जमानाले दियो धोका, लगन मेरो लिलामी भो
हरायो नामनामेसी, वचन मेरो लिलामी भो
बिताएँ जिन्दगी आधा, मिजासी बातले भर्दै
गए ती शिष्टता व्यर्थै, नमन मेरो लिलामी भो
भयो सद्भावना खोटो, विलायो स्नेह माटोमा
सधैँ नै स्वच्छता छर्ने, पवन मेरो लिलामी भो
डटें संघर्षमा रोजै, समस्या लाख झेलेर
कहानी भैसके सारा, वजन मेरो लिलामी भो
उचालें बोझ आफैँले, कुदें गन्तव्य खोजेर
बिसाएँ भार के मैले, खकन मेरो लिलामी भो
सुकेँ कैले, भिजें कैले, हजारौं घाम पानीमा
विरानो झैं भएँ ऐले, वतन मेरो लिलामी भो
बहरे हजज मुसम्मन् सालिम
(विधाता छन्द)
८ अक्षरमा विश्राम
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका-२१
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका
