Skip to content


कुनै गाउँमा दुई बूढाबूढी बस्थे । उनीहरूको घर अग्लो ठाउँमा थियो । होचो जमीनमा अरू गाउँलेहरूको घर थियो । त्यो होचो ठाउँ तलाउजस्तो आकारको थियो । गाउँलेहरू अलि दुष्ट मिजासका भएका हुँदा उनीहरू गाउँबाट अलि माथि बसेका थिए । साँझ परेको थियो । दुई बूढाबूढी रातको खाना खाई ढोका बाहिर गफ गरिरहेका थिए । गाउँमा केटाकेटी कराएका र कुकुर पनि लगातार भुक्न थालेकोले उनीहरूको गफमा बाधा पर्‍यो । कुकुरको भुकाई र केटाकेटीको हल्ला झन् झन् नजिकिन थाल्यो ।

बूढाले भन्यो, ‘हे बूढी, आज पनि वास बस्न आउने बटुवालाई बास र गाँस दिनुको साटो गाउँलेहरूले कुकुर लगाइदिएजस्तो छ, विचरा ।’ बूढीले भनिन्, ‘अब हामीले भनेर हुँदैन, उनीहरूको स्वभाव नै त्यस्तो छ । बटुवा हामीकहाँ आए भने स्वागत गरिहालौला नि ।’

बूढाबूढीहरू धेरै गरिब थिए । उनीहरूसँग गाई, सानो बगँैचा र मौरीको घारी थियो । उनीहरू सबैभन्दा गरिब थिए तर पनि उनीहरू भोकाएका यात्रीलाई वास दिन्थे र आफूले नखाएर पनि खान दिन्थे ।

कुकुरको भुकाई झन् झन् नजिकिन लाग्यो । बूढाले भने, ‘अहो, यस्तो हल्ला त मैले आजसम्म सुनेकै छैन ।’ ‘अँ, केटाकेटीहरू पनि यति बिघ्न चम्केको मलाई थाहा छैन,’ बूढीले भनी ।

स्वाँस्वाँ गर्दै डाँडा चढेर दुई पहुनाहरू बूढाबूढी भएको ठाउँमा आए । कुकुर र दुष्ट केटाकेटीहरूले उनीहरूलाई पछ्याउन छोडेका छन् । पाहुनाहरू थाकेका र माया लाग्दा अनुहारका थिए । बूढीले बूढालाई भनिन्, ‘बूढा तिमी उनीहरूसँग कुरा गर्दै गर, म भित्र गएर उनीहरूको लागि केही खानेकुरा तयार गर्न तिर लाग्छु । विचरा थकाइ र भोकले चुर भएका छन् ।’

बूढी छाप्राभित्र गइन् र बूढा चाहिँ पाहुनाहरूको स्वागत गर्न उनीहरू छेउ गयो । ‘आउनु होस्, बस्नु होस्, तपाइर्ंहरूलाई यो सानो छाप्रोमा स्वागत छ ।’

थाकेको अनुहार भए पनि आफूलाई हँसिलो बनाई एउटाले धन्यवाद दियो र उसले आˆनो नाम क्विकसिल्भर भएको बतायो । केही बेरपछि पाहुनालाई साथमा लिई बूढा छाप्राभित्र गयो । बूढीले छिटोछिटो खानेकुरा तयार पारिसकेकी रहिछन् । पाहुनाहरू पनि धेरै नै मिजासिला र रसिला थिए । बूढीले भनिन, ‘बाबुहरू आउने कुरा पहिले नै थाहा पाएको भए केही मिठा कुराहरू बनाउने थिएँ, अहिले जसोतसो मात्र भएको छ । पाहुनाहरू, ‘हाम्रा लागि धेरै दुःख नगरेको भए पनि हुन्थ्यो, आज एक रात त हो नि जस्तो भए पनि हुन्छ’ भन्दै खानेकुरा खान बसे ।

खानेकुराको नाममा सानो माटाको भाँडोमा दूध थियो । त्यो दूध दुई पाहुनालाई मात्र पुग्ने थियो । बूढाले पाहुनालाई दिन दुई कचौरामा दूध खन्यायो, भाडोमा अलिकति पनि बाँकी राखेन । त्यो दूध खाइसकेपछि क्विकसिल्भरले भन्यो, ‘आमा, मलाई अलिकति दूध थपिदिनोस् न । आज निकै गर्मी छ, तिर्खा धेरै लागेको छ, दूध दिनोस् ।’

बूढीले भनिन, ‘बाबु दूध धेरै थिएन केही थोपाथोपी मात्र बाँकी होला ।’ होइन होला खोइ हेरौँ त भनी क्विकसिल्भरले दूधको भाँडो हातले तान्यो । उसले भन्यो, ‘यहाँ त निकै दूध छन् नि, आमा ।’ उसले भाँडो ढल्काएर आफूलाई मात्र होइन आˆनो साथीको कचौरा समेत टन्न भरिदियो । यो देखर बूढी छक्क परिन्, यो हुनै नसक्ने कुरा भयो । बूढीले विस्तारै हात बढाएर दूधको भाँडो हातमा लिइन् । आश्चर्य, भाँडोको पिंधमा त दूधको धारा उम्लिरहेको । एकै छिनमा दूधले भाँडो भरियो ।

क्विकसिल्भरले दोस्रोपटक कचौराबाट दूध पिउदै भन्यो, ‘आहा! कति मीठो दूध, आजसम्म यति मीठो दूध खाएकै छैन ।’ बूढी आमाले पाहुनालाई अंगुरको झुप्पा दिइन् । पाहुनाहरू अंगुर र दूध खाइरहँदा उनी बूढाको छेउमा गइन् र आफूले देखेको अनौठो कुरा बताइन् । उसले विश्वास गर्न सकेन । पाहुनाले अझै दूध थप्ने आग्रह गरे । बूढाले दूधको भाँडो हत्तनपत्त हातमा लियो र हेर्‍यो, भाँडोमा दूध थिएन तर आश्चर्य एकै छिनमा पिंधमा दूधको छहरा उम्लेको देख्यो । भाँडो भरियो ।

बूढाले आफूलाई थाम्नै सकेन र आश्चर्य मान्दै उनीहरूलाई सोध्यो, ‘तपाईंहरू को हुनुहुन्छ यस्तो चमत्कार देखाउने ? यस्तो आश्चर्य आजसम्म हामीले कहिल्यै देखेनौ ।’

क्विकसिल्भरले स्वाभाविक स्वरमा उत्तर दियो, ‘बुबाआमा Û हामीहरू तपाइर्ंका पाहुना हौँ, तपाईका हितैषी हौँ । तपाईंहरू थाकेका यात्रुलाई जे सक्दो खान दिनु हुन्छ, वास दिनुहुन्छ, यस्तो राम्रो काम गर्ने तपाईंहरूको यो दूधको भाँडो अबदेखि कहिल्यै पनि रित्तिने छैन । भरिभराउ नै रहने छ, जति झिके पनि ।’

रातको खाना खाँदै उनीहरूले गाउँ र गाउँलेका विषयमा पनि धेरै कुरा थाहा पाए । धेरै बेरसम्म उनीहरूको कुरा भयो । उनीहरू सुत्न गए । बूढाबूढी पनि भुइर्ंमा ओछ्यान लागाएर सुते । एकै छिनमा उनीहरू निदाए ।

सधैंझँै बूढाबूढीहरू सूर्य उदाउनुअघि नै उठे । पाहुनाहरू पनि उठेर आˆनो बाटो लाग्न ठिक्क भए । बूढाबूढी र पाहुनाहरू छाप्रा बाहिर आएर कुराकानी गर्न लागे । बिहानको दृश्य निकै रमाइलो थियो । चिसो हावाले उनीहरूलाई अरू आनन्द दिइरहेको थियो ।

बूढाबूढी उनीहरूलाई अलि परसम्म पुर्याउन गए । बाटोमा बूढाले भन्यो ‘हाम्रा गाउँलेहरूले पाहुना सत्कारको आनन्द लिन सकेको भए पाहुनालाई कुकुर लगाई धपाउने र केटाकेटीलाई उल्याएर उनीहरूलाई दुख दिदैनथ्ये होला ।’ क्विकसिल्भरले बूढातिर र्फकैदै भन्यो, ‘बा तपाइर्ंले कुन गाउँ र कुन गाउँलेका कुरा गरिरहनुभएको छ ? मैले त केही पनि बुझिन । यहाँँ त कहीँ पनि गाउँ छैन । म त देख्दिन, तपाईं देख्नुहुन्छ ?’

बूढाबूढीले पछाडिको खाल्टोमा रहेको गाउँतिर औँला देखाउन थाले । आश्चर्य त्यहाँ त गाउँको कुनै नाम निशान नै थिएन । हिजोसम्म त्यहाँ बाटोघाटो, चहलपहल, खेतबारी, रूख बिरुवा, उद्योग व्यापार सबै थियो । अहिले त्यहाँ केही पनि छैन, त्यो ठाउँ त पानीले टम्म भरिएको छ ठूलो दहजस्तै । जताततै पानी, पानी ।

ती दयालु बूढाबूढी रुँलाझै गरी भन्न लागे, ‘लौ न के भयो हँ हाम्रा ती गाउँलेहरूलाई ? विचरा ती कहाँ गए होलान् ? कुन अवस्थामा होलान् ? यहाँ त पानी पानी पो छ त ।’

क्विकसिल्भरले गम्भीर आवाजमा भन्यो, ‘अब ती गाउँलेहरू मानिस रहेनन् । तिनीहरू मानिस भएर पनि मानिसजस्ता थिएनन् । तिनीहरू सबै अब माछा भएका छन् ।’

क्विकसिल्भरले भन्यो, “हे दयालु बा आमा, तपाइर्ंहरूको के इच्छा छ भन्नुहोस् म पुर्‍याइदिन्छु ।”

बूढाबूढीले एकअर्कातिर हेर्दै भने, “हामी बाँचुन्जेल सबैको सहयोग गर्न पाऔँ सँगै बाँचौँ, सँगै मरौँ ”

तपाइर्ंहरूको इच्छा पूरा होस् भनेपछि उसले फेरि भन्यो, “तपाइर्ंको छाप्रोतिर हेर्नाेस् ।” छाप्रो भएको ठाउँमा एक भव्य महल बनिसकेछ । उसले भन्यो, “यो तपाइर्ंहरूको घर हो । अब यहाँ बस्नुहोस् ”

बूढाबूढीले पाहुनाहरूलाई धन्यवाद दिन पछाडि फकर्ंदा त्यहाँ पाहुनाहरू थिएनन् । उनीहरू अलप भइसकेका रहेछन् ।

बूढाबूढीहरू त्यो भवनमा बाँचुञ्जेल बसे र सबैलाई सहयोग गरे । उनीहरूको दूधको भाँडो पनि कहिल्यै खाली भएन ।

(युनानी कथा)

3 thoughts on “अनौठो जादुको भाँडो”

Leave a Reply to vikky Cancel reply

Your email address will not be published. Required fields are marked *