बिहेको पहिलो रात


मेरो त यतिछिटै बिहे गर्ने कुनै रहर थिएन तर मैले नमान्दा नमान्दै पनि बाबाममीले सारै कहर गर्नुभयो । कि त मैले उहाँहरूसँग विद्रोह गर्नुपर्ने भयो कि त उहाँहरूले भनेको केटासँग बिहे गर्नुपर्ने भो ! जिन्दगीको सवाल थियो, यी बूढाबूढी भएका बाआमा त डाँडामाथिका जूनघाम भइसकिहाले ! जिन्दगी काट्नुपर्ने मैले हो । उहाँहरूले जेजे भन्यो त्यही, जोजोसँग भन्यो त्यहीसँग बिहे गर्नुपर्ने भन्ने के छ र ? भनेर मन दह्रो पारेर अहिले म बिहे गर्दिनँ भन्छु भन्ने सोचेर उहाँहरू भएको ठाउँमा गएँ ।

जब मैले म आफ्नो खुट्टामा टेक्ने नभइकन बिहे गर्दिनँ भनेँ तब आमा रुन थाल्नुभयो । रुदैं हेर नानी तैंले हामीले भनेको केटासँग बिहे गरिनस् भने आफूखुसी गर तर हामीलाई बाआमा भन्नुपर्दैन ! जे मन लाग्छ गर भन्दै भक्कानिन थाल्नुभो । उता बुबाले थप्न थाल्नुभयो,”तर एउटा कुरा याद राख्नु आफूखुसी गर्ने भए यी बूढा बाउआमालाई सम्झिनुपर्दैन ! तेरा लागि हामी मरे सरह हो बुझिस् ?”

बाआमाका कुरा सुनेपछि दह्रो बनाएर गएको मन कतिखेर कम्लिसकेछ ! थाहै भएन र रुँदै भन्न थालिछु “हजुरहरू त्यसो नभन्नुस्, म हजुरहरूले भनेकै केटासँग बिहे गर्न राजी छु । अब पीर गर्नुपर्दैन म खुशी भइसकें । ”

मैले त्यसो भनिसक्दा बाआमा दुवैको मुहारमा खुशीका रेखाहरू कुद्न थालिसकेका थिए । एक मन त लाग्यो यी बूढाबूढीले मलाई फकाउन नाटक गरेछन् कि क्या हो ! होस् अब जेसुकै गरेका हुन्, मैले हुन्छ भनिसकें, अब बोली फेर्नुहुँदैन ।

म कस्तो स्वभावकी छु प्रष्टसँग आफैलाई थाहा छैन तर मलाई नजिकबाट चिन्नेहरू भन्छन् यो हक्कीकी छे, बोलेको कुरा फेर्दिन पुर्याएरै छोड्छे । छोरो भएर जन्मिनुपर्ने !

त्यसदिन यही स्थापित पहिचानबाट स्खलित भएको महशुस गरिरहेकी थिएँ । यो कुरा अरुलाई त थाहा थिएन किनकि मैले विवाहसम्बन्धी आफ्ना इच्छा, आकांक्षा र भावनाहरू प्रकट गरेकी थिइनँ परन्तु मेरो मनले यसबारेमा धेरै कुरा सोचिसकेको थियो, सुन्दर सपनाहरू सजाइसकेको थियो । बाआमाको खुशीको लागि म आफ्ना इच्छाहरूलाई तिलाञ्जली दिदैं थिएँ ।

फेरि मेरो हुनेवाला जीवनसाथी पनि त मैले कल्पना गरेजस्तै ज्ञानी र विवेकशील हुन सक्छ नि ! उसलाई राम्रोसँग चिनेकी पनि छैन । आफ्ना सन्तानको कुभलो हुनेगरी त बाआमाले त्यस्तो के गर्लान् र ! म सोचमग्न भएर झ्यालबाट बाहिर हेरिरहेकी थिएँ । निकैबेर अघिदेखि पानी परिरहेको थियो । म ओतमा थिएँ तर मेरो मन भने रुझिरहेको थियो । अहिलेसम्म बाआमाको काखमा लाडप्यारमा हुर्केकी म जन्मथलो र आफन्तहरूलाई चटक्कै छोडेर पराईघर जानुपर्ने ! अहिलेसम्म नदेखेका, नभेटेका वा देखे भेटेकै भएपनि कुनै साइनो नपर्ने, बोलचाल र घनिष्ठता नभएका मान्छेलाई एक्कासि आफ्नो बनाउनुपर्ने ! कालान्तरमा त्यही घर आफ्नो हुने र त्यही घरमा जन्मे, हुर्केकी छोरी पराईघर जानुपर्ने ! यो अन्यायपूर्ण पुनरावृत्ति देखेर म अचम्मित भएर सोचाइको सागरमा पौडिदैं थिएँ ।

उफ ! यो छोरीको जात, अर्काको घरमा गएर सृष्टि चलाइदिनुपर्ने ! यो असमानता र अन्यायको शृङखला कहिलेदेखि चल्न थालेको होला ? छोरीले झैँ छोरा पनि बिहे गरेर अन्यत्र जानुपर्ने व्यवस्था चाहिं किन नआएको होला ! म चिन्तन गरिरहेकी थिएँ । फेरि केटीले केटा घरमा ल्याउँदा समाजले कुरा काट्ने र कुरीति बढ्ने हो कि भन्ने डर पनि लाग्यो तर झट्ट सुन्दा अपत्यारिलो लागे पनि जे काम पनि एकादुईले गर्दा त्यो रीतिथिति विरुद्ध हुन्छ, समाजले पचाउँदैन तर अधिकांशले त्यही काम गर्न थालेपछि त्यो सामाजिक मूल्य र मान्यता बन्दोरहेछ ।

सदियौंदेखि चलिआएको चलन मैले मात्रै के फेर्न सक्थें र ! तैपनि यही व्यवस्था भित्र पनि आफ्नो रुचि र इच्छा विपरीतका कामहरू चाहिं ज्यान गए गर्दिनँ भनेर अडिग लिने म आज आफ्नै बाआमा अगाडि कसरी आत्मसमर्पण गर्न पुगें ! मैले हजुरहरूले जति कहर गरेपनि अहिले कसैसँग कुनै हालतमा बिहे गर्दिनँ भनेर अड्डी लिनुपर्ने थियो । आमाको आँशुअघि म कसरी गलेछु ! अनि बाबाको धम्की मिश्रित दबाबसामु कति नीरिह भईछु ! अहिले सम्झदा पनि आफैंलाई आत्मग्लानि महशुस भइरहेको छ, नमीठो भइरहेछ । अरु कसैले मलाई कुनै काम गर्न बाध्य बनाउन खोजेको भए ठाडै प्रतिकार गर्न मलाई केही गाह्रो हुने थिएन । पराईभन्दा आफन्तसँग भीड्न धेरै गाह्रो हुँदोरहेछ ! बल्ल अनुभूति गर्दैछु । साथीभाइहरूले जिस्काउन थाले, पहिलेपहिले कसैले जिस्क्याउँदा म तिनीहरूको सातो खाइदिन्थें । यस्ता कुरामा मलाई कसैसँग डर लाग्दैनथ्यो । अहिले भने जिस्क्याउँदा पनि रातीपीरी हुन थालेकी थिएँ । खै ममा अचानक के यस्तो परिवर्तन आउन थालेको हो ! म आफैं छक्क परिरहेकी थिएँ ।

पहिले ख्यालख्यालजस्तै लागेको थियो तर ख्यालख्याल के हुन्थ्यो ! बिहेका लागि सामान किनमेल हुन थाल्यो । विदेशमा रहनुभएका दाइ पनि मेरै बिहेका लागि भनेर घर आउनुभयो । तयारी तीव्रता र धुमधामका साथ हुन लाग्यो म भने अँझै पत्याइरहेकी थिइनँ । मैले नपत्याएपनि सब कुरा ठीकठाक तरिकाले समयमै भइरहेको थियो ।

त्यो दिन आयो जसलाई अत्यन्त महत्त्वका साथ प्रतीक्षा गरिएको थियो । जन्ती, घरगाउँले, आफन्त र नातेदारहरूले घर आँगन भरिएको थियो । आँगनको बीचमा चौका बनाइएको थियो र त्यसकै वरिपरि विविध परम्परागत विधिअनुसार कर्म गरेपछि मलाई अन्माइयो । मेरा आँखा एक्कासि रसाउन थाले र ह्वाँह्वाँ रुन थालिछु । त्यसपछि आमा, सानीमा, भाउजू लगायतका साथीसंगी पनि रोएजस्तो लाग्यो । मलाई भने घरबाट परपर लगिरहेका थिए । म जन्मघर, आमाबा, आफन्त र परिचितहरू सबैबाट छुट्टिएर टाढाटाढा हुँदै थिएँ । यो सब मलाई नाटकजस्तै लागिरहेको थियो तर यथार्थै थियो ।

बेलुकाको खाना खाएपछि मलाई सुत्ने कोठा देखाइयो । डराइडराइ कोठामा गएँ । सजिएको कोठामा एउटामात्र विस्तारा थियो र थियो त्यसमाथि हातखुट्टा फालेर लमतन्न सुतिरहेको एउटा पुरुष । मेरा स्वामीराजा यिनै हुन् र यो जिन्दगी यिनैसँग बिताउनुपर्छ भन्ने सोचेर ममा एक किसिमको आश्चर्यभाव र रोमाञ्चकता हठात् पैदा भयो । विस्तारामा एकदम टक सेतो तन्ना तनक्क तन्काएर मिलाएर विछ्याइएको रहेछ, छुँदा पनि दाग लाग्ला जसो गरी । म निकैबेर उभिइरहें । सायद उनी निदाएका रहेछन् क्यारे ! आऊ, बस केही पनि भनेनन् । मलाई उनले बोलाउँछन् कि भन्ने आशा थियो त्यो मर्यो । उनको निद्रा खुलुञ्जेल त यहाँ यसैगरी उभिएर के होला र भन्ने सोचि म विस्ताराको छेउमा गएँ । उनी छेउतिर सुतेका थिए, मलाई कुनातिर ठाउँ राखिदिएका होलान् जस्तो लाग्यो । मस्त निदाएको मान्छेलाई ब्यूँझाउनु उचित ठानिनँ तर मेरो अगाडि ठूलो समस्या खडा भयो । यस्ता सामान्य कुराहरू त आज अगाडि मैले कहिल्यै समस्याको रुपमा हेरेकी थिइनँ । छेउमा सुत्ने ठाउँ थिएन, कुनापट्टि जान उनी पूरै बाटो छेकेर लम्पसार थिए । म धर्मसंकटमा परें तैपनि अलिकति छेउमा बसेजस्तो गरें । केही मिनेट त्यसरी बसेपछि समस्याको दीर्घकालीन उपाय सोच्न थालें । उनलाई डिस्टर्ब नगरी नाघेर कुनामा गएर सुत्नेपनि एउटा विकल्प थियो तर विवाहिता साथीहरूले असभ्य देखिने खालका कुनै व्यवहार नगर्नू भनेको सम्झिएँ । नत्र त म नाघेरै जाने थिएँ । हुन पनि हो नाघेर कसरी जानू ! चित्त बुझाएँ र अरु उपाय सोच्न थालें । अब उसलाई बोलाउनु पर्यो भनेर मन दह्रो पारें । कसैलाई बोलाउन मन दह्रो पार्नुपरेको जिन्दगीमा पहिलोपल्ट थियो । कसैलाई बोलाउन मलाई कुनै गाह्रो काम थिएन तर तिनै सजिला कामहरू आज मलाई कति गाह्रा भइरहेका थिए म आफैं आश्चर्यमा परेकी थिएँ । जे होस् होस् भनेर छेउमै लेप्सिएर आधी ज्यान विस्तारामा आधी ज्यान बाहिर‌ै पारेर ढल्किएँ ।

बल्ल उनी ब्यूँझिए । मलाई त लाग्यो उनी निदाएकै थिएनन् ! मैले कोठामा सानो बोली पनि निकालेकी थिइनँ र एउटै विस्तारामा सुतेपनि उनलाई छुन्छ कि झैँ गरेर सकेसम्म नछुनेगरी ढल्केकी थिएँ । छोएकै भए पनि मेरो यति कोमल ज्यानले छुँदा निद्रा नै त अवश्य खुल्ने थिएन जस्तो लाग्यो । त्यसपछि उनी बोल्न थाले, अनेक कुराहरू सोध्न लागे । सदा म अरूभन्दा बढ्ता बोल्थें तर आज हो, होइन, अँ, हजुरभन्दा बढी बोल्न सकिरहेकी थिइनँ । मेरो पूरै शब्दभण्डार रित्तिएझैं भएको थियो र उनका जिज्ञासाको जवाफ कहिले टाउको हल्लाएर त कहिले मितव्ययी तरिकाले शब्दहरू फारु गरेर बोलिरहेकी थिएँ ।

निद्राबाट भर्खरै व्युँझिएको मानिसले यति धेरै चनाखो भएर गफ गर्नु नपर्ने हो ! अघि नै निदाए झैं गरेर स्वाङ पारेको ठम्यायो मेरो ब्रह्मले । मान्छे त सारै कपटिरहेछन् जस्तो लाग्न थाल्यो । मेरो मनमा कौतुहलता, डर र लाजको मात्रा ह्वात्तै बढेको थियो । अब के हुने हो, के कसो गर्ने हुन् भनेर कल्पदाँ मन कहिले रोमाञ्चित हुन्थ्यो भने कहिले डर पनि लाग्थ्यो । कोठामा विभिन्न देवीदेवताका तस्विरहरू मिलाएर टाँसिएका थिए । अरु त सामान्य नै लाग्यो तर टक सेतो तन्ना विस्तारामा विछ्याइएको मैले कहिल्यै देखेकी थिइनँ र यसमा पनि केहीरहस्य हुनुपर्छ भनेर गम्न थालें । एकपटक समिताले उसको बिहेको पहिलो रात कुमारीत्व परीक्षण गर्न उसका श्रीमानले पनि यसैगरी सेतो तन्ना विछ्याएको घटना सुनाएकी थिई । त्यो बेला हामी खुबै हाँसेका थियौं तर मेरो जिन्दगीमा पनि कुनै बेला त्यो समय आउँछ भनेर सम्झेकिरहिनछु । आज ममाथि पनि त्यस्तै कडा परीक्षण भइरहेको ठम्याउन मलाई केही गाह्रो परेन । म‌ैले यी यावत् कुराहरू सम्झदै गर्दा उसले मलाई आफ्नो अँगालोमा कसिसकेको थियो भने म चाहिं संभावित परिणामको बारेमा सोचेर चिन्तित भइरहेकी थिएँ । ऊ जतिजति मलाई उसको बाहुपासमा कस्दै जान्थ्यो मेरो मनमा उतिउति पुरुषवादी सोच र अहंकारप्रति घृणा बढ्दै थियो । बाहिर झमझम पानी वर्सिरहेको थियो तर त्यो पानीले मेरो मनमा सल्केको आगोलाई निभाउन सकिरहेको थिएन ।

म संभावित घटना र परिणामबारे सचेत हुँदै त्यसबाट जोगिने उपायहरू सोचिरहेकी थिएँ । ऊ निकै अघि बढिसकेको थियो त्यसैले त्यो हुनै लागेको कामबाट त म पन्छिन सक्ने संभावना निकै न्यून थियो यद्यपि हरसंभव प्रयास गरिरहेकी थिएँ र यो अन्यायपूर्ण परीक्षामा सामेल भइसकेपछि पनि सफल हुन चाहिरहेकी थिएँ । मेरो केही लागेन, ऊ मेरो शरीरसँग खेल्न थाल्यो । केही समयपछि ऊ उठेर शौचालयतिर गयो, ऊ गएपछि मैले सेतो तन्नातिर हेरें । बाफरे बाफ ! रङ्गिएको थियो । ऊ केही क्षणमा आयो र त्यो सब देखेपछि दङ्गदास परे झैँ देखियो र मुस्कुरायो । आफैले तन्ना फेर्यो, फेरि अँगालोमा बेर्यो ।

त्यहाँ के भएको थियो त्यो त सायद मलाई मात्रै थाहा थियो । मेरो पिरियड भएको रहेछ । वास्तविकता बताउनुपर्ने आवश्यकता पनि ठानिनँ मैले ।

कुमार काफ्ले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *