Skip to content


बजार तातेको छ
दशैंको बजार भाउले
गाउको चोकमा उत्सव छ
रोटेपिङ्गमा केटाकेटीको हो हल्लाले
तर पुन्टे जेठाको घरमा शुनसान छ
मकैको केही पिठो थियो घैटोमा
त्यही पनि सिध्दिएको छ दुई दिनदेखि

हुनेखानेहरूको बार्दलीमा
रङ्गी चङ्गी बिजुलीका बल्बहरू
पहरा दिन्छन् कोठा चौटामा
उज्यालो छरेर हरपल
नयाँ नाना लगाएर
आगनमा उनैका छोराछोरीहरू
ओहोर दोहर गर्छन्

पारी खेतको किनारमा
डाडाघरे आफ्नो आकाश देखिने
घरबाट
हेर्छ पर पर कहालीलाग्दा भाजा जमिन
आङ्गमा लुगा फाटेका
आफ्ना बाल बच्चाहरू
उस्को सानो छोरो सोध्छ उसलाई
बाबा दशैंमा मलाई नयाँ नाना खोइ ?

बिदेशबाट / शहरबाट / काठमाण्डौबाट /
सदरमुकामबाट
फर्कन्छन् छोराछोरीहरू सबैका
रिजाल्नी माइली माथ्लो गाउमा
हेरिरहन्छिन् आउनेहरूको भीडमा
कतै फर्कीइकि मेरी भन्दै
जो दुई वर्ष पहिले दशैंको बेलामा
दलालबाट बेचिइकी थिई

यौटा भलाद्मी आउदा
कुनै परियोजना भित्र्याउदै गरेको भ्रममा
दशैंको गर्जो टर्ला कि भन्ने सानो
आशाको त्यान्द्रोमा
हेर्दाहेर्दै थाकेर पनि फेरि हेर्दै
कुनै नौतुन अनुहारमा
अन्नको जरुरत महशुस गर्दैछन्
पैह्रो पीडित उपल्लो भेकका किसानहरू

तर किन किन्न सक्तैन
यौटा साधारण मानिस दशैंको रौनक
आफ्ना लाला बालालाई !
कसरी भित्रीदैन
सबैको घर घरमा निधारमा रातो टीका
र कानभरी जमरा !!
खै यो कुरा कहिले राज्यले बुझ्ला
कैले गरिब मैत्री होला दशैं !!!

यौटा आशा छ मेरो
दशैं आउदा कसैको अफ्ठेरो बनी नआओस्
रिण भएर टाउकोमा कफन पनि नहोस्
सबैको खुशी बनेर आओस्
हर नेपालीका घर घरमा दशैं !

अस्तु ।

विवेक दुलाल क्षेत्री “दमक”
दमक, झापा
हाल ; अबुधाबी, युएइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *