Skip to content

‘देश हाँसेन’ भित्र हँसाउने उपायको खोजी


देश गणतन्त्रमय भएको थियो । जनयुद्ध थान्कामा लागेको थियो । तराई/मधेश पनि शान्तिको श्वास फेर्दै थियो । बोर्डिङ स्कुले शिक्षण जीवनबाट वाक्कदिक्क भइएको थियो । देशमा जे आए पनि र आउन खोजे पनि त्यसको सुवास जनतासम्म पुग्नु भनेको ‘आकाशको फल आँखा तरी मर’ भनेझैँ नै थियो । मैले भने कुनै परिवर्तन महसुस गरिरहेको थिइनँ । माथिल्लो आसनको अनुहार परिवर्तन थियो । घरदेखि दरबारसम्म कुर्सीमोह उस्तै थियो । कामधामको तौरतरिका फरक थियो । डाडुपुन्युवालाहरूले सात पुस्ताका लागि धन जोरजाम गर्ने ध्याउन्न पनि करिबकरिब उस्तै थियो । अधकल्चो र अस्थिर भविष्य देखेर वाक्कदिक्क भइरहेको अवस्थामा साहित्यसागरमा चुर्लुम्म डुबेर मनको कलुष धुने मन भयो । साहित्य रथी धीरकुमार श्रेष्ठ, रामविक्रम थापा, इन्द्र कुमार श्रेष्ठ आदिसँगको निकटतासँगै उदयपुरे साहित्य महारथी पुन्य कार्कीकहाँ साहित्यको फुलबारी गोड्ने सीप सिक्न पुगेको थिएँ ।

मुलतः त्यहाँ पुग्नुको खास कारण थियो– आजीवन सदस्यवापत ‘जनमत’ साहित्यिक मासिकका विविध अङ्कहरू प्राप्त गर्नु, वैयक्तिक पीरमर्का बिसाउन, पूर्व लिखित साहित्यिक रचनाहरू निरीक्षण गरी पृष्ठपोषण प्राप्त गर्नु र साहित्यका विविध पाटा बारे जानकार हुनु ।

र, पुन्यजी र म तिनै काममा व्यस्त थियौँ । काठेघरको माथ्लो तलाबाट सडकको सितिमिति आवाज पनि सुनिन्नथ्यो । त्यसैबेला सडक छेउमा एक प्रौढ उभिए । वृद्ध शरीरले, भेषभूषाले र हाउभाउले कुनै सन्त महाराजजीका शिष्यत्वको झलक दिन्थ्यो । सर्वप्रथम उनलाई मैले नै देखेको थिएँ । मेरो दिमाखमा तिनै कुरा आए । मैले मधेशी समुदाय र मूलका धेरै महाराजजीहरू देखे–भेटेको थिएँ तर पहाडी समुदायबाट कसैलाई देखेको थिइनँ । हुन त आजसम्म आधा केस फुल्दा पनि भेटेको छैन ।

मेरो मनमा जे कुरा खेले पनि उनको बोली फुट्यो– “नमस्कार पुन्य सर !”

पुन्यजीको आग्रह र सङ्केतलाई अनुसरण गर्दै उनी भर्याङ उक्लिएर हामीकहाँ आए । पुन्य सरले परिचय गराउँदा थाहा पाएँ । उनिरहेछन्, त्रियुगा नगरपालिका–१२, उदयपुर निवासी लेखक तथा कवि लेखबहादुर कार्की ।

लेखक तथा कवि लेखबहादुर कार्कीले नै आफ्ना बारेमा अरू कुरा बताए– म जहाँ पुग्छु, त्यही मेरो घर हो । मैले जे दुःख झेले त्यो दुःख अरुले पनि झेल्नु नपरोस् भन्ने आकाङ्क्षा सहित दुःखको सागर थुन्न म भ्रमणको मार्गमा लागेको हुँ । म पढेको मान्छे हैन, अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुञ्जेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु, त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा, ठूलाबडाले गरिब निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिनँ र लेखेँ । तिनीहरूको कर्तुत जनताकासामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ । मैले आम जनताका दुःख र वेदना लेख्ने र गाउँने गरेको छु ।

त्यस बेला उनी गाउँघर चहार्दै, हालखबर बुझ्दै र त्यसलाई साहित्यमा रूपान्तरण गर्दै हिँडेका रहेछन् । मलाई बढी कुरा बुझ्ने मन भयो । प्रश्न सोध्दा उनले अगाडि थपे– मैले पाएको केही छैन, पाउने लालच राखेर संसार चहार्दै हिँडेको पनि हैन । तर पनि कतै न कतै केही न केही पाइरहेकै छु— कतै धम्की पाएँ, कतै गालीगलौज भेटेँ । कतै पागलको संज्ञा पाएँ त कतै मगन्तेको बिल्ला भेटेँ । कुनै कुनै सज्जन महानुभावहरूबाट भने मैले ठूलो सन्तोष पाएको छु । आफ्नो अभियानलाई अघि बढाउने ज्ञान भेट्टाएको छु । राम्रो काम भएको पाउँदा गुनगानका गाथा पनि गाएको छु । मेरो लिनु र दिनु केही छैन । नेता सप्रे र भोलिका पुस्ताका लागि नेपाल बचाइदिए, क्रान्तिकारी एवं परिवर्तनकारीहरूले बाटो नबिराए र सिर्फ जनता जागे अनि विकृतिका विरुद्ध लागे म आफूलाई धन्य ठान्ने छु ।

वास्तवमा विश्व मानव सभ्यताका निम्ति गर्नेभन्दा गराउने ठूूलो हो । संसारलाई आँखा देखाउने व्यक्ति समाजकै अमृ्ल्य नीधि हो । त्यसैले पनि ऊ समाजको अति नै महत्त्वपृ्र्ण व्यक्ति हो । संसारलाई हेर्न र नियाल्न त सबैसँग यी दुई चर्मचछु छन् । संसारको वास्तविकता र मान्छेको मनलाई हेर्न सक्ने हुनु नै ठूलो कुरा हो । यसो गर्न भित्री मनको आँखाबाट मात्र सम्भव छ ।

यस्तै मनका आँखाका धनी लेखक तथा कविको नाम हो– लेखबहादुर कार्की । वि. सं. २००७ साल मङ्सिर १५ गते उदयपुर जिल्लाको दुर्गम ठाउँ बाराहा गाविस वडा नं.–३मा जन्मेका कार्की हाल त्रियुगा नगरपालिका–१२, उदयपुरमा रहन्छन् । एक समय जीवन खोज्दै उदयपुर लगायत देशका कुनाकाप्चा घुम्दै र वस्तुस्थिति बुझ्दै जनताको पक्षमा कविता र फुटकर लेखहरू लेख्दै आएका थिए । एक समय फिरन्ते कवि भनेर चिनिएका कार्कीले २०५८ साल भदौ १८ गतेदेखि कविता र फुटकर लेखहरू लेख्न थालेका हुन् । अहिले भने उनी मुर्कुची, चुहाडे, जलजले, गाईघाट लगायतका सीमित स्थानमा मात्र घुमफिर गर्छन् । र, लेखन कार्यमा आफ्नो जीवन पूरै संलग्न पारेका छन् । उच्च औपचारिक शैक्षिक ज्ञान हासिल नगरेका र साहित्यिक माहोल नभेटेका कारणले पनि साहित्यको व्याकरण उनलाई कण्ठस्थ छैन । साधरण लेखपढ भएका कार्कीको घुमफिर र स्वाध्यायनको दायरा निकै फराकिलो रहेको कुरा उनका वर्तमान बोल्ने रचनाहरूले पुष्टि गर्दछन् । नेपाली साहित्यको ढुकुटीमा कवि लेखबहादुर कार्कीले ‘जीवन पुस्तिका सङ्ग्रह’ (२०६५) नामको कविता कृति दिइसकेका छन् ।

स्रष्टा कार्कीको कलम नेपाली जनताको भूत, वर्तमान र भविष्यप्रति मुखरित भएको छ । पारिवारिक आम्दानीको कुनै स्थायी बाटो नभएका स्रष्टा कार्कीले ऋण काडेर निकालेको ‘जीवन पुस्तिका संग्रह’ (२०६५) नामको कविता कृति पढ्ने सौभाग्य पाइएको थियो । त्यस बेला उनका आधा दर्जन जति लेख, कथा र कविताका पाण्डुलिपीहरू परिष्कार र प्रकाशनको पर्खाइमा रहेका थिए । अहिले आएर २०७३मा ‘देश हाँसेन’ नामक कविता कृतिको भाषा सम्पादनका साथै वर्णविन्यासगत कुराहरू सुधार्ने जिम्मा भेटियो । साथै, भूमिका लेखनको आग्रह पनि आयो । साहित्यशास्त्र पढ्दापढ्दा र पढाउँदापढाउँदा नवीन धार खोज्न मन लागिरहेकै अवस्थामा आफ्नै मौलिक धार पक्रेर उदाएको कार्कीको प्रस्तुत कृति पाउँदा हृदय पुलकित भयो ।

प्रस्तुत कविता कृति ‘देश हाँसेन’मा समेटिएका कविताहरूमा परिष्कृत भाषा र शैली पाइँदैन तर परिष्कृत भाव र पाको अनुभूति भने अवश्य पाइन्छ । जागिरे जीवनले भौतिक सुख दिए पनि शान्तिका लागि भने जनताको पीरमार्कालाई सम्बोधन गर्न सक्नुपर्छ भन्ने उनको कथन छ । त्यसै कारणले गर्दा पनि उनी कलमकै भरमा बाँचेका छन् भन्न सकिन्छ । सिमेण्ट कारखाना, उदयपुरले ४ वर्षसम्म जागिर दिए पनि उनी त्यत्तिमै सीमित रहन सकेनन् । कारण समाजमा व्याप्त थिचोमिचो, शोषण–दमनलाई टुलुटुलु हेरेर चित्त बुझाउन सकेनन् भन्ने कुरा उनका कविता पढ्दा स्पष्ट हुन्छ ।

रात मरेपछि अवश्य उज्यालोको उषाकाल जन्मन्छ । अत्याचारको सिलौटाले थिचेको शरीर र चर्याइरहेको घाउमा ओखतीमुलो गरेपछि अवश्य पीडा कम हुँदै जान्छ । दर्द कम हुँदै जान्छ र उज्यालो भविष्य देखापर्दछ । शोषितपीडित जनताप्रति गम्भीर चासो राख्नु, राष्ट्र र राष्ट्रियताप्रतिको गम्भीर संवेदनशीलता सचेत रहनु, समाजप्रतिको दायित्वबोधको आभास हुनु, अग्रगामी राजनैतिक चेतनाले ओतप्रोत रहनु र सामन्तीसंस्कार, दासमनोवृत्ति एव म सामाजिक–आर्थिक शोषणले लाटो पारिएका मनहरू ब्यूँझाई निरास जनताका मनहरूमा आँट र उत्साह छर्नु कवि कार्कीको कलमीकर्मका प्रमुख विशेषता हुन् भनी ठम्याउन सकिन्छ ।

भन्ने नै हो भने कार्की पेशेवर लेखक हैनन् । त्यो छवि उनमा बन्दै छैन । उनी त गाउँघर ब्यूँझाउने ठेक्का आफैँले पाएको ठान्दछन् । कारण उनी २४ घण्टामा १८ घण्टा जति चिन्तन, भ्रमण र लेखनमा जुट्छन् । जहाँ जेले छोयो कविता लेख्न थालिहाल्छन् । त्यसैले उनी पेशेवर कवि, पेशेवर लेखक जस्ता देखिएका छन् । तर पैसाको पछि दगुर्ने अरू पेशेवर कवि, पेशेवर लेखक जस्ता उनी हैनन् । कार्की दुःखको काँडा घारीमा टेकेर हिँडिरहेका छन् । उनी अनवरतरूपमा दुःख पिउँदै सुखानुभूति गरिरहेका छन् । आफ्नो पीडा अनुभूत नगरी देश र विदेशका पीडा र कहिरनका अघिपछि दगुरी हिँडेका अचम्भलाग्दा उदयपुरे प्रतिभाका रूपमा लेखबहादुर कार्की देखिएका छन् ।

उदयपुरका ज्येष्ठ कविवर गम्भीरबहादुर थापा पथमार्गी बन्न रूचाउने लेखबहादुर कार्कीको जीवन थापाकोजस्तो बोरा ओडेर र बोरा लगाएरै जनता जगाउँदै जीवन बिताउने नभए पनि सादा जीवन भने अवश्य छ । उनी थापाका जस्तै जनसरोकारका कविता लेख्दै र सुनाउँदै हिँड्ने साधकका रूपमा चिनिन्छन् । बेलुका मकै वा गहुँको दुइटा सुख्खा रोटी र बिहान एक पुन्यु मकैको भात खाने रुटिङ भएका कार्कीलाई सहरमा एक रात पाहुना बनाउन पनि मुस्किल छ । कविवर गम्भीरबहादुर थापालाई पनि धुनी र आलु प्यारो थियो रे । अँझ उनी ता नूनसमेत ग्रहण गर्दैनथे । गुफा वा वृक्ष मुनि नै रात गुजार्थे रे । पटक–पटक गरी एक दर्जन पटक थरिथरीका सर्पले टोक्ता पनि विष पचाएर बाँचेका थिए रे ।

अब कविका कविता चर्चातिर लागौँ । युद्ध परिवर्तनका लागि हुन्छ । नौलो आभास भेट्नका लागि हुन्छ । देश र जनताको मुक्तिका लागि हुन्छ । युद्ध रहरको विषय हैन बाध्यताको विषय हो । बन्दुकी युद्धमा ज्यान लिने र दिने काम हुन्छ । एक समय नेपालको जनयुद्धमा ज्यान लिने र दिने क्रम चलिरहँदा कवि लेखबहादुर कार्कीले लेखे–

म त मरेँ दुश्मनको गोली खाई
छोरो मर्यो भन्देऊ न बुवालाई
भात पनि पाक्दै थियो हेर त्यस बेला
सेनाले पारी हाल्यो त्यत्ति खेर फेला ।

वास्तवमा त्यस बेला नेपालीहरू एकआपसमै लडेर मर्नुपर्ने विवश परिस्थिति थियो । अहिले समय फेरिएको छ । अब देश आफैँले बनाउने समय आएको छ । त्यसैले कवि कार्की यस ‘देश हाँसेन’ कविता कृतिमा लेख्छन्–

हाम्रो मातृभूमि देश नेपालमा
खोजे पाइन्छ सबै कुरो यहाँ ।
जरा र बुटा औषधी मुलो
सदुपयोग गर्ने ज्ञान नेपालले भूलो ।

अँझ उनी मायापिरतीका कुरा गरेर प्रेमले नै संसार बनाउने र सजाउने कुरा गर्न पनि पछि परेका छैनन्–

मेरो माया राख तिमी कलेजाको माझमा
जुनिजुनिसम्म रहोस् माया तिम्रो पासमा ।
सँगै बाँच्नेसँगै मर्ने कसम खा’को थियो
कर्महारा रै’छौँ हामी डाडाँ कटाइ दियो ।

भूकम्पको पीडाले नेपाली जनता कति पीडामा रहे त्यसको बखान शब्दले गर्न सक्तैनन् । यद्यपि कवि कार्कीले ‘देश हाँसेन’ कृतिमा ‘भूकम्पको सवाई’ लेख्न भ्याएका छन्–

कहाँ हुन्छ भूकम्प, कहाँ बस्छ वास
भूकम्पको धक्का पर्दा धेरैको गयो सास ।
कहाँ गए वैज्ञानिक कहाँ गए ज्योतिष पनि
यत्रो घटना हुने रहेछ भनिदेन कसैले पनि ।

अन्याय–अत्याचार मौलाएर र फैलेर गएकोमा कवि असन्तोष प्रकट गर्दै झ्याउरे छन्दमा भन्दछन्–

गोमन हुन, हुँ भन्नु छैन कर्मले लेख्तछ
नाममा काम छ भने मात्र लोकले मान्दछ ।
विषालु मान्छे जन्मेछ यहाँ गरेर अत्याचार
मान्छेको होस उमार्नलाई देखाऊ चमत्कार ।।

नेपालको ओखतीमुलोमा विश्व कब्जा गर्ने सामर्थ्य रहेको उद्घोष गर्दै कवि आफ्नो सम्पदाको रक्षा र सदुपयोग गरी धनी हुनुपर्छ भन्ने आवाज दिन भूल्दैनन्–

पाखनबेद र ठुलो औषधी नेपालमा
शक्ति छ कति यो दवाईमा
यस्ता अमूल्य चिज अन्त पाइन्छ कहाँ
पाइँदैन खोजेर अन्त विश्वभरिमा ।

विदेशीले सीमा मिच्दै र नाकाबन्दी लगाउँदै स्वाभिमानलाई पाइतालाले कुल्चेकोमा कविमा तीव्र आक्रोश छ । धरणीको स्तुतिगानमा कवि मन प्रफुल्ल हुन्छ । उनी सबै जना मिलेर नेपाल आमाको आँसु पुछ्न आह्वान गर्दै भन्दछन्–

नेपाल आमा रुन्छिन् आँसु झारेर
आँसु पुछौँ हामी सबै भएर ।
सराप लाग्छ हामीलाई यो देशको
राष्ट्र नै भई सक्यो बाबाजी भेषको ।

कवि प्रकृतिको लीलाप्रति नतमस्तक छन् । प्राकृतिक रूप र लावण्यलाई नमस्कार गर्दछन् । भौतिक फेसन र आडम्बरको गालामा थप्पड बजार्न चुक्तैनन्–

फूल फुल्यो चमेली बास्ना चलाएर
सारा संसार बिगार्यो फेसन आएर ।
मखमली कोपिला उठ्यो ठूलो भएर
मान्छे मन मर्न गयो भौतिक रङ चढेर ।

अन्तमा, मानवीय मूल्य–मान्यताले भरिपूर्ण स्वतन्त्र र समृद्ध नेपालको निर्माण गर्ने चाहनाले ओतप्रोत भएका कवि लेखबहादुर कार्कीको सपना ठूलो छ । आफ्नो हैन अरूको भलाइमा हामीले कम्मर कसेर लागेमा मात्र नेपालआमाका सच्चा सन्तान कहलिन सक्छौँ भनेर कविले नैतिक विचार कवितामा राखेका छन् । उनका कतिपय कविता उपदेशात्मक अभिव्यक्तिमै सीमित छन् । समस्याको पहाड खडा गर्ने काममा अग्रसर छन् । र, कतिपयमा भने परिष्कारको जरुरत रहेको भान हुन्छ । गहिरो भाव र वैचारिक दृष्टिलाई समेत सरल शब्द र शैलीमा अभिव्यक्त गर्नु कविको आफ्नै विशेषता हो ।

भाषा र शैलीका हिसाबले ‘देश हाँसेन’ कविता कृतिमा समेटिएका कविताहरू अनुकरणीय छँदै छैनन् । कविको वर्तमान पढ्दा भने साहित्य र भाषाको सेवाकर्ममा अडान भेट्न पाइन्छ । अन्याय र शोषणरहित समाज निर्माणको मनोकाङ्क्षा बुझ्न पाइन्छ । त्यसलाई सलाम गर्न भने रत्तिभर कन्जुस्याईं नगर्दा नै सच्चा नेपाली कहलाउन सकिन्छ ।
देशको अन्य भू–भागमा पुर्खाहरू जन्मेकै आधारमा अर्को थरीले ‘फिरङ्गी नेपालीहरू’ भनेर संज्ञा दिइरहेको अवस्थामा, हक–अधिकारको माग गर्दै विविध वर्गका विविध क्रान्तिहरू भइरहेको अवस्थामा शासक वर्गका कविको कलम मार्फत् निमुखा वर्गलाई माथि उकास्ने कुरा आउनु चाहिँ अवश्य पनि अनुकरणीय पाठ हो । आगामी दिनमा कविको काव्य साधना अँझ प्रखर र परिष्कृत हुँदै गई गन्तव्य शिखर चुम्न सफल रहोस् भन्ने मनोकाङ्क्षाका साथ शुभकामना व्यक्त गर्दछु ।

–नन्दलाल आचार्य
–२०७३ असोज २५ गते विजया दशमी ।

3 thoughts on “‘देश हाँसेन’ भित्र हँसाउने उपायको खोजी”

  1. यो प्रकाशित भएकै हो त !
    खै । नगरेको कर्म गर्न लाग्या ।भूल भए माफ पाम ।
    फेरि नियम के के हो । हो ।

  2. धन्यवाद कुमार सर
    धन्यवाद कुमार सर । अब त फोटो सहित पो आएछ । मलाई फोटो राख्ने कुरा पनि आउच्ँदैन । कहिलेकाही सिकेको मात्रै हो । यो एनटरनेट जगत जानेर नसकिने रहेछ ।
    फेरि पनि धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *