Skip to content

मुक्तिनाथको यात्रा र भ्यागुताको संस्कार !


धेरै दिनदेखि मुक्तिनाथको दर्शन गर्ने इच्छा थियो । सेवाकै शिलशिलामा जब पोखरा आउने मौका मिल्यो तब त्यो इच्छा पूराहुने संभावना बढेर गयो । घरायसी कारणले सोह्र श्राद्ध रोकिएको थियो । दशैमा घरजाने मौका परेकोले तिहार जान नपाइने जस्तो भयो । एकदिन मनमा विचार आयो कागबेनी गएर पित्री तर्पण गर्न कसो होला ? मनमा उठेका सबै कुराहरू पूरा हुंदैनन् र केही हुन्छन पनि । कागबेनीबाट सोह्र श्राद्ध सकेर जीपमासवार पूर्व गृह मन्त्री एवं मुख्य सचिव माधव घिमिरे लगायत परिवारजन आमा दाजुभाइ र अगँरक्षक समेत मुगंलिन नजिक त्रिशुली नदीमा जीप खस्दा असामयिक निधन भएको र चालक हामफाली बाँच्न सफल भएको घटना पनि याद आयो ।

अर्घखाचीको गुरु नारायण प्रसाद आचार्यज्यूसँग योजना सुनाए र राय माग्दा अति उत्तम हुन्छ भन्नुभयो । घर सल्ला समेत गरी यो मौका नचुकाउने भन्यौ । जोमसोममा कार्यरत डिएसपी देवराजजोसी साहवलाई सहयोगकोलागि एकजना भाइलाई खटाई मिलाउन भनिएकोले उनले होटेल समेत बुक गर्न लगाएको थियो ।

कार्तिक १४ गते २०७३ गाईतिहारे औसींमा कागबेनी पुग्ने गरी सल्ला गरियो । छोरी ज्वाइ, श्रीमती र आफू समेत चार जना जाने भइयो । हामीसँग दुईवटा विकल्प थियो । शनिबार १३ गते गाडीद्वारा गइएमा कागबेनी मुश्किलले पुगिने र भोलिपल्ट श्राद्ध सकेर मुक्तिनाथ जानु पर्ने एक दिन बढी लाग्न सक्ने वा अर्को विकल्प प्लेनबाट सोही दिन बिहान पोखरा जोमसोम पुगी दर्शन सकेर कागबेनी बास बसेर बिहानको काम सकेर फर्कन सजिलो पर्ने भएकोले दोस्रो बिकल्प रोजियो । सीता एयरबाट जोमसोम को टिकेट बुक गरियो । शनिबार सीताको तेस्रो फ्लाइटबाट जोमसोम पुगी त्यही खटिएका एक जना भाइको सहयोगले १५/२० मिनेट पैदल हिडेर मान्छेमात्र तर्ने कालीगण्डकीको सानो पूल तरेर बसबाट मुक्तिनाथ लागियो ।

करीब १० बजे बसबाट ओर्लिएर पुन आधाघण्टा जति हिड्नु पर्दो रहेछ हिड्न नसक्नेहरूकालागि घोडाको व्यवस्था रहेछ । हामी चाहि तीनसय प्रति व्यत्ति तिरेर घोडामा नै गयौं । घोडाले उकालोमा चड्नेमान्छेलाई बचाउँछ र ओरालोमा उसलाई बचाउनु पर्छ भनेको सुनेको थिए हो रहेछ । तलबाट माथि ल्याउनेकाम घोडाबाट र माथिबाट तल खाली लगिदो रहेछ । कोही यात्रु सिकिस्तै विरामी परेमा भने घोडा प्रयोग गर्न पाइन्छ रे । चाडै १०३० बजेतिर मन्दिर पुगियो दर्शनार्थीहरूको सामन्य भीड थियो ।

एघार बजे मन्दिर बन्द हुन्छ भन्ने सुनिएकोले फटा फट नुहाउन तयार भयौं । एक जनाले भने १०८ धारामा नटुटाइ नुहाउदैजाने र पापकुण्ड र धर्म कुण्डमा नुहाएर मात्र पूजा गर्नु पर्छ । त्यसै गरियो, केही खुद्रा पैसा धारामा चाढाएर टाउको थाप्दै छिटो हिड्दा समेत २०/३० वटा धारा पुग्ने बित्तिकै टाउको फुट्ला जस्तो चीसो भयो पुन बाहिर निकाल्दै छिटो छिटो गरी गइयो । पापकुण्डमा डुबी धर्म कुण्डमा डुबेर भित्रको पैसा लिनु पर्छ भन्न थालेकोले पुन पसेर पैसा निकाली स्नान सकियो ।

लुगा फेरी सूर्यलाई अर्घ दिएर मन्दिर भित्र प्रवेश गरियो । मुक्तिनाथलाई छुन दिइदो रहेनछ । बाहिरबाट दर्शन गर्ने र लगिएको पूजाको सामग्री आनीमाफर्त भगवानलाई छुवाएर फर्काए पछि धुपबाल्ने, नरिवल फोड्ने र दीप बत्तीहरू बाल्ने कामहरू गर्नु पर्दो रहेछ । सो सकेपछि बाहिर निस्किएर केही फोटोहरू खिचाइयो । तबसम्म मन्दिर बन्द हुने तरखर्मा भएकोले बाहिर चन्दा संकलन गर्न बसेकालाई रसिद कटाएर केही दान पनि गरियो भने परिवारहरू १०८ धाराबाट निस्कएर तल बग्दै गरेको खोलामा दुनामा बत्तीबाली बगाउने तयारीमा लागे । अब ज्वालादेवी दर्शनको लागि केही तल झरेर वायाँ लागियो (लेखिएकै छ बोर्डमा) केही पर पुगी गुफा जस्तोमा तीन चार जना लामाहरू पाठगरेर बसेका रहेछन् ।

भित्र गएर हेर्दा ज्वाला बलिरहेको साना जालीले ढाकिएको रहेछ दर्शन गरी केही दान चन्दा बक्समा राखी बाहिरियौं । भारतीय नागरिकहरू पनि थिए अन्य विदेशी भने भन्दिरमा देखिएन । नेपालीहरूका समूह पनि थिए । जता हेरे पनि नौलो थियो हाम्रोलागि ! लेक लाग्ला भनेर ६ घण्टा पहिले दवाइ खाएको थियो आफूले चाहि भूलेर बस चढ्नेबेला मात्र खाएको थिएँ । मुखमा मास्क र बाग्लो न्यानो लुगा लगाएर हिडियो तर भारतीयहरू भने खुलै हिडेको पाइयो । हामी आफ्नै देशमा यात्रा गर्दैनौ गरे पनि डराउछौ विदेशीहरू हाम्रो देशको कुना काप्चासम्म पुगेर यात्रा गर्छन् डराउदैनन् पनि । तेर्सो ओरालो लाग्दै आराम गर्दै आयौं बीच बीचमा फोटोहरू पनि खिच्दै बिहानकै बसपार्क पुगियो । ५/७ वटा बस अटने पार्कमा पुरुष र महिलाकोलागि एक एक वटा शौचालय छ व्यक्तिगत भएर होला रु दश चार्ज गर्दा रहेछन् । चालक खाना खाइरहेकोले केही बेरको प्रतिक्षा पछि दुई सय असी तिरेर कागबेनी लागियो ।

अब त ओरालो मात्र विदेशी पर्यटकहरू पनि हामीसँग थिए । कोही पर्यटक हिड्दै गरेको पनि देखिन्थ्यो । स्थानीयहरू त भेटिनै मुश्किल कतै कतै मात्र किनभने गाउँ नै छैन । आधाघण्टा जतिमा पुगियो । अलिकति हिड्नु परेको थियो कारण त्यो बस जोमसोमकोलागि छुटेकोले बजार नपुगी गयो । पहिले नै प्रति रुम पन्ध्रसयका दरले दुईवटा बुक गराइएको रेड हाउस ( रातो घर ) लजमा सोधखोज गरी पुगियो । केहीबेर घाम तापी आराम पछि हामी तल बालकृष्ण सुवेदी गुरुको आश्रममा गयौं । गुरुको र लजको फोन जोमसोमकै भाइले दिएको थियो । कपाल काट्ने पुन नुहाउने काम बाकी नै थियो । आज तीन पटक नुहाउनु पर्ने भयो । पोखरामा पनि नुहाएर नित्यपूजासकि हिडेका थियौं । कपाल काट्न त्यहीको एक जना थापा असई सापले सहयोग गर्नुभयो, गुरुले अलिकति तातो पानी ल्याई दिनु भयो । हामी हविशेक बसेकोले चोखो खानु थियो केही व्यवस्था हुन सक्छ कि ? गुरुले म पकाउछुसँगै खाने भन्नुभयो हामीले खोजेको जस्तो भयो । भनौ शुरुदेखि नै सोचे जस्तै मिल्दै आइरहेको छ ।

सुविचारले यात्रा गरेपछि विध्न बाधा आउदैनन भन्ने कुरा पनि सही ठहरियो जस्तो लाग्यो । उत्तरबाट काली गण्डकी बग्दै गरेको किनारमा नैऋत्यकोण तर्फबाट मुक्तिनाथखोलाको संगममा यो कागबेनी आश्रम छ जहा आफ्ना पित्रीहरूको श्राद्ध तर्पण गर्न भीड लाग्ने गर्छ । १२ बजेपछि बेस्सरी हावा चल्दो रहेछ, यो हावालाई उपयोग गर्ने हो भने विजुली उत्पादन गर्न सकिने रहेछ । साना साना ट्रष्ट दुईवटा र बीचमा अलिकति खाली जमिन नै तीर्थालुहरूको श्राद्ध गर्ने स्थल हो ।

शनिबारको यात्रा त्यति उपयुक्त नहुने भएकोले सो दिन बिहान आफूले लगाउने जुत्ता ५ बजेनै बाहिर फूलको बोटमा साइत गरी राखेको थिएँ । बिहान अलि हतार भयो कारण विमानस्थलमा सीट खाली भएमा दोस्रोमा अनुरोध गर्ने भनी सोही स्थानमा कार्यरत सइ भीम क्षेत्रीले भन्नुभएकोले सात बजे नै हिडने तरखरमा थियौ । जुत्ता लगाउदा बाँया पैतालाको बुढीऔला केही अप्ठेरो भएको थियो । घोच्ने पोल्ने भएको भए हेरिन्थ्यो वा ध्यान जानेथियो साना मसिना कुरामा हाम्रो ध्यान वा होस पुग्दैन र त्यही झिना मसिना कुरा महत्वपूर्ण हुन सक्छन् । जब रातो घरमा जुत्ता खोल्दा बाया मोजाका बुढी औलानेर रगतको टाटा जस्तो देखियो यता जुगा त लाग्दैन !

हुन त मुक्तिनाथमा नुहाउदा पनि जुत्ता मोजा खोलियो तर हेरिएन । अलमलमा परियो तर पत्ता लगाउन बेर लागेन आउनेबेलामा पनि केही असजिलो भएको कारण पक्कै जुत्ता भित्र भ्यागुता पसेको हुनु पर्छ ? श्रीमतीसँग कुरा गरे हेर्नु गर्दैन त ? भनिन कसरी हेर्ने ? हतारमा गल्ती त मेरो हो नि ! तर विचरा प्लेन चढेर मुक्तिनाथको पवित्रस्थल पुगेर कागबेनी पुगेपछिमात्र थाहा पाउनु भनेको त संयोगमात्र होला त ? अब काली गण्डकीमा संस्कार्ने विचारले कपाल काट्ने बेला गुरु तातो पानी लिन जानु भयो आफूले संगमामा जुत्ता टकटकाएर भ्यागुतालाई नदीमाबगाई दिए र भने तेरो पनि आज मुक्तिमात्र हैन राम्रो जुनी पाएस ! कुन जुनीको ऋण खाएकोले यसलाई मेरै जुत्तामा लुक्नु परेको ? लगाउदा अलि बेस्सरी खाद्दिएको भए पनि याद गरिन्थ्यो होला नि! अ

हँ अलि अप्ठेरोमात्र त्यो पनि तलुवा पुरानो भएकोले खुम्च्यो होला भन्नेमा परें । अरु जुत्तामा लुकेको भए नि त हुन्थ्यो नि ? अथवा कोठामा अन्त पनि त लुक्ने ठाउँ प्रशस्त थिए किन यही पुरानो जुत्ता रोज्नु परेको यसलाई ? मोजा धोए अनिमात्र कपाल काटियो र संगममा स्नान गिरयो ।

हामी काम सकी रातो घर लाग्यौं, तातो पानी र कालो चिया खाइयो केहीबेर साहुजीसँग गफ गरी रुममा आराम गरियो । पछि फोन आयो हामी खानाकोलागि आश्रममा गयौ । कति मिठो खाना ! मात्र दाल भात तरकारी थपेरै खाइयो भोक मिठो भनेको हो रहेछ । कति तिर्नु पर्ने हामी नयाँ छौं ? यहाँ पैसा लाग्दैन स्वएच्छिक दानवक्मा राख्न सक्नुहुन्छ । यो आश्रमको पीठाधिश स्वामी कमलनयन आचार्य हुनुहुदो रहेछ यहाँ निर्माण कार्य पनि भइरहेको देखियो ।

यो आश्रम बनिसकेपछि भक्तजनहरूलाई सुविधा बढ्ने छ । साथमा लगिएको गाईको दूध तथा दही फूल गुरुलाई बाहिर राखिदिन र भोलि बिहान ६ बजेतिर आउने छौं भनी रातोघर लागियो । बिहान सात बजेतिर पुग्दा भीड लागिसकेको रहेछ गुरुले एक छिन लाग्छ भन्नुभयो वहाँसँगै पहिलेदेखि फोनमा कुरा भएको र खाना समेत खुवाएकोले अन्य गुरु खोज्ने कुरै भएन । एकैछिन अरुले कसरी तर्पण गर्दा रहेछन् भनेर हेरियो । पार्वती नुहाउन गइन मैले सहयोग गरे । उनले बत्तीबाली जप सकिन अनि म नुहाउन गए । अरुले जसरी नुहाए मैले पनि त्यसै गरे डुबुल्की मारी सुतेर उल्टो सुल्टो डुबेर निस्के लुगा फेरि गण्डकीमा बत्ती बालें ।

७:३० बजे श्राद्ध गर्न बसियो ट्रष्टमा नदीतर्फ फर्किएकोले हावा चाहि रोक्ने तर घाम चाहि नलाग्ने थियो । दुई समूह हामीसँगै बसे शुरु भयो श्राद्ध डेढ घण्टाजतिमा सकियो । जौको पिण्ड सेलाई टीकाटाला सकियो र गुरुकोमा कालो चिया खाइयो हिजोको खानाबापत केही चन्दा दानवस्मा राखिदिए । पहिलो बस छुटिसकेछ । जोमसोमबाट आउने बसको प्रतिक्षामा थियौं घामको न्यानो अनुभवगरी केहीबेर पछि बस आयो १०:३० बजेतिर जोमसोम पुगियो । बसको टिकट काट्न हिजोको भाइलाई भनिए पनि बिहान बेनी छुट्ने बस छुटिसकेछ । एउटा ट्याक्सीलाई कुरा गरेको ४ जनाको पोखराजान बीस हजार भाडा, अर्को जीपलाई कुरा गिरयो १० जना बेनीसम्म २३ हजार । बरु जाऊ विमानस्थल नजिक कहिलेकाही त्यहीबाट पनि बस छुट्दा रहेछन् त्यो भाइले भनेर गयौ । काउन्टरमा सोधियो २६ जना यात्रु पुगेमा बस घाँसासम्म जान्छ । अब घाँसाको मात्र विकल्प रहेछ बसको ।

हामी चार, एक भाइकोसमूह छव र दाङ्गजाने दुई र एक जना अरु गरी १३ जना भइयो । पुगेन विदेशी पर्यटकलाई खोजियो छव जनाको समूह जाने समेत १९ जना भयौ । एउटा उपाए सोचियो २६ जनाको पैसा तिर्ने र जाने काउण्टरमा बस्नेले हुन्छ भन्यो । समूहको १/१ जनाको नाम लेख्दै ३९०ले गुणा गर्न थाले हाम्रो १५६० र थप दामासायिले तिर्नु पर्ने भयो विदेशीलाई ८४० लागायो । तर एकै छिनमा ३० जना जति मानिस जम्मा भएछन् । गाई तिहार पनि भएकोले जतिसक्दो तलतिर झर्न नै सबैको प्रयास थियो । घाँसाबाट निश्चितरुपमा बेनीको बस पाइनेछ भनेर काउण्टरका भाइले भने । बाह्रबजेतिर हाम्रो बस छुट्यो बीचमा लोकल यात्री एक दुई जना राख्दै मार्फा हुदै पहाडी दृश्यावलोकन गर्दै तल झर्दै गयो ! बसमा विविध प्रकारका यात्रु थिए हिन्दी गीत लगाएर आफ्नो शुरमा उबडखाबड घुमाउरो कच्चीबाटो पार गर्दै थियो । साढे दुईबजेतिर घासा पुग्यो ३ किमी वरै पछाडिको दाहीने चक्का पङ्कचर भए पनि घाँसा पुग्छ भनेर लगे चालकले । मुस्ताङ्गतिर सहयोगी हुदैन चालक मात्र हुने भएकोले विग्रेमा छिटो बनाउने ठाउँ पनि देखिएन समस्या छ ।

हामी पुग्दा नभन्दै बेनीको बस लागिरहेको रहेछ भाडा बसमै दिने भनेर सबै जना बसियो पुन २/३ जना पर्यटकलाई सीट भएन म्यागदीको तातोपानी पछि केही पर्यटक ओर्ले र सबै जना बसेर साझ सवा सात बजे बेनी पुग्ना साथ काठमाण्डौको बस लागिरहेको र एउटा जीप तयार रहेछ ज्वाइले कुरा गर्नुभयो । विदेशीलाई बढी भाडा लाग्ने भनेछन् तर रिजर्भमा किन बढी लाग्ने ? भनेपछि मिलाएर पाचँसयका दरले चार हामी चार पर्यटकगरी आठ थात्रु सजिलै पोखरा आयौ । कति सजिलोसँग घुमेर छोटो समयमा एउटा जानै पर्ने तीर्थ यात्रा तथा विविध गाउँ बस्ती एवं दृश्यहरूको अलौकिक छटा अवलोकन गर्दै हाम्रो यात्रा सफल रह्यो र यो एउटा नौलो अनुभव पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *