Skip to content

म निदाउँदै छु


पर्ख पर्ख साथी म निदाउँदै छु
यो निदाउनु अगाडि
केही सम्झिनु छ
अनि देख्नु छ यस्तो सपनी
यही निदमा,
किनकि यो निद मेरो अन्तिम निद हो ।

म जिन्दगीका अधुरा कामहरू
सम्झिदै छु
जो पूरा गर्नु छ आज
यही सपनीमा
रंगहिन मेरा जिन्दगीका
यी खालि पानाहरूमा
भर्नु छ थोरै
उमंग उल्लास
अनि देखाउनु छ
यो दुनियाँलाई
आजै यही सपनीमा ।

जसले मलाई सम्पूर्ण दिए
बदलामा मैले केही दिन सकिन
जसलाई मैले सम्पूर्ण दिए
बदलामा मलाई केही दिएनन्
गर्नुछ हिसाबकिताब
अनि
चिन्नुछ जिन्दगीका
आफ्ना
बिराना
पात्रहरू
आज यही सपनीमा ।

जब म पूर्ण रुपमा निदाइसकेको हुनेछु
तब मलाई नबोलाउनु तिमी
म कहिल्यै नबोल्ने सक्ने भैसकेको हुनेछु
तिमीले मलाई
अब कुनै बिहानिमा
खुट्टा घिसारेर ब्युझाउनु पर्ने छैन
अब मेरो कुनै बिहान हुनेछैन
म यस्तो मस्त निद्रामा हुनेछु
त्यसबेला तिम्रो कुनै चित्कार
सुन्न सक्ने छैन
देख्न सक्ने छैन
किनकि
त्यो बेला तिमीदेखि म
धेरै टाढा गइसकेको हुनेछु ।

मदन मुस्कान
दाङ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *