Skip to content

मान्छे हराएको देश कविता सङ्ग्रहको शैल्यक्रिया


परिचय

‘मान्छे हराएको देश’ कविता सङ्ग्रहका कृतिकार हुनुहुन्छ कृष्ण पहारी । पिता स्व. केशवराज पहारी र माता स्व. विष्णुकुमारीको पुत्ररत्नको रूपमा २०१३ साल जेष्ठ बाइस गते पोखराथोक –२, अमराई पाल्पामा जन्मनु भएका पहारी पेशाले एउटा स्वास्थकर्मी हुनुहुन्छ । उहाँले २०६२ सालमा बारुदका धुवाँहरू गजलसङ्ग्रह, परिवेशभित्रका पीडाहरू, मुक्तकसङ्ग्रह (२०६५) र ‘मान्छे हराएको देश’ कवितासङ्ग्रह (२०७२) गरी तीन कृतिहरू हामीलाई प्रदान गरिसक्नुभएको छ ।

साहित्य सिर्जना र पत्रकारितामा रुचि राख्ने पहारीले किसान मासिक पत्रिका (२०४०)को सम्पादन गरी एउटा कुशल सम्पादकको परिचय पनिदिनुभएको छ । गजल, मुक्तक, कविता कथा, हाइकु, समीक्षा, लघुकथा, यात्रा स्मरण र रोइला गीतमा समेत पहारीजीले कलम चलाउनुहुन्छ । विभिन्न एक दर्जनभन्दा बढी साहित्यिक संस्थामा आवद्ध रहनु भएका पहारीजीका करिव एक दर्जनको हाराहारीमा प्रकाशोन्मुख कृतिहरू पनि प्रकाशनको प्रतिक्षामा रहेको उहाँको व्यक्तिगत विवरणमा अध्ययन गर्न पाइन्छ । २०५४ सालदेखि हालसम्म पाल्पा र रुपन्देहीका विभिन्न एक दर्जन संस्थाहरूबाट नगद पुरस्कार,प्रशंसापत्र र सम्मानहरूले सम्मानित गरिसकेका छन् । सङ्क्षेपमा परिचय दिनुपर्दा पहारीजी एक कुशल साहित्यकार, पत्रकार, रेडियो कर्मी, समाजसेवी र बहुआयमिक व्यक्तित्व हुनुहुन्छ ।

कृतिको संरचना –आवरण पृष्ठ सहित १४८ पृष्ठमा संरचित यो कृतिलाई पोखराथोक साहित्य संगमले प्रकाशन गरेको छ । कृतिको मूल्य रु १५०/– राखिएको छ । यस कृतिमा समसामयिकताले सजिएका ५५ वटा कविताहरू समावेश गरिएका छन् ।

कृतिकार र कृतिप्रति विभिन्न साहित्यकारका धारणाहरू–

यस कृतिको प्रकाशनको कलमबाट गंगानाथ कोइरालाले लेख्नुहुन्छ– ‘बस्तुत : ‘‘मान्छे हराएको देश’’ उनको जीवनको भोगाइ हो,आँसु र हाँसोको संगम हो, वितृष्णा र विद्रोहको क्रन्दन हो’ ।

उपेन्द्र पागलको धारणा– ‘मान्छे हराएको देशको विवेचनात्मक अध्ययन’ शीर्षक दिएर यस कृतिको विश्लेशणात्मक भूमिकामा लेख्नुभएको छ र ‘मान्छे हराएको देशको मुख्य कथ्य नै यस कविताको वीज हो’ भन्ने ठान्नुहुन्छ ।

टंक पंथको धारणा –‘सामाजिक धरातल र राष्ट्रिय जीवनमा व्यप्त विकृति विसंगति, र अकर्मण्यताबाट प्रताडित बनेका कवि पहारीमा व्यंग र विद्रोही चेतना सशक्त रूपमा मुखरित गरिएको छ’।
गिरिाज शर्माको धारणा– ‘यस सङ्ग्रहका सबै कविताहरूले समाजका विडम्वना पीडा र परिवर्तनका सम्भावनाहरू समेटेका छन्’

विष्णु विभु घिमिरेको धारणा –कवि कृष्ण पहारीको कवितामा भावनाको सुन्दर इनद्रेणी छ । सम्वेदनाको गहिरो अभिव्याक्ति छ ।विम्ब र प्रतिकको संतुित संयोजन र कविताको सिर्जन प्रस्तुति मौलिक छ ।समग्रमा उनका कविताहरू समकालीन समयका प्रतिनिधि कविताहरू छन् भन्न सकिन्छ ।

विश्वप्रेम अधिकारीको धारणा – कृष्ण पहारीका कवितामा सुक्तिमयता पाइन्छ । उनका कवितामा प्रयुक्त शब्दहरू अमिधा अर्थमा मात्र सीमित छैनन्, लक्षणामूलक र व्यञ्जनामूलक पनि छन् । कविता पढदा लाग्छ पहारी जीवनको मूल्य बोध भएका जीवनवादी कवि हुन् ।

डा. नेत्रप्रसाद न्यौपानेको धारणा – विगत एक दशकयता मुलुकमा जेजति गतिविधि क्रियान्वित बने, तिनै यथार्थहरूको कलात्मकप्रति विम्ब प्रस्तुत सृजनामा गराइएको छ । खास गरी मुलुकमा सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिक क्षेत्रमा देखा परेका विसङ्गतिहरूलाई काव्यले आफ्नो विषयबस्तु बनाएको छ र ती विसङ्गतिका केन्द्रमा कवि विद्रोही, क्रान्तिकारी बन्दै, अनन्त: तिनलाई बढारर्न खोजिरहेका छन् ।

क्ृष्णप्रसाद कोइरालाको धारणा –कृष्ण पहारी संवेदनशील प्रखर कवि हुन् । उनका कवितामा कतै सामाजिक, राजनैतिक विकृति– विसङ्गतिप्रति आक्रोश पोखिएको पाइन्छ । कतै मानसिक संवेदना बहुरङ्गी लहरहरू सलवलाइरहेका पाइन्छन् ।

विर्खे अन्जानको धारणा –प्रगतिवादी सञ्चेतनाको बुलन्द उद्घोषसँगै कृष्ण पहारीका सिर्जनामा सर्वकालीन पीडाका स्वरहरू व्याप्तरूपमा भेटिन्छन् । बहुआयमिक व्यक्तित्वको रूपमा स्थापित भैसकेका कृष्ण पहारी केन्द्रियताको लालचामा मोफसललाई धिक्कार्दैनन् । बरु सगर्व लेख्छन् र भावनाको गहिराईमा पुगेर बौद्धिकताको प्रदर्शन गर्दछन् ।

कृष्ण पहारीको साहित्यिक व्यक्तित्व र कृतित्वको बारेमा माथिका बरिष्ठ साहित्यकारहरूले सत्यतथ्यको आधारमा रहेर मूल्याङ्कन गरेको देखिन्छ । उनका हरेक कविताले समसामयिकतालाई अङ्गाल्दै, विषयमा विविधतालाई समाउँदै परिस्थितिलाई विश्लेषण गर्दै मानव जीवनका विविध समस्यालाई केलाउँदै सजीव कविताहरू कोर्नुभएको छ । अत उहाँका कवितालाई हामीले विविध दृष्टिकोणबाट अध्ययन गर्न सकिन्छ । उहाँका ५५वटा कवितालाई मैले यस प्रकार अध्ययन गर्ने विचार गरेको छु–

जीवनको उपलब्धी हीनसँग सम्बिन्धित कविताहरू – हुनत कृष्णजीका सबै कविताहरूले जीवनकै विम्बलाई समाएर अघि बढेका छन् । कवि जीवन जगतलाई राम्रोसँग बुझेका छन् । जीवनमा उपल्ब्धीहीन अवस्थाले मानव जीवनलाई उत्थानतिर नभै पतनतिर लान्छ । उहाँका एउटा माष्टर, हाकिम साहबको कुर्ची र धर्के रुमाल, बुद्ध तिमीले बन्दुक बोक्न थाल, बाँच्नकै लागि मात्रै बाँचेका हामीहरू र जिन्दगी के छ र खै जीवन सारसँग सम्बन्धित कर्महीनतालाई समेटेका कविता हुन् । आजको समसामयिक कर्मशैलीप्रति कविले व्यङ्ग कसेका छन् । यी कवितामा शिक्षकको जीवनमा नैतिकताको आधारमा शिक्षा प्रदान नगरी राम्रा नराम्रा सबै खाले कामको विषय उठाइएको छ । हाकिमको काम जनतालाई सेवा दिने हो तर यहाँ हाकिम साहेव कुर्चीमा नभएर जनताले सेवा पाउन सकेका छैनन् भन्ने भावमा हाकिमप्रति व्यङ्ग कसिएको छ । बुद्ध तिमीले बन्दुक बोक्न थाल भन्दै आज देशले भोग्न परेका द्वन्द प्रति व्यङ्ग कस्तै लेखिएको कविता हो । बाँच्नकै लागि मात्रै बाँचेका हामीहरू कवितामा सम्मपन्नता र विपन्नतामा बत्राँच्नेहरूको जिन्दगीको भिन्नताको चित्रणको साथै वेअर्थको बँचाइलाई के वँचाइ भन्दै सार्थक भएर बाँचन पर्ने धारणा राखिएको छ । जिन्दगी के छ र खै कविताले पनि जन्मेपछि जीव मर्ने चक्रमा दु:ख सुख भोग्दै मानिस विवश भएर बाँचेको जिन्दगीलाई के जिन्दी ठान्ने भन्दै कविले जिउनको सार्थकता खोजिरहेका छन् ।

नारीवादी चिन्तन र कवितासङ्ग्रह– पहारीजीका कवितामा मातृत्वप्रेम, नारीले भोग्न परेका समस्या, नारीमा देखिने यौन व्यवसायिकता आदिमा कविले आफ्ना धारणालाई प्रष्ट्याउने प्रयास गर्नुभएको छ । आमाको सम्झनाले कविलाई पीडित बनाएको छ र आमालाई विर्सन नसकी संवेदनाका दुई थोपा आँसु अर्पण गरेका छन्, आमा बन्न पाउनु भाग्य हो भन्दै, कविले आमालाई सागर, धर्ती हुन् र आमा भएर बाँच्नु नारीको सौभाग्य हो त्यसो हुँदा अतुलनीय मायाका सौगात जुनी जुनी बाँड्न पाउने र आमा बनेर बाँचन पाउने कामना गरेको धारणा आएको छ । नारीहरूले बाध्य भएर पीडित भएर, विवश भएर कसैको स्वार्थको पूर्तिको लागि बन्धक भएर बाँचन परेको र त्यसको जवाफ दिन नजावाफ छौं भन्ने कारुणिक धारणा पोखेको हामीले अध्ययन गर्न पाउँछौं । बास्वमा नारीले विविधरूप धारणा गर्दै विवशतालाई सहस्र स्वीकार्दै, विविध कर्मलाई ग्रहण गर्दै मौन पर्दा भित्रको जिन्दगी भएर बाँच्न परेको धारणा, राता ओठहरू नशालु हुने, चञ्चले हुने, राता ओठहरूमा जवानीका रंगहरू पोतिएका हुन्छन् तर त्यो रातो पना हराउन सक्छ भनी आजको आधुनिक प्रवृति प्रतिको व्यङ्ग छ । कवि रोदनपूर्ण गुलावसँग विचार विमर्श गर्दै भन्दछन् कि गुलावको फूलमा भमराले विष छाडेकाले यस पालकिो भ्यालेन्टाइन डेमा गुलाफको फूल बाड्न मनबाटै आशौच बारिएको धारणा प्रेमिकासँग राखेका छन् । कवि अधि बढ्छन् र चुपचाप ओठहरूको कहिले काहीँ वेइमानी बनेको र इमान बेचेको पाउँछन् र कारण पत्ता लगाउँदै विवशताले सस्तोमा बिक्रीमा पर्दा पनि चुपचाप रहनु पर्ने धारणा राख्छन् । विछोड भए पछि मन समझनामा पोखिदो रहेछ र यहाँ कवि पनि प्रेयसीको समझनामा थाहै नपाई छरपष्ट विस्तराभरि पोखिन्छन् । पोखिएर मात्रै कविलाई तृप्ति आउँदैन उनी एक घुट्को सपना पिउन थाल्दछन् । सपना पनि रातको नभै दिउसै वेशर्म / निर्लज्य सुहागरात मनाउन भ्याई नभ्याई मानिसको सपना पग्लेको पाउँछन् । कवि वैंस बेचिनुको पीडालाई केलाउन थाल्दछन् र पाउँछन् ‘उसको गँहाएको वैंस यौन पिपासुहरूले मिठो स्वादमा पिइरहेका थिए’। भनिन्छ जहाँ सूर्यका किरण पुग्दैनन् त्यहाँ कविका आँखा पुग्दछन् । ती आँखाहरूले के राम्रा के नराम्रा सबै चिजहरू हेर्दछन् तिन्मा लाज हुँदैन । कविका आँखा निवस्त्र रङ्गीहरूमा पुग्दछन् र कविले भन्दछन् –‘लुकाउने ठाउँहरू कमसेकम लुकाउन त सिक’भन्दै आजको नाङ्गिदो संसारसँग व्यङ्ग कस्दछन् । कवि अघि बढ्दै जान्छन् एउटा रमाइलो सबैचीज भएको तर नैतिकता नभएको कोठा भेट्टाउँछन् र यो सबै थोक भएको कोठामा तीतो धोका छ त्यसो हुँदा सावधान हुन आवश्यक छ भन्ने कविको धारणा छ । उपरोक्त कविताहरूमा नारीको आदर्श वात्सल्यप्रेम, प्रणय चेतना, नारीका विवशता, निर्लज्यता, नारीवादी विविध पक्षलाई (सवल र दुर्वल पक्षलाई) समेटेर नारी अस्तित्वलाई सवल बनाउँदै अघि बढ्नको लागि प्रेरणादायी सन्देश दिन सक्षम छन् कविताहरू ।

राष्ट्रवादी चेतना र कवितासङ्ग्रह –यस अन्तरगत कविले राष्ट्रिय स्तरमा भएको द्वन्द्व (जनआन्दोलन) राष्ट्र निर्माण तथा देशको सीमा अतिक्रमण साथै राजनैतिक विकृति र विसङ्गतिका धारणाहरू पोखेका छन् । दश वर्षे जनयुद्धमा सरकारले टाउकको मूल्य तोकेकाहरू आज तिनै आएर सगरमाथा बनेका र गोलमेच सम्मेलन गर्न लागेको तर जुन उद्देश्यले टाउकाको मूल्य प्राप्ति भएको थियो त्यो उद्देश्य हीन भएर टाउका पनि मूल्यहीन भएका भनी व्यङ्ग कसेका छन् । कवि भ्याकुता र माछाको तुलना गर्दै भ्याकुता कराए पछि पानी आउँछ भन्ने धारणामा माछाहरूले पानी आवश्यक्ता अनुकुल भएकोले कराउन आवश्यक्ता छैन भन्दै आजको देशमा द्वैध चरित्र देखाउने राजनैतिक कर्मीहरूप्रति व्यङ्ग कसेका छन् । कवि भत्किएका विचारहरू लिएर अघि बढ्द छन् । आज देशमा विभिन्न विचार भएका राजनैतिक पार्टीका व्यक्तिहरूले शान्तिलाई भत्काउँदै बन्दुकका नाल सोझ्याउँदै शहिद घोषणा गराउँदै राष्ट्रको सम्पत्ति रित्याएको पाउँछन् । कविले यस देशको अतितदेखि आजसम्मका परिवर्तनलाई केलाउँछन् । समयले जहिले पनि झुटो आश्वासन वाँडेको र हातखुट्टा बाँधेर लडाएको महसूस गर्दछन् तर पनि भोलिको मीठो सपना देख्ने रहर भने जनताले छाडेका छैनन् भन्दछन् । देशमा परिवर्तन ल्याउन निस्वार्थ शहिदहरूले रगत बगाए र देशमा लोकतन्त्र ल्याए तर आज स्वार्थी राजनैतिक व्यक्तिले लोकतन्त्रकै दाहसंस्कार गर्न तम्तैयार देखिएकोले देश आज छाती ठोकेर रोइरहेको, कविलाई अनुभूति भएको छ । कविले नयाँ सम्विधानले जातीय आधारमा प्रदेश छुट्टयाइएमा तराइ पहाड र हिमालको सम्बन्ध विच्छेद हुन सक्ने र देश टुक्रिन सक्ने सम्भावनाप्रति चिन्तित हुन्छन् र सावधानी अपनाउन सुझाव दिन्छन् । कविले देशको इतिहाँस केलाउँछन् र पूर्वमा टिष्टा देखि पश्चिम काँगडा र गढवालसम्म विरहरूले आर्जन गरेको यो देशको सीमा मेची र महाकालिमा खुम्चिन पुगेको र अँझै सीमा अतिक्रमण हुँदै गएको पाउँछन् र चिन्तित हुन्छन् र देश हराएको महसूस हुन्छ । कविको कलम बग्दै जान्छ नदी र मनको बगाइलाई तुलना गर्न पुग्छ । भारतीय सीमा अतिक्रमण, नदीले पहाडलाई बगाएको, तराइलाई बगरमा परिणत गरेको र त्यसबाट जनतामा पर्न गएको समस्यामा सिंहदरवार मौनरहेको भन्दै नदीले गाउँ बगाएर बगेको र कविको मन आँसु बगाएर बगेको महसूस गर्न पुग्दछन् । कविको कलम, पुन विगतका भोगाइलाई बिर्सेर देशको सीमनाका खम्बाहरू गाड्न, विश्वासका पर्खालमा सिमेन्ट दलेर दरबिलो पार्न अभावलाई पूर्ति गनर्, नयाँ युगको थालनी गर्नर्, बन्दुकलाई त्यागी कलम समाउन र बुद्ध बनेर बन्धुत्वको सिर्जना गर्नको लागि आह्वान गर्दछन् । राजनैतिक विकृति विसङ्गतिलाई कविले यी कविताहरूमा राम्ररी विश्लेषण गरेका छन् । आजका राजनैतिक दलका नेतृत्वको स्वार्थको लागि दलफोर्ने प्रवृत्तिलाई विखण्डित बानरहरूको संज्ञा दिएका छन् कविले । दलगत एकताको कमी र स्वार्थसहितको राजनैतिक वातावरणले गर्दा राष्ट्र र राष्ट्रियता कमजोर हुन गएको यथार्थता सबैकोसामु छ ।

प्रणय चेतना र कविताङ्ग्रह – कविका प्रेमिकासँग खुलादिलले कामुक र उत्ताउलो प्रेम नभै हार्दिक प्रेमलाई आफ्ना प्रणयलाई प्रष्टसँग पस्कनुहुन्छ । मायाको संझनाले कविलाई बाडूली लाग्छ र संझना भए पछि छरपस्ट विस्ताराभरि पोखिनुहुन्छ । मायावीय संसारमा कविको मन द्वन्द्वमा पुग्छ र भन्न थाल्छ –‘यो पागल मन, पाागल प्रेमीको मन, अँझ पागल बन्दै जान्छ’ । मानव मन यस्तै हुन्छ कविको मन आधारात जून हेरेर रुन्छ, भर्याङ्हरू चढ्न खोज्छ जूनलाई कोट्याउन खोज्छ । जून र मनको लडाइँ चल्दा चल्दै विहानीको किरण झ्यालबाट छिर्छ । कविका मनमा रित्तो सम्झनाका विम्बहरूले बेर्न थाल्छन् र कविले प्रेयसीको सम्झनामा भन्न थाल्छन् –

‘तिम्रो सम्झनामा,
हिजो आज अलिकति पिएर
प्रेमको दियो जलाउँदै छु’

बृद्धावस्था निस्सार भोगाईहरू– मानिसका बालक, युवा र बृद्धा आवस्थाका भोगाइहरू फरक फरक हुन्छन् । बुढ्यौलीले मानवीय जीवनमा निम्त्याएको दु:ख, सास्ती, तथा पीडाबोधलाई कविले मार्मिकरूपमा प्रस्तुत गरेका छन् । मान्छे हराएको देशमा कविले आजको नेपालको यथार्थ चित्रणलाई उतारेका छन् । कमाउन गएको छोराको आशामा बृद्ध आमाबाबु पर्खदा पर्खदै बृद्ध आश्रम छिर्न परेको र छोराको शब आउँदा वेहोस हुन परेको मार्मिक घारणा, बुढा भएका मनहरूले सानो कुरामा पनि कुडिन्छन्, भित्र भित्र दुख्छन् हाँस्न जान्दैनन्, बच्चा जस्तै स्वभाव हुन्छ, आशै आशैमा जीवन बिताइरहेका र मृत्युलाई पर्खिरहेका हुन्छन् यथार्थताले भरिएको छ कविता । ‘‘विस्तारामा ओल्टो पल्टो गर्दै जिन्दगीले बुढो भएको अनुभव गर्दै छ ।’ बूढोपनको अनुभूतिमा कविले जीवनका सबै खुडकीलालाई समेटेर मन तन्देरी हुँदा हुँदै पनि थाहै नपाइ तन बुढो भएको प्रस्तुतिमा जीवनभरि गरिएका अनुभूतिलाई समेटिएको छ ।

स्थान विशेषमा लेखिएका कविताहरू –ग्रामीण र सहरी वातावरणप्रति तुलनात्मक कविता पनि यस कृतिमा पढ्न पाइन्छ । गाउँ गरिब छ, यहाँका कविता नरम हुन्छन्,प्रकृति पूर्ण हुन्छन् वास्तविकताले भरिएका हुन्छन् । गाउँलेले झुक्क्याउँदैनन् । कविले ग्रामिण परिवेशमा कविता लेख्न मन पराउँछन् । यसको ठिक विपरित चक्का जाम, बन्द हड्ताल, कफ्र्यु, बलात्कृत, छाडा पन, अस्मिताको बिक्री, हत्या हिंसा आदि क्रियाकलापको कारणले कविले सहर मन नपर्ने धारणा राख्दछन् ।

कविप्रतिको धारणा र कवितासङ्ग्रह – साहित्य सिर्जना र त्यसमा ओगटीने विषय बस्तुको सारभाव कस्तो हुनुपर्छ, कवि कहाँसम्म पुग्न सक्छ, समाज निमार्णमा कस्तो मार्गदर्शन दिन्छ आदि धारणाहरू कविले आफ्ना कविता मार्फत प्रस्तुत गरेका छन् । मिलन समीरमा–

‘यहाँ धेरै मिलन समिरहरू
कवि हुँदैनन्, कविता बोल्दैनन्
जस्ले मिलनको बिन्दुमा पुग्न सक्छ
ऊ समीर बनेर पोखिन्छ सिर्जनामा’

कविता कहिले आगो भएर दन्किनु पर्छ, कहिले पानी भएर दर्किनु पर्छ र कहिले युगलाई हाँक्न सक्नुपर्छ ।, काँडा र पहाडका कविता, संघर्षकाका कविता, कविता स्वतन्त्रका कविता जस्ता भावपूर्ण कविता लेख्न सकेमात्र कवि भएको सार्थक भइन्छ । कवि भएर अन्याय, अत्याचार, भ्रष्टचार, खुसी प्रेम र पीडाहरू चाकडी र चाप्लुसीहरू मिलन विछोडका सम्वादहरूमा टिप्पणी गर्दै कविताको नशा नशामा पसेर कविता जन्माएर कवि बन्न सकिन्छ र मन संवेदित भए पछि कविताको जन्म हुन्छ भन्ने धारणा पस्केका छन् कविले ।

विविधताले भरिएको कवितासङ्ग्रह– मौन सडकले दर्शाएको मौनतामा पाइने सहनशीलता, साहिला बामा पाइने, सामन्ति पन आज पनि जीवितै रहेको धारणा, नरमाइलो तिहारमा दाजु भाइ विदेशबाट नआए पछि दिदीबहिनीमा आउने शून्यता, भोलि बिहानको सपनामा प्रत्येक निष्पट्टरातले भोलि विहानको सम्भवनाहरू थुप्रै जन्माउने, दु:खाइहरूमा फरक फरक शैलीमा मनभरि सीमा नाघेर र अघाउन्जेलको दु:खाई पाइने, नदीहरूमा निरन्तरताको धारणा, नाङ्गा जनतामा नाङ्गो देशका नाङ्गा जनता नाङ्गाभएर बाँचिरहेको धारणा, आकाश गर्जिएको रातमा रातमा आकाश गर्जियो म डराएँ शब्दले आजको सन्त्रास्तपूर्ण अवस्थाको जानकारी जस्ता अभिव्यक्ति कविका कवितामा हामीले अध्ययन गर्न पाउँछौं ।

माथि उल्लेखित भावसारले पहारीका कवितामा हामीले राजनैतिक विकृति विसङ्गतिले अग्रस्थान लिएको पाइन्छ । आजको समसामयिकतालाई केलाउँदा देशले विकासको फन्को मार्न नपाउनु नै राजनीतिक खिचातानी नै देखिन्छ । यी चीजमा कविले सशक्तरूपमा व्यङ्ग कसेका छन् । व्यङ्ग कसे पनि यिनले शिष्ट र मर्मस्पर्शीरूपमा प्रस्तुत भएका छन् । कविका कविताले अजम्बरीतालाई ओगट्न सकेमात्र कवि अजरअमर बन्छ तथा कर्तव्य बोधको ज्ञान सबैमा हुनुपर्छ, मानव जीवनका निसारता, बाँच्नुको पीडा, जीवनमा गर्नु पर्ने संघर्ष प्राप्त हुने असफलता जस्ता जीवन जगतका भावपूर्ण अभिव्यक्तिहरू, युगीन परिवर्तनका सन्देशहरू, विद्रोही चेतनाहरू, मातृत्वप्रतिको प्रेम, सुधारवादी साथै आशावादी धारणा र प्रणयचेतनाले युक्तता नै भएर कविमन छताछुल्ल भएको छ ।

भाषाशैली – प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग गरिएको यस कवितासङ्ग्रहमा प्रयोग भाषा अत्यान्त सरल, सहज, सुबोध सम्प्रेषणीय एवं वर्णनात्मकरूपमा भएको पाइन्छ ।

शीर्षकीकरण – मानवीय विविध पक्षलाई केलाउँदै वर्तमान परिस्थितिमा आज देशका जनताले भोग्न परेको यथार्थतामा आधारित रहेर यस कविताको शीर्षक ‘मान्छे हराएको देश’ राख्दै कविले सार्थक सन्देश दिएका छन् । युवा युवतीहरू पलायन भएका छन् । मानवले पालन गर्नु पर्ने मानवीय आदर्शमा ह्रास आएको छ । मानव भएर मानवता, राष्ट्रियता, शिष्टता, ज्ञान, विवेक, मानवीय आदर्शता आदिलाई ख्याल गरिदैन भने देशमा मानव भए पनि मानिस हराए सरह नै ठानिन्छ । कविले आजको विश्वको परिवेशलाई केलाएका छन् र आफ्नो कृतिको शीर्षक मान्छेहराएको देश राखेका छन् । शीर्षकलाई मैले सार्थकरूपमा लिएको छु ।

अत: अन्त्यमा कविले समसामयिकतालाई केलाउँदै स्वच्छन्दरूपमा कवितालाई पस्कदै, विकृतिर विसङ्गतिप्रति कटाक्ष गर्दै आफ्नो धारणा यस कृति मार्फत सन्देश प्रवाह गर्न खोज्नुभएको छ, अति प्रसंशनीय छ भन्दै, अर्को कृति प्रकाशनमा आओस् भन्दै कविलाई सुस्वास्थ र दीर्घायुको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद,
सदानन्द अभागी
कावासोती नवलपरासी
२०७३ असौज २१ गते,

Leave a Reply

Your email address will not be published. Required fields are marked *