Skip to content


आफू सुत्ने कोठाभित्र काटिमा झुन्डिएको निलो गाडा रंगको टोपीले बिरुको ध्यान खिच्छ । जसमा अगाडिपट्टि ठुलो अक्षरमा लेखिएको हुन्छ “EPS” । सात महिना आघि त्यस टोपी कम्पनीको कोठा प्रवेशसँगै सबैभन्दा पहिले शिरबाट फुकालेर आफू सुत्ने स्थानको ठिक माथि दायातिर परखालमा सुरक्षित झुन्ड्याएको थियो । शुरुताकामा त्यस टोपीप्रति गहिरो माया बसेथ्यो उसलाई । गहिरो माया यो अर्थमा कि कोरिया प्रवेशको अवसर ईपिसले दिएको हुनाले ईपिएस अंकित टोपी थियो त्यो । ईपिएस प्रणालीको चिनारीको रुपमा टोपी पहिरिए पनि आफूले ईपिएसको चिनोको रुपमा स्वीकार्दै त्यस टोपीलाई आफ्नो सन्तानलाई झै प्रेम दर्शाएथ्यो ।

त्यसो त उसँग छेवैमा थन्किएको लगेजमा अरु दुई टोपी पनि छन जुन आजसम्म उसले एक पटकपनि हेरेको छैन । आज झुन्डिएको टोपीले उसलाई बिगतमा डोहोर्याइरहेछ र कामले थकित र एकाग्रित मनलाई बेकसुर घुमाइरहेछ । नेपालमा इपिएस सेन्टर परिसर भित्र ज्याकेट र टोपी बुझिलिदा टोपीलाई नै असीम माया गर्दै चुम्बन गरेको सम्झन्छ । कोरिया प्रवेशको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थमा आइपुग्नुभन्दा अगाबै इपिएस अंकत टोपी पहिरिएको सम्झन्छ । कोरियन भाषा पाश गर्दादेखि नै परिवारको खुशी समेट्दै साथीभाइसंगको खुशी साटसाट गरेको यावत कुराहरू सम्झन्छ । वर्षैदेखि कोरियाको सपना सजाएर आफ्नो श्रम सम्झैताको ब्यग्र पर्खाइमा लामो समय खर्चेको उसले नबिन जोश, जागर र संकल्प बोकि खुशीतुल्य मुद्रामा निर्धक्क कोरिया प्रवेश गरेको पनि सम्झन्छ । केबिजको तीन दिने लामो ट्रेनिड़मा हरेक दिन पहिरिएको टोपीसंगसँगैको ज्याकेट पनि सम्झन्छ । उसलाई ईपिएस अंकित पातलो निलो रंगको ज्याकेटको झिनो वास्ता लाग्दैन तर ठिक बिपरित पर्खालमा झुन्डिएको टोपीको भने अमिट छाप छ ।

संसारमा अति प्रिय लाग्ने बस्तु वा चिजहरू कुनै दिन अप्रिय पनि हुन सक्छन । हिजोसम्म बहुत प्रेम गरेको टोपी आज उसका लागि यस्तै साबित भएको छ । कोरियाको दिनरातको कामको थकान र कोरियनहरूको निच र हिन गालिले आज झुन्डिएको टोपी घृणित र अपहेलित भएको छ । महिनैसम्म उठ्दा र सुत्दा ठिक माथिल्तिर देखिने त्यस टोपीको स्थानमा उसले अब अर्को टोपी झुन्ड्याउने अठोट गरेको छ । फलस्वरुप बिरुले छिनभरमै लगेज खोली एक कुनामा गुटुसमुटुस अवस्थामा रहेको ढाका टोपी हत्तपत्त निकालि निलो टोपीलाई झ्वाट्ट थुती नेपाली ढाका टोपी काटिमा झुन्ड्याउँछ र टोपीलाई एकटकले हेरिरहन्छ ।

तथापि घरिघरि ऊ टोपीमा झुक्किए जस्तो गर्छ र नजिकै जान्छ र फेरि टोपी नियाल्दछ ।

बिरुले टोपीमा स्वदेशको गन्ध पाउँछ । मेचिकालिसम्मकै चित्र मनस्पलमा घुम्छ । अग्ला अग्ला हिमालदेखि तराईका समथर फाटहरू टोपीभित्र देख्छ । लालि गुराशका थुगाहरू चिसो बतासमा यता उता नाचिरहेको देख्छ । रेशादार टोपीभित्र सललल बग्ने सयौ खोला र नालाहरू बगेको देख्छ । सात समुद्र पारिरहेको आफ्नो देशलाई आज बिरुले छिनभरमै टोपीमा देख्छ र अन्तस्करणबाटै गदगद हुन्छ ।

पहिले पहिले निलो टोपीमा गर्वित हुने बिरु आज ढाका टोपीमा मुस्काउँछ । उसले फेरि झुन्डिएको ढाका टोपीलाई हातैमा लिन्छ र टोपीकै खुम्चिएका भागहरू मिलाउने कोसिस गर्छ । तर महिनैसम्म लगेजभित्र लुगाको थाकले किच्चिएर कच्याककुच्चुक परेको टोपीका भागहरू सजिलै यथास्थानमा आउदैनन् ।

खुम्चिएको टोपी नियाल्दै जाने क्रममा उसले त्यसभित्र अग्लाअग्ला पहाड र कन्दराहरू भेट्छ । ठुलाठुला उत्तरि हिमश्रिड़्खलाहरू, चारकोसे झाडिहरू, सुन्दर तालहरू, झरझराइरहेका झरनाहरू आदि देख्छ । बिरुले केहीबेर टोपीलाई ओल्टाई पल्टाई नियाल्छ र भावुकताको चरम उत्कर्षमा पुग्दछ र अन्त्यमा फेरि त्यस टोपीलाई बिस्तारै काटिमै झुन्ड्याउछ ।

यसरी एउटा टोपीको प्रेम एकाएक अर्को टोपीमा रुपान्तरण हुन्छ । “संसारका याबत चिज वा मान्छे हाम्रो अनुकुलता र सहजतासँगै चल्न सके मात्र प्रिय हुने ?

नत्र अप्रिय हुने ?” भन्ने प्रश्नले बिरुको मनमा डेरा जमाउन सुरु गर्छ । “होइन, टोपी खराब हुदै होइन, टोपीले के गर्यो र ? बिचरा निर्दोष टोपी” बिरु फेरि निलो टोपीलाई खोज्न थाल्दछ । रिसले चुरमुरिएर फ्याकेको टोपी नमज्जाले कोठाको कुनामा ऊत्तानो परेर पल्टिएको हुन्छ । टोपीलाई टक्टकाई छेवैमा घोप्टाएर राख्छ । बिरुको त्यस निलो टोपीप्रति फेरि सहानुभूति देखाउन शुरु गर्छ । क्षणभरमै माया पाएर टोपी पनि गमक्क फुलेजस्तो देखिन्छ ।
वास्तवमा बिरुको टोपीप्रतिको घृणा कोरियनहरूको क्षुद्र व्यवहारको ऊपज हो । उसले सहन गरेको अपाच्य बोली र ब्वहारले ऊभित्र यसरी आगो दन्काइदियो जसले गर्दा सदाका लागि निलो टोपी आफ्नो स्थानबाट लखेटियो र अर्को टोपीले अवसर पायो जुन उसका लागि निलोभन्दा वर्तमानमा धेरै मूल्यबान र गतिलो भएर उभियो । बिरुले आफू सुत्ने स्थानमा गई सुतेर पनि त्यस झुन्याइएको ढाका टोपीलाई हेर्न शुरु गर्छ त्यहा उसले साच्चै एउटा सुन्दर देशको चित्रण देख्छ । बिरु झन आन्नदित र उन्मादित हुन्छ ।

आजभोलि बिरु हरेक दिन सुत्दा त्यही पर्खालको टोपी हेर्दै सुत्छ र उठ्दा त्यही पर्खालको टोपीलाई हेर्दै उठ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *