तड्पेर बाँचेका, टन्न छन् धर्तीमा
संकष्ट काटेका, टन्न छन् धर्तीमा
भोका र प्यासा छन्, वेदना चर्को छ
दुर्भाग्य भोगेका, टन्न छन् धर्तीमा
पीडा छ छातीमा, नौमुरी थुप्रेको
आनन्द बिर्सेका, टन्न छन् धर्तीमा
भत्किन्छ रोजिन्दा, शान्तिको आधार
संहार चाहेका, टन्न छन् धर्तीमा
लोभी र पापीले बिर्सिए ईमान
सत्कर्म छोडेका, टन्न छन् धर्तीमा
सङ्कीर्ण मौलायो, सोचमा मान्छेको
सम्बन्ध ढालेका, टन्न छन् धर्तीमा
पुग्दैन साथी हो, चाहना साराको
सर्वत्र हारेका, टन्न छन् धर्तीमा
(बहरे हजज मुसम्मन अखरब अखरम अस्तर)
विश्राम-६ मा
-कोमल भट्ट
चन्द्रागिरी न.पा -२१
काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका
