँझै पनि परीक्षणकालमै छु । समाजका सदस्यहरू बीच सुझबुझको कमी खट्केकै छ । वाधाव्यवधानको पहाड तेस्र्याउनेहरूको सङ्ख्या पनि घना नै छ । तर, मेरो इमान्दार प्रयत्नमा उनीहरूका बालबच्चाले प्रत्येक दिन केही न केही नयाँ कुरो सिकिरहेकै छन् । किताबी कीरा बनाएर म सिकारुको बौद्धिक छवी लिलामी गर्न रुचाउँदिनँ । परीक्षामा पनि सूचनापरक उत्तरात्मक प्रश्न कम र सिर्जनात्मक उत्तरात्मक प्रश्न बढी सोध्छु । प्रचलित नियमलाई सरासर कुल्चने काम पनि गरेको छैन । विशिष्टीकरण तालिकालाई अन्धो भएर अनुसरण गरेको पनि छैन ।

अन्त्यमा, शैक्षिक क्षेत्रमा देखिएको अराजकतालाई निर्मूल नीतिनिर्माणबाट नै हुनुपर्छ भन्दछु । शैक्षिक परिपाटीमा पाठयक्रम, पुस्तक, शिक्षण विधि, शिक्षण क्रियाकलाप आदिमा व्यापक सुधार, परिमार्जन र संशोधनको खाँचो छ । शिक्षक, कर्मचारीको मनोबल अभिवृद्धिमा समेत काम गर्न बाँकी छ । शिक्षकको परीक्षा लिनेदेखि लिएर नियुक्ति गर्दा होस् या अन्य काम गर्दा होस् व्यापक भ्रष्टचार र राजनीतिकरण हुने गरेको छ, त्यो अविलम्ब बन्द हुनुपर्छ र कानूनी दायरामा आउनुपर्छ । नीति निर्माताले श्रेष्ठ नीति बनाउन भुक्नुहुन्न, सरकार कार्यान्वयन गर्न चुक्नुहुन्न ।

अरविन्द कुमार यादव
कविलासा–७, सप्तरी
पत्राचार/हाल : नेपाली शिक्षक, उच्च मा.वि., श्रीपुर–९, महोत्तरी ।

मेरो परिचय

नाम : अरविन्द कुमार यादव
शैक्षिक योग्यता : बी. एड., एम. एड. (नेपाली)
स्थायी ठेगाना : कविलासा–७, सप्तरी
पेशा : शिक्षण, अध्ययन
उपलव्धी : २०६० सालदेखि निरन्तररूपमा स्थानीय पत्रपत्रिकामा साहित्यिक रचनाहरू प्रकाशित
विधा : कविता, गीत, गजल, कथा, निबन्ध, लेख
रुचि : साहित्यिक पुस्तक, पत्रपत्रिका अध्ययन, लेखन
सम्पर्क मो. नं. : ९८१९७०९६७२
पत्राचार/हाल : नेपाली शिक्षक, उच्च मा.वि., श्रीपुर–९, महोत्तरी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *