Skip to content

मन एक्लियो


मन एक्लियो र अतालियो
छु प्रवासमा र निसासियो

सुखले सहेन छ जिन्दगी
परितापमै तन होमियो

कति दर्द भो विरहाग्निले
न त ज्यान गो न त बाँचियो

छरपष्ट छन् सपना यहाँ
सब चैनबाट लखेटियो

परिकल्पना ह्रदमा डुबे
तब आशको जड ठोकियो

किन दैव आज कृतघ्न छ
किन झोक्कियो र बटारियो

अब बृद्धता छ शरीरमा
घर आँगनी पनि टाढियो

गीतिका छन्द
(५ अक्षरमा विश्राम)
-कोमल भट्ट
चन्द्रागिरी न.पा -२१
काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *