पानी पिएर फर्कँदा सौराहाको हीराकली हात्तीका अघिल्तिरका दुवै खुट्टा धापमा गाडिए । घाँसले ढाकिएको सीमसारमा त्यहाँको दबदबे हिलो हीराले देखेकै थिएन ।

हीरालेपछिल्तिरका खुट्टा दह्रा बनाउँदै गाडिएका खुट्टा निकाल्न खोज्यो । ‘आफू ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो’ भने झैँ निकाल्ने प्रयास गर्दागर्दै हीराका पछिल्तिरका खुट्टा पनि हिलोमा गाडिए । हीरालाई पर्नु आपत् पर्‍यो ।

“लौन.., म त शत्रुलाई पनि पर्न नहुने आपतमा परेँ, चारैवटा खुट्टा गाडिए, कसरी उम्कुँ अब, बचाऊ.. .. ..”-हीरा चिच्च्यायो । तर हीराको गुहार कसैले पनि सुनेन ।

एकपल्ट सुँड उचाल्दै उसले चारैतिर हेर्‍यो । तर कतै पनि कसैको चालचुल थिएन । “अब आफैँ बल गर्छु र जसरी पनि उम्कन्छु”-हीराले मन दह्रो बनाउँदै आँट गर्‍यो । एकपल्ट आफूलाई भास्दै लगिरहेको धापलाई हेर्‍यो र लामो सास तान्यो । अनि एकै जोडमा धापबाट उम्कन उसले सक्दो बल गर्‍यो । सुँडको सहाराले न्वारनदेखिको बल लगाउँदा बल्लतल अघिल्ला खुट्टा केही माथि आए जस्तो भयो तर पछिल्तिरका खुट्टा झन्झन् धापमा गाडिए ।

जति प्रयास गरे पनि हीरा हिलोबाट उम्कन सकेन । खम्बा जस्ता मोटा र बलिया खुट्टा बिस्तारै हिलोमा चुर्लुम्म भए । खुट्टा मात्र कहाँ, हीराको पेटले नै हिलो छुन थाल्यो । सकसले छटपटीएको हीरा बुरुक्क उफ्रेर घाँसे मैदानमा पुग्न चाहन्थ्यो तर त्यत्रो बल कहाँ हुनु ?

हीराकलीको पेट र जीउ पनि बिस्तारै धापले निल्न थाल्यो । “बचाऊ.., लौन मलाई बचाऊ.. ..मलाई यो भासमा डुब्न नदेऊ ।”-आधाउधी जीउ समेत गाडिइसकेपछि आकाशतिर आफ्नो लामो सुँड फर्काउँदै हीरा फेरि एकपटक जोडले चिच्च्यायो-“यत्रो जङ्गलमा कोही छैन कि क्या हो, मेरो आवाज सुनेनौ, अब त टाउकै पुरिइन लागिसक्यो, लौन तान मलाई, छिटो तान गुहार.. गुहार..बचाऊ.. .. ।”

हीराको चित्कार सुनेर ऐरे हात्ती, भालु र बाँदर तुरुन्त त्यहाँ आइपुगे । हीराको हालत देखेर उनीहरू हडबडाए । उनीहरू हीरालाई घ्वाम्लाङ्ग अङ्गालो हाल्न चाहन्थे तर दबदबे हिलोका कारण अगाडि बढ्नै सकेनन् ।

“लौन, म त जमिन भित्रै छिर्ने भएँ, तान, छिटो तान मलाई.. ..।”-साथीहरूबाट तुरुन्तै सहयोगको आसा गर्दै हीराले बिलौना गर्‍यो ।

के गर्ने, के गर्ने भनी ऐरे हात्ती, भालु र बाँदर अलमलमा परे र एक अर्कामा मुखामुख गर्न थाले ।

“जाऊँ.., जाऊँ.., सबैजना भएर तानुँ, जे त होला । “-ऐरेले अघि सर्दै भन्यो । भालु र बाँदर पनि उसको पछि लागे । तर दुई पाइला चाल्नासाथ आफ्नै खुट्टा गाडिन थालेपछि ऐरेपछि हट्न बाध्य भयो ।

“लौन के गर्ने त, छिटो भन न, हीरालाई त जसरी पनि बचाउनै पर्छ”-भालुले भन्यो ।

यतिञ्जेलसम्म केही नबोलेको बाँदर अँझै केही नबोली बेतोडले दगुर्‍यो ।

“त्यसै कहाँ कुदेको तिमी”-ऐरेले रुञ्चे स्वरमा भन्यो-“लौन.., छिटो सबैलाई बोलाएर ल्याऊ है ।”

भालुले केही पर रहेको रूखको लामो हाँगा ल्याएर एक छेउ हीरानजिकै पुर्‍यायो र बेस्सरी समात्न भन्यो । हीराले केही भर पाएको अनुभव गर्दै हाँगालाई सुँडले बलियो गरी समात्यो । यता अर्को छेउ समाइरहेका ऐरे र भालुले पनि एकै बेगमा हीरालाई बाहिर निकालुँला जस्तो गरी हाँगो बेस्सरी ताने । हीराको ठुलो जीउ हल्लिए हल्लिए जस्तो भएको थियो । तर एक्कासि हाँगो बीचमै भाँचियो र ऐरे र भालु दुवै उत्तानो परे ।

ढाड सुम्सुम्याउँदै ऐरे र भालु उठेका मात्र के थिए । बाँदर बाबियोको मोटो लठारो घिसार्दै आइपुग्यो । जङ्गल नजिकै गाउँलेले हालेको लिङ्गे पिङबाट झिकेर बाँदरले त्यो लठारो ल्याएको थियो । बाँदर आँत्तिदै लठारो लिएर आएको देखेपछि सारस, मृग र बँदेल पनिसँगै आए ।

सिमसारमाथिबाट तेर्सिएको रूखको हाँगाबाट लठारो खसालेर बाँदरले त्यसको एक छेउ हीरालाई समाउन दियो । अर्को छेउतिरबाट बाँदरसहित ऐरे हात्ती, भालु, बँदेल, सारस, मृगले बेस्सरी ताने ।

“होस्टे.., हैंसे.., होस्टे.., हैंसे..। होस्टे.., हैंसे..। होस्टे.., हैंसे..।”

शुरुमा त हिलोमा गाडिएको हीरा हात्तीको अजङ्गको जीउ डेगै चलेन । तर बिस्तारै, बिस्तारै हल्लियो र अलि अलि गरी सर्न थाल्यो । हीरा बिस्तारै माथि-माथि निस्कँदै गर्दा तानिरहेका जनावरहरूमा खुसी बड्दै जान्थ्यो । हीरा पनि यत्रा साथीहरूको माया र सहयोग पाएपछि कसो नबाँचिएला भनेर ढुक्क हुँदै थियो । नभन्दै निरन्तरको प्रयासपछि हिलो लत्पतिएको हीराको पुरै शरीर बाहिर निस्कियो । घिसार्दै उनीहरूले हीरालाई ओभानो पाखामा ल्याए । मुक्तिको खुसीले हलुका भएको हीराको शरीरबाट बाँदरले हिलो पुछिदिन मात्र के लागेको थियो, मृत्युलाई जितेकामा बधाईँ भन्दै ऐरे हात्ती, भालु, बँदेल, मृग र सारस अङ्कमाल गर्न थालिहाले । नयाँ जीवन पाएकामा खुसीले गद्गद् हीराकली हात्तीका आँखामा साथीहरूप्रतिको कृतज्ञताको आँसु छचल्किरहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *